परमात्मा परमेश्वर र उहाँको अस्तित्वको प्रश्न

मेचीकाली संवाददाता

१४ भाद्र २०८१, शुक्रबार
255 shares

हेमन्त गौतम

मैले यसभन्दा ठिक अघिल्लो लेखमा श्री सूर्यनारायणज्यू कुनै आगो समान धपधप बल्दो ग्यासको एउटा गोलाकार निर्जीव भौतिक पिण्ड कुनै पनि अवस्थामा नभई वास्तवमा एक मात्र परम चैतन्य स्वरूप परम प्रभु परमात्मा परमेश्वर नै हुनुहुन्छ भन्ने परम सत्य एवं यथार्थलाई तदनुरूप पुष्टि गर्ने क्रममा बुँदा नम्बर ४ अन्तर्गत जे जस्तो विचार पाठक महानुभावहरू सामु प्रस्तुत गरेको थिएँ आवश्यक दृष्टान्तसहित, त्यसबारे कुनै पनि कुरा पुनः दोहो¥याइरहनुपरेन नै । तसर्थ अब म सोही विषय वा प्रसङ्गलाई बाँकी बुँदाहरूसहित निम्नानुसार अगाडि बढाउन चाहन्छुः

(५) श्री सूर्यनारायणज्यूबाट प्राप्त हुने प्रकाश शक्तिले दिने दिनको उज्यालो र एउटा बलिरहेको ग्यास वर्न वा ग्यास चुलोबाट निस्कने आगोको ज्वाला चाहे त्यो जतिसुकै ठूलो किन नहोस्, त्यसबाट प्राप्त हुने प्रकाश शक्तिले दिने रातको उज्यालोमा अतुलनीय स्वरूपको विशाल अन्तर पाइन्छ । उक्तबमोजिमको दिनको उज्यालो भनेको चकमन्न सेतो उज्यालो हुन्छ जसले गर्दा हाम्रो सामुन्नेको नजिक वा टाढाको संसार छर्लङ्गै देखिन्छ । त्यसमा कुनै कमी भनी गुनासो गर्ने स्थान रञ्च मात्र पनि हुँदैन । किन्तु एउटा जतिसुकै ठूलो ग्यास वर्न वा ग्यास चुलोबाट निस्कने आगोको ज्वालाबाट प्राप्त हुने उज्यालो जबकि दिनको समयमा अलिक टाढाबाट हेर्दा त्यसको अस्तित्वको खासै अनुभूतिसम्म पनि हुँदैन, रातमा पनि त्यो (उज्यालो) रातको कालो अध्यारो मिश्रित कता कता रातो रङको अत्यन्त फिक्का (मधुरो) स्वरूपको हुन्छ जसले गर्दा हाम्रो नजर भित्रको तर अलिक टाढाको संसार त परै रहोस्, नजिकको स्थान, वस्तु वा व्यक्तिसम्म पनि राम्रोसँग छर्लङ्ग रुपमा देख्न सकिँदैन । त्यस प्रकारको उज्यालोमा नत कृषि, उद्योग, व्यापार पूर्णरुपेण राम्रोसँग सञ्चालन गर्न सकिन्छ नत शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात आदि नै । अझ विज्ञान तथा प्रविधिको क्षेत्रमा गर्नुपर्ने सूक्ष्मातीसूष्म अध्ययन, अनुसन्धान, आविष्कार, खोज, प्रयोग–परीक्षण आदिको त कुरै छोडौँ, त्यो त झनै कल्पनादेखि टाढाको विषय नै भयो ।

उता श्री सूर्यनारायणज्यूबाट प्राप्त हुने दिनको प्रकाशको उज्यालोमा भन्ने हो भने नत कृषि, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, सञ्चार आदि क्षेत्रसँग सम्बद्ध कार्य सम्पन्न गर्न रञ्च मात्र पनि कुनै समस्या रहन्छ नत विज्ञान र प्रविधिको क्षेत्रमा गनुपर्ने खोज, अध्ययन, अनुसन्धान, आविष्कार, प्रयोग वा परीक्षा आदि क्षेत्रसँग सम्बद्ध कार्य पूरा गर्नमै । हाम्रो मानव जीवनसँग सम्बद्ध अन्य कुनै पनि कार्य सम्पन्न गर्नमा पनि यही नियम लागू हुने कुरामा कुनै सन्देह छैन । के यो तथ्यलाई हाम्रो दैनिक जीवनको अनुभवले परमसत्य प्रमाणित गर्दैन र ? अवश्यभेव गर्दछ ।

