महाशिवरात्रीको महिमा

मेचीकाली संवाददाता

१४ फाल्गुन २०८१, बुधबार
154 shares

कमल पन्थी
कुनै पनि महिनाको चतुर्दशीतिथिलाई शिवरात्री भनिन्छ भने फाल्गुन कृष्ण चतुर्दशीलाई महाशिवरात्री भनिन्छ । हाम्रो सनातन धर्म संस्कृतिमा विभिन्न चाड पर्वहरू भएजस्तै धार्मिक दृष्टिले विशेष महत्व राख्ने व्रत, उपासना वा अनुष्ठान गरिने रात्रिहरु पनि छन् । रात्रि केवल सूर्यास्तपछिको समय मात्र होइन । आध्यात्मिक, सांस्कृतिक, ज्योतिषीय एवं वैज्ञानिक हिसावले रात्रिले महत्वपूर्ण र मानव जीवनसँग गहिरो सम्वन्ध राख्छन् । रातको नामबाट नामकरण भएका चार प्रमुख पवित्र रात्रीहरू हुन् मोहरात्री, कालरात्री, सुखरात्री र शिवरात्री ।

मोहरात्री
मोहरात्रिबाट वर्षका चार विशेष रात्रीहरुको शुरुवात हुन्छ । पहिलो, भदौ महिनामा पर्ने जन्मसँग सम्बधित भगवान् श्रीकृष्णको जन्माअष्टमीको रात हो जसलाई मोहरात्री भनिन्छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भगवान् विष्णुको आठौँ अवतारको रुपमा अन्याय, अत्याचार, राक्षसी प्रवृत्तिको अन्त्य र धर्मको रक्षा गर्न बासुदेव र देवकिको कोखबाट भाद्र कृष्ण अष्टमीमा भएको विश्वास गरिन्छ ।

कालरात्री
नवरात्रीमध्ये आश्विन शुक्ल अष्टमीको रात तथा त्यस रातमा गरिने दुर्गाको पूजालाई कालरात्री भनिन्छ । हिन्दू संस्कृतिमा देवताहरुलाई दैत्यले दुःख दिँदा देवीको शरणामा परेको र देवीहरुले दैत्यको वध गरेका कुराहरु शास्त्रमा उल्लेख पाइन्छ । हिमवत खण्ड संस्कृतिमा मदमत्त सिंहलाई वसमा पार्ने देवीको पूजा हुन्छ । ‘यत्र नार्यस्तु पूज्य रमन्ते तत्र देवता’ अर्थात् जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवता पनि प्रसन्न हुन्छन् र नारी सृष्टिकेन्द्र मात्र हैनन् शक्ति केन्द्र पनि हुन भन्ने सन्दर्भमा लिन सकिन्छ ।

सुखरात्री
कार्तिक कृष्णऔसीका दिन विहान गाईको पूजा र राती घरघरमा दीपावलीको उत्सव मनाई गरिने लक्ष्मीपूजाको रात ऐश्वर्य, शक्ति र सार्मथ्यका लागि विशेष महत्वपूर्ण मानिन्छ ।

शिवरात्री
फाल्गुण कृष्ण चतुर्दशी तिथिको रात । मोक्षसँग संबन्धित भगवान् शिवको रात अथवा शिवरात्री। यसै दिन शिव ज्योतिर्लिङ्गका रुपमा प्रकट हुनु भएको ! यो लिङ्ग निराकार ब्रह्मको प्रतीक हो । भगवान् शिवको पूजा गरिने उत्सव । फाल्गुण कृष्ण चतुर्दशीमा पर्ने महाशिवरात्री त भगवान् पशुपतिनाथकै प्रिय दिन, व्रतहरुको राजा नै भएको चाड भएकाले पनि सबै हिन्दूले महत्वपूर्ण दिनका रुपमा लिन्छन् । महाशिवरात्रिमा देशभरका शिवालयमा दर्शनार्थीको ठूलो घुइँचो लाग्छ ।

शिव को हुन् ?
हिन्दूका तीन प्रधान देवता व्रम्हा, विष्णु र महादेवमध्ये संहारकर्ताका प्रतीक मानिने प्रसिद्ध देवता शिव हुन् । शिवको अर्थ मंगल, कल्याण र आनन्द हो । मुक्त हुने काम, मुक्ति वा मोक्ष हो । भगवान् शिवले सबैलाई कल्याण गर्ने धार्मिक विश्वास रहेको छ । जगत्को रक्षाको लागि आफ्नो कण्ठमा हलाहल विष धारण गरी निलकण्ठकारुपमा प्रसिद्ध हुने शिव, गृहस्थ भए पनि महायोगिका रुपमा विराजमान शिव, उग्र हुनु भए पनि सौम्यरुपमा देखिनुहुने शिव, विषधर सर्पद्वारा जेलिनुभएता पनि अमृतांशु चन्द्रमालाई शिरको भुषण वनाउनु हुने शिव, शिरमा हिमशीतल गंगालाई धारण गर्नु हुने गंगाधर शिव, विचित्र दृष्टान्तका रुपमा शिव !

