नागपूजा: संस्कृति र शिक्षा !

मेचीकाली संवाददाता

२५ श्रावण २०८१, शुक्रबार
550 shares

घनश्याम कोइराला

आज नागपञ्चमी हो । सनातन संस्कृतिका अनुयायीहरूका घरमा नागपूजा गरिन्छ । आफै पूजा नगरे पनि पुरेतबाट आफ्नो घरको मूलढोकामा नागको फोटो टाँस्ने प्रचलन रहिआएको छ । अनन्तो वासुकि पद्मः महापद्मश्च तक्षकः । कुलीर कर्कटः शङ्खश्चाष्टौ नागाः प्रकृर्तिताः अर्थात् अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट, शङ्ख यी आठ प्रकारका नागहरू प्रसिद्ध छन् । नागपूजा गदैगर्दा पढिने मन्त्रमा यो विषय यसरी प्रस्तुत गरिएको छ ।

सर्प—नागहरू धेरैथरि भए तापनि नागपञ्चमीमा अष्टनाग अर्थात् आठ प्रकारका नागहरूको पूजा गरिन्छ । यसरी यी आठ प्रकारका नागहरू प्रसिद्ध रहेको कुरा बुझ्न सकिन्छ । तर, अहिले आधुनिक भनिएको समाजमा संस्कृतिको यति बजारीकरण भएको छ कि अनेकौँ प्रकारका नाग—सर्पका फोटो पूजा गर्ने गरेको पाइन्छ । विषयको धेरै गहिराइमा जान नसके पनि हाम्रा पुर्खाले सर्पहरूका विषयमा अध्ययन गरेका रहेछन् भन्ने स्पष्ट हुन्छ । यी पुराना अध्ययनका निष्कर्षहरू आज कत्तिको प्रमाणित छन् भन्न नसकिए पनि घस्रेर हिंड्ने यस्ता प्राणीबारे हाम्रा पुर्खाले धेरै कुरा थाहा पाएका रहेछन् भन्ने बुझिन्छ ।

सनातन संस्कृति बहुदेव पूजक संस्कृति हो । सनातनीका देवीदेवतामा ब्रह्मा, विष्णु, महेश, लक्ष्मी, दुर्गा, सरस्वती, वरुण आदि मात्र पर्दैनन् । हरेक जीवनोपयोगी र जीवनका लागि प्रत्यक्ष—अप्रत्यक्ष रूपमा हितकारी जीव, वनस्पति, पशु, पङ्क्षी, जलचर, थलचर, नभचर आदि प्रकृतिमा रहेका सबै देवताका रूपमा मानिएका छन् र पूजित छन् । सनातनमा विभिन्न ढङ्गले यी सबैको मान र महत्व रहेको छ । उच्च महत्व, मान र सम्मान नै वास्तवमा पूजा हो । प्रकृतिपूजक सनातनीहरूले यसैलाई परम्पराका रूपमा अघि बढाउँदैआएका छन् । नागको पूजा गर्दैगर्दा कुनै पनि सनातनीले स्वर्ग, नर्क, मोक्ष आदिको परिकल्पना र अपेक्षा गरेको देखिँदैन । त्यसैले यसलाई अन्धविश्वास बनाउनु हुँदैन । प्रकृतिलाई बुभ्mनु र प्रकृतिलाई पुज्नुको वैज्ञानिक आधार पहिल्याउन आवश्यक छ ।

नाग र सर्प उस्तै हुन्, एउटै होइनन् अर्थात् सबै सर्पहरू नाग होइनन् भनिन्छ । तर, जनबुझाइमा नाग र सर्प उही हुन् । सर्पहरू पाँच फणा, आठ फणा, दश फणा भएका हुन्छन् । केही सर्पहरू उड्ने हुन्छन् । केही सर्पहरू मणिधर अर्थात् मणिसहितका हुन्छन् । कतिपय सर्पहरू आफ्नो रूप परिवर्तन गर्ने अर्थात् इच्छाधारी हुन्छन् भनिएको छ । यी र यस्ता विषय नागको पूजा गर्ने र नगर्ने दुवैथरिले गर्न जरूरी छ । अध्ययन गरिएको छ भने त्यसका निष्कर्षहरू बुझ्न जरूरी छ । विद्वान् लेखक उद्धवप्रसाद भट्टराई ‘चैतन्यदीप’का अनुसार ‘सर्प कैयौँ प्रकारका हुन्छन्, जस्तै— मणिधारी, इच्छाधारी, उड्ने, एक फणा भएका देखि लिएर दसफणासम्म भएका सर्पहरू हुन्छन् भनिएको छ । नीलमणिधारी सर्पलाई सबभन्दा उत्तम मानिएको छ । इच्छाधारी नागका बारेमा के भनिन्छ भने त्यो नाग आफ्नो इच्छा अनुसारका अनेक जीवको रूप धारण गर्न सक्छ भनेको छ । यद्यपि यस कुरामा वैज्ञानिक आधार नभेटिएको भए पनि अब उनीहरू आफ्ना शोधका आधारमा के भन्न थालेका छन् भने वास्तवमा सर्प प्रकृतिको सबभन्दा रहस्यमय प्राणी हो । दक्षिण एसियाका धेरै वर्षा हुने वनहरूमा उड्ने जातिका सर्पहरू पाइन्छ । उड्नमा सक्षम यी सर्पहरूलाई क्रोसोपेलिया जातिसँग सम्बन्धित मानिएको छ । वैज्ञानिकहरूले दुईदेखि पाँच फणासम्मका सर्पहरू भएको कुरा पुष्टि गरेका छन् ।’

