

बुटवल । निजी क्षेत्रको अग्रणी आयुर्वेद औषधि उत्पादक कम्पनी आरोग्य भवन वर्क्स प्रालि ९९ वर्ष पूरा गरी १०० वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा शुक्रबार पाल्पाको तिनाउ गाउँपालिका–३ झुम्सास्थित उद्योगमा शताब्दी महोत्सव समारोहको आयोजना गरी शताब्दी महोत्सवका कार्यक्रम सुरु गरीएको छ ।
कार्यक्रममा प्रालिका अध्यक्ष सुबोधकुमार अधिकारीले १००औं वर्षमा प्रवेश गरेसँगै अब पहिलेभन्दा फरक तरिकाले उत्पादनमा लाग्ने बताए । ‘सय वर्ष पुग्नु आफैमा अलौकिक जस्तै हो । नेपालमा कुनै पनि संस्था सय वर्ष पुग्नु चानचुने होइन । आजदेखि हामी ९९ वर्ष पूरा गरी सय वर्षमा प्रवेश गरेका छौँ’, उनले भने, ‘अरूभन्दा र पहिलेभन्दा अब फरक तरिकाबाट सुरु गर्नेछौँ ।’ अध्यक्ष अधिकारीले आरोग्य भवन अब गुणस्तर, सुरक्षा, असरयुक्त, पहुँच, किफायतीलगायतका विषयलाई प्रमुख उद्देश्य राखी अगाडि बढ्ने बताउँदै बिभिन्न चुनौतिका बाबजुद पनि अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

यस्तै आरोग्य भवनका प्रबन्ध निर्देशक सुमनप्रसाद पाण्डेले जिएमपी मापदण्डका आधारमा चाँडै औषधि उत्पादन सुरु गर्ने बताए । विश्व स्वास्थ्य संगठनको जिएमपी मापदण्डका लागि पनि निवेदन गरिसकेको उनले जानकारी दिए । शताब्दी महोत्सव अन्तर्गत बिभिन्न स्थानमा आयुर्बेद स्वास्थ्य शिबिर एवं रक्तदान कार्यक्रम, स्मारिका प्रकाशन (शताब्दी महोत्सव बिषेशांक), स्थानीय स्तरमा जडिबुटी संरक्षण र प्रर्बधन तालिम दिने, आयुर्बेद अनुशिक्षण कार्यक्रम, सुलभ औषधि उपचार र बिक्री केन्द्रको बिकास लगायतका कार्यक्रम सञ्चालन गर्ने प्रबन्ध निर्देशक पाण्डेले बताए । स्थानिय पालिका, बन र किसानहरुसँग समन्वय गरी किसानले उत्पादन र संकलन गरेका जडिबुटी बजार भाउभन्दा बढी रकम दिएर कम्पनीले खरिद गर्ने उनले बताए ।

कार्यक्रममा तिनाउ गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापा, स्थानिय किसान, स्थानिय बनका अध्यक्ष तथा प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो । सोही अवसरमा उद्योगमा कार्यरत ५ जना कर्मचारीहरुलाई पुरस्कृत गर्दै सम्मान गरीएको थियो । वि.सं. १९८२ सालमा वैद्य शिवनाथ रिमाल र नरेन्द्रनाथ रिमालले आरोग्य स्थापना गरेका थिए । परम्परागत बिधिबाट काठमाडौंको डिल्लिबजारबाट उत्पादन सुरु गरेको यस कम्पनी बिभिन्न उतार चडावका बिच निरन्तर १०० वर्षको यात्रामा हाल पाल्पाको तिनाउ गाउँपालिका झुम्सामा विश्व स्वास्थ्य संगठनको असल उत्पादन अभ्यास अन्तर्गत आधुनिक उद्योगबाट उत्पादन सुरु गरिरहेको छ ।

विभिन्न रोगको उपचारका लागि हाल २५० थरीका औषधि उत्पादन गरिरहेको आरोग्य भवनले बिशेष गरी कस्तुरी भुषण, कस्तुरादी चक्की, नवरस, तितेपाती तेल, अश्वगन्धा तेल, ब्रह्मी तेल, तुलसी हर्बल चिया, पिनासनाश तेल, संजीवनी, शिलाजीत, तपस्विनी बटी, पाइलोन ट्यावलेट, भिटेक्स ट्यावलेट र मेगाल्याक्स पाउडर जस्ता आयुर्वेदिक औषधिहरू उत्पादन गर्दै आएको प्रबन्ध निर्देशक पाण्डेले जानकारी दिए ।

आरोग्य भवन वक्र्स प्रालिले आइएसओ ९००१ः२००८ तथा जीएमपी प्रमाणित उत्पादन प्रणाली अपनाएको छ । कच्चा पदार्थको गुणस्तर परीक्षण, अत्याधुनिक उत्पादन विधिहरू, तथा सघन गुणस्तर परीक्षण प्रक्रिया मार्फत सुरक्षित तथा प्रभावकारी उत्पादनहरू उपभोक्तामाझ पु¥याउँदै आएको कम्पनीले वार्षिक १० करोड बढीको कारोबार गरिरहेको छ । बिभिन्न औषधि निर्यातसमेत गरिरहेको आरोग्यमा हाल ४२ जनाले काम गरिरहेका छन् । उद्योगमा स्थानीयवासीलाई प्राथमिकता दिएर क्षमताका आधारमा रोजगारी दिइने कम्पनीले जनाएको छ ।