कहिले खुल्ला दासढुंगा हत्याकाण्डको रहस्य ?

मदन–आश्रितको ३१ औं स्मृति दिवस

मेचीकाली संवाददाता

३ जेष्ठ २०८१, बिहीबार
3544 shares

अमृत गिरी
बुटवल । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनस्थित दासढुंगास्थित त्रिशुली नदीमा रहस्यमय जीप दुर्घटनामा परी निधन भएको आज ठ्याक्कै ३१ वर्ष पुगेको छ । विसं.२०५० साल जेठ ३ गतेको त्यो घटना नेपाली राजनीतिका लागि एउटा कहिल्यै नमेटिने घाउका रुपमा चहराइरहेको छ । दासढुंगामा भएको उक्त रहस्यमय घटनापछि विभिन्न छानबिन आयोगहरु गठन भए, देशैभरि प्रदर्शनहरु भए तर, आजसम्म कुनै विश्वसनीय तथ्य बाहिर आएको छैन र के भएको दासढुंगामा भनेर जनताले गरिरहेका प्रश्न पनि सुस्ताएका छैनन् ।

उक्त घटना भएको १० वर्षपछि एक मात्रै जीवित साक्षी–पात्र अर्थात् मदन–आश्रितलाई जीपमा सवार गराउने चालक अमर लामाको पनि २०६० साल साउनमा कीर्तिपुरमा लखेटी लखेटी हत्या भयो । उक्त घटनाको तत्कालीन माओवादीले जिम्मेवारी लिएको थियो । यो अर्को घटनापछि दासढुंगा प्रकरण मुलुकका लागि झन् रहस्यमय बन्यो ।

आखिर के हो त दासढुंगा प्रकरण ?
विसं.२०५० जेठ ३ गते अपराह्न साढे पाँच बजेतिरको समय । सिमसिम पानी परिरहेको थियो । बा अ च ८७२३ नम्बरको जीप पृथ्वी राजमार्गमा हुँइकिरहेको थियो । नेकपा एमाले कास्की जिल्ला अधिवेशन सकेर भरतपुरतिर लागिरहेका थिए महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज ‘आश्रित’ । चितवनको दासढुंगा भन्ने स्थानमा पुग्दा जीप असन्तुलित भयो र तल त्रिशुली नदीमा खस्यो । चालक अमर लामा जिउँदै भए । बाँकी दुई जना नदीमा बेपत्ता । गाडी भोलिपल्ट भेटियो, जीवराजको लास गाडीमै थियो । मदनको भने कुनै पत्तो थिएन । तीन दिनपछि गुन्जनगरमा मदनको लास भेटियो ।

कति बने छानबिन आयोग र के आयो प्रतिवेदन ?
‘दासढुंगा हत्याकाण्डको छानबिन गर’ भन्ने नाराका साथ देशव्यापी आन्दोलन भयो र तत्कालीन कांग्रेसको सरकारले आन्दोलन दबाउँदा जनधनको क्षति भयो, ठूलो दबाब दिइयो । तर, कांग्रेसको सरकारले सुनुवाई गरेन । सरकारको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गरेका थिए । निकै महिनापछि बल्ल एउटा न्यायिक छानबिन आयोग गठन गर्न सरकार सहमत भयो । सर्वोच्च अदालतका न्यायाधीश प्रचण्डराज अनिलको अध्यक्षतामा गठित आयोगको प्रतिवेदनलाई एमालेले स्वीकारेन ।

जनस्तरबाट गठन गरिएको भनिएको पद्यरत्न तुलाधरको आयोगले दासढुंगा कान्डलाई षड्यन्त्र नै रहेको ठहर ग¥यो भने पार्टीको तर्फबाट गठन गरिएको केपी ओली आयोगको प्रतिवेदनले पनि षड्यन्त्रपूर्ण भन्यो । सर्वोच्च अदालतका न्यायाधीश प्रचण्डराज अनिलको अध्यक्षतामा गठित छानबिन आयोगको प्रतिवेदनको एमालेले विरोध गरेपछि सर्वाेच्चकै न्यायाधीश त्रिलोकप्रताप राणाको अध्यक्षतामा अर्को आयोग गठन भएको थियो ।

