केन्द्रमा बन्यो नयाँ सत्ता समीकरण, नवनियुक्त मन्त्रीले लिए शपथ

मेचीकाली संवाददाता

२१ फाल्गुन २०८०, सोमबार
112 shares


बुटवल । एमाले–माओवादी–राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको नयाँ गठबन्धन बनेपछि पुनगर्ठित मन्त्रिपरिषद्मा ३ जना सांसदले बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका छन् । कांग्रेस, माओवादी, जनता समाजवादी पार्टीको सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले ३ जना नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक पदम गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य हितबहादुर तामाङले मन्त्री पदको शपथ लिएका हुन् ।
राष्ट्रपतिले नेपालको संविधानका धारा, ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा मन्त्रीमा नियुक्त भएका ३ जनालाई राष्ट्रपति कार्यालय शीलत निवासमा सोमबार आयोजित विशेष समारोहमा सोही संविधानको धारा, ८० अनुसार पद तथा गोपनीयताको शपथ गराए । शपथ लिने तीनै जना प्रतिनिधिसभाका सांसदहरू पूर्वमन्त्रीसमेत हुन् । उनिहरुको कार्यभार तोकिएको छैन । राष्ट्रपति कार्यालयका अनुसार उनिहरुको कार्यभार पछि तोकिनेछ ।

४७ वर्षीय गिरी पर्वत क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनी २०७९ पुसमा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा करिब दुई महिना स्वास्थ्य तथा जनसंख्यामन्त्री थिए । त्यतिबेला एमाले–माओवादी गठबन्धन टुटेर कांग्रेस–माओवादीले सत्ता साझेदारी गरेपछि उनी मन्त्रीबाट बिदा भए । मानविकीमा स्नातकोत्तर गरेका उनी पर्वत कुश्माका स्थायी बासिन्दा हुन् । २०४७ मा काफलचौर माविबाट अनेरास्ववियूमा संगठित हुँदै उनले राजनीति सुरु गरेका थिए । २०५५ यता पृथ्वीनारायण क्याम्पस पोखराको स्वतन्त्र विद्यार्थी युनियनको सदस्य हुँदै सभापतिसमेत चुनिएका थिए । गिरी हाल एमाले केन्द्रीय सदस्य छन् । २०७४ सालको निर्वाचनमा पनि उनी पर्वत–१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । २०७९ मंसिरमा पुनः निर्वाचित भएपछि उनी एमालेको तर्फबाट संसद्मा प्रमुख सचेतको भूमिका छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीबाट बिदा भएको १३ महिनामा रास्वपा उपसभापति डोलप्रसाद अर्याल पुनः बिनाविभागीय मन्त्री नियुक्त भएका छन् । ४९ वर्षीय धादिङवासी अर्याल समानुपातिक कोटाबाट २०७९ मा प्रतिनिधिसभाको सदस्य चुनिएका थिए । पर्यटन र विप्रेषणको क्षेत्रमा दुई दशकदेखि सक्रिय उनी स्थापना कालदेखि नै पार्टी सभापति रवि लामिछानेको सहयात्री भएर सक्रिय छन् । राजनीतिमा सक्रिय हुनुअघि पर्यटन र विप्रेषणको क्षेत्रमा दुई दशकदेखि सक्रिय थिए ।
वैदेशिक रोजगारबाट फर्केपछि उनी पर्यटन, सहकारी, रेमिट्यान्स र समाजसेवाको क्षेत्रमा क्रियाशील थिए । पार्टी सभापति लामिछाने २०७९ माघमा गृह मन्त्रालयबाट बाहिरिएपछि अर्यालसहित रास्वपाका मन्त्रीहरूले पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट हटेका थिए ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका नवनियुक्त मन्त्री तामाङ २०६६ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री थिए । ६० वर्षीय उनी नुवाकोट पञ्चकन्याका हुन् । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित उनले एसएलसीसम्मको शैक्षिक योग्यता हासिल गरेका छन् ।
२०३६ सालदेखि विद्यार्थी आन्दोलनमा सहभागी हुँदै उनी २०३९ मा अनेरास्ववियूका नुवाकोट जिल्ला सचिव बनेका थिए । २०४७ मा नेकपा चौथोको महाधिवेशनको सदस्यता प्राप्त गरेका थिए भने २०५२ सालमा सशस्त्र विद्रोहको घोषणा गर्दा उनी माओवादीका जिल्ला सचिव थिए । २०५८ सालमा केन्द्रीय सदस्य बने । शान्ति प्रक्रियामा आएपछि २०६३ मा अन्तरिम व्यवस्थापिकाका सदस्य चुनिएका थिए । २०७४ र २०७९ मा पनि उनी प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

प्रधानमन्त्रीको सिफारिसमा सोमबार गठन भएको मन्त्रिपरिषद् र त्यसको कार्यविभाजनअनुसार प्रधानमन्त्री दाहालले नै अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कानुन न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपन्छी विकास, खानेपानी, गृह, परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायातलगायत नेपाल सरकार सबै मन्त्रालयको कार्यभार सम्हाल्नेछन् । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठलगायतको उपस्थिति थियो ।