आफ्नो भुइँ नबिर्सौँ, अन्तर्राष्ट्रिय दिवस मनाऔँ

मेचीकाली संवाददाता

२३ फाल्गुन २०८१, शुक्रबार
334 shares

घनश्याम कोइराला

आज ८ मार्च । यस वर्षको ८ मार्च ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइँदै छ । यसका तीन पक्ष छन्, (१) अन्तर्राष्ट्रिय (२) श्रमिक (३) महिला । यसबाट स्पष्ट हुन्छ, १. लैङ्गिक हिंसा अर्थात् लिङ्का आधारमा हुने सबै प्रकारका विभेद–असमानता कुनै भूगोलविशेषमा मात्र सीमित विषय होइन । २. श्रमको सम्मान हुनुपर्दछ, चाहे त्यो घरेलु होस् वा अन्य । श्रमको क्षेत्र विस्तारसँगै बदलिएको परिभाषाभित्र पर्ने होस् वा परिभाषा नै नगरिएका परम्परागत कामका क्षेत्र हुन्, मानिसको जन्म, जीवनयापन तथा सिर्जना र सामाजिक क्षेत्रका काम हुन्, सीप, प्रयास र समय लागेको छ भने त्यो श्रम हो भनेर बुझ्नुपर्दछ ।

३.महिला असक्षम हुँदैनन्, छैनन् तर उनीहरूका प्राकृतिक विशेषताको अवमूल्यन भएको छ र तिनै काममा मात्र सीमित गरिएको हुनाले महिलाहरू ‘पौरखी’ र ‘शासक’ का रूपमा पछि परेका (पारिएका) हुन् । सामाजिक समानताका लागि लैङ्गिक विभेदका खाडल पुर्नैपछ र सम्म्याइनै पर्दछ । यसका लागि प्रागैतिहासिक अवस्थादेखि हालसम्म राजनीतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा भए–गरिएका परिवर्तनमा रहेको महिलाहरूको भूमिकाको सम्मान गर्नुपर्दछ ।

मार्च ८ लाई अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउनुको पृष्ठभूमि यस्तो छ: ई.सन् १९०८ को अमेरिकी महिलाहरूको त्यस आन्दोलनको समर्थन, स्मरण र सम्मानमा अमेरिकाको सोसलिस्ट पार्टीले फेब्रुअरी २८, १९०९ मा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो । विभिन्न व्यक्तित्वहरूका भनाइ, लेख तथा अन्य स्रोतहरूका अनुसार त्यसपछि जर्मन समाजवादी नेतृ क्लारा जेट्किनको अगुवाइमा सन् १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनमा सम्पन्न सम्मेलनमा यसलाई अन्तराष्ट्रिय रूपमा मनाउने प्रस्ताव पारित भयो ।

यस दिवसको अन्तर्राष्ट्रिय मान्यतासँग महिलाहरूको मताधिकारको विषय उल्लेखनीय रहेको छ । क्रमशः यो आन्दोलन राजनीतिक आन्दोलनको हिस्सा बन्न पुग्यो । ई.सन् १९१७ मा रसियाका महिलाहरूले गरेको हडताल रसियाको जारशाही अन्त्यको आन्दोलन बन्न पुग्यो । सुरूमा यो दिवस फेब्रुअरी महिनाको अन्तिम आइतबार मनाउने निर्णय थियो । यसको इतिहास हेर्दा यो दिवसको मिति कहीँ फेब्रुअरी र कहीँ मार्च देखिन्छ । यसो हुनुको कारण प्रचलनमा रहेका पात्रोका भिन्नताले हो । ई.सन् १९१७ को फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरीमा परेको थियो भने ग्रेगेरियन कयालेन्डर अनुसार त्यस दिन ८ मार्च थियो । त्यसैले अन्तर्राष्ट्रिय रूपमा ८ मार्चको दिनलाई यो दिवस मनाउने निश्चित भएको हो । यद्यपि, यो श्रमिक महिला दिवस हो, तर यस आन्दोलनको अन्तर्वस्तु महिलाका मात्र हक–अधिकारमा सीमित रहेको देखिँदैन । अहिले यस दिवसबाट बिस्तारै ‘श्रमिक’ शब्द हट्दैआएको छ । ‘जे भने पनि उही हो, महिलाले अधिकार पाउनुपर्छ, महिलाले सम्मान पाउनुपर्छ’ भन्ने बुझाइ विकास भइरहेको छ । यस्तो बुझाइले महिला आन्दोलनको दिशालाई शोषित, पीडितहरूको शोषण र पीडाबाट सधैका लागि मुक्ति हुने विषयको पक्षपोषण गर्दैन । बरु केही महिलाहरूले पाइरहेको सम्मान देखाएर अरुलाई कमजोर करार गर्न बल पु¥याउँछ । श्रमिक महिला दिवसले ‘श्रमजीवी’ र ‘महिला’को कुरा गर्छ भने अन्यले निरपेक्ष महिलावादको पक्षपोषण गर्दछ ।

