घनश्याम कोइराला
आज असार २९ गते भानुभक्तको जन्मदिन । भानुभक्त नेपाली भाषाका आदि कवि हुन् । वि.सं.१८७१ तनहुँमा जन्मेका आचार्य थर भएका भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षा नाम गरेका पुस्तकहरू लेखेका छन् । आफ्ना ठाउँमा यिनीहरूको पनि महत्व होला तर भानुभक्तलाई नेपाली भाषाका आदिकविको रूपमा चिनाउने ग्रन्थ नेपाली रामायण नै हो । यो रामायण वाल्मीकि रामायणको भावानुवाद हो तर यसको भाषाशैली नितान्त मौलिक रहेकोले यसलाई अनुवादका रूपमा कमै हेरिन्छ ।
रामायण धार्मिक ग्रन्थ हो तर नेपालीमा लेखिएको हुनाले होला, यसलाई भाषा, साहित्य र ज्ञानका रूपमा स्वीकार गरिएको देखिन्छ । भारतमा तुलसीदासले हिन्दीमा लेखेको ‘रामचरित मानस’ लाई धार्मिक रूपमा पाठ–पारायण गरेजसरी नेपाली रामायणलाई त्यस रूपमा प्रयोग भएको पाइँदैन । यसबाट स्पष्ट हुन सकिन्छ, भानुभक्त रामायण पाठ–पारायणका लागि नभई सामाजिक शिक्षा तथा ज्ञानका लागि हो । तर, वास्तवमा यस्तो भइरहेको छ त ? त्यस्तो पनि देखिँदैन ।
आदिकवि भानुभक्त आचार्य
नेपाली समाजका लागि भानुभक्तको मुख्य योगदान रामायणको भावानुवाद हो । यसै कारणले उनी आदिकवि घोषित भएका हुन् । विभिन्न ठाउँमा उनका शालिक ठड्याइनुको कारण पनि रामायण नै हो । युवाकवि मोतीराम भट्टका अनुसार रामायण अनुवाद–लेखनको उत्प्रेरणा एकजना घाँसी थिए भन्ने मानिन्छ । यस सम्बन्धमा यी हरफ चर्चित छन्,‘भरजन्म घाँसतिर ध्यान् दिइ धन् कमायो, नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो । घाँसी दरिद्र घरको, तर बुद्धि कस्तो ? मो भानुभक्त धनी भै किन आज यस्तो ? मेरा इनार न त सत्तल पाटी क्यै छन्, जे धन् र चीजहरू छन् घरभित्र नै छन् । त्यस घाँसीले कसरी आज दिएछ अर्ती, धिक्कार हो मकन बस्नु नराखी कीर्ति ।’
यिनै पङ्क्तिबाट भानुभक्तको मूल्याङ्कनको साहित्यिक समालोचनाको उपक्रम सुरू गरिन्छ । वास्तवमा यी पङ्क्ति रामायणको कथाको अङ्ग होइनन् । तर, धेरैजसो आधुनिक विश्लेषकहरू यसैमा बढी अल्झिरहेको देखिन्छ । इतिहास, तथ्यका लागि यस्ता समीक्षाको अर्थ हुन्छ, तर रामायणबाट लिनुपर्ने शिक्षामा यसको कुनै अर्थ हुँदैन र छैन । उनले आफ्नो व्यक्तिगत कीर्ति विस्तार गर्न–नाम कमाउन रामायण लेखेका हुन् भन्ने बुभ्mनका लागि यी पङ्क्ति सहयोगी छन् । पहाडमा इनार हुने कि नहुने, सत्तल पाटी थिए कि थिएनन्, साँच्चै नै त्यतिबेलाको तनहुँमा घाँस बेचेर पैसा कमाइन्थ्यो कि थिएन भन्ने विषयलाई रामायणको उपलब्धिसँग जोडेर हेर्नु उपयुक्त होइन । अर्ति भनेको जहाँबाट पनि लिन सकिन्छ । भानुभक्तले भारतको बनारसमा पढेका हुन् । बनारसमा घाँसीटोला भन्ने क्षेत्र नै छ, त्यहीँ कुनै घाँसीसँग उनको सम्वाद भयो होला र उनी त्यसबाट प्रभावित भए होलान् । यस्ता विषय पनि बेलाबेलामा उठ्ने गरेको देखिन्छ । त्यसैले यस्ता विषयको बढी चर्चाले मूल विषय ओझेल पर्न सक्दछ ।
