

अमृत गिरी
बुटवल । संविधान जारी भएसँगै नागरिक तथा राजनीतिक अधिकारको लडाइँ पूरा भएर समाजवाद उन्मुखको नारा लिएर मुलुक समृद्धिको यात्रामा अगाडि बढेको हो । पुरानो, निरंकुश, एकात्मक र परिवर्तन विरोधी व्यवस्थालाई बदलेर नयाँ लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कायम भएको हो ।
गणतन्त्र स्थापना भएको यो अवधिमा र त्यसअघिका विभिन्न शासनसत्ताका समयमा भएका कामको तुलनात्मक अध्ययन गर्दा अहिले धेरै नै उपलव्धि हासिल भएका छन् । हरेक क्षेत्रमा रुपान्तरण भएका छन्, तथ्याङ्कसहित परिवर्तनका डाटाहरु सार्वजनिक भएका छन् । जनताको जीवनस्तरमा सुधारदेखि मुलुकको उत्पादनका क्षेत्रमा भएका सुधारले तुलना स्पष्ट हुन्छ ।
यद्यपि, अझ पनि धेरै काम बाँकी नै छन्, गर्नुपर्ने काम धेरै छन्, हुनैपर्ने काममा राज्यको सामथ्र्य कमजोर भएकाले ध्यान कम पुगेको पक्कै छ । तर, केही नै नभएको झै, केही पनि भएकै छैन जस्तो गरी प्रतिगामी र पूर्वाग्रही टिकाटिप्पणी गर्नु भनेको मिथ्यांक छर्नु हो ।
आजको प्रमुख चुनौती भनेको ‘गरिएका राम्रा कामको अन्देखा र नकारात्मकता फैलाउने प्रवृत्ति’ हो । प्रविधिको दुरुपयोग गर्दै अनेक प्रकारका भ्रम, मिथ्यांकको सहारामा मिसइन्फर्मेशन र डिसइन्फर्मेशन फैलाउने दुस्प्रयास जारी छ । यस्ता प्रवृत्तिले आज सत्तामा रहेकाहरुलाई गाली गरेको जस्तो लाग्ला तर, सारमा यसले सामाजिक एकतामा खलल पु¥याउनेछ । भोलिका दिनमा राष्ट्रियतामै आँच पु¥याउन सक्छ ।
राजनीतिक विश्लेषक तथा विज्ञ डा.धनश्याम कोइरालालाको टिप्पणी छ–‘अहिले मानिसहरूले चाहिँदा नचाहिँदा कुरामा अर्कालाई धारेहात लाएर गालीगलोज गरेको देख्दा हामी सानो छँदा सुनेका गीतहरूमध्ये एउटा गीतको सम्झना हुन्छ,‘मलाई बगाउला कि फूल बगाउने नदीले !’ यो कुनै महान् दार्शनिक, कुनै विद्वान्, कुनै पार्टीका ठूला नेता या राजामहाराजाले रचेको कथेको होइन, लोक अनुभवको प्रस्तुति हो । यद्यपि यो जिज्ञासाका रूपमा छ, उत्तर या समाधान यसैमा स्पष्ट छ । अहिले जुन अश्लील, अनर्गल र भद्दा अभिव्यक्ति आइरहेका छन् यी सिङ्गो समाजलाई, सांस्कृतिक मर्यादालाई चुनौतीका रूपमा छन् ।
तपाईंले हेर्दा म गाली पाउनलायक हुँला, मैले हेर्दा पनि तपाईं त्यसै गर्न लायक हुनुहुन्छ । तपाईंका सोच, तर्क सही मेराचाहिँ गलत हुन्छ ? नराम्रोको असर र राम्रोको प्रभाव सबैलाई पर्छ । तर्क, असहमति, आलोचना, विरोधमा कसैले पनि गाली नमिसाउँदा नै ठिक हुन्छ भन्ने ठान्दछु । यो विषय मेरो मर्जी र तपाईंको मर्जीको कुरा होइन, सभ्य समाजको विषय हो । यस्ता कुरा बुझौँ, बुझाऔँ ।’ डा. काइरालाले सामाजिक सञ्जालमा ‘बन्छ, नेपाल, बनाउँछौं नेपाल’को टपिक्समा निरन्तर लेख्दै आएका छन् । हो, यसप्रकारका टिप्पणी र विश्लेषणको खाँचो छ नेपालका लागि ।