अबको विकास प्रक्रियामा महिला क्षेत्रमा लगानी बढाउन आवश्यक छ । ती लगानीका क्षेत्र शिक्षा, राजनीति, उत्पादन हुन सक्दछन् । शिक्षामा रोजाइअनुसारको विषय, राजनीतिमा अर्थपूर्ण समानुपातिक सहभागिता, आर्थिक क्रियाकलाप र स्वामित्व हुन सक्दछन् । अहिले लगानीका क्षेत्र मूलतः यिनै हुन् ।

संसारको विकासमा हरेक मानिसको सहभागिता छ, महिला र पुरुष दुवैको श्रमशील भूमिकाले नै मानवसमाज अघि बढिरहेको भए तापनि यसलाई त्यस रूपमा स्वीकार नगरिएको भूगोलबाट यो आन्दोलन सुरु भएको हो । भूगोलको पूर्वी गोलाद्र्धको तुलनामा पश्चिमी गोलाद्र्ध मानवसभ्यता विकासको दृष्टिले पछि रहेको छ । यसका पछाडि मूलतः यथास्थितिमा मानव बस्तीका लागि त्यहाँको भूभाग प्रतिकूल हुनु मुख्य कारण हो । यसले मानवसमाजको विकासका अनेक आयामहरूमा प्रभाव पर्नु स्वाभाविकै हो । पूर्व, खासगरी भारतीय उपमहाद्वीपको तुलनामा त्यहाँको (पश्चिम) मानवबस्ती नयाँ, सोच–चिन्तन र व्यवहार नयाँ, अधिकार र कर्तव्यका सिलसिला नयाँ, संस्कृतिको आरम्भ नयाँ र पछिल्लो हो ।

विश्वदृष्टिकोण, वैज्ञानिक आविष्कार र अन्य वैश्विक सन्दर्भहरू सबैका साझा हुन्छन्, स्वदेशी वा विदेशी भन्ने हुँदैन । यस अर्थमा अन्तर्राष्ट्रिय दिवसहरू मनाउनुपर्दछ । मानवीयता र मानवअधिकारसँग सम्बन्धित विषय जहाँको भए पनि समर्थन–ऐक्यबद्धता स्वाभाविक हो । तर, ‘अन्तर्राष्ट्रिय’ हुनुको अर्थ अरुका मुद्दामा बहकिनु हुँदैन । आफ्नै समाज र सत्ताका यथार्थ मुद्दा तथा विशेषतामा आधारित हुनुपर्दछ । आन्दोलन नक्कलको विषय होइन र हुनुहुँदैन ।

पूर्वका मानिसले आपूmलाई आवश्यक पर्ने चिन्तन विकास गरेका छन् । आवश्यकतालाई विश्लेषण गर्ने दर्शन विकास गरेका छन् । जीवन र समाज व्यवस्थापन गर्ने आफ्नै शैली विकास गरेका छन् । यस क्रममा यहाँका मानिसहरूले गरेका संघर्षका स्वरूप अलि भिन्न प्रकारका रेहेको पाइन्छ । श्रम, सीप र पराक्रमसँग प्रत्यक्ष संलग्नताका अनेकौँ सन्दर्भ वेद तथा पुराणहरूमा पाइन्छ । यिनको प्रभाव समाज र संस्कृतिमा रहिरहेको छ । यस्ता कतिपय विषय जीवनोपयोगी शिक्षाको रूपमा, धर्मको रूपमा समेत रहेको अवस्था छ ।