सनातन संस्कृतिमा सबै जीव–जन्तुहरूमा गाईलाई सर्वोपरि मानिन्छ । गाईको पूजा हुन्छ, गाईलाई देवस्वरूप मानिन्छ । गाईपछि सर्प मात्रै एक त्यस्तो जीव हो जसको सनातनधर्म—संस्कृतिमा महत्वपूर्ण स्थान छ र पूजा गरिन्छ । सनातन संस्कृतिका धेरै पक्ष आज पनि खोज अनुसन्धानका विषय हुन सक्दछन् । यहाँ शक्ति र विशेषतालाई मान्ने, पूज्ने प्रचलन छ । यो भनेको विशेषता, उपयोगिता र शक्तिको सम्मान हो । तर कतिपय अवस्थामा नकारात्मक शक्तिको समेत पूजा हुनुले गलत सन्देश पनि फैलिएको देखिन्छ, यहीँनेर अन्धविश्वास र आत्महीनताको उपस्थिति छ ।

सामान्यतः प्रत्यक्ष रूपमा नदेखिने भूत, प्रेत आदिलाई पनि शक्तिको रूपमा स्वीकार गर्ने, यिनीहरूबाट डराउने गरेको देखिन्छ । तर, मानिस यिनीहरूबाट डराएर भागेको छैन, तिनलाई पनि निश्चित विधिबाट उपचार गरेर, ठेगान लगाएरै छोडेको देखिन्छ ।
विषाक्त भनेर जान्दाजान्दै पनि सर्पलाई सबैतिर सम्मानसाथ राखिएको र उच्च स्थान दिएको देखिन्छ । उदाहरणका रूपमा विष्णुको सुत्ने ओछ्यान र शिरको छाताको रूपमा सर्प छ, जसलाई शेषनाग भनिएको छ । शिवजीको घाँटीमा मालाको रूपमा सर्प छ । शिवजीको घाँटीमा रहेको नाग—सर्पलाई ‘नागेन्द्र’ अर्थात् नागको राजा भनिएको छ । त्यसैले सर्पलाई नागदेवताको रूपमा पूजा गरिँदैआएको हो भन्ने मान्यता पनि रहेको देखिन्छ ।

पहिले पहिले गाउँघरका खेत र बारीको छेउमा, कुनै रुखमुनि, पानीको मुहान—पानी पँधेरामा नागको स्थान बनाइएको हुन्थ्यो र त्यस ठाउँमा पूजा गर्ने प्रचलन थियो । गाउँघरमा अहिले पनि त्यस्तै छ । नागको स्थानमा फोहर पार्न हुँदैन भन्ने मान्यता थियो । यसबाट ती स्थानहरू सफासुग्घर र सुरक्षित राख्न मद्दत पुग्दथ्यो । मानिसहरूले प्रदुषणरहित पानी पाउँथे । तर, अहिले सहरीकरण भएको छ । खेतबारीका स्वरूप फेरिएका छन् । पानीका मुहान सफसुग्घर राख्ने तरिका फेरिएका छन् । सबैको चेतनाको स्तर बराबर थिएन, मानिसहरूलाई अनुशासनमा राख्ने, दण्डसजाय दिने निकाय र शक्ति नभएका बेला नागको थान बनाएर जलस्रोतका मुहान, पानीपँधेरो स्वच्छ राख्ने यो तरिका विज्ञानसम्मत हो ।