सामाजिक सञ्जाल, प्रविधि र गलत सूचनाको दुरुपयोग गर्दै केही समूहले योजनाबद्ध रुपमा सरकार र खासगरी प्रधानमन्त्री केपी ओलीको नेतृत्वको विकास अभियानमाथि प्रश्न उठाइरहेका छन् । तर, देशमा युगीन महत्वका परियोजनाहरू–रेलमार्ग, जलयातायात, सुख्खा बन्दरगाह, पूर्व–पश्चिम तथा उत्तर–दक्षिण राजमार्ग, आधारभूत अस्पताल निर्माण–निरन्तर अघि बढिरहेका छन् । यो भ्रम चिर्न ‘तथ्य र आँकडामै आधारित बहस आवश्यक’ छ । आलोचना हुनु स्वाभाविक हो, तर तथ्यको उपेक्षा र पूर्वाग्रही टिप्पणीले हाम्रो चेतनालाई झनै कमजोर बनाउँछ ।
समाजवाद एकैपटक आउने कुरा होइन, तर समाजवादतर्फ अग्रसर हुने स्पष्ट मार्गचित्र बनाउनु र त्यसमा सरकार, राजनीतिक दल र नागरिक सबैको भूमिका निर्वाह गर्नु अनिवार्य छ । सबै कुरा जादुको छडीले झ्याप्पै हुँदैनन्, तर पछिल्ला दशकहरूमा भएका परिवर्तनहरूलाई हेर्दा आशा, सम्भावना र दृढता छ । हामीले नकारात्मक होइन, सकारात्मक दृष्टिले हेर्न, सुझाव दिन, साथ दिन र आवश्यक सुधार माग्न सक्ने नागरिक बन्नु आजको आवश्यकता हो ।
नेपाल बन्दैछ, सामथ्र्यको विकास हुँदैछ । तसर्थ, हामी सबै मिलेर देश बनाउने अभियानमा सहभागी बनौं । भ्रममा परेर, पूर्वाग्रहीका मिथ्यांकमा अलमलिएर आलोचना गर्ने मात्रै होइन, असल नागरिकका रुपमा योगदान पनि गर्न जरुरी छ ।
भ्रम चिर्न जागरणसभा
भ्रम, पूर्वाग्रही र भड्किएका विवाद बढाएर परिवर्तनका उपलब्धिहरुलाई संस्थागन हुन नदिने, भएका कामलाई पनि नभएको जस्तो गरेर एकोहोरो आलोचना गर्ने कोसिस भइरहेका छन् । खासगरी सामाजिक सञ्जालको दुरुपयोग गरेर भ्रामक र मिथ्यांकका आधारमा गलत सूचना विस्तार गर्ने गलत काम भइरहेको छ । यी सबैखाले भ्रमबाट मुक्त हुन जरुरी छ । भ्रमलाई चिर्न र तथ्यका आधारमा सत्य स्थापित गर्न भन्दै आज नेकपा एमालेले बुटवलमा जागरणसभा गर्दैछ । जागरणसभामार्फत एमालेको नेतृत्वमा भएका काम, योजना र अहिलेको अवस्थाका साथै भविष्यको दृष्टिकोणलाई समेत स्पष्ट पार्नेगरी तयारी भइरहेको एमालेका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालको दाबी छ ।
परिवर्तन भएकै छ तर अझ तीब्र पार्नुछ
विसं.२०४६ सालको प्रजातान्त्रिक पुनःस्थापनापछि आजसम्मको यात्रामा नेपालले ठूला उतारचढाव पार गर्दै अनेकौं चुनौतीका बाबजुद विकासको मार्गमा ऐतिहासिक फड्को मारेको छ । गणतन्त्र स्थापनाबाट संविधान जारी हुनेसम्म र पछिल्ला वर्षहरुमा सरकारको विकास अभियानले पक्कै पनि मुलुकलाई सकारात्मक दिशामा उन्मुख गराएको छ ।
