

टेकराज पन्थी
जनावरलाई स्तनधारी, जलचर, सरीसृप, पंक्षी आदि विभिन्न प्रकारले बर्गीकरण गरिएको हुन्छ । विशेषगरी घरपालुवा र जङ्गली जनावर हुन्छन् । घरमा हेरचाह गरी संगै पाल्ने, खुवाउने र खेल्न मिल्ने जनावरलाई घरपालुवा जनावर भनिन्छ । घरपालुवा जनावरमा गाईगोरू, भैसीराँगो, कुकुर बिरालाहरु आदि पर्दछन् । जङ्गलमा जङ्गली जनावर स्वतन्त्र रूपमा बस्छन् । उनीहरू खोजि गरी आफ्नो आहारा खान रुचाउने हुन्छन् । बाघ, भालु, हात्ती, गैडा, चितुवा, जिराफ, स्याल, निलगाई आदि पर्दछन् ।
नेपालमा पाइने २१२ प्रजातिका स्तनधारी वन्यजन्तु, ८८७ प्रजातिका पक्षी, १४९ प्रजातिका सरीसृप र ५६ प्रजातिका उभयचर पाइन्छन् । यीमध्ये २० प्रजातिका स्तनधारी र चार प्रजातिका चराहरू संरक्षित वन्यजन्तुमा सूचीकृत गरी तिनीहरूको शिकार गर्न प्रतिबन्ध लगाएको छ । गैंडा, बाघ, बाह्रसिङ्गेबाहेक अन्य संरक्षित वन्यजन्तुहरूको मात्र पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा सूचीकृत भएको धेरै वर्ष हुदा पनि दुर्लभ र संरक्षित वन्यजन्तुहरू हुन् भनेर सूची देखाउनेबाहेक नेपालमा त्यस्ता वन्यजन्तुहरू कति संख्यामा छन् र तिनीहरूको स्थिति कस्तो छ भनेर राम्रो अध्ययन नहुनु, दुर्लभ र संरक्षित वन्यजन्तुको लागि ठोस कार्यक्रम ल्याउन नसक्नु बिडम्बना रहेको छ ।

दुर्लभ वन्यजन्तुको गणना र संख्या थोरै हुँदा तिनीहरूको आनुवंशिक विविधतामा पर्ने असर र कारणले दुर्लभ वन्यजन्तुको अस्तित्वमा पर्ने प्रभाव, नियन्त्रित प्रजनन तथा पालनका उपाय जस्ता विषयहरू कागजमा मात्र सीमित रहनुले नेपालमा संरक्षणलाई विज्ञानसँग जोड्न नसकेको कुरा देखिन्छ । प्रसस्त मात्रामा वन्यजन्तुहरूको अवैध चोरी निकासी र व्यापार हुने गर्दछ । जसले गर्दा गैंडा सिङको लागि र हात्ती दाह्राको लागि मर्नुपरेको स्थिति रहेको छ । अवैध चोरीशिकार गर्न गराउन मोटो रकम पाउने हुँदा चोरी शिकारले वन्यजन्तुहरूको संख्या द्रुत गतिमा घट्दै जाने अवस्था सिर्जना भएको छ । संख्या घट्दै गएका कारणले मार्नको लागि शिकारीले पाउने रकम अवैध व्यापारीले बढाउँदै लैजाने गर्दा कस्तूरी र गैंडा जस्ता वन्यजन्तुहरू अझ विनाश हुने खतरा बढ्ने भएका कारणले प्रजनन, पालन र नियन्त्रित व्यापारलाई नियामक उपायहरू सँगसँगै कार्यान्वयन गर्नु आजको आवश्यकता हो । त्यसैले नियन्त्रित व्यापार, प्रजनन र पालनबाट वन्यजन्तुको दिगो प्रयोग गरी संरक्षणलाई अझ सशक्त बनाउन जरूरी छ । यथार्थमा उचित व्यवस्थापन गर्न सकेमा पालनले वन्यजन्तुहरूको संरक्षण र आय आर्जनमा सहयोग गर्न सक्छ ।