राणा आयोगले जननेताका भिसेरा (शरीरका केही अंग, गिदी, रगत, कलेजो, मुटुलगायतका केही भाग) परीक्षणका लागि बेलायत पठाएको थियो । तर, नेताद्वयको शरीरमा कुनै पनि शंकास्पद रसायन नभेटिएको बताइयो । यसमा पनि चित्त बुझाउने ठाउँ भएन भन्दै विरोध जारी रह्यो ।
किनकि पोष्टमार्टम गर्ने फरेन्सिक विज्ञले जुन तरिकाले भिरेसा सुरक्षित गरेका थिए त्यसअनुरुप नपाइएको कुरा सार्वजनिक भयो । ती अंग खुमलटारस्थित विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय विधिविज्ञान प्रयोगशाला विकास समितिमा सुरक्षित रहेको बताइन्छ ।

एमालेले गठन गरेको ओली आयोगको प्रतिवेदनको १५ बुँदे निष्कर्ष
दासढुंगा घटना सम्बन्धमा पार्टीको तर्फबाट छानबिन गर्न मिति २०५०/२/५ मा पार्टीको स्थायी कमिटीको सदस्य तथा सांसद क.खड्गप्रसाद ओलीको संयोजकत्वमा गठित आयोगले मिति २०५०/३/३ मा आफ्नो प्रतिवेदन पार्टीसमक्ष पेस गरेको थियो ।

१. घटनास्थलको बाटो फराकिलो, सोझो, एकदमै सामान्य ढङ्गको ओरालो मात्र भएको, दुर्घटना स्थलस्थित सडकको बायाँपट्टि पहाडी भित्ताभन्दा पहिले फराकिलो र खाली भएको, गाडी बायाँ च्यापिएर गइरहेको, एक्सिलेटर छाडेको र दायाँबायाँ काटिएको कारणले नियन्त्रण गर्न नसकिने गतिमा गाडी नरहेको अवस्थामा गाडी गुडेर नै सडकबाट नदीतर्फ खसेको छ । गाडीले पहिलो ठक्कर खाए पछाडि नै गाडी बल्ड्याङ्ग खाँदै नदीमा झरेको देखिन्छ ।

२. गाडीको अवस्था प्रत्येक दृष्टिकोणले राम्रो छ र गाडीको प्राविधिक त्रुटिबाट दुर्घटना भएको देखिँदैन ।
३. गाडीको ब्रेक राम्रो अवस्थामा छ र ड्राइभरले ब्रेक लगाउने पटक्कै प्रयास गरेको देखिँदैन ।