नेपाली समाजमा एउटा उखान प्रचलित छ,‘बाह्र वर्ष रामायण पढ्यो, सीता कसकी जोई !’ यो उखान वास्तवमा रामायण पढ्नेहरूका लागि लागू हुने रहेछ । हुन त नेपाली समाजको यसअघिको पहाडे पुस्ताका धेरैले भानुभक्तको रामायण पढेका छन्, यहाँसम्म कि अक्षर नै नचिनेकाहरूले पनि रामायणका श्लोक गुनगुनाउने गरेको सुनिन्थ्यो । अन्य भाषाका रामायण त खस भाषा नबोल्ने नेपालीहरूले पनि नपढ्ने कुरा भएन ।
नेपाल र नेपाली भाषाभाषी रहेका नेपाल बाहिरका भूभागमा पनि यथोचित ढङ्गले मनाइएको छ । भएका ठाउँमा भानुभक्तको शालिकमा माल्यार्पण गरेर मनाइयो । कतिपयले दौरा–सुरुवाल र नेपाली बिर्के टोपी लगाएर मनाइएको छ । भानुभक्तले लेखेका रामायणका श्लोकहरू उच्चारण गरेर मनाइएको छ । साहित्यकारहरूले भानुभक्तप्रति भक्तिभाव प्रकट गर्दै जय जयकार गरे । समालोचकहरूले छिद्रान्वेषण गरे भने कतिपयले खिसीट्युरी सम्म गरे । कतिपय बुद्धिजीवीले अप्रासङ्गिक टिप्पणीसमेत गरे । स्कुलका विद्यार्थीहरूले आप्mना रचना वाचन गरे पनि भनभिज्ञता र अलमलमै गरे । युवा उमेरका धेरैले उहिलेका कुरा खुइले भन्ने कुरा गरे । कसको के कुरा गर्नु र हिजोआज नेपाली संस्कृतिमा चर परेर होला विदेशी लेखक साहित्यकारको कोटेसन उद्धरण नगरी अपान वायु छोड्न नसक्नेहरूले पनि भानुभक्तबारे यो वा त्यो कोणबाट आपूmलाई उभ्याए ।
भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरे । नेपाली लेखपढ गर्न सक्नेले रामायण पढ्न सक्ने भए, पञ्चम वेद जान्ने भए । वेद, पुराण पढ्न नपाएर र नसकेर जीवन निरर्थक भएको ठान्ने अवस्थाबाट नेपाली समाजलाई मुक्त पार्ने काम भानुभक्तले गरे ।
रामायण पढ्ने, बुझ्ने र व्यवहारमा लागू गर्ने सन्दर्भ हेर्दा त ‘अर्थ नपाई गोविन्द गाई, कपाल दुखेको ओखती नाइटोमा लाई’ भनेझैँ नै देखिन्छ । रामायण पढ्न त जानियो, कथा त पढियो, जीवनोपरान्त मोक्षको कामना गर्ने मात्रका लागि त यो नै ठूलो विषय भयो, ज्ञानका लागि पढ्नेहरूले त यसमा जीवन खोज्न जान्नुप¥यो र जीवनोपयोगी विषय फेला पार्नुप¥यो । भानुभक्तले त आफ्नो जिम्मेवारी पूरा गरे, उनी प्रशंसा र धन्यवादका पात्र हुन्, तर हामीले आफ्नै भाषामा प्राप्त गरेको रामायणको सदुपयोग केमा कसरी गर्ने गरेका छौँ ? प्रश्न यहाँनेर छ ।
भानुभक्तले नेपाली भाषामा रामायण लेखेर हामीलाई दिएको हो । संस्कृत भाषा नबुझ्नेहरूका लागि रामायण बुझ्ने अवसर प्राप्त भएको हो । तर, हामी आफ्नै भाषामा रामायण बुझेकाहरू के गर्दैछौँ ? हतार हतार राम, सीता र लक्ष्मणको प्रतीक तिलक लगाउँछ, कसैले कुनै तिलक वा चिन्ह धारण नगरेका पनि होलान्, रामायणका दुई चार श्लोक पढ्छ, तातै जिब्रो पोल्ने दुई चार गास अन्न निल्छ, छिमेकीको घोडा, साइकल, मोटर साइकल, कार माग्छ र सोझै अदालत जान्छ र आफ्नै पिता वा सहोदर दाजुको नाममा अंश मुद्दा हाल्छ । यस्तो अवस्थालाई रामायण पढेको, बुझेको भन्न मिल्छ ?