विश्वमा विभिन्न आर्थिक क्षेत्रहरू खाद्य, हाउजिङ तथा फर्निचर, स्वास्थ्य तथा सौन्दर्य, फेसन र पर्यटन उद्योगहरू वन्यजन्तु तथा वनस्पतिमा निर्भर रहेका कारण संकटापन्न वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारलाई नियमन र नियन्त्रण गर्न नेपाल सशक्त रूपमा अगाडि बढ्नुपर्दछ । यिनै कारणहरूले गर्दा जैविक विविधताले धनी हाम्रो देशले आर्थिक लाभ गुमाउनु परेको छ भने अवैध व्यापारले हाम्रा वन्यजन्तुहरूलाई लोप हुने खतरा दिन प्रतिदिन बढेको छ । बाघ, हात्ती र गैडामात्र नभएर स–साना वन्यजन्तुको पनि अन्तर्राष्ट्रियस्तरमा अवैध व्यापार भइरहेको छ । ती सबैको संरक्षण अत्यावश्यक छ । जङ्गली याक, लघुकर्ण खरायो, सालक जुन विश्व परिवेश मै लोपोउन्मुख जनावर हुन् । यस्ता दुर्लभवन्यजन्तुको अवैध ब्यापार र चोरीनिकासी हुनेहुदा सवै पक्षले समयमा ध्यान दिई नियन्त्रण गर्नु जरूरी छ । यस्ता दुर्लभ वन्यजन्तुलाई संरक्षण गर्न सकियो भने नेपाल र नेपालीको महिमा पनि अझ बढ्दै जाने छ ।
हामीले निलगाई, बाँदर, ढेंडुवा, दुम्सी, भालु, चितुवा, स्याल, जङ्गली हात्ती, गैडा जस्ता जङ्गली जनावरहरूको उचित व्यवस्थापन गर्न नसक्दा मानिस माथि आक्रमण गर्ने, किसानले लगाएको खेती खाइदिने एवं नोक्सान पार्ने, बस्तीमा पसेर मानिसलाई आतङ्कित बनाउने गरेका छन् । समयमा जङ्गली जनावरको उचित व्यवस्थापन नभएको कारणले गर्दा वास्तविक संरक्षित जङ्गली जनावरप्रति मानिसको वितृष्णा बढ्दै गएको छ । त्यसैले वन तथा र पशु विज्ञहरूलाई ध्यानाकर्षण गराई यस्ता जङ्गली जनावरहरुको उचित व्यवस्थापन गर्न नितिगत, कानुनी, संस्थागत वा आर्थिक रूपमा समयमा नै प्रकृयाको थालनी गर्न ढिला गर्नु हँुदैन ।
घरपालुवा पशुहरू र घरपालुवा जनावर कुकुर बिरालाको संख्या अत्यधिक बढेको छ । अहिलेको केही कानुनी जटिलता र पशु अधिकारकर्मीले सकारात्मक कार्य नगर्दा छाडारूपमा छोडिएका गाईगोरू र कुकुरहरूले शहरमा दुर्घटना निम्ताइरहेका छन् । सहर बजारका पसले, सडकमा गुड्ने गाडीदेखि ग्रामीण बस्तीका किसानसम्मलाई छाडा चौपायाले हैरान बनाएका छन् । पशु अधिकारकर्मीहरूले त्यस्ता घरपालुवा जनावरका लागि सम्बन्धित घरमालिकबाट घरमा संरक्षित र उचित ब्यवस्थापन गर्ने जनचेतना फैलाउनु पर्दछ । घरपालुवा जनावरलाई जसले अवैध रूपमा बजार वा बाटोमा छोड्छ त्यसलाई गैह्रकानुनी ठहर गरी नियमनकारी निकायले कानुनी कारबाही गर्नु पर्दछ । स्थानीय तहको करोडौँ रकम छाडा चौपाया व्यवस्थापनका नाममा खर्च गरिए पनि उपलब्धि शून्य बराबर भएको पाइन्छ । पशु अधिकारका नाममा शहर बजारमा छोडिएका घरपालुवा जनावरले गर्दा सवारी दुर्घटना भई धेरैले जनधन गुमाउनुपरेको अवस्था छ । सडकमा दुर्घटना बढ्नुका साथै बजार फोहोर तथा अव्यस्थित हुने गरेको छ । सडकमा छाडा छोडिएका घरपालुवा जनावरका कारणले वर्षेनी धेरै सवारी दुर्घटना भएको ट्राफिक प्रहरीले तथ्याङ्क सार्वजनिक गरिरहेको हुन्छ । छाडा छोडिएका घरपालुवा जनावरका बिषयमा तिनै तहको सरकार स्थानीयतह, प्रदेश सरकार र संघीय सरकारले समयमा ध्यान दिइ उचित ब्यवस्थापन गर्न आवश्यक छ ।