सिङ्गो मानवसमाज गतिलोको माग, खोजी र आविष्कार गर्दै अघि बढिरहेको छ । मानवसमाज सधै नयाँमा बाँचिरहेको छ । दिन प्रतिदिन हरेकमा नयाँ परिमार्जन खोजिरहेको र गरिरहेको छ । गतिलोको अर्थ गतिशील रहेको भन्ने हुन्छ । यही गतिशीलतामा मानिसले सभ्यता निर्माण गरिरहेको छ र संस्कृति विकास गरिरहेको छ । यस क्रममा सधैभरि एकैनासको गतिशीलता रहेन होला, रोकियो होला वा थोरै पछिल्तिर धकेलिएको पनि होला । हरेक परिवर्तन सबैका लागि उत्तिकै हितकर हुँदैन र जसका लागि अहितकर हुन्छ, तिनले यस गतिलाई सके रोक्न र नसके मन्द पार्न प्रयास गरेका होलान् । यहीँनेर संघर्ष भयो होला । संघर्षको इतिहास जय–पराजय दुवैको इतिहास हो तर, विजयीले भोग ग¥यो, आफ्नो इतिहास आफैले लेख्यो । पराजितले गुमायो, उसको इतिहास कमजोर बन्यो । अहिले पनि मानिसहरू ‘संघर्षका कथा’मा ‘सफलता’ कै कथा लेख्छन् । विगतमा पनि कयौँ पटक यो सिलसिला दोहोरिएको अनुमान सहजै गर्न सकिन्छ ।

प्राचीन सन्दर्भ र संस्कृतिलाई हेर्ने हो भने महिला र पुरुषका बिचमा शेषण र विभेदका मात्र विषय छैनन्, सहकार्य र सम्मानका उत्कृष्ट विषय छन् । ऋग्वेदको यस ऋचाले हाम्रो पूर्वीय गोलाद्र्धको विषयमा फरक ढंगले सोच्न सघाउँछ:
‘चरित्रं हि वेरिवाच्छेदि पर्णमाजा खेलस्य परितक्म्यायाम् । सद्यो जङ्घामायसीं विश्पलायै धने हिते सर्तवे प्रत्यधत्तम् अर्थात् हे अश्विनीकुमारहरू हो, खेल नाम गरेका राजाको युद्धमा विश्पलाको खुट्टो काटिएर चराको प्वाँख खसेझैँ खसेको थियो । रातको समयमा फलामको खुट्टो राखिदिएर भोलिपल्ट आक्रमण गर्नका लागि तिमीहरू दुईले तयार बनाइदियौ ।’

सन्दर्भ श्रमिक महिला दिवसको हो । दृष्टिकोण श्रमिक पक्षधरता हो । यस मन्त्रमा महिला र श्रम दुवै विषय एकसाथ प्रकट छ । महिला विश्पला नामकी योद्धा छन् । उनी योद्धा हुन् र उनको श्रम युद्धकेन्द्रित रहेको छ । पुरुष अश्विनीकुमारहरू स्वास्थ्य क्षेत्रका बौद्धिक श्रमकर्ता हुन् । श्रमले संसारलाई जोड्छ, जोडेको छ । श्रमहीनताले संसार फुटाउँछ । यसको उदाहरण खोज्न कतै जानु पर्दैन ।