वैदिक सनातन धर्म र दर्शनका अनुयायी हामीहरु धर्मशास्त्र र स्मृतिग्रन्थहरुवाट निर्देशित छौ । ब्रम्हाण्डमा प्राणी जगतको सृष्टिकर्ता ब्रम्हाका मानसपुत्र (इच्छाले मात्र उत्पन्न सन्तती) ऋषिमुनिहरु मानिन्छन् । धर्मशास्त्र प्राचीन ऋषिमुनिहरुवाट लिखित तत्कालिन समयको समाज सञ्चालन गर्ने शसक्त कानून हुन् । यो आलेख अध्यात्मिक भाषामा भन्दा पनि भगवान् शिवका गुण, चरित्र र विशेषताहरुलाई वर्तमान समयको सान्दर्भिकतालाई जोडेर व्याख्या र विश्लेषण गर्ने प्रयास रहनेछ । शिवनामी (शिवको नाममा छापिएको ओड्ने वर्को) को देखावटी आवरणमा हैन शिवगामी (मंगलकामना गरेर शिवको उपासना गर्ने व्यक्ति) को रुपमा ।

शिवलाई निर्गुण(ईश्वर,परमात्मा) र सगुण (सत्व, रज र तमोगुणले युक्त ब्रम्ह, साकार ब्रम्ह) दुवै रुपमा एवं पौराणिक, धार्मिक, योगसाधना र वैज्ञानिक दृष्टिकोणवाट समेत समयसापेक्ष चेतना, उर्जा र सन्तुलनका प्रतिकका रुपमा लिने गरिन्छ । तर मैले निराकार, ब्रम्ह र सम्पूर्ण सृष्टिलाई चलायमान गराउने एकमात्र अदृश्य सुपरपावरको रुपमा लिने गर्दछु ।

शिवबाट जीवनमा अगाल्नुपर्ने आचरणगत व्यवहारहरु
भगवान शिव केवल पूजा गर्ने देवताका रुपमामात्र नभएर उनका आचरणको पनि आदर्श भएकाले सवैका पूज्यनीय छन् । सादगी, धैर्य र सहनशीलता, समभाव, क्रोधको नियन्त्रण, परिश्रम र लगनशील,सत्यको मार्गमा अडिग रहनु, क्षमायाचाना गर्न सक्नु, दयालु, पारिवारिक जीवन र वैराग्यता विचको सन्तुलन र मनवाट ईष्र्या,लोभ अहंकार त्यागेर विचारमा शुद्धता भएकाले उहाँका तपसिलका गुणहरु अपनाउन सकेमा जीवन शान्त सुखी र समुन्नत हुन सक्छ ।

सहअस्तित्व
शिववाहन नन्दी नाउँको साँढे र पार्वतीवाहन सिंह हुन् । शिवको आश्रममा वृषभ(साढे) र सिंह अनि सर्प र मयूर एउटै आँगनमा प्रेमपूर्वक बस्छन् । सहभोजन गर्छन् । मयुर र सर्पले सबै द्वैष बिर्सेर एकैसाथ क्रिडा गर्छन् । यसरी अनेकतामा एकता र विषमतामा समता कायम भएको छ । विश्वमा प्रचलित सहअस्तिवको नारा लगाइन्छ, यसका सूत्रधार भगवान् शिव नै हुन ।
आशुतोष
संस्कृतमा आशु भनेको छिटो वा शीघ्र र तोष भनेको सन्तुष्टि वा प्रशन्नता भन्ने बुझिन्छ । शिवपञ्चाक्षरमन्त्र ॐ नमः शिवाय र प्रिय श्रीवृक्ष अर्थात् बेलको पात बेलपत्र मात्र चढायर खुसी पार्न सकिन्छ । चाँडै सन्तुष्ट वा प्रशन्न हुने स्वभावका शिववाट जीवनमा सधै सुखी भन्दा खुसी रहनुपर्छ भन्ने मान्यता अहिले बढ्दो छ । जीवनको सार्थकतालाई सुखसँग भन्दा पनि खुसीसँग जोडेर हेर्न थालिएको र विश्वव्यापी स्थापित मान्यता हँुदै छ ।

ट्वीन फ्लेम सम्बन्ध
शिवरात्रीको दिनमा नै शिवपार्वतीको विवाह भएको थियो । शिव र पार्वतीलाई आध्यात्मिकरुपमा एकै आत्माको दुई रुप मानिन्छ । उनीहरुको ट्वीन फ्लेम सम्बन्ध थियो । एक अर्काविना अधुरा हुने तर साथ पाएपछि सर्वशक्तिमान हुने प्रेमजोडी । जसरी ट्वीन फ्लेमलाई एउटै आत्माको दुई भाग मानिन्छ । शिव ध्यान, वैराग्य र ज्ञानका प्रतिक हुन भने पार्वती प्रेम, समर्पण र सृजनाका प्रतिक।यी दुवै मिलेर नै सृष्टिको सन्तुलन कायम गर्छन् । मानिसको मिलेको दम्पतीलाई शिव पार्वतीको जस्तो जोडी भनेर उपमा दिने गरिन्छ ।

