अमेरिकामा डा.विवेकको क्यान्सर अनुसन्धान

मेचीकाली संवाददाता

५ माघ २०८१, शनिबार
69 shares

ओम बानियाँ

हिजोआज विश्वमा नसर्ने रोगहरूको प्रकोप खतरनाकरुपमा बढ्दो छ, तथ्यांकअनुसार झण्डै दुईतिहाइ मानिसको मृत्यु यिनै नसर्ने रोगहरुबाट हुने गरेको पाइन्छ । यस्ता नसर्ने रोगहरूमध्ये क्यान्सर एक अत्यन्त डरलाग्दो रोग हो । क्यान्सर रोगको नाम सुन्नासाथ आममानिस डराउन थाल्छन् । यही खतरनाक रोगका बारेमा अमेरिकामा बसेर अध्ययनअनुसन्धान गरिरहनुभएका एक नेपाली चिकित्सक हुन्, सर्जन तथा क्यान्सर अनुसन्धानकर्ता डा.विवेक अर्याल ।

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–१, ड्राइभर टोलमा जन्मिएका डा. विवेकले न्यू होराइजन स्कुलबाट एसएलसी र ग्लोरियस कलेजबाट प्लस टु उत्तीर्ण गरे । सानैदेखि चिकित्सक बन्ने उत्कट इच्छा भएका उनले त्यसपछि काठमाडौं विश्वविद्यालयअन्तर्गतको नेपाल मेडिकल कलेजबाट एमबिबीएस पूरा गरे । एमबिबीएसपछि झन्डै एक वर्ष मेडिकल अफिसरको रूपमा कार्य गरी उच्च शिक्षाका लागि उनी जापान गए ।

हेल्थ फस्ट

डा.विवेक अर्याल


आफूलाई क्यान्सर भएको थाहा भएपछि अधिकांश व्यक्तिमा दुश्चिन्ता तथा डिप्रेसन जस्ता मानसिक समस्याहरु देखा पर्ने गर्छ । यस प्रकारका मानसिक तनावले व्यक्तिलाई थप समस्या पार्ने मात्र होइन कि क्यान्सर उपचारको प्रभावकारितामा समेत असर गर्न सक्दछ । त्यसैले क्यान्सर विरामीको उपचारमा क्यान्सर मनोवैज्ञानिकको मनोचिकित्सा पनि महत्वपूर्ण हुन्छ । क्यान्सर मनोवैज्ञानिक एक यस्तो मानसिक स्वास्थ्य विशेषज्ञ हुन् जसले क्यान्सर भएका मानिस र उनीहरूका परिवारलाई क्यान्सरको भावनात्मक र मनोवैज्ञानिक चुनौतीहरूको सामना गर्न मद्दत गर्दछ । रोगीलाई तनाव र चिन्ता व्यवस्थापन गर्न र सामना गर्ने क्षमताहरू विकास गर्न मद्दत गर्न सक्छन् । यहाँ उल्लेखनीय अर्को कुरा के भने ब्रेन ट्युमरका कतिपय केसमा व्यक्तिमा दुश्चिन्ता तथा डिप्रेसनका लक्षणहरु पनि देखिने गर्छन् । बिएमजे मेडिकल जर्नलमा प्रकाशित एक रिसर्च अनुसार दीर्घ मानसिक तनावमा रहने व्यक्तिमा ३२ प्रतिशतले क्यान्सरको जोखिम बढ्ने सम्भावना रहन्छ । त्यसैले क्यान्सर रोकथाममा तनाव व्यावस्थापन पनि उत्तिकै महत्वपूर्ण छ ।

जापानको कागोशिमा विश्वविद्यालयमा हेपाटो बिलियरी प्यान्क्रियाटिक (कलेजो, पित्तथैली तथा अग्न्याशयसम्बन्धी) शल्यक्रियाको अध्ययनका क्रममा उनले देखाएको मेहनत र लगावले जापान सरकारबाट छात्रवृत्ति प्राप्त गर्न सफल भए । अध्ययनको दौरानमा डा. विवेकले कलेजो क्यान्सर र शल्यक्रियापछि कलेजोको पुनर्जनन (रिजेन्रेसन) सम्बन्धी अभूतपूर्व अनुसन्धान गरे, जसबापत उनलाई कागोशिमा विश्वविद्यालयबाट उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कारसमेत प्रदान गरियो ।