सडकमा छाडिएका छाडा चौपायाबाट मानव समाज नै विभिन्न रोगहरूबाट ग्रसित हुने सम्भावना हुन्छ । यसबाट टिबी, भ्यागुते, नाम्ले, खोरेत, मेनिन्जाइटिस, इन्सेफालाइटिस जस्ता खतरनाक रोग लाग्ने गरेको पाइन्छ । यिनी अत्यन्तै सरुवा रोग हुन् । यी रोगहरू बेस्याहार छोडिने गाईवस्तु र कुकुरहरूमा पाइने र यी रोग ग्रसित जनावरको सम्पर्कबाट मानव, अन्य पाल्तु जनावरहरू, पाल्तु चराचुरुङ्गीसमेतमा सर्ने र पाल्तु जनावर वा मानवीय स्वास्थ्यमा महामारीको रूप लिने जस्ता डर लाग्दा दुष्परिणाम पनि आउने जोखिम रहिरहेकै हुन्छ ।
जनावरलाई अनियन्त्रित रूपमा सडकमा छाडिँदा सडक अव्यवस्थित भएका छन् र दुर्घटनाको जोखिम पनि त्यत्तिकै बढेको छ । गाईवस्तु र कुकुर छाडा नछोडी संरक्षण गर्नु आवश्यक छ । गाई तथा कुकुर संरक्षण, विकास, सम्वद्र्धन जस्ता कार्यले वातावरणको रक्षा गर्न मद्दत पुग्छ । हाल विश्वभरी नै प्राङ्गारिक मलको सट्टा रासायनिक मलको प्रयोग बढिरहेको छ । हरेक कृषि बागवानी कार्यमा युरिया, डीएपी जस्ता रासायनिक मलहरूको अत्यधिक प्रयोगबाट खोलानाला, वन जङ्गल, खेतबारी सबैतिरको वातावरणमा नकारात्मक रुपमा असर गरिरहेको छ । खोलाका जलचर र पानी बाहिरका थलचर सबैमा सङ्कटापन्न हुने गरी असर गरिरहेको वैज्ञानिक शोधहरूबाट पत्ता लागिरहेको छ । तसर्थ वातावरणमा परिरहेको यस्तो नकारात्मक असर कम गर्न गौपालन, छाडा गाईवस्तुको आश्रय निर्माणबाट निस्कने गोबर, गोमूत्रको सङ्कलन गरी प्राङ्गारिक मल, किटनाशक औषधी बनाउने अकुत सम्भावना भएको हुँदा गाई संरक्षण कार्यले बिग्रँदो वातावरणीय स्थिति र देशको वातावरणीय समस्यालाई केही हदसम्म नियन्त्रण गर्न सघाउ पु¥याउनेछ ।
सडकमा छाडा छोडिएको पशुहरूको उचित व्यवस्थापन, त्यस्ता पशुहरूको पशुअधिकारको रक्षा, उचित संरक्षण, तिनीहरूको निकासी पैठारीमा पूर्ण बन्देज लगाउने व्यवस्थाहरू महत्वपूर्ण रहेका छन् । छाडा चौपायालाई दिनानुदिन समस्याको रूपमा हेर्नु भन्दा नेपाल सरकारले नीतिगत रूपमा छाडा चौपाया व्यवस्थापन गृह बनाउने कानुनी व्यवस्था गर्नु जरुरी छ । जनगणना जस्तै सबै चौपायालाई ट्याग लगाई गणना गर्ने र अभिलेख व्यवस्थापन गर्नुपर्दछ । मनलागी रूपमा सडक वा गाउँ सहरमा छाडा चौपाया छोड्नेलाई कानुनी दायरामा ल्याउन कानुनी व्यवस्था हुनु पर्दछ । त्यसैले तिनतहका सरकारले दुर्लभ वन्यजन्तुको संरक्षण र छाडा छोडिएका जनावरको उचित ब्यवस्थापन गरी जनधनको क्षति कम गर्न आवश्यक छ । वनविज्ञ र पशुविज्ञहरूले पनि यस्ता बिषयमा अपनत्व लिनु पर्दछ । सवै पक्षबाट सकारात्मक सहयोग भएमा दुर्लभ वन्यजन्तुको संरक्षण र छाडा चौपायाको ब्यवस्थापन हुनेमा विश्वास गर्न सकिन्छ ।