संसारको सर्वप्राचीन मध्येको प्राचीनतम मानिएको ऋग्वेद पूर्वीय संस्कृति, मूल्य–मान्यता र दर्शनको आधार ग्रन्थ हो । यो प्राचीन जनजीवनसँग जोडिएको मौलिक श्रुति–गायन हो । यसमा इतिहास, आविष्कार, परम्परा, प्रकृति, संस्कृति आदि मानवजीवनका सबै पक्ष समेटिएको छ । युद्ध, उत्पादन र व्यवस्थापन यसको मूल विषय रहेको छ । यसमा महिला र पुरुष दुवैका सङ्घर्ष र समन्वयका अनेकौँ सन्दर्भ छन् । यसलाई केही हिन्दूहरू र उनीहरूका संस्थाले मात्र नभई संयुक्त राष्ट्रसंघको सांस्कृतिक उपक्रम युनेस्कोले विश्व सम्पदाको रूपमा सूचीकृत गरेको छ । यो सहकार्यको उदाहरण हो ।

हाम्रो संस्कृतिमा महिलाहरूप्रति उच्च सम्मान रहेको देखिन्छ । समाजका शक्तिशाली मानिसहरूले आप्mनो स्वार्थका लागि महिला तथा समाजका अन्य कमजोरहरूलाई गरेको शोषण संस्कृति हुन सक्दैन । संस्कृति सङ्कीर्ण हुँदैन, संस्कृति उदात्त हुन्छ । खुम्च्याउनु, बिगार्नु, जड हुनु, पश्चगामी हुनु संस्कृतिका लक्षण होइनन् । पूर्वीय सभ्यता र संस्कृतिमा महिला सम्मानका पक्ष चहकिला छन् ।

‘पूजनीया महाभागाः पुण्याश्च गृहदीप्तयः । स्त्रियः श्रियो गृहस्योक्तास्तस्माद् रक्ष्या विशेषतः अर्थात्, घरमा स्त्रीहरू पूजनीय, महालक्ष्मीस्वरूपा, पुण्या, घरलाई प्रकाशित गर्ने हुन्छन् । स्त्रीहरू घरका लक्ष्मी हुन्छन् । यसैले यिनको सम्मानपूर्वक रक्षा गर्नुपर्दछ ।’
विदूरनीतिको यो श्लोकले महिलाप्रतिको उच्च सम्मान दर्शाएको छ । महिलाप्रतिको सम्मान र विशेष दर्जाको अर्थ उनीहरूको भूमिकाकै कारणले होला नि ! यदि कुनै बेला यो सम्मान घटेको छ भने त्यसको खोजीनिति गरिनुपर्दछ र त्यसलाई यसअनुसार कायम हुने गरी सच्याउनुपर्दछ ।

हाम्रा प्राचीन शास्त्र र प्रवन्धहरू महिलामैत्री त छँदैछन्, त्योभन्दा महत्वपूर्ण कुरा उनीहरूले पुरुषभन्दा बढी प्राथमिकताको पक्षपोषण गरेका छन् । यस सन्दर्भमा स्कन्दपुराण, माहेश्वरखण्डको यो श्लोक मनन गरौँ: ‘दशपुत्रसमा कन्या दशपुत्रान् प्रवद्र्धयन् । यत्फलं लभते मत्र्यः तल्लभ्यं कन्ययैकया अर्थात्, एउटी कन्या दस पुत्रहरू समान हुन्छिन् । दस पुत्रको लालन पालन गर्नाले जुन फल प्राप्त हुन्छ, त्यति फल केवल एउटी कन्या पालन गर्नाले नै प्राप्त हुन्छ ।’ यी त केही उदाहरण मात्र हुन् ।
स्त्रीशक्ति यसरी महिमामण्डित छ । यी त महिला प्रतिको सम्मानका केही उदाहरण मात्र हुन् । सारा वेद, पुराणमा सिंगो सृष्टिको, स्थितिको र प्रलयको प्राकृतिक शक्तिको रूपमा स्त्रीशक्तिलाई स्वीकार गरिएको छ । अहिले विभिन्न बहानामा यस्ता प्रवन्धहरूलाई बिर्साउने प्रयत्न भइरहेको छ । यसलाई अलि द्वन्द्ववादी भएर हेर्न र बुझ्न आवश्यक छ ।