जापानमै उनी र उनको टिमले क्यान्सर बायोमार्करसम्बन्धी गहन अध्ययन र अनुसन्धान गरी एक नयाँ टेस्ट किट विकास गरे, जसको पेटेन्टसमेत प्राप्त भइसकेको छ । यस नवप्रवर्तनले आगामी दिनहरूमा क्यान्सर निदान र उपचारमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ । जापानमा एमडी, पिएचडी तथा पोष्ट डाक्टरले अध्ययन सकेपछि डा. विवेक सन् २०१९ मा नेपाल फर्किए । अल्का हस्पिटल र ग्राण्डी सिटी हस्पिटलमा जनरल सर्जनको रूपमा केही समय कार्य गरे पनि उनको मुख्य रुचि क्यान्सर शोधमै थियो । बदलिँदो जीवनशैलीसँगै दिनप्रतिदिन वृद्धि हुँदै गएको यो प्राणघातक रोगका कारण, रोकथाम र उपचारका बारेमा थप नयाँ तथ्यहरू पत्ता लगाउने उनको ठूलो सपना थियो ।

यसबीच सन् २०२३ मा उनले अमेरिकाको पिट्सबर्ग स्थित एलेघेनी हेल्थ नेटवर्क क्यान्सर इन्स्टिच्युटबाट क्लिनिकल क्यान्सर आउटकम्स रिसर्च फेलोशिप प्राप्त गरे । त्यही क्रममा उनी क्यान्सर मुनशट प्रोजेक्टमा संलग्न भए, जसको उद्देश्य रगतमा आधारित क्यान्सर बायोमार्करहरू खोजी गर्ने थियो–ताकि क्यान्सर उपचारप्रति बिरामीले कसरी प्रतिक्रिया जनाउँछन् भन्ने पहिचान गर्न सकियोस् । त्यहाँ उनले प्यान्क्रियाटिक क्यान्सर तथा एड्रिनल सार्कोमासम्बन्धी अनुसन्धानमा पनि योगदान दिए ।
चिकित्सा विज्ञान तथा क्यान्सर रोग अनुसन्धानमा अथक मेहनत गरिरहनुभएका डा.विवेक अर्यालले छोटो समयमै विभिन्न चर्चित वैज्ञानिक जर्नलहरूमा २४ वटा अनुसन्धानात्मक लेख प्रकाशित गरिसकेका छन् ।

उनको अनुसन्धान क्यान्सरको निदान तथा उपचारमा बायोमार्करहरूको भूमिकामा केन्द्रित छ । जापान, बेलायत र अमेरिका जस्ता देशहरूमा अध्ययन तथा अनुसन्धान गरी विशेषज्ञता हासिल गरेता पनि उनको अन्तिम आकांक्षा भनेको विदेशमा हासिल गरेको ज्ञान एवं सीप नेपालमा सदुपयोग गर्दै उच्चस्तरीय अध्ययन, अनुसन्धान र विकासलाई अगाडि बढाउने हो । हाम्रो आफ्नै तथ्यांक र प्रमाणहरू नभई बाहिरी अध्ययनअनुसन्धानहरूमा मात्र भर पर्नु हुँदैन भन्ने डा. विवेकको भनाइ छ ।

हाल केही समयका लागि नेपालमै रहेका डा.अर्याल गुल्मीस्थित श्रृङ्गा प्राथमिक हेल्थ केयर सेन्टरको एक अनुसन्धानशील परियोजनामा सक्रिय छन् । उनलाई आशा छ–उनको पहलबाट समुदायस्तरमा स्वास्थ्य सेवा र अनुसन्धानमैत्री वातावरण प्रवद्र्धन गर्न, साथै नवप्रवर्तनतर्फ अन्य शोधकर्ताहरूलाई प्रेरित गर्न मद्दत पुग्नेछ ।

एक प्रश्नको उत्तरमा डा.विवेक भन्छन्, आममानिसका लागि क्यान्सर सुन्दा डर लागे पनि, धेरै प्रकारका क्यान्सर अब उपचारयोग्य भइसकेका छन् । प्रारम्भिक पहिचान, शल्यक्रिया, किमोथेरापी, विकिरण उपचार, लक्षित उपचार, इम्युनोथेरापी, र अन्य उपचार विधिहरूमा भएको प्रगतिले विशेष गरी रोग सुरुमै थाहा पाएमा उपचार सम्भावना उच्च छ । क्यान्सर निको भएपछि मानिसहरू सामान्य जीवनमा फर्किन सक्छन् ।

