चुरेको पहिरो नियन्त्रणमा तीन तहकै सरकार लाग्नुपर्छः विष्णु पौडेल

मेचीकाली संवाददाता

२१ भाद्र २०७८, सोमबार
830 shares

बुटवल । नेकपा एमालेका उपमहासचिव एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले बुटवल चुरे क्षेत्रमा गएको पहिरो नियन्त्रण गर्न तीनै तहका सरकारलाई प्राथामिकतामा राख्न आग्रह गरेका छन् । उनले छिट्टो पहिरो नियन्त्रण गर्न र थप क्षति हुनबाट जोगाउन सरकारको ध्यानाकर्षण गराए ।

सोमबार ज्योतिनगर र लक्ष्मीनगरको पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै पौडेलले पहिरोको विषयमा अर्को साता बस्ने संसद् बैठकमा आफूले छलफलको विषय बनाउने बताए । ‘यो पहिरो डरलाग्दो र कहालीलाग्दो छ’ पौडेलले भने, ‘संघ, प्रदेश र स्थानीय सरकारले पहिरो नियन्त्रणमा प्राथामिकता छिटो दिनुपर्छ । यो सार्वजनिक सरोकारको विषय हो । अर्को साता बस्ने संसदको अधिवेशनमा छलफलको विषय बनाउँछु ।’

पौडेलले थपे, ‘जुन प्रविधिको प्रयोग गरेर पहिरो नियन्त्रण गर्न सम्भव हुन्छ, त्यो प्रविधि छिटोभन्दा छिटो प्रयोग गरे लक्ष्मीनगर र ज्योतिनगर बस्तीलाई सुरक्षित गर्नुपर्छ । प्राविधिक सहयोग, बजेट र जनशक्तिको यथाशिघ्र गरेर बस्ती र प्रभावित परिवाहरूलाई सबै सरकारले काम गर्नुपर्छ ।’ विस्थापितलाई पुनःस्थापित गर्न सरकार कुनै कसर बाँकी राख्न हुँदैन ।’ पौडेलले आफू पहिरो नियन्त्रण र विस्थापितहरू पुनःस्थापित गर्न आफ्नोतर्फबाट कुनै कसर बाँकी नराख्ने बताए ।

पौडेलले वातावरण क्षेत्रका प्राविधिकहरूले अध्ययन गरेपछि निष्कर्षको आधारमा प्रतिवेदनका आधारमा काम गर्न आग्रह गरे । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले पहिरो नियन्त्रणका लागि आवश्यक बजेट विनियोजन गर्न पौडेलले आग्रहसमेत गरे । रूपन्देही क्षेत्र नम्बर २ का सांसद रहेका पौडेलले पहिरो नियन्त्रण र चुरे संरक्षणमा सबै लाग्नुपर्ने बताए ।

बुटवल वडा नम्बर ३ र ४ मा पर्ने बुटवलको ज्योतिनगरमा गत साता पहिरो झरेपछि १० घर पूर्ण रूपमा पुरिएका छन् भने ६६ भन्दा बढी घर पहिरोसहितको लेदो पसेर बस्न नमिल्ने भएका छ । २० वर्ष अगाडि पनि सोही क्षेत्रमा पहिरो जाँदा ५७ घर पुरेको थियो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले पहिरो नियन्त्रण र थप क्षति हुनबाट जोगाउन निरन्तर काम गरिहेको बताए । पौडेलले बुटवलको पाखापानीको पहिरो र बुटवल–११ बुद्धनगरको तिनाउ नदीले कटान क्षेत्रको पनि निरीक्षण गरेका थिए । पौडेल तीनदिन गृहजिल्लामै रहने कार्यक्रम छ । पहिरो निरीक्षणमा पूर्वमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पनि सहयागी थिए ।