जहाँसम्म एउटा बलिरहेको ग्यास वर्न वा ग्यास चुलोबाट उत्पन्न आँगोको ज्वाला जतिसुकै ठूलो आयतन वा आकारको भएतापनि त्यसको अपेक्षा श्री सूर्यनारायणज्यू अतुलनीय रुपमा विशाल आयतन वा आकारको हुनुभएका कारण हाम्रो सांसारिक जीवनमा उक्त प्रकारको प्रभाव परेको पो हो कि उहाँ (श्री सूर्यनारायणज्यू) एउटा आगो समान धपधप गरी बल्दो ग्यासको निर्जीव भौतिक पिण्ड हुँदाहुँदै पनि भन्ने प्रश्न छ, यसभन्दा अघिल्लो लेखको बुँदा नम्बर ४ मा उल्लेख गरिएको प्रकाशशत्तिको कुनै स्थान, वस्तु वा व्यक्तिमा पर्ने कम वा बँेसी प्रभावसम्बन्धी नियमअनुसार कुनै बलिरहेको जडवस्तुजन्य प्रकाश शक्तिको स्रोतबाट आएको प्रकाश शक्तिको प्रभाव नजिकको स्थान, वस्तु वा व्यक्तिमा भन्दा टाढाकोमा अपेक्षाकृत कम पर्दछ । तसर्थ श्री सूर्यनारायणज्यू यस पृथ्वीबाट अत्यन्त टाढा रहनुभएका कारण एउटा ठूलो साइजको भकुण्डो जत्रो देखिनुहुने उहाँको प्रकाश शक्तिको यहाँ पर्ने प्रभाव पनि उहाँ साँच्चै नै एउटा बल्दो ग्यासको निर्जीव भौतिक पिण्ड भएमा सोहीबमोजिम नै अत्यन्त थोरै पर्ने भएअनुरुप उहाँ श्री सूर्य नारायणज्यूको प्रकाशको प्रभाव र हाम्रो निकटमा यस पृथ्वीतलमै रहेको उक्त ग्यास वर्न वा ग्यास चुलोबाट पैदा हुने आगोको ज्वालाबाट उत्पन्न प्रकाशको यहाँ पर्न जाने प्रभावको बिचमा खासै ठूलो अन्तर नहुनु पर्ने कुरा स्वतः स्पष्ट छ । परन्तु यसको ठिकविपरीत श्री सूर्यनारायणको प्रकाशको दिनको समयमा देखिने प्रभाव र एउटा बलिरहेको ग्यास वर्न वा ग्यास चुलोबाट निस्कने आगोको ज्वालाको प्रकाशको रातको समयमा पर्ने प्रभावको बिचमा माथि उल्लेख गरिएबमोजिम विशाल अन्तर भिन्नता पाइन्छ एकापट्टि भने अर्कोपट्टि प्रज्वलनशील ग्यास वस्तुका ठूलाठूला राशि बालेर हेरेमा पनि नतिजा उपर्युक्तबमोजिमकै मिल्ने कुरामा समेत कुनै सन्देह छैन । त्यसैले श्री सूर्यनारायणज्यू कुनै निरन्तर रूपमा बलिरहेको ग्यासको भौतिक पिण्ड नभई आफूमा अन्तर्निहित प्रकाश शक्तिजन्य अलौकिक विशेषतायुक्त एकमात्र परम चैतन्य स्वरूप परम प्रभु परमात्मा परमेश्वर नै हुनुहुन्छ भन्ने तथ्यलाई निःसङ्कोच आत्मसात् गर्नुमा कति पनि अन्यथा हुने देखिँदैन ।