उनले अगाडि भने–क्यान्सर शरीरको कुनै पनि अंगमा अनियन्त्रित रूपमा बढ्दै जाने कोशिकाहरूको समूह हो, जसले शरीरका अन्य भागहरूमा फैलने जोखिम राख्दछ । तर यो सरुवा रोग भने होइन । जुनसुकै उमेरका व्यक्ति क्यान्सरको जोखिममा छन्, यद्यपि नेपालमा प्रायः ४० वर्षपछि देखिने दर उच्च छ । बच्चामा पनि क्यान्सर हुन सक्दछ । शरीरको जुनसुकै अंगमा पनि क्यान्सर हुनसक्दछ ।

विश्वव्यापी तथ्यांक हेर्दा महिला तथा पुरुषमा देखिने पाँच प्रमुख क्यान्सरहरुमा फोक्सो, स्तन, ठूलो आन्द्रा र मलाशय, प्रोस्टेट तथा पेट (आमाशय) का क्यान्सर हुन् । मृत्यु हुने सन्दर्भमा फोक्सो, कलेजो, आमाशय, ठूलो आन्द्रा र मलाशय तथा स्तनका क्यान्सरहरू प्रमुख छन् ।

दक्षिण एसियामा मुखको क्यान्सर धेरै देखिनुमा पान, सुपारी, सुर्ती आदिको अत्यधिक सेवन मुख्य कारण मानिन्थ्यो । तर पछिल्ला तथ्यांकहरू हेर्दा (विशेषगरी २०२३ को आँकडामा) दक्षिण तथा दक्षिणपूर्वी एसिया क्षेत्रमा महिलामा स्तन क्यान्सर र पुरुषमा फोक्सो क्यान्सर नै अग्रस्थानमा देखिन थालेका छन् ।

नेपालमा पुरुषमा फोक्सो, पेट तथा मुख (हेड र नेक क्यान्सर) बढी देखिन्छन् भने महिलामा स्तन, फोक्सो, पाठेघरको मुख, पित्तथैली र डिम्बाशयका क्यान्सर प्रमुख छन् । नेपाल हेल्थ रिसर्च काउन्सिलको २०१९ को प्रतिवेदनअनुसार नेपालमा हरेक वर्ष झन्डै ३० हजार नयाँ क्यान्सर बिरामी थपिन्छन् र करिब २० हजार व्यक्तिले क्यान्सरकै कारण ज्यान गुमाउँछन् ।

क्यान्सर किन र के के कारणहरुले हुन्छ भन्ने प्रश्नमा डा.अर्याल भन्छन्–क्यान्सर हुने धेरै कारणहरू छन्, जसमा मुख्यतया जीवनशैलीसम्बन्धी कारणहरू जस्तैः धूमपान र सुर्तीजन्य पदार्थ सेवन, अस्वस्थ खानपान, शारीरिक निष्क्रियता, मोटोपना तथा अत्यधिक मद्यपान, पर्यावरणीय र रासायनिक कारणहरू जस्तैः सूर्यको पराबैंगनी किरण (छालाको क्यान्सर), एस्बेस्टोस, बेन्जिन आदि रसायनहरूको सम्पर्क । सङ्क्रमणहरू जस्तैः एचपिभीबाट पाठेघरको मुखको क्यान्सर, हेपाटाइटिस बी र सीबाट कलेजोको क्यान्सर तथा हेलिकोब्याक्टर पाइलोरीबाट पेटको क्यान्सर । आनुवंशिक कारणहरू जस्तैः केही क्यान्सरहरू वंशानुगत कारणले हुन सक्छन् जस्तै स्तन र डिम्बाशय क्यान्सर । यसैगरी उमेर बढ्दै जाँदा कोशिकामा क्षति हुने सम्भावना बढ्छ, जसले क्यान्सरको जोखिम बढाउँछ ।

