आज विश्व पर्यटन दिवस: कसरी हुन्छ पर्यटन क्षेत्रको पुनर्उत्थान ?

मेचीकाली संवाददाता

११ आश्विन २०८१, शुक्रबार
328 shares

अमृत गिरी

बुटवल । सन् १९७० सेप्टेम्बर २७ का दिन संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन स्थापना भएको थियो । त्यहीँ दिनको स्मरण गर्दै त्यसको ठिक एक दशकपछि सन् १९८० देखि विश्व पर्यटन दिवस मनाउन थालिएको बताइन्छ । पर्यटन र शान्ति (टूरिजम एण्ड पीस) भन्ने नाराका साथ आज विश्व पर्यटन दिवस मनाइँदै छ ।

कति आउँछन् विदेशी पर्यटक र कहाँ घुम्न रुचाउँछन् ?
वि.सं. २००७ साल (सन् १९५१) पछि मात्र नेपाललाई विदेशी पर्यटकहरूका लागि खुला गरिएको हो । साढे ६ दशकको अवधिमा नेपालको पर्यटन क्षेत्रमा धेरै परिवर्तन आइसकेको छ । नेपालको पर्यटन क्षेत्र विदेशी मुद्रा आर्जन र रोजगारी प्रवद्र्धनका हिसाबले महत्वपूर्ण मानिन्छ । नेपालमा आउने विदेशी पर्यटकहरुमध्ये अधिकांशले जैविक विविधता र संरक्षित क्षेत्रभित्रको भ्रमण गरेको पाइएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको दुई वर्षको तथ्यांकअनुसार नेपालमा आउने विदेशीमध्ये धेरै पर्यटकले वन्यजन्तु संरक्षित र जैविक विविधता हेर्न आएका छन् ।

नेपालको विगत २८ वर्षयताको तथ्यांकमा भ्रमण वर्ष घोषणा गरेर केही सुधार आएपनि प्रायः हाराहारी उस्तै छ । सन् १९९६ मा ३ लाख ९३ हजार ६ सय १३ जना पर्यटकले नेपालको भ्रमण गरेका थिए । त्यसको २८ वर्षपछि सन् २०२३ मा नेपालमा १० लाख १४ हजार ८ सय २२ जना विदेशी पर्यटक भित्रिएका थिए । यसमा भारतीय पर्यटकलाई समेत गणना गरिएको छ । यीमध्ये उक्त वर्ष हवाई मार्गबाट मात्रै ९ लाख १४ हजार २ सय ७० जना र स्थलमार्गबाट १ लाख ६ सय १२ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन् ।

सबैभन्दा धेरै पर्यटक सन् २०१९ मा आएका छन् । त्यसवर्ष ११ लाख ९७ हजार १ सय ९१ जना पर्यटक नेपाल आएका थिए । तीमध्ये ९ लाख ४३ हजार ४१ जना तेस्रो मुलुकका थिए भने २ लाख ५४ हजार १ सय ५० जना भारतीय थिए ।
नेपालमा सन् २०२२ मा विदेशी पर्यटकहरु कुल ६ लाख १४ हजार ८ सय ८९ जना आएका थिए । तीमध्ये हवाई मार्गबाट ५ लाख ९२ हजार ६ सय ३१ र स्थलमार्गबाट २२ हजार २ सय ३८ जना आएका थिए । उक्त वर्ष नेपाल आएका विदेशी पर्यटकमध्ये महिला दुई लाख ५६ हजार १२ र पुरुष ३ लाख ५८ हजार ६ सय ८३ जना रहेको पर्यटन मन्त्रालयको तथ्यांकमा छ ।
नेपालले भ्रमण वर्ष घोषणा गरेको वर्ष सन् १९९८ मा ४ लाख ६३ हजार ६ सय ८४ जना पर्यटक नेपाल आएका थिए । तीमध्ये ३ लाख २० हजार ४ सय ५५ जना तेस्रो मुलुकका थिए भने बाँकी भारतीय थिए । यस्तै नेपाल भ्रमण वर्ष घोषणा गरेका सन् २००२ र २००३ मा क्रमश ः २ लाख ७५ हजार ४ सय ६८ जना कुल पर्यटक आएकोमा २ लाख ८ हजार ६ सय ९१ जना तेस्रो मुलुकका थिए । उक्त वर्ष ६६ हजार ७ सय ७७ जना भारतीयले नेपालको भ्रमण गरेका थिए ।