रामायणका अनुसार तत्कालीन चक्रवर्ती सम्राट दशरथका तीनवटी श्रीमती थिए– कौशल्या, सुमित्रा र कैकेयी । यिनीहरू एकअर्काका सौता थिए । कौशल्याका छोरा रामलाई वनवासको प्रस्ताव गर्ने कैकेयीसँग उनको झगडा परेको देखिँदैन । बरु, सुमित्राका छोरा लक्ष्मणसमेत सौताने आमाका छोरा रामसँगै वनवास गए । त्यति मात्र होइन, रामको वनवाससँगै राज्य प्राप्त गरेका कैकेयीका छोरा भरतले राज्यको राजा हुन पाउँदा पनि खुसी भएनन् र रामको चरण पादुका (खराउ–काठको चप्पल) लाई राजगद्दीमा राखेर आपूm रामको दासको रूपमा रहेर शासन चलाएका थिए ।
रामायण पढेका, रामकथा वाचन गर्दै हिँड्ने, रामकै भजन गाउँदै हिँड्ने, रामराज्यको वकालत गर्दै हिँड्ने, रामायणका श्लोक भट्याउँदै हिँड्ने अहिलेका रामभक्तहरू कति त्यागी छन् ? कत्तिको मेलमिलामा रहन सकेका छन् ? नेपाली भाषामा रामायण पढेका यी नेपालीहरू यसबाट कत्तिको लाभान्वित छन् र समाजलाई कस्तो सन्देश दिइरहेका छन् ? रामायणबारे समीक्षा छर्दै हिँड्ने, राम र उनको परिवारलाई सामन्ती शोषक भनेर राजनीति रङ्गाउँदै हिँड्ने समाजवादी, जनवादी, क्रान्तिकारी, राजाको शासन ल्याउन राजनीति गरिरहेका राजावादी राजनीतिज्ञहरू र उनीहरूका पछुवा जमातले रामायणको कथा नेपालीमा पढेर केही ज्ञान बढाएका र सदुपयोग गरेका छन् ? यी प्रश्न पनि सँगै उठ्ने गर्दछन् ।
रामायण र अन्य ग्रन्थहरूमा दशरथको वंशावली पढ्दा उनी निकै प्रभावशाली थिए भन्ने बुझिन्छ । अनेकौँ राज्यका राजाहरूसँग उनको मैत्री सम्बन्ध रहेको अनेकौँ राज्यहरू उनका सहयोगी रहेको देखिन्छ । उनका तीन वटै ससुराली पनि गतिलै थिए भन्ने बुझिन्छ । स्वयं सीताको माइत, राम र लक्ष्मणको ससुराली पनि लोकप्रिय र शक्तिशाली रहेको वर्णन पाइन्छ ।
यसरी हेर्दा उनले वनवासका नाममा त्यति धेरै दुःख नगरेर तिनै सम्बन्धहरूलाई उपयोग गरेको भए पनि असम्भव थिएन । तर, कथाले के भन्यो ? कथाले भन्यो उनीहरूले यीमध्ये कसैको पनि सहयोग लिएनन् । राजा दशरथका परिचित–अपरिचित वनवासीहरूसँग उनीहरूको भेटघाट भयो । कुनै कारणले एक्ल्याइएकी शबरीको खोजी गरेर उनको जुठो बयर खाएर आतिथ्य लिए । यसको तात्पर्य अछुत मानिएकी एकल महिलालाई उनले महत्व दिए, सम्मान गरे ।
स्वर्ग र देवताका राजा इन्द्रले चन्द्रमाको सहयोगमा झुक्याएर यौन सम्पर्क गरी ‘बिटुल्याइएकी’ ढुंगासरह मिल्काइएकी ऋषि गौतमकी पत्नी अहिल्यालाई भेटेर उनको उद्धार गरेको विषय कथामा पढ्न पाइन्छ । यति मात्र होइन, नाम मात्र लिनाले पनि पाप नाश हुने पवित्र पञ्चकन्यामा अहिल्याको नाम लेखाए । अन्यत्र लेखिएको छ, ‘अहिल्या द्रौपदी तारा, कुन्ति, मन्दोदरी तथा । पञ्चकन्या स्मरेन्नित्यं सर्वपातक नाशनम्’ अर्थात् अहिल्या, द्रौपदी, तारा, कुन्ती, मन्दोदरी