‘लापत्ता सन्तान’ : एक्लिँदै गएका अभिभावकको सत्यकथा

मेचीकाली संवाददाता

१० मंसिर २०८१, सोमबार
20 shares

अमृत गिरी

बुटवल । ‘लापत्ता सन्तान’ यसको शीर्षक नै एक प्रकारले अहिलेको समाजको एउटा पाटो झल्काउँछ । नेपाली समाजमा बढ्दो प्रवृत्तिका रुपमा रहेको सन्तानहरूको अध्ययन, काम वा राम्रो भविष्यको खोजीमा सहर र विदेशतर्फ भासिएपछि अवस्थालाई यो शीर्षकले प्रतिनिधित्व गर्छ ।

अभिभावकहरूले भोग्ने मानसिक, भावनात्मक र सामाजिक समस्यालाई उजागर गर्ने सर्ट चलचित्र हो–लापत्ता सन्तान । युवा निर्देशक, कथाकार, निर्माता, पत्रकार तथा सञ्चारकर्मी रामजी ज्ञवालीले निर्माण गरेका केही सामग्रहीरुमध्येको एउटा महत्वपूर्ण ‘सर्ट मुभी’ हो लापत्ता सन्तान ।

चलचित्रले ग्रामीण भेगका एक दम्पतीको जीवन कथामा केन्द्रित छ, जसका सन्तानहरू उच्च शिक्षा र रोजगारीका लागि विदेश गएपछि उनीहरूको दैनिकी कसरी प्रभावित हुन्छ भन्ने विषयमा छोंटो समयमा मन छुनेगरी देखाइएको छ । सन्तानको अनुपस्थितिले घरमा छाएको खालीपन, वृद्धावस्थामा सहारा नभएको अनुभव र सामाजिक सम्बन्धमा टुटफुटले उनीहरूको जीवनलाई झनै कठिन बनाउँछ ।

गुल्मीको रुरुक्षेत्र–५, टाहाटिममा जन्मिएर केही वर्ष बुटवलमा र हाल काठमाण्डौँ यस्तै यस्तै विषयमा समाजमा सन्देश प्रवाह गर्न केन्द्रित रहेका छन् युवा निर्देशक;निर्माता रामजी । उनले केही वर्षदेखि सञ्चारकर्मका अतिरिक्त विभिन्न विषयमा यस्तै सामग्री बनाइरहेका छन् ।
अभिभावकहरूको स्मृतिमा छोराछोरीको बाल्यकालको रमाइलो क्षणहरू र भविष्यको योजनाका सपनाहरू छन् तर वास्तविकता भने एक्लोपन, अनिश्चितता र कुरुवाको प्रतीक्षामा परिणत भएको छ । चलचित्रले मानव सम्बन्धको महत्व, पुस्तान्तरणको बदलिंदोस्वरूप र आधुनिक समयका चुनौतीलाई गहिरो संवेदनासाथ प्रस्तुत गर्दछ ।

यस चलचित्रले दर्शकलाई आफ्नो जरा, परिवार र सम्बन्धको मूल्यलाई पुनर्विचार गर्न उत्प्रेरित गर्छ । युट्युबमा जस्ता पनि भिडियो आउँछन् तर कतिपय भिडियो हेर्न र मनन् गर्न योग्य भेटिन्छन् भनेर टिप्पणी पनि भइरहेको छ । यो सर्ट फिल्म भर्खरै रिलिज भएको छ ।

के छ मन छुने यो सर्ट चलचित्रमा ?
ह्विलचियरमा एक बालकले आमालाई डो¥याउँदै गरेको दृश्य देखेर वृद्धाश्रममा दिन गुजारिरहेकी उमेर पुगेकी आमा भावुक हुन्छिन् । अनि आफू वृद्धाश्रम आउनुपरेको ती दिन सम्झिन्छन् । उनलाई छोराबुहारीको झलझली याद आउँछ । अशक्त भएपछि लठ्ठी बन्ला भनेर ती आमाले बुढेसकालमा छोरा जन्माएकी थिइन् । गहना र खेत बेचेर छोरालाई डाक्टर बनाउन उनले पतिलाई निकै सम्झाउनुपरेको थियो । छोराको जिद्दी र आमाको सहयोगमा छोरो डाक्टर बन्यो । बिस्तारै सहरमा घर बनाउन सफल भयो, बिहे ग¥यो । ती आमा गाउँको थातथलो छोडेर छोराबुहारीसँगै सहर बस्न थालिन् । छोराबुहारीको व्यस्ततालाई उनका लागि घर त्यति अनुकूल भएन । आफ्नै सन्तानले घरमा माया गरेर राख्लान् भनेको त उनलाई छोराबुहारीले वृद्धाश्रममा पो पु¥याइदिए ।