संसारमा विभिन्न प्रकारका आन्दोलनहरू उठे । आन्दोलनहरू उठिरहेका पनि छन् । समाजलाई यथास्थितिबाट माथि उकास्न र सकारात्मक परिवर्तन गर्न आन्दोलनको ठूलो भूमिका हुने गर्दछ । अथवा, यसो भनौँ–सकारात्मक सामाजिक रूपान्तरणका लागि जे जति भएका छन्, एक अर्थमा ती सबै आन्दोलन हुन् । आन्दोलनका विषय, रूप र दायरा अनेक हुन सक्दछन् । मानव समाज गतिलो भविष्यका लागि सदैव आन्दोलनरत छ । यसो गरिरहँदा हामीले हाम्रो आफ्नै भूमिमा बीजारोपण भएको योगमायाको आन्दोलनलाई बिर्सन हुन्छ र ? योगमायाको जेष्ठता र योगदानलाई कमजोर पार्न हुन्छ र ? यही अन्तर्राष्ट्रिय दिवसलाई योगमायाको योगदानलाई अन्तर्राष्ट्रिय विषयको रूपमा अघि बढाउन हुँदैन र ? यसो नगर्नु भनेको भनेको वास्तवमा नेपाली महिला आन्दोलनले योगमायाको आन्दोलनप्रति न्याय नगरेको ठहर्छ ।

हरेक विषयको पृष्ठभूमि हुन्छ । हरेक घटना, पात्र र प्रवृत्तिको इतिहास हुन्छ । वर्तमानलाई सापेक्ष ढंगले बुझ्न इतिहास बुझ्नुपर्दछ । इतिहासको पुनरावृत्ति होइन, स्मृति आवश्यक हुन्छ । इति+ह+आस= इतिहास, अर्थात् यस्तो भएको थियो भन्ने अर्थ बोकेको ‘इतिहास’ शब्दले पुनरावृत्तिको माग गर्दैन ।

नेपालको महिला आन्दोलनको इतिहास योगमायाको सङ्घर्षबाट सुरू भएको छ । योगमायाको सङ्घर्ष क्रमशः ‘महिला आन्दोलन’ बाट माथि उठेको छ र यसले बृहत् समाजिक राजनीतिक स्वरूप ग्रहण गरेको छ । योगमायाको सङ्घर्ष आत्मसङ्घर्ष, सामाजिक सङ्घर्ष हुँदै शासनका विरुद्ध विकास भएको राजनीतिक संघर्ष हो । संसारको महिला आन्दोलनमा योगमायाको यो जेठो आन्दोलन हो । यस आन्दोलनका सन्तानले अहिले पछि विकसित भएका–नाम कहलिएका सहरको राज्यविरुद्ध केन्द्रित आन्दोलनलाई शिरोपर गर्नैपर्छ भन्ने केही केही छैन ।

वेद, पुराण, महाभारत आदिका महिला पात्रहरूको विद्रोहको सांस्कृतिक आधार र योगमाया जस्तो क्रान्तिकारी योद्धाको भूमिमा योभन्दा कान्छो आन्दोलनलाई नेता मान्नपर्ने केही आधार देखिन्न । आठ मार्च होइन, अन्तर्राष्ट्रिय महिला आन्दोलनको हक योगमायाको आन्दोलनले पाउनुपर्छ । कुनै पनि आन्दोलनले न्याय गरेको वा गर्ने हुनुपर्दछ । योगमायाका योगदानलाई ओझेल पार्ने गरी होइन, योगमायाको आन्दोलनलाई स्वीकृत गराउने गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाउन आवश्यक छ । अहिले प्रायः आन्दोहरूमा भुइँ बिर्सने प्रवृत्ति बढ्दै गरेको देखिँदै छ । ऐतिहासिक र भौतिक भुइँ बिर्सिएको आन्दोलनले कुनै दिन आफैलाई बिर्सन सक्दछ । आफैँलाई बिर्सनु भनेको आत्मसमर्पण र लम्पसारवाद हो । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा नेपाली माटोमा भएका यहाँका फरक प्रकृतिका शोषण र तिनको प्रतिवादका क्रममा विकास भएका आन्दोलनका कडीहरू बिर्सनुहुँदैन । (लेखका कोइराला संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)