४. सडकको दायाँ छेउमा रहेको झोपडीलाई र बायाँ भित्तामा ठोक्किनबाट गाडीलाई बचाउन सकेबाट गाडी ड्राइभर अमर लामाको पूर्ण नियन्त्रणमा रहेको देखिन्छ । यस्तो अवस्थामा गाडीलाई दाहिने खोलातर्फ घुमाएर ब्रेक लगाउने कोसिससम्म नगरी, बायाँ घुमाउने प्रयास नगरी र दिवङ्गत कमरेडहरूलाई सचेत गराउने एक शब्दसम्म नबोली आफू उम्कन तयारी गरी सडकको डिलमा पुगेर ड्राइभर अमर लामा हाम फालेको देखिन्छ । आफू हाम्फाल्नु अगाडि ड्राइभर लामाले गाडीको ट्रान्समिसन गियरलाई न्यूटल राखेर निस्किएको छ । यसबाट अमर लामाले जानीजानी र देखिएको परिणाम होस् भन्ने इच्छा राखेर सुनियोजित ढङ्गले काम गरेको देखिन्छ ।
५.गाडीको पछाडि–पछाडि खोला पुगेर उद्धारको कार्यमा संलग्न नभई मुखको रगत धुने, लुगाको हिलो पखाल्ने, शरीरमा पानी छ्याप्ने र घटनास्थलमा पन्ध्र मिनेट पनि नबसेर अरूलाई सम्बन्धित निकायमा खबर गर्न पठाएर आफू उद्धारको लागि जुट्नुपर्ने स्वाभाविक प्रतिक्रियाको प्रतिकूल नारायणगढ गएर झुटो सूचना प्रवाहित गर्नुबाट ड्राइभर अमर लामा सुनियोजित षड्यन्त्रको एउटा हिस्सा भएको प्रमाणित हुन्छ ।
६. घटनास्थलमा रहेको बालुवा तथा भुसको थुप्रोलाई आधार बनाएर गाडीलाई खोलातर्फ झार्दा मात्र अहिले प्राप्त परिणाम देखिने, थुप्राहरू नियोजित देखिने, उक्त बालुवाको थुप्रो स्वाभाविक रूपमा राखिएको भन्ने एउटा पनि तथ्य फेला पर्न नसकेको अवस्थामा उक्त थुप्राहरू, षड्यन्त्रलाई व्यवहारमा कार्यान्वयन गर्ने एउटा चिन्हको रूपमा आयोगले ग्रहण गरेको छ ।
७. दिवङ्गत कमरेडहरूलाई गाडी खस्दै रहेको अवस्थामा सचेत गराउने एक शब्द पनि नबोल्ने, पार्टीलाई निरन्तर भ्रमित तुल्याउँदै गलत सूचना प्रवाह गर्ने र पार्टीसँग मतलब नरहेको अभिव्यक्ति प्रकट गर्ने जस्ता तथ्यहरूले गर्दा ड्राइभर अमर लामाको पार्टीप्रति कनै आस्था तथा निष्ठा रहेको देखिँदैन । तर मानसिक रूपले ड्राइभर लामाको स्थिति भने स्वार्थ र कुनै पश्चात्ताप नभएको कुरा मनोरोग विशेषज्ञको रिपोर्टबाट देखिन्छ ।
८. कमरेड जीवराज आश्रितको मृत्यु गाडीमै रहेको अवस्थामा पानी बाहिर भएको तथ्य प्रमाणित छ । तर कमरेड मदन भण्डारीको हकमा केही महत्वपूर्ण पक्षहरू प्रष्ट भएपछि मात्र उहाँको अवसान कहाँ भएको हो भनेर निश्चित गर्न सकिने अवस्था छ ।
९. कमरेड मदन भण्डारीको मृत्यु पानी बाहिर भएको प्रमाणित छ तर उहाँको लास जाँच प्रतिवेदनले गाडी खस्दाको ठक्कर वा अन्य प्रकारको चोटले उहाँको मृत्यु भएको हुन सक्ने दुवै सम्भावनालाई देखाएको छ ।

१०. कमरेड मदन भण्डारी बस्नुभएको गाडीको सिट र हेडरेष्टमा देखिएको कालो दाग र ड्राइभर लामाको कपडामा देखिएको रगत जस्ता दागहरूको रासायनिक जाँच भएको छैन । यसको जाँच हुनु एकदमै आवश्यक छ ।
११. दिवङ्गत कमरेडहरूमाथि उच्च प्रविधियुक्त जाँचबाट मात्र पत्ता लाग्न सक्ने र अहिलेसम्म जाँच नगरिएको विषको प्रयोग भएको हुनसक्छ । यसको निरूपण हुनु आवश्यक छ र यसको लागि रोनाष्टको प्रयोगशालामा राखिएको अभिसेराहरूलाई जाँचको लागि प्रविधिको हिसाबले स्कटलैण्डस्थित प्रयोगशालामा पठाइनुपर्छ ।
१२. उच्च प्रविधियुक्त जाँचबाट विषको प्रयोग भएको नदेखिएमा दिवङ्गत कमरेडहरूमाथि औषधीको प्रकृतिको कारणले जाँचबाट पत्ता लाग्न नसक्ने, सुँघाउने औषधीको प्रयोग भएको हुनुपर्छ भन्ने निष्कर्षमा आयोग पुगेको छ ।
१३. दासढुंगा घटनाको सन्दर्भमा देखिएको सुनियोजित तथा व्यवस्थित षड्यन्त्र र घटनापश्चात् पनि मुख्य अभियुक्त ड्राइभर अमर लामाले पाइरहेको आड भरोसा तथा संरक्षणबाट यसको पछाडि गम्भीर र उच्चस्तरको षड्यन्त्र रहेको आयोगको ठहर छ ।
१४. अमर लामा एक्लैले यो स्तरको हत्या गर्न सम्भव छैन । तथ्यहरूले उच्चस्तरको षड्यन्त्र देखाइरहेको छ । यस सम्बन्धमा वास्तविकता पत्ता लगाएर षड्यन्त्रकारीहरूलाई जनता समक्ष उभ्याउने दायित्व सरकारको हो र अहिलेसम्म यो दायित्व वहन गर्ने प्रयास सरकारले गरेको देखिएको छैन ।
१५. अन्त्यमा दासढुंगा घटनापश्चात् सरकारले उद्धार कार्यको हकमा प्रचारमा बढी र व्यवहारमा भने उदासीनता तथा लापरबाही देखाएको छ ।