अर्धनारीश्वर
शिवलाई आधा पुरुष आधा स्त्री भएको ईश्वर मानिन्छ । शिव भनेको पुरुष तत्व र पार्वती भनेको शक्ति तत्व मिलेर यो सृष्टि चल्छ । स्त्री र पुरुष समान छन् सृष्टिको दुवैको समन्वयवाट मात्र संभव छ । पुरुष र स्त्री प्रतिस्पर्धी नभएर समान र पुरकको रुपमा छन भन्ने अर्थमा लिन सकिन्छ । पुरुषको शुक्रकीट र महिलाको डिम्बले गर्भाधारण हुन्छ । त्यसकारण पुरुषमा महिला र महिलामा पुरुषका गुणहरु हुने वर्तमान सन्दर्भमा पनि लिन सकिन्छ ।

नीलकण्ठ
हलाहल नामक विष सेवन गरी चराचर जगतका प्राणीको रक्षा गरेको र विषको असरले घाँटी निलो भएकोले निलकण्ठ नामले समेत पुकारिने गरिन्छ । शिवको यो लोक कल्याणकारी कार्य हो । अहिले ‘सर्व जन हिताय सर्व जन सुखाय’ भन्ने आदर्श वाक्य मानवजातीले अगाल्न सक्नुपर्छ । आदर्श शासक वा नेतृत्वले अपनाउनु पर्ने मान्यतालाई उजागर गर्छ ।

त्रिनेत्र वा त्रिलोचन
शिवका तीनवटा आखाँमध्ये दुईवटा आखाँले भौतिक संसार र तेस्रो आखाँले अध्यात्मिक अनुभूति गर्ने मान्यता रहेको छ । शिवको तेस्रो आखाँ खोल्दा अज्ञान, अधर्म र अहंकार नष्ट गर्ने विश्वास गरिन्छ ।

शिवले गर्ने ताण्डव नृत्य
ताण्डव शव्दको अर्थ उग्र स्वच्छन्द वा नियन्त्रणरहित भन्ने हुन्छ । सामान्यतया एक प्रकारको उपद्रो वा उदण्ड्यताको विम्वको रुपमा वुझ्ने गरिन्छ तर यो नाच प्रकृतिको सुन्दर आराधना हो । विचार र प्राज्ञिक क्षमता बढाउने नृत्य हो । डमरुवाट व्रम्हाण्डीय ध्वनि निस्कन्छ । डमडम आवाजमा रमण गर्दै ताण्डव नृत्य गर्नाले शिवजीले हाम्रो कल्याण गर्नु हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ । आधुनिक समाजमा ताण्डवलाई शास्त्रीय नृत्यका रुपमा सिकाइने गरिन्छ ।

पशुपतिनाथ र महाशिवरात्री
शिवरात्री पर्व विशेष गरेर पशुपतिनाथसंग जोडिएको छ । विश्व सम्पदा सूचीमा समेत रहेको पाशपत क्षेत्र नेपाली पहिचान, धर्म, संस्कृति र अध्यात्मको अभिन्न अंग हो । चारधाम (भारतका बद्रीनाथ, जगन्नाथ, रामेश्वर र द्वारका) को तीर्थयात्रापछि पशुपतिनाथको दर्शनपश्चात तीर्थयात्रा पूरा हुने मान्यता रहेको छ । पशुपतिनाथको दर्शनले पशुत्वभाव हटेर चेतनाको भाव जागृत हुन्छ भन्ने विश्वास गरिन्छ । रात्रिमा जाग्राम बस्ने नाममा अधिक शिवबुटी (भाङ, गाजा, धतुरो) खाएर लट्ठ हुने बानी भने धर्मका नाममा भित्रिएको विकृति हो ।

नेपाली सेना दिवस
कुनै देश जन्मेको दिन, स्वतन्त्रता प्राप्त गरेको दिन, राष्ट्रको गौरव बढ्ने महान् युद्ध विजय प्राप्त गरेको दिन वा सेना स्थापना भएको दिन आदिलाई सेना दिवस मान्ने विश्व अभ्यास देखिन्छ । हामीकहाँ भने गौरवमय बहादुरी इतिहास बोकेको नेपाली सेनाको दिवस महाशिवरात्रीको दिन मनाउने गरिएबाट राज्यले यस महान् पर्वलाई दिएको महत्वलाई सजिलै बुझ्न सकिन्छ । आदर्शमय देवाधीदेव महादेवको व्रत, कीर्तन, कथाश्रवण, उपवासवाट केही मात्रमा भए पनि शिवका गुणहरु प्राप्त गर्न सकेमा आराधकहरुको परम कल्याण हुने नै छ । ॐ नमः शिवाय !! (लेखक पन्थी शिवालय मन्दिर व्यवस्थापन समिति, बुटवल कालिकानगरका कोषाध्यक्ष हुन् ।)