क्यान्सर एक गम्भीर रोग हो तर प्रारम्भिक अवस्थामा पत्ता लागेमा प्रभावकारी उपचार सम्भव छ । डा.अर्याल भन्छन्–क्यान्सर भनेको मृत्युको पर्यायवाची होइन । आजकल क्यान्सरका विभिन्न उपचार विधिहरू उपलब्ध छन्, जसका कारण विकसित देशहरूमा पाँच वर्ष जीवित रहने दर झन्डै ७० प्रतिशतभन्दा माथि छ । नेपालमा पनि जनचेतना तथा उपचार प्रविधिका कारण बाँच्ने दर बिस्तारै सुधिँ्रदै गएको छ ।

क्यान्सर रोकथामका उपायका वारेमा डा.विवेक अर्यालको भनाइ छ, क्यान्सरको जोखिम पूर्ण रूपमा हटाउन नसकिए तापनि, उल्लेखनीय रूपमा घटाउन सकिने प्रमाणित उपायहरू छन् । डा. विवेक बताउँछन्–धेरैजसो क्यान्सर वातावरणीय प्रभाव र जीवनशैलीसँग सम्बन्धित छन् । केही क्यान्सरहरूका निश्चित कारण अझै अज्ञात छन्, तापनि अनुमान गरिन्छ कि लगभग ८० प्रतिशत क्यान्सर उचित जीवनशैली परिवर्तनहरूबाट नै रोक्न सकिन्छ । जस्तो कि धूमपान र मद्यपान त्याग्दा फोक्सो, मुख, घाँटी र कलेजो क्यान्सरको जोखिम कम हुन्छ । सन्तुलित आहार (प्रशस्त फलफूल, तरकारी, रेशायुक्त खाना) र कम बोसोयुक्त खानाले क्यान्सर रोकथाममा सहयोग गर्छ । नियमित व्यायाम र स्वस्थ तौल कायम राख्दा स्तन, कोलोरेक्टल आदि थुप्रै क्यान्सरको जोखिम घट्छ ।

छालाको क्यान्सरबाट जोगिन सूर्यको किरणबाट छालालाई बचाउनु आवश्यक छ । यसका लागि सनस्क्रिन तथा सुरक्षात्मक कपडा उपयोग गर्न सकिन्छ । समयमै क्यान्सर स्क्रिनिङ गराउनु क्यान्सरबाट जोगिने महत्वपूर्ण उपाय हो । ४० वर्ष नाघेकापछि महिलाका लागि म्यामोग्राफी र सर्वाइकल क्यान्सर स्क्रिनिङ, साथै पुरुषका लागि प्रोस्टेट वा अन्य आवश्यक परीक्षणहरू समय समयमा गराउनु राम्रो हो । हेपाटाइटिस बी तथा एचपिभी जस्ता खोपहरू लिने हो भने पनि कलेजो तथा सर्वाइकल लगायतका क्यान्सरहरुबाट बच्न सकिन्छ ।

केही महिनासम्म लगातार तौल घट्दै जानु, भोक मर्नु, कारण नखुलेको ज्वरो आउनु, थकान, शरीरको कुनै अङ्गमा गाँठागुँठी देखिनु, दिसा वा पिसाबमा रगत देखिनु वा लामो समयदेखि खोकी लागि रहनु जस्ता लक्षणहरू देखिएमा तुरुन्त स्वास्थ्य परीक्षण गराउनुपर्ने डा.अर्याल बताउँछन् । त्यो किनभने यस्ता लक्षणहरू गम्भीर रोगको सङ्केत हुन सक्छन् । त्यसैले समयमै जाँच र उपचार गर्दा निको हुने सम्भावना उच्च हुन्छ । अतः यसरी जीवनशैलीमा सुधार, नियमित स्वास्थ्य परीक्षण र समयमै चिकित्सकीय परामर्श लिएर क्यान्सरको जोखिम घटाउन र उपचार सम्भावनालाई बढाउन सकिन्छ ।

न्त्यमा, क्यान्सर रोग र क्यान्सर रोगीहरुको उपचार तथा हेरचाहमा देशविदेश रहेर अध्ययन अनुसन्धान तथा खोज गरिरहेका युवा चिकित्सक डा.विवेक अर्यालको अध्ययन अनुसन्धानको जुन लगनशिलता तथा गहिरो प्रतिवद्धताले अझ ठुलो प्रगति गरोस् र नेपालमा पनि क्यान्सर रोग लागेर कोही मर्न नपरोस् । डा.विवेक अर्याललाई धेरै धेरै शुभकामना ।