षड्यन्त्रलाई नंग्याएर अपराधीलाई कठघरामा उभ्याउने दिशामा, सरकारी संयन्त्र पूर्ण रुपमा उदासीन तथा निष्क्रिय रह्यो । यसबाट सरकारको काम कारबाही तथा प्रवृत्ति षड्यन्त्रलाई ढाकछोप र बढवा दिने खालको भएको देखिएको छ ।

जबजको सान्दर्भिकता
जनताको जनवादी सत्ताले पहिले पुरानो व्यवस्थाका शोषण उत्पीडनका अवशेषहरु सबै क्षेत्रबाट अन्त्य गर्ने अवधि, दोस्रो नया“ उत्पादन सम्बन्धको आधारमा समाजका सबै क्षेत्रमा भौतिक र सांस्कृतिक दुवै हिसाबले विकास गर्न केन्द्रित भएर लाग्ने अवधि र तेस्रो समाजवादमा संक्रमणको लागि भौतिक तथा सांस्कृतिक तयारी गर्ने अवधि पार गरी समाजवादमा पुग्ने कुराको सुनिश्चित गरेको छ ।

शान्तिपूर्ण जनक्रन्तिका उपलब्धीहरुलाई संस्थागत गर्दै, सामाजिक आर्थिक तथा सांस्कृतिक रुपान्तरणको अभियानलाई तीव्र गतिका साथ अगाडि बढाएर समाजवादका आधारशीला निर्माण गर्ने, सामन्ती उत्पादन सम्बन्धका अवशेषहरुलाई समाप्त गर्दै राष्ट्रिय पुँजीको विकास गरी प्रगतिशील उत्पादक शक्तिलाई चौतर्फी रुपले अगाडि बढाउने, परनिर्भरताको लामो विरासतलाई अन्त्य गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकास गरी आर्थिक समृद्धिको दिशामा मुलुकको नेतृत्व गर्ने र श्रमजीवी वर्गको पक्षपोषण गर्दै लोकतान्त्रिक गणतन्त्रको सामाजिक, आर्थिक तथा सांस्कृतिक ढ“ँचा विकास गरेर समाजवादमा पुग्न जनताको बहुदलीय जनवादको मार्गदर्शन अनिवार्य रहेको छ ।

मूलतः पुँजीवादी–जनवादी क्रान्तिलाई पूर्णता दिँदै समाजवादमा संक्रमण गर्ने र समृद्ध समाजवाद निमार्ण गर्ने काममा जबजले मार्गदर्शन गर्ने छ ।
विश्वभर कम्यूनिष्ट विचारमा आक्रमण भइरहेको बेलामा वि.सं २०४९ सालमा तत्कालीन नेकपा एमालको पाँचौँ राष्ट्रिय महाधिवेशनमा जनताको बहुदलीय जनवाद नेपाली कम्युनिष्ट आन्दोलनको बाटोका रुपमा उनले ल्याएका हुन् । नेपाली कम्युनिष्ट राजनीतिका उदयमान नेता मदन भण्डारीको अवसान नेपाली राजनीतिकै लागि अपुरणीय क्षति हो ।

देशको राजनीतिमा धेरै मान्छे आउँछन् र जान्छन् । इतिहासले तीमध्येका केही केही मानिसलाई मात्र स्मरणयोग्य हुन्छन् । इतिहासले स्मरणयोग्य बनाउने नेतामध्येकै एक नेता हुन् मदन भण्डारी । भण्डारीको सिर्जनात्मक माक्सर्वादसम्बन्धी धारणाले विश्व जगत नै प्रभावित छ ।
मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) अहिलेको नेपालको विशेष परिस्थितिमा अझ व्यवहारिक सावित भएको छ । उनको स्मृति दिवशमा उनीप्रतिको सच्चा सम्मान उनले प्रतिपादन गरेको विचार, आर्दश र व्यवहारलाई आत्मसात् गरेपछि मात्र हुनेछ । संविधानको कार्यान्वयन गर्दै समृद्ध मुलुक खुशी जनताको राष्ट्रिय संकल्प साकार पार्न सक्दा नै जननेताको सोंचलाई आत्मसात् गरेको ठहर्ने छ ।