वृद्धाश्रममा परिवारको सम्झनाले तड्पिएर बसेकी उनी घर फर्किन चाहन्छिन् । तर, छोरा लिन कहिले आउने ? उसले नै आश्रममा छोडेर गएको छ । मन शान्त नभएपछि उनी आश्रमबाट राति सुटुक्क निस्किन्छिन् । अकस्मात् दुर्घटनामा पर्छिन् र अस्पतालमा आफ्नो प्राण त्याग्छिन् । त्यही अस्पतालमा उनको छोरा डाक्टर समीरले काम गर्छन् ।

आफँैले काम गरेको अस्पतालमा आमाको शवलाई देखेपछि डान्टर समीर पछुताउँछ । बाआमाले आफ्ना लागि गरेका त्याग सम्झिँदै आँसु बगाइरहन्छ । एकप्रकारले पछुतो मानिरहन्छ तर आमाको निधन भएपछि पछुतोको खास अर्थ देखिन्न ।
करिब २० मिनेट ३५ सेकेन्डको छोटो फिल्म ‘लापत्ता सन्तान’ मा सन्तानका लागि बाआमाको संघर्ष र वृद्ध अवस्थामा उनीहरूले आश्रम पु¥याउने दर्दनाक अवस्थाको चित्रण गरिएको छ । फिल्मका निर्देशक रामजीले अहिलेसम्म बनाएका मध्येको राम्रो सामग्री बनेको छ यो सर्ट फिल्म । फिल्मको कथा पनि उनले नै लेखेका हुन् । लगानी पनि उनकै हो । यो फिल्म तयार गर्न निर्माण टिमलाई ७ महिना लागेको थियो ।

जल्दोबल्दो सामाजिक परिवेशलाई मुख्य कथावस्तु बनाइएको फिल्म ‘लापत्ता सन्तान’ ओएसआर डिजिटल युट्युब च्यानलमार्फत केही दिनअघि सार्वजनिक गरिएको थियो । कथा वर्तमान समय र यथार्थ घटनामा बनेको भन्दै दर्शकले पनि फिल्मलाई सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । युट्युवमा फिल्म हेर्ने दर्शकको संख्या पनि बढिरहेको छ ।
फिल्ममा आमाको भूमिकामा रश्मी भट्ट छिन् । अन्य कलाकारहरूमा ओजस्वीविक्रम विष्ट, आशिष पराजुली, अर्जुन आचार्य, सविना राउत, नीलम भट्ट र मनीष प्रीतम निरौलाको अभिनय छ । फिल्म नीरज कँडेलको छायांकन र नहकुल खड्काको सम्पादनमा बनेको छ । फिल्म सार्वजनिक भएपछि प्राप्त फिडब्याकले फिल्म बनाउनुको उद्देश्य सफल भएको निर्देशक ज्ञवालीले मेचीकालीलाई बताए ।

लामो समयको पत्रकारितापछि फिल्म मेकिङमा लागेका रामजीले अहिलेसम्म डार्क मुन, आराध्या, एक लभर, हनिमुनलगायत दर्जन वढी म्युजिक भिडियो तथा डकुमेन्ट्री बनाइसकेका छन् । उनले निर्माण गरेर विभिन्न फेस्टिभल तथा विशेष शोमा गएको डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ सार्वजनिक हुन बाँकी छ ।
यद्यपि काठमाडौँमा एउटा भव्य प्रीमियर शो भने आयोजना गरिएको थियो, जहाँ २ सय ७० जनाले फिल्म हेरेका थिए । उनी अहिले युवाहरूमा देखिने एक स्वास्थ्य समस्यालाई लिएर ‘साइलेन्स टुर’ निर्माण गर्दै छन् । ज्ञवाली आफ्नै कम्पनी सेलिब्रेटी टाइम्स प्रालिका सिइओ पनि हुन् ।

यसै कम्पनीमार्फÞत प्रतिष्ठित नेपाली कलाकार, राजनीतिज्ञहरुको सोसल मिडिया म्यानेजमेन्टको काम पनि गरिन्छ । विभिन्न इभेन्ट आयोजना, व्राण्डिग, आर्टिस्ट म्यानेजमेन्टलगायत विभिन्न काम हुने गर्छ । तर, साना सन्देशमुलक भिडियोले समाजमा धेरै हदसम्म सन्देश जाने र अर्थमुलक हुने भएकाले यसरी सर्ट फिल्म, डकुमेन्टीहरु निर्माणमा केही बढी व्यस्त रहेको निर्देशक ज्ञवालीले संकेत गरे ।

व्यस्त जीवनशैलीका कारण आजकाल धेरैसँग पर्याप्त समय नहुने भएकाले सर्ट फिल्म हेर्ने चलन बढेको र यसलाई एउटा कल्चरको रूपमा बढाउने गरी आफू सर्ट भिडियो निर्माणमा व्यस्त रहेको निर्देशक ज्ञवालीले बताए । उनले राज्यले एउटा कानुन निर्माण गरेर ठुला फिल्म जस्तै देशभरका हलमा यस्ता रिसर्चमा आधारित क्वालिटियुक्त साना फिल्म देखाउने बाटो तयार गरिदिन पनि आग्रह गरे ।