सुप्रिम सहकारी अपचलनमा जीबी, रबि र छबि ‘कनेक्सन’

मेचीकाली संवाददाता

९ कार्तिक २०८१, शुक्रबार
222 shares

बुटवल । बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको ‘कनेक्सन’ देखिएपछि उनलाई रुपन्देही तानिने भएको छ । पोखराको सूर्यदर्शनसँगै बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम समेत अपचलन गरेको कागजात भेटिएपछि पूर्व गृहमन्त्री लामिछानेको रुपन्देही ‘कनेक्सन’ खुलेको थियो । गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, सञ्चालक छविलाल जोशीसहित १२ जनालाई पक्राउ गरी अनुसन्धान गर्न रूपन्देही जिल्ला अदालतले बिहीबार अनुमति दिएको छ ।

सुप्रिम सहकारीका बचतकर्ता नारायणबहादुर पहराईसहितले असोज ५ गते दिएको जाहेरीका आधारमा जिल्ला न्यायाधीश श्यामप्रसाद श्रेष्ठले रवि र छविसहित दीपक लामा, अनन्तबाबु राई, श्रीबल्भव नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी, नरेश जिसी र शिवबहादुर गुरुङलाई सहकारी ठगीसम्बन्धी फौजदारी कसूरमा मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को दफा ९ उपदफा ३ बमोजिम पक्राउ गर्न अनुमति दिएको छ ।

कास्की जिल्ला अदालतको अनुमतिले सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका रवि र छविलाई ७ दिन म्याद थप भएको छ । लामिछानेलाई यही कात्तिक २ गते र जोशीलाई गएको असोज ६ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो । जोशीलाई कात्तिक ५ र ६ गते दुईदिन पोखराबाट हवाईजहाजमार्फत बुटवल ल्याएर अनुसन्धान गरी पुनः पोखरा नै पठाइएको छ । रविलाई आजभोलिमै रुपन्देही ल्याएर अनुसन्धान गर्ने तयारी भइरहेको रुपन्देहीका प्रहरी प्रमुख रञ्जितसिंह राठौर जानकारी दिए ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्कमा व्यक्तिगत तथा कम्पनीका नाममा ऋण लिएर १४ करोड बचत हिनामिना गरेको ६ महिनाअघि प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, १ हजार ८०० बचतकर्ताको ८६ करोड रुपैयाँ हिनामिना भएको देखिन्छ । रविको नाम खडा गरी सुप्रिमबाट गोरखा मिडियाको खातामा २ करोड रुपैयाँ निकासा भएको कागजातबाट देखिन्छ । सोही विषयमा प्रहरीले रविलाई रुपन्देही ल्याएर अनुसन्धान गर्न लागेको हो । अन्य सहकारीबाट रवि समेत सञ्चालक रहेको बैंक खातामा रकम गए पनि सुप्रिमबाट रविकै नाममा रकम निकासा भएको देखिन्छ ।

सहकारीको पैसा दुरुपयोगमा संलग्न रहेको देखिएपछि यसअघि इलाका प्रहरी कार्यालय बुटवलले गरेको अनुसन्धानका आधारमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ, संरक्षक गितेन्द्रबाबु राई (जीबी), भूपेन्द्रबाबु राई, छविलाल जोशी, सहकारीका पूर्वसचिव दीपेश पुन, कुमार रम्तेल, सहकारीका व्यवस्थापक सागर केसी, दुर्गा पाण्डे, रोशनी गुरुङसहित २८ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरिएको थियो । तीमध्ये अध्यक्ष गुरुङ पुर्पक्षका लागि थुनामा छन् । जीबी, भूपेन्द्र र सागर फरार छन् । दुर्गा, दीपेश र रोशनीसहित ६ जना धरौटीमा छुटेका थिए । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौर जीबी, छवि र रविको कम्पनीमा सुप्रिमबाट रकम गएको देखिएकाले रविलाई पनि अनुसन्धानका लागि रुपन्देही ल्याइने बताउँछन् ।

यस्तो छ सुप्रिममा जीबी समूहको योजनाबद्ध प्रवेश
वि.सं. २०५७ मा दर्ता भएको मैत्रेय बचत तथा ऋण सहकारी संस्थाको नाम परिवर्तन गरी सुप्रिम बचत तथा ऋण सहकारी संस्था बनेको हो । हालका अध्यक्ष ओमप्रकाश गुरुङ सहकारीका संस्थापक सचिव हुन् । सहकारी स्थापना हुँदा अध्यक्षमा राजु गुरुङ, उपाध्यक्षमा माया गुरुङ र सचिवमा ओमप्रकाश गुरुङ थिए । सडक दुर्घटनामा अध्यक्ष राजुको निधन भएपछि केही समय माया अध्यक्ष बनिन् । पछि ओमप्रकाश सहकारीको अध्यक्ष भए । सहकारी आवधिक भए पनि कारोबार खासै थिएन ।