०४७ यता औसत ४ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर कायम रहँदा अहिले नेपाल चरम गरिबी न्यूनीकरणमा दक्षिण एसियाकै अग्रणी देश बन्न पुगेको छ । विश्व बैंकका अनुसार ५५ प्रतिशतको दरबाट ०.३७ प्रतिशतमा झरेको चरम गरिबी, २० वर्षमा १.५ प्रतिशत बिन्दुका दरले निरपेक्ष गरिबी घट्नु कुनै सामान्य उपलब्धि होइन ।
धनी–गरिबको खाडल घट्दैछ तर अझै कम गर्नुछ
विसं.२०५२ मा १० प्रतिशत धनीको आम्दानी २१ गुणा बढी थियो, अहिले त्यो घटेर ६ गुणा मात्र रहेको छ । यसको अर्थ, नेपालमा सामाजिक न्याय र समावेशितामा उल्लेखनीय सुधार भइरहेको छ । यसलाई सुधार गरेर जनतामा नयाँ व्यवस्थासँगै अवस्था बदलिएको पनि अनुभूति गराउनुपर्नेछ ।
सडक र पुर्वाधार विकास तीब्र
९ हजार किलोमिटरबाट १ लाख १० हजार किलोमिटर सडक विस्तार, प्रत्येक नागरिक ३०० जनामा १ किमी सडक, सबै जिल्ला सदरमुकाम सडकमार्गसँग जोडिनु, अग्ला पुल र सुरुङमार्ग (टनेलमार्ग) को निर्माण–यी सबैले देशलाई भौगोलिक रूपमा मात्र होइन, आर्थिक गतिशीलतातर्फ पनि अग्रसर बनाएका छन् । तर पनि ग्रामीण भेगमा भएका कैयन सडकहरु अहिले पनि जोखिममै छन् । दुर्घटना भइरहने र जनधनको क्षति भइरहने अवस्था छ । यसलाई सुधारेर सुरक्षित यात्राको अधिकार स्थापित गर्नुपर्ने छ । कहालीलाग्दा सडक दुर्घटनालाई न्यून गर्नुपर्नेछ ।
ऊर्जामा आत्मनिर्भरतातर्फ
विद्युतको विकास तीब्र रुपमा भइरहेको छ । तर, अझ धेरै गर्नुपर्ने छ । घरेलु प्रयोजनको विद्युत्लाई सकेसम्म निशुल्क र अति कम शुल्कमै उपलब्ध हुने बनाउनेदेखि उत्पादनमूलक र निर्यातमुखी उद्योगहरुमा सहज, सुलभ र प्रभावकारी विद्युत् उपलब्ध गराउनुपर्ने छ । नवीकरणीय र वैकल्पिक ऊर्जाको विकास गर्नुपर्नेछ । विसं. २०४६ सालयता २२७ मेगावाटबाट ३४०० मेगावाटसम्म विद्युत् उत्पादन वृद्धि भएको छ । अहिले करिब ९८ प्रतिशत घरमा बिजुली पुगेको छ । मुलुक ऊर्जामा आत्मनिर्भरतातर्फ छ । यसले औद्योगिक सम्भावनाको ढोका खोलेको छ ।
यथार्थमा आधारित आत्मविश्वास बढाऔं
नेपालीको औसत आयु ५५ बाट ७२ वर्ष, बाल मृत्युदर र मातृ मृत्युदरमा नाटकीय सुधार, विद्यालय शिक्षामा बस्ने समय ४ वर्षबाट ९ वर्ष, महिला साक्षरता २५ बाट ६५ प्रतिशत पुग्नुले मानव विकास सूचकांक ०.४ बाट ०.६० मा पु¥याएको छ । यस्ता सकारात्मक तथ्यलाई नजरअन्दाज गर्ने काम पूर्वाग्रह हो । अहिले हरेक नागरिकसँग मोबाइल, इन्टरनेट, टेलिभिजन, मोटरसाइकल, ल्यापटप, फ्रिजजस्ता उपकरणको पहुँच उल्लेख्यरूपमा वृद्धि भएको छ । प्रविधिका नवीनतम उपकरणमा आमजनताको पहुँचको वृद्धि भएको छ । यस्तै बैंक पहुँच २१ प्रतिशतबाट ७४ प्रतिशत, बिमा पहुँच ५ प्रतिशतबाट ३५ प्रतिशत, डिम्याट खाता ६५ लाखभन्दा बढी ।
भैरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका छन् । आन्तरिक उडान तथा निजी क्षेत्रको सेवा विस्तारले नागरिकको जीवनलाई सहज बनाएको छ । यद्यपि यी दुवै विमानस्थलमा विजनेश बढाउनुपर्नेछ । अन्तर्राष्ट्रिय उडानलाई नियमित र वृद्धि गर्नुपर्ने छ । हामी प्रचूर सम्भावना भएका मुलुकका नागरिक हौं । हिजोका दिन सम्झौं–विद्युत् छैन, सडक छैन, अस्पताल छैन, शिक्षा पहुँचबाहिर छ, हुनेखाने र हुँदा खानेका बीचमा फरक फरक शिक्षा छ, अनेक प्रकारका असमानता छ । तर, आज देशको अनुहार फेरिँदैछ, सुधार हुँदैछ ।
भड्किएका विवाद कम गरौं
हाम्रा अतीतका भड्किएका विवादहरूले समय गुमाएको छ । अब हामी सबैले मिलेर देश बनाउने जिम्मेवारी उठाउनु छ । आज हाम्रो अर्थतन्त्र कमजोर छ । राजस्व संकलन २४ प्रतिशत जतिले कम भएको छ । अझै धेरै समस्याहरूले हामीलाई चुनौती दिइरहेका छन् । हामी सबैले सकारात्मक दृष्टिकोण र समाजको आवश्यकतामा आधारित काममा केन्द्रित भएमा यसलाई समाधान गर्न सकिन्छ ।
जिम्मेवार विकास र युवामा आशाको सञ्चार गरौं
कानुन संशोधन, औद्योगिक सुधार, आर्थिक विकासका उपायहरू र युवालाई विदेश जानुपर्ने बाध्यताबाट रोकेर स्वदेशमै कुनै न कुनै कामको प्रबन्ध गर्नुनै समग्र देशको भविष्य निर्माणको आधार हो । उद्योगको वृद्धिका लागि नयाँ नीति, लगानीको आकर्षण र सुरक्षा, सामाजिक सुरक्षाको वृद्धि र खाद्यसम्प्रभुताको सुनिश्चितताका उपायहरू कार्यान्वयन गर्नुपर्ने छ । कृषि र उद्यममा क्रान्ति ल्याउनुपर्नेछ र कृषि उपजमा आधारित साना, मझौला र ठूला उद्योगको विकास गर्नुपर्नेछ । कृषकको जीवनस्तर सुधारका कार्यक्रम गर्दा युवा पुस्ता कृषिमा आकर्षित हुनेछ र उनीहरूका लागि अवसरहरू सिर्जना हुनेछ ।
केही महत्त्वपूर्ण तथ्य
पहिलोः २०५१ सालमा गठित सरकारले नीतिगतरूपमा नयाँ मोड दियो (पोलिसी डिपार्चर ग¥यो) ।
दोस्रोः २०७२ मा गठित सरकारले स्वाधीनता, स्वाभिमान र विकासप्रतिको तिर्खा जगायो ।
तेस्रोः २०७४ मा गठित सरकारले सङ्घीयता कार्यान्वयन र ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई कार्यान्वयनमा ल्यायो ।
यसका अतिरिक्त
–राजमार्गहरुको स्तरोन्नति र विस्तार
–रणनीतिक सडक तथा बाइपास सडकको विस्तार
–विमानस्थलहरुको स्तरोन्नति
–खानेपानी, विद्युत् र सञ्चारमा पहुँच वृद्धि
–औद्योगिक विकास र कृषिलाई प्राथमिकता
–पर्यटन गन्तव्यमा सुधार, लगानीको सुरक्षा र आकर्षण
–सडक यातायातमा नयाँ मोडल र सरुङ युगको सुरुआत
–रेलमार्ग विस्तार र नयाँ खोज
–नदि डाइभर्सन र सिंचाइको विस्तारका योजना