सन् २००३ मा ३ लाख ३८ हजार १ सय ३२ जना कुल पर्यटकमा तेस्रो मुलुकका मात्रै २ लाख ५१ हजार ७ सय ६९ जना र ८६ हजार ३ सय ६३ जना भारतीय पर्यटक थिए ।
सन् २००७ मा पोखरा भ्रमण वर्ष अभियान घोषणा गरिएको वर्ष ५ लाख २६ हजार ७ सय ५ जना पर्यटक नेपाल आए । जसमा ४ लाख ३० हजार ६ सय ९५ जना तेस्रो मुलुकका र ९६ हजार १० जना भारतीय पर्यटकले नेपालको भ्रमण गरेको पर्यटन मन्त्रायलको तथ्यांकमा छ ।

सन् २०११ मा फेरि घोषणा गरिएको नेपाल भ्रमण वर्षको अवधिमा ६ लाख २ हजार ८ सय ६७ जना पर्यटक नेपाल आएका थिए । सन् २०१२ मा लुम्बिनी भ्रमण वर्ष घोषणा गरिएको समयमा ८ लाख ३ हजार ९२ जना कुल पर्यटक आएकोमा तेस्रो मुलुकका मात्रै ६ लाख ३० हजार २ सय ७७ जना र भारतीय पर्यटकको संख्या १ लाख ६५ हजार ८ सय १५ जना थिए । सन् २०१६ मा ९ लाख ४० हजार २ सय १८ र सन् २०१७ मा ६ लाख ५३ हजार २ जना पर्यटकले नेपालको भ्रमण गरेका थिए ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तथ्यांक उपसचिव सीताराम घिमिरेका अनुसार यसरी नेपाल भित्रिने पर्यटकहरुमा ३१ देखि ४५ वर्ष उमेर समूहका धेरै छन् । नेपालमा सबैभन्दा धेरै भारत, अमेरिका, बेलायत, चीन, अस्ट्रेलिया र बंगलादेशबाट पर्यटक आएका छन् । नेपालले यिनै मुलुकलाई अत्यधिक पर्यटक आउने ‘टप मुलुक’ का रुपमा रेकर्ड गर्दै आएको उपसचिव घिमिरेले बताए ।

उनका अनुसार नेपालका नेशनल पार्कहरु र वन्यजन्तु संरक्षित क्षेत्रको भ्रमण गर्न रुचाउनेहरु धेरै आएका छन् । धेरै विदेशी पर्यटकहरु आउनेमध्ये मुलुकको अर्को गन्तव्यमा पशुपति क्षेत्र विकास कोष रहेको छ । पशुपतिमा सन् २०२२ मा ५५ हजार २ सय ४ जना पर्यटकले भ्रमण गरेका थिए भने अर्को वर्ष केही बढेर १ लाख १८ हजार ५ सय ३१ जनाले पशुपति क्षेत्रको भ्रमण गरेको पर्यटन मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
यसैगरी भ्रमण गरेकामध्ये तेस्रोमा लुम्बिनी परेको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा सन् २०२२ मा २३ हजार ९ सय ४२ जना विदेशी पर्यटकले भ्रमण गरेका थिए भने अर्को वर्ष सन् २०२३ मा केही बढेर ८५ हजार २ सय ३२ जना पुगे ।

विदेशी पर्यटकले भ्रमण गर्न रुचाएकामध्येका क्षेत्रलाई पनि पर्यटन मन्त्रायलले सूचिवद्ध गरेर राखेको छ । जसमा सबैभन्दा धेरैले मनास्लुको भ्रमण गर्न रुचाएका छन् । यस्तै मुस्ता«, हुम्ला, तल्लो डोल्पा, कञ्चनजंघा र उपल्लो डोल्पाको सहाशिक भ्रमणमा धेरै विदेशीको चासो गएको मन्त्रालयको तथ्यांकमा छ ।
सन् २०२२ मा आएकामध्येका ७५ हजार ६ सय ८ जनाले तिनै संरक्षित क्षेत्रको भ्रमण गरेका थिए भने अर्को वर्ष सन् २०२३ मा बढेर ३ लाख ८ सय ७५ जनाले भ्रमण गरे । यो अवधिमा स्टार, ननस्टार, टुरिस्ट स्तरका होटलको संख्या पनि बढेको छ । सन् २०२२ मा १७३ वटा स्टार होटल रहेकोमा अर्को वर्ष सन् २०२३ मा बढेर १८२ भएका छन् । यस्तै ननस्टारको संख्या १२२८ रहेकोमा अर्को वर्ष बढेर १४१६ पुगेको मन्त्रालयको रणनीतिक योजनाको तथ्यांकमा छ ।