यी पाँच कन्याको नित्य स्मरण गर्नाले सबै पापहरू नाश हुन्छन् । अहिल्या, तारा र मन्दोदरी रामायणमा उल्लेख गरिएका पात्र हुन् । अहिल्याबारे माथि नै चर्चा भइसकेको छ । तारा बाली र सुग्रीवकी पत्नी थिइन् भने मन्दोदरी रावणकी पत्नी हुन् । रामायणका विषयमा बहस गर्दा यी विषय प्रायः ओझलमै पर्ने गर्दछन् । किन ? किन भने यसमा रामायणको दोष होइन, जातिभेद र लिङ्गभेद गरी सामाजिक शोषण, उत्पीडन कायम राखेर फाइदा लिनेहरूको बोलबालामा आघात पुग्छ ।
सीताको अपहरणपछि रावणसँग युद्ध गर्नका लागि पनि दशरथको प्रभाव, स्वयं अयोध्याको राज्यशक्ति, मावलीहरूको शक्ति, जनकपुरको शक्तिको सहयोग लिन सकिने हुन्थ्यो, तर रामले त्यसो गरेनन् बरु निषाद, जटायु सहयोग लिए । साथै, वनका बालि, सुग्रीव, जाम्बवान, हनुमान, अङ्गद आदिलाई सशक्तिकरण गरी लङ्का हान्ने शक्ति निर्माण गरे ।
रामायण महाकाव्य हो । महाकाव्य कवितामा लेखिएको अनेकौँ उपकथाहरूको सँगालो हो । यस विषयमा यो भन्दा बढी चर्चा नगरौँ । रामायणको यत्रो विशाल कथासँग दुई सय आठ वर्ष मात्र अघिका भानुभक्तको निजी दृष्टिकोण, बुझाइ र व्यवहारसँग जोडेर बुझ्ने प्रयास गरियो भने सही बुझाइ हुन सक्दैन । भानुभक्तको कीर्ति भानुको जीवनीमा होइन, रामायण लेखनमा हो । उनको योगदान रामायण हो ।
सीताको अग्निपरीक्षा, सीता परित्याग आदि विषयको जानकारीका लागि पनि रामायणकै भूमिका हो नि ! रामका कमजोरी बखान्ने स्रोत समेत भएको रामायण र यसका प्रस्तोताप्रति सकारात्मक रहौँ । ‘साहित्य समाजको दर्पण हो’ भनेर मान्नेहरूले रामायण पनि साहित्य हो, त्यति बेलाको समाजको दर्पण हो भनेर बुझ्न मिल्दैन र ?
ऐना हेर्दा कानमाथिका दुई–रौँ सेता देखिएपछि नेतृत्व हस्तान्तरण गर्ने महासामन्ती चक्रवर्ती महाराजा र आजको गणतन्त्रका जननिर्वाचित नेतृत्वबिच तुलना गर्न पनि रामायण पढ्न र बुझ्न आवश्यक छ । इतिहास, पुराण, कथा, महाकाव्यका पात्रहरूका बारेमा बुझ्दा त्यति बेलाको समाज र चेतनाको सापेक्षतामा बुझ्नु र उचित शिक्षा लिनु पर्दछ । कुनै पनि पूर्ववर्ती अवस्थाको कमजोरी उधिनेर–बखानेर वर्तमान र भविष्य उजेलिँदैन । आदिकवि भानुभक्त र रामायणका सन्दर्भमा पनि यही कुरा लागू हुन्छ ।
रामायणबाट शिक्षा लिन आफ्नो भाषामा रामायण उपलब्ध गराउने भानुप्रति श्रद्धा व्यक्त गर्नैपर्छ । तर, हामीले भानुभक्तबाट लिने शिक्षा भने समाजलाई काम लाग्ने केही न केही गर्नुपर्छ भन्ने हो । वास्तवमा हामीले लिने शिक्षा नेपालीमा पढ्न पाइएको रामायणबाट हो । रामायणबाट आजका लागि लिन सकिने शिक्षाको खोजी गरौँ । लिनपर्ने लिऔँ, छोड्न पर्ने छोडौँ । इतिहासबाट शिक्षा लिनु भनेको त्यही दोहो¥याउनु होइन, त्योभन्दा अघि बढ्नु हो । भानुभक्तप्रति हार्दिक श्रद्धा !!