(६) हामीले श्री सूर्यनारायणज्यूबाट आएका प्रकाशका किरणहरूलाई एउटा ऐनाको सतहमा पार्दा त्यस ऐनाबाट ती प्रकाशका किरणहरू परावर्तित भएर गई जुन स्थानमा पर्दछन् र त्यहाँ जे जति मात्रामा उज्यालो देखिन्छ त्यति नै मात्रामा उज्यालो एउटा बलिरहेको ग्यास वर्न वा ग्यास चुलोबाट निस्केको आगोको ज्वाला चाहे त्यो जतिसुकै ठूलो होस्, त्यसबाट आएका प्रकाशका किरणहरुलाई उसरी नै सोही ऐनाको सतहमा पार्दा त्यसबाट परावर्तित भएका प्रकाशका किरणहरू परेका स्थानमा कदापि देखिँदैन । बरु अघिल्लो स्थानको अपेक्षा पछिल्लो स्थानमा कैयौं गुणा कम उज्यालो देखिन्छ । भन्नुको तात्पर्थ एउटा बल्दो ग्यास वर्न वा ग्यास चुलोबाट पैदा हुने जति नै ठूलो आगोको ज्वालाको प्रकाशमा भन्दा श्री सूर्यनारायणज्यूको प्रकाशमा परावर्तन क्षमता कैयौं गुणा (एक प्रकारले अतुलनीय रुपमा) बढी हुन्छ । थप दृष्टान्तको लागि दिनको समयमा उहाँ श्री सूर्यनायणज्यूको प्रकाश कुनै एउटा घरको कुनै पनि झ्याल वा ढोकाबाट सिधै भित्र प्रवेश नगरिरहेको अवस्थामा पनि त्यस घरको वरिपरिको वायुमण्डल तथा जमिनको सतहमा परेका उहाँका प्रकाशका किरणहरू त्यहाँबाट परावर्तित भई ती झ्याल–ढोका हुँदै घरभित्र प्रवेश गरेका कारणले मात्र पनि सो घरका कोठा–चोटा र अन्य भागसमेत जे जति मात्रामा उज्याला बन्दछन् सोको आधारमा त्यहाँ (घरभित्र) हुने सबै दैनिक क्रियाकलापहरू प्रायः सजिलै सम्पन्न गर्न सकिने हुन्छ । परन्तु रातको समयमा उक्त घरको वरिपरि चारैतिर उक्तबमोजिमका अनेक ग्यास वर्न वा ग्यास चुलाहरू बालेर राखेको अवस्थामा पनि तिनबाट निस्केको आगोको ज्वालाबाट आएका प्रकाशका किरणहरूको उपर्युक्तबमोजिम केवल घर वरिपरिको वायुमण्डल र जमिनको सतहबाट भएको परावर्तनको भरमा सम्बद्ध घरका सम्बद्ध कोठा–चोटा र अन्य भाग उक्तबमोजिम नै (अघिल्लो अवस्थामा जस्तै) उज्यालो बन्न गई त्यहाँ हुनुपर्ने दैनिक क्रियाकलापहरू उसरी नै सहजै सञ्चालन वा सम्पन्न गर्न कदापि सम्भव हुँदैन । कारण, उक्त अघिल्लो अवस्थामा सरह पछिल्लो अवस्थामा सो सम्बद्ध कोटा–चोटा र अन्य भाग उज्यालो नबनी धेरैभन्दा धेरै अँध्यारो नै रहन्छन् । यदि हामीमध्ये कसैले प्रयोग गरी हेरेमा पनि यसमा कति पनि फरक पर्ने देखिँदैन ।आखिर श्री सूर्यनारायणज्यूको प्रकाश शक्तिमा विद्यमान यसै अलौकिक विशिष्ट विशेषताका कारण नै दिनको समयमा व्यक्तिगत घर–भवन, सरकारी कार्यालय, निजी वा सरकारी विद्यालय, उद्योगधन्दा, कलकारखाना आदि भित्र पनि सम्बद्ध सबै क्रियाकलाप (कार्य) हरू सहजै सञ्चालन वा सम्पन्न गर्न सम्भव भएको हो, अन्यथा सम्भव हुने थिएन ।

त्यति मात्र होइन, श्री सूर्यनारायणज्यूको प्रकाशमा विद्यमान उपर्युक्त प्रकारको विशिष्ट लक्षण वा विशेषताकै प्रतिफल रातको समयमा बुध, शुक्र, मङ्गल आदि ग्रह तथा चन्द्रमा आदि उपग्रहको सतहमा पर्न जाने उहाँ श्री सूर्यनारायणज्यूको प्रकाशका किरणहरू त्यहाँबाट परावर्तित भई यस पृथ्वीसम्म आइपुग्दा नै ती सबै ग्रह तथा उपग्रहहरु सो (रातको) समयमा उज्याला देखिएका हुन् र यस पृथ्वीको उपग्रह चन्द्रमाबाट हामीलाई तिथिअनुसारको रातमा निम्न, मध्यम तथा उच्च (पूर्ण) स्वरूपको आफ्नै खालको प्रकाश (उज्यालो) प्राप्त हुने गरेको हो, अन्यथा कतै सम्भव थिएन । किनभने श्री सूर्यनारायणज्यू साँच्चै नै एउटा बलिरहेको ग्यासको भौतिक पिण्ड भए ती ग्रह तथा उपग्रहहरूमा परेको उहाँको प्रकाशका किरणहरू उक्तबमोजिम परावर्तित भई यहाँसम्म आइपुग्न सक्ने नै थिएनन् । फलस्वरूप नत उक्त ग्रह तथा उपग्रहहरू रातको समयमा उज्याला देखिन्थे नत तिनीहरूको अस्तित्वको नै हामीलाई बोध हुने थियो । रातको समयमा चन्द्रमाबाट हामीलाई मिल्ने गरेको उक्त प्रकारको प्रकाश वा उज्यालो पनि कदापि मिल्ने थिएन । त्यसैले प्रष्ट छ कि श्री सूर्यनारायणज्यू कुनै बलिरहेको ग्यासको निर्जीव भौतिक पिण्ड कदापि नभई उपर्युक्तबमोजिमको आफ्नै प्रकाश शक्तिजन्य विशिष्ट विशेषतासमेतले सहिद भएका एकमात्र प्रभु परमात्मा परमेश्वर रूपी परम चेतन नै हुनुहुन्छ जसमा विवाद गर्ने रञ्च मात्र पनि स्थान छैन । अरु बाँकी सबै आगामी लेखहरूबाट । अंक–६ (क्रमशः)