के छ नेपालमा खास ?
जैविक र भौगोलिक विविधतायुक्त देशमा नेपाल नै उत्कृष्ट मानिन्छ । उच्च शिखर सगरमाथा, सबैभन्दा होंचो क्षेत्र केचनाबध तथा विश्व शान्तिको मुहान लुम्बिनी र संरक्षित क्षेत्रहरु नेपालले विश्वका पर्यटक तान्ने माध्यम हुन् ।
नेपालका २० वटा संरक्षित क्षेत्रहरूले देशको २३.२३ प्रतिशत क्षेत्रफल ओगट्दछन् । नेपालमा हिमालयको मुख्य भाग पर्छ, अर्थात् संसारकै सबैभन्दा उच्च हिमशृङ्खला नेपालमा नै रहेका छन् । विश्वका १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालहरूमध्ये ८ वटा त नेपालमा नै छन् ।

नेपाललाई तराई, मध्य पहाड तथा उपत्यका र उच्च पहाडी क्षेत्र गरी तीन वटा पारिस्थकीय क्षेत्र र ५ वटा जलवायु क्षेत्रमा रुपमा विभाजन गरि विश्व मानचित्रमा प्रस्तुत गरिएको छ । नेपालमा ११८ प्रकारका पारिस्थिकीय प्रणालीहरूभित्र ३५ थरिका वनहरू पर्दछन् । यो विश्वमै धेरै जैविक विविधता भएको मध्येको मुलुकमा पर्दछ ।
नेपालभरि करिब १० हजार प्रजातिका वनस्पतिहरू रहेको अनुमान गरिएको छ । तीमध्ये ५ हजार ८ सय प्रजातिको पहिचान भइसकेको छ भने ७ सयथरिका जडीबुटीहरू औषधीजन्य रुपमा प्रयोगमा आउन सक्ने वनस्पति विभागको हालैको प्रतिवेदनमा छ ।

पर्यटन आगमन बढाउने प्रभावकारी कार्यक्रम भएनन्
नेपालमा पर्यटन विकासको विधिवत प्रयास हुन थालेको सन् १९५५ देखि हो । नेपालको प्रथम पञ्चवर्षीय योजनाको सुरूवातसँगै पर्यटन विकासका लागि पनि जोड दिन थालेको पाइन्छ । खासगरी त्यस योजनाले पर्यटन विकासका नयाँनयाँ अवसरहरूको पहिचान गर्ने र पर्यटन पूर्वाधारहरूको विकास गर्ने कुरामा जोड दिएको थियो । यसैगरी सन् १९७२ मा नेपालको प्रथम पर्यटन गुरूयोजना बनेको थियो ।

सन् १९९८, नेपाल भ्रमण वर्ष, सन् २००२ र सन्् २००३ मा गन्तव्य नेपाल अभियान, सन् २००७ मा पोखरा भ्रमण वर्ष अभियान, सन् २०११ मा नेपाल भ्रमण वर्ष र सन् २०१२ मा लुम्बिनी भ्रमण वर्ष र सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरिएको । सन् २०२० मा त २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिइएको थियो । यो लक्ष्य पूरा हुन पाएन ।

यसका साथै नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना, २०१६–२०२५ को पनि कार्यान्वयन हुन सकेन । सरकारले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्न ल्याएको १० वर्षे रणनीतिक योजना असफल भएको छ । सन् २०१६ देखि सन् २०२५ सम्मको लागि ल्याइएको ‘नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना’का लक्ष्य अधुरै छोडेर सरकारले गत वर्षदेखि नै पर्यटन दशक अगाडि सारेको थियो । सरकारले २०७९ असोज ७ गतेको मन्त्रिपरिषद् बैठकबाट फेरि २०२३–२०३२ लाई पर्यटन दशक मनाउने निर्णय गरेको थियो ।