नागका बारेमा बुझ्दै जाँदा नाग भनेको सरीसृप प्रजातिका प्राणी मात्र नभई मानववंश पनि थियो भन्ने देखिन्छ । भारतमा नागवंशका मानिसहरूको बसोवास र वर्चस्व नै रहेको थाहा पाउन सकिन्छ । कसैकसैले नाग—सर्प समात्ने, सर्पको विष निकाली त्यसको औषधि बनाउने, विषरहित बनाएर सर्पकै मासु खाने गरेको हुनाले त्यस्ता मानिसहरूलाई नाग भनिएको कि भन्ने अनुमान गरेको पनि पाइन्छ ।
अर्को प्रसङ्ग अनुसार बुद्धका मावलीको रूपमा प्रसिद्ध रहेको रामग्राममा स्तुप बनाएर भगवान गौतम बुद्धको अस्तुधातु÷अस्थिशेष राखिएको स्थान अहिले पनि सुरक्षित छ । त्यसलाई तत्कालीन सम्राट अशोकले अन्यत्र पनि बाँड्न प्रयोजनले निकाल्न खोज्दा नागहरूले त्यसो गर्न नदिएर जोगाएको र त्यो अक्षत रहेको अर्थात् नखोतलिएको र भन्ने विषय पनि चर्चित प्रसङ्ग पाइन्छ ।

नाग पञ्चमी मनाइरहँदा—नाग पूजा गरिरहँदा नागका विषयमा, नाग जातिका विषयमा, नागका प्रकार, नागका विशेषता तथा सावधानीका विषयमा थप अध्ययन गर्नेतर्फ ध्यान दिन आवश्यक देखिन्छ । यसो गरियो भने नाग पूजाको औचित्य थाहा पाउन र यसलाई जीवनोपयोगी बनाउन सहयोग पुग्ने छ । यस परम्परालाई कपोलकल्पित वा अन्धविश्वास भन्नु गम्भीर गल्ती हुनेछ ।
नागका विविधता जस्तै गुणदोषका आधारमा मानिसमा पनि अनेकौँ विविधता छन् । मानिसमा पनि जीवनोपयोगी पक्ष छन्, ती गुण हुन् भने जीवनद्रोही पक्ष दोष हुन् । मानिसहरू गुण र दोषसहित पृथ्वीमा अधिकारपूर्वक बसेका छौँ भने नाग(सर्प)हरूका पनि गुण र दोष दुवै छन् । सर्पहरू वातावरणमा रहेको प्रदूषण आफू लिन्छन् । यसबाट उनीहरू थप विषाक्त बन्दछन् । जगन्नाथ आचार्यले लेखेको गुणरत्नमालामा लेखिएको पनि छ, ‘आलो दूध पिएर सर्पहरूले साक्षात् विषै पार्दछन् !’ यो सर्पहरूको गुण हो ।

अन्नबाली राम्रो उब्जने, खेतीपातीलाई किराहरूबाट जोगाउन सर्पको भूमिका हुन्छ । प्राणीहरूबाट प्mयाँकिएको कार्बनडाइ अक्साइट शोषेर वातावरणलाई स्वच्छ राख्नमा सर्पको महत्वपूर्ण भूमिका रहेको छ । मानिसको पक्षमा नागको योगदान हो यो । यस्तो योगदानको सम्मान गर्नु नागपूजा हो । नागको चित्र बनाएर ढोकैमा टाँस्ने उनीहरूबाट सतर्क रहन नबिर्सियोस् भनेर हो ।
प्रायः सर्पहरू विषालु हुन्छन् । उनीहरू डरलाग्दा हुन्छन् । उनीहरूले जतिखेरसुकै डस्न सक्दछन् । यसका लागि मानिसहरूमा सचेतना आवश्यक हुन्छ । यी दुवै कारणले नागको चित्र बनाई घरको ढोकामा टाँस्ने चलन चलाइनु स्वाभाविक हो । परम्परागत मान्यता अनुसार नाग पञ्चमीको दिनमा नाग देवताको पुजा गरेमा घरमा आगो, सर्प र चोरको डर हुँदैन । यो मान्यता र विश्वासको विषय हो ।

नेपाली समाजमा नाग पञ्चमी मनाउने विषयमा पनि विविधता रहेको छ । पहाडी समुदायमा नाग पञ्चमीका दिन नागको पूजा गर्ने, घरको ढोकामा टाँस्ने गरिन्छ र चाडपर्वको सुरुआतको रूपमा सेलरोटी, खीर आद पकवान्न बनाएर खाने—खुवाउने गरिन्छ । तराई मधेशका केही क्षेत्रमा भने यस अवसरमा विवाह गरेर आप्mना घर गएका छोरी, दिदीबहिनीका घरमा पाहुर—कोसेली पु¥याउने प्रचलन पनि रहेको छ ।

सनातन संस्कृति दोषलाई स्वीकार्ने र गुणलाई पुज्ने संस्कृति हो । नाग पञ्चमी र नाग पूजाको परम्पराले दोषबाट सावधान र सतर्क रहने, गुणलाई जीवनमा अवलम्बन गर्ने संस्कृतिको पक्षपोषण गर्दछ । (लेखकः कोइराला संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)