वि.सं.२०७२ मा जीबी राईको प्रवेशसँगै सहकारीको नाम परिवर्तन गरी सुप्रिम बनाइयो । सहकारीका पदाधिकारीहरू र संरक्षक जीबी तथा दीपेश पुनले सहकारी चलाउने प्रस्ताव २०७२ मा गरेका हुन् । सोहीअनुसार वि.सं.२०७२ मा साधारणसभा गरी सहकारीको अध्यक्षमा जीबी राई चयन भए । ओमप्रकाश उपाध्यक्ष हुँदा जीबीका दाइ देवेन्द्रबाबु राई, सुरज श्रेष्ठ र भूपेन्द्र राई सदस्य बने । नयाँ सञ्चालक समितिसँगै सहकारीको नाममा पनि मैत्रेयबाट परिवर्तन भई सुप्रिम बचत तथा ऋण सहकारी संस्था बनेको हो ।

सहकारीको कार्यक्षेत्र विस्तार गर्ने भन्दै वि.सं. २०७६ मा रुपन्देहीकै जय अम्बे बहुउद्देश्यीय सहकारी संस्थासँग मर्जर भएको थियो । सुप्रिमकै सञ्चालक समिति रहने गरी उक्त सहकारीलाई गाभिएको थियो । उक्त मर्जरपछि जीबी राई सल्लाहकार बने भने ओमप्रकाश अध्यक्ष भए । उपाध्यक्ष असफर अली, सचिवमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन र कोषाध्यक्ष सुरज श्रेष्ठ चयन भए । सदस्यहरूमा देवेन्द्रबाबु राई, भूपेन्द्रबाबु राई, दीपेश रोका, वृद्धि गुरुङ र मझर मोहम्मद तथा लेखा समितिको संयोजकमा भविश्वर अर्याल तथा सदस्यमा पौबहादुर गुरुङ र इन्दिरा बस्याल चयन भए । कार्यक्षेत्र विस्तार र एकीकरणसँगै सहकारीले वि.सं. २०७८ मा भैरहवा र २०७९ मा कपिलवस्तुको जीतपुरमा समेत सेवा केन्द्र विस्तार ग¥यो ।
जीबी कार्यकारी अध्यक्ष बनेदेखि नै सहकारीको व्यवस्थापक सागर केसी थिए । निष्क्रियजस्तै रहेको सहकारी पस्ने र त्यहाँबाट विभिन्न प्रलोभनमा पारेर सर्वसाधारणको बचत संकलन गरी ठगी गर्न उक्त समूह योजनाबद्धरूपमा लागेको देखिएको सूर्य थापाको संयोजकत्वमा गठित सहकारी छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

सुप्रिमले ३१२ जनालाई ऋण प्रदान गरेको देखिन्छ । ऋणीहरूको जम्मा रकम ९८ करोड ५२ लाख १४ हजार ३३३ रहेको छ । ३१२ जना ऋणीमध्ये १९ जना ऋणीको जम्मा ऋण अनुपात ७४.७१ प्रतिशत रहेको छ । ७४.७१ प्रतिशत ऋणीहरूको सावाँ र ब्याज अध्ययन गर्दा उक्त ऋण असुल गर्नका लागि आवश्यक धितोको विवरण प्राप्त नभएकाले ऋण असुल गर्न मुस्किल रहेको प्रतिवेदनमा देखिन्छ । बेप्रवाह ऋण प्रवाह गरी सहकारीमा ८६ अर्ब रुपैयाँ हिनामिना भएको देखिएको शुरूदेखि नै अनुसन्धानमा संलग्न इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डित बताउँछन् । सहकारीबाट ३१२ जनाले ऋण लिएका छन् । उनीहरूले बचतकर्ताको ८६ करोड हिनामिना गरेको संसदीय छानबिन समितिले जनाएको छ ।

जीबी, छवि र रविसहित १९ जनाले कति–कति रकम लिए ?
सुप्रिमबाट स्प्रिङ उड रियल स्टेटलाई १३ करोड ९८ लाख २२ हजार ६३२, जीबी गु्रप अफ कम्पनी प्रालिलाई ११ करोड २६ लाख २३ हजार ९७६, नेचर नेस्ट प्रालिलाई ९ करोड ६८ लाख ११ हजार २४०, दिनेश रोकालाई ३ करोड २० लाख, भूपेन्द्रबाबु राईलाई ३ करोड २० लाख, ओमप्रकाश गुरुङलाई १ करोड ५२ लाख र उमेश गुरुङलाई १ करोड ९२ लाख ऋण प्रवाह भएको छ ।

त्यस्तै, छविलाल जोशीलाई २ करोड ५० लाख, कुमार रम्तेललाई २ करोड ४० लाख, विपिनकुमार आचार्यलाई २ करोड ३१ लाख १५ हजार, दीपक लामालाई २ करोड, गीतेन्द्रबाबु राईलाई १ करोड ९२ लाख, रवि लामिछानेलाई २ करोड, नरेश जिसीलाई १ करोड ७५ लाख, हेमन्त अधिकारीलाई १ करोड ३ लाख ५० हजार, देवेन्द्रबाबु राईलाई १ करोड, विनिता जिसीलाई १ करोड ४३ लाख, अरुण राईलाई १ करोड र नवराज बेल्बासेलाई १ करोड २ लाख ऋण प्रवाह गरेको देखिन्छ । सुप्रिम सहकारीपीडित संघर्ष समितिका संयोजक विजय नेपालले आफूहरू बिचल्लीमा परेको बताउँदै रकम हिनामिना गर्नेलाई कारबाही र नागरिकको बचत फिर्ता गराउने पहल राज्यले गर्नुपर्ने बताए ।