सात सय मिटर खनियो सिद्धबाबा सुरूङमार्ग

मेचीकाली संवाददाता

२६ कार्तिक २०८१, सोमबार
177 shares

रमेश पराजुली

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डमा निमार्णाधीन सिद्धबाबा सुरुङ मार्गको काम धमाधम भइरहेको छ । सिद्धबाबा सुरुङ मार्ग आयोजना कार्यालयका अनुसार हालसम्म दुवैतर्फबाट गरी सुरूङमार्गको ७०९.८१ मिटर लम्बाइ खनिएको छ । कुल १ हजार १२६ मिटर लामो सुरुङमा उत्तरतर्फबाट ३१९.८५ र दक्षिणतर्फबाट ३८९.९७ मिटर खनिएको सुरूङमार्ग आयोजना प्रमुख इन्जिनियर सविता ज्ञवालीले जानकारी दिइन् ।

सुरूङमार्गमा रहेका तीनवटा आपत्कालीन द्वार अर्थात् बाइपासमध्ये दुईवटा बाइपास ‘ब्रेक थ्रु’ भइसकेका छन् भने अर्को बाइपास पनि अन्तीम चरणमा पुगेको छ । १३० मिटर लम्बाइ भएको तेस्रो बाइपास सुरुङ ४ भदौमा र १५१ मिटर लम्बाइ रहेको पहिलो बाइपास सुरुङ ४ असोजमा ‘ब्रेक थ्रु’ भएको थियो । यस्तै १६१ मिटर लम्बाइको दोस्रो बाइपास १४४.५ मिटर खनिसकिएको छ । मुख्य सुरुङ दोस्रो बाइपाससम्म नपुगेकाले दोस्रो बाइपासको ‘ब्रेक थ्रु’हुन समय लागेको इन्जिनियर ज्ञवालीले बताइन् । अबको केही दिनभित्र दोस्रो बाइपास पनि छेड्नेगरी तीब्र रुपमा काम भइरहेको उनले बताइन् । हालसम्म आयोजनाको कुल भौतिक प्रगति २७.७३ प्रतिशत र वित्तीय प्रगति ३२.२५ प्रतिशत भएको छ ।

बाह्रै महिना पहिरो झरिरहने यो ठाउँलाई सुरक्षित बनाउन ४ माघ २०८० बाट सुरुङ खन्ने काम औपचारिक रुपमा सुरु भएको थियो । आयोजनामा गत जेठ १३ देखि ‘ब्लास्टिङ’ गरी सुरुङ खन्न थालिएको थियो । सुरुङ मार्गमा अहिले विस्फोटक पदार्थ प्रयोग गरेर चौबीसै घण्टा काम भइरहेको छ । ‘ब्लास्टिङ’ गर्न थालेपछि तीव्र रुपमा काम भइरहेको आयोजना प्रमुख इन्जिनियर ज्ञवालीको भनाइ छ ।

बहुप्रचारित सुरुङमार्गलाई आगामी पुसभित्रै ‘ब्रेक थ्रू’ गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाको दाबी छ । अहिले दैनिक सरदर सात मिटर मुख्य सुरुङ खन्ने काम भइरहेको छ । बिस्फोट गर्ने समयमा सीमित अवधिका लागि मात्र सवारी आवगमन बन्द गरेर चिनियाँ र नेपाली प्राविधकहरुले धमाधम काम गरिरहेका छन् ।

सुरुङमार्गका दुवैतिरका खण्डमा रकसेट नेटसहितको ढलानका काम पनि संगसंगै भइरहेका छन् । सिद्धार्थ राजमार्गको दोभानदेखि सिद्धबाबासम्म झण्डै ४ किलोमिटर सडक क्षेत्र उच्च पहिरोको जोखिममा रहेकाले यो सबै खण्ड कतै सुरुङमार्ग र कतै रकसेट नेटसहितको ढलान गरेर सुरक्षित पार्ने काम भइरहेको आयोजना प्रमुख इन्जिनियर ज्ञवालीको भनाइ छ । कतिपय स्थानमा माथिबाट खस्ने ढुंगालाई सिधै खोलामा खस्नेगरी पनि संरचना निर्माण गरिने भएको छ । यसले सुरुङका अतिरिक्तको सडक खण्डलाई पनि सुरक्षित बनाउने विश्वास छ ।

सुरुङमार्गका दुवैतिरका खण्डमा (यता बुटवलतिर उता दोभानतिर) जोखिमका पहाडमा रकसेट नेट लगाएर खस्न सक्ने जोखिमका ढुंगालाई उतै ब्लक गरिने भएको छ । यसो हुँदा सुरुङमार्गका अतिरिक्त यताउता दुवैतिरको जोखिमको सडकखण्ड पनि सुरक्षित र सहज हुने विश्वास गरिएको छ ।
सरकारले सिद्धबाबा सुरुङमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएर काम गरिरहेको छ । उपप्रधान तथा अर्थमन्त्री एवम् एमाले नेता विष्णु पौडेलले अगाडि सारेकामध्येको यहाँको अर्को ड्रिम प्रोजेक्ट हो ।

यो आयोजना निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीइसी) ले गरिरहेको छ । यो आयोजनाको २०७८ साल फागुनमा सीएससीइसीसँग ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । यसको निर्माणपछि समेत सोही कम्पनीले पाँच वर्षसम्म मर्मतको काम गरिदिनुपर्ने सर्त छ ।

यो सडकलाई तराई र पहाड जोड्ने लाइफलाइन सडक मानिन्छ । यो सडक खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ तथा म्याग्दीसम्म यातायात साधन चल्ने गर्छन् । हरेक जसो हिउँद–वर्षा जहिले पनि पहिरो गएर सवारी साधनमाथि झर्ने र जनधन क्षति पु¥याएपछि यसको सुरक्षाको विकल्प खोजिएको थियो । सुरक्षाको एउटा विकल्पमध्ये सुरुङ मार्ग हो । आयोजनाअन्तर्गत नै उत्तरी र दक्षिणी प्रवेशद्वारमा दुई प्राविधिक भवनसमेत निर्माण हुने आयोजनाले जनाएको छ ।