आज कृष्ण जन्माष्टमी र गौरा पर्व मनाइँदै

मेचीकाली संवाददाता

१४ भाद्र २०७८, सोमबार
162 shares

काठमाडौं । आज ‘श्रीकृष्ण जन्माष्टमी’ र गौरा पर्व मनाइँदै छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसेर रातभर जाग्राम बस्ने प्रचलन छ ।

जन्माष्टमीका दिन पाटनको कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गरे पनि यस वर्ष भने नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहेका कारण पूजा विधि मात्र गरिने भएको छ ।

ललितपुर महानगरपालिकाले सूचना प्रकाशन गरी भक्तजनलाई दर्शन गर्न नदिने जानकारी गराएको छ । यसैगरी कागेश्वरी मनोहरा नगरपालिका–८ मा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष दुवैतिर विधिपूर्वक पूजा आराधना गर्ने तर भीड नगर्ने गरी तयारी भएको छ ।

बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष पूजा आराधना मात्र गर्ने गरी तयारी भएको छ ।

यसै उपलक्ष्यमा काठमाण्डौका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन पनि यस वर्ष प्रभावित भएको छ । यस पर्वका अवसरमा विगत वर्षमा काटिएको सार्वजनिक बिदा यस वर्षदेखि फेरि दिन थालिएको छ ।

यस्तै महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमीअघि नै अगस्त्य उदय हुने भएकाले भाद्र कृष्ण अष्टमीमै यो पर्व मनाउन लागिएको हो ।

भाद्र शुक्ल अष्टमी अगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने भाद्र कृष्ण अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा. रामचन्द्र गौतमले बताए ।

भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र भाद्र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई अँध्यारी भनिन्छ । पहिलो पटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमी अर्थात् उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ ।

गौरालाई सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन् । राजधानीमा पनि सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको छ ।