

अमृत गिरी
बुटवल । भारत–पाकिस्तान सीमावर्ती क्षेत्रमा प्राय तनावका घटना हुने र मानवीय क्षति भइरहने गरेका हुन्छन् । पछिल्ला केही समययता त्यस्ता घटना कमै सुनिएका थिए । तर, मंगलाबर बेलुका एक्कासी यस्तो घटनाको खबर आयो– ‘आतंकवादीले हिन्दूहरुलाई छानी छानी हत्या गरे ।’ यो घटनाले भारतमा मात्रै होइन नेपालसहित अरु देशमा पनि शोक उत्पन्न गरायो ।
एउटा यस्तो अकल्पनीय शोक र बज्रपात बुटवल उपमहानगरपालिका–१४ बेलभरियाको न्यौपाने परिवारमा पर्न गयो । बुटवल बेलभरियाका २७ वर्षीय सुदीप न्यौपाने कलेजको बिदा पारेर आमा र अरु नातेदारसहित त्यहाँ घुम्न गएका थिए ।
दुर्भाग्य उनको यो भ्रमण जीवनकै अन्तिम बन्न पुग्यो । भारतको जम्मुकश्मिरको पहलगाममा आतंकवादी समूहले गरेको आक्रमणमा परी सुदीपसहित २६ जनाको मृत्यु भयो । मारिनेमध्ये २४ जना पर्यटक थिए । त्यत्तिकै सख्यामा घाइते भएका छन् । सदीपकी आमा, बहिनी र ज्वाइँ भने भागेर बाँच्न सफल भए ।

आतंकवादीले त्यहाँ घुम्न गएका पर्यटकलाई ‘कुन धर्म मान्ने हो ?’ भन्दै सोधेर हिन्दू भनेजतिकालाई लक्षित गरेर गोली हानेका थिए । कतिपयलाई त पाशविक रुपमा कपडा खोल्न लगाएर लिङ्ग हेरेर त्यसका आधारमा गैरमुस्लिम भन्दै गोली दागेको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।
आतंकवादीहरूले पर्यटकहरूलाई घेराबन्दीमा पारिसकेपछि सोधपुछ गर्दै गोली दागेर हत्या गरेको भागेर ज्यान बचाएकाहरूले सुनाएका छन् । घटनाको केही घण्टापछि प्रतिबन्धित आतंकवादी समूह लश्कर–ए–तैयब (एलईटी) को शाखा मानिने ‘द रेजिस्टेन्स फ्रन्ट’ ले घटनाको जिम्मा लिएको थियो ।
लगत्तै भारतीय सुरक्षाकर्मीहरूले आक्रमणकारीहरूको खोजी सुरु गरेका थिए । यसक्रममा सुरक्षा एजेन्सीहरूले आक्रमणमा संलग्न सन्दिग्ध आतंककारीहरूको तस्बिर र स्केचहरू जारी गरेका छन् । घटनामा ज्यान बचाएकाहरूले बताएको हुलियाका आधारमा सुरक्षा एजेन्सीहरूले स्केच र तस्वीर जारी गरेका हुन् ।
भारतीय सुरक्षा निकायले आक्रमणकारीको पहिचान गरी तस्बिर र स्केच जारी गरेको छ । जसमा आसिफ फुजी, सुलेमान शाह र अबु तल्हा रहेको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।
आतंकवादी समूहले भारतको पहलगामस्थित पर्यटकीय क्षेत्रमा आक्रमण गरेको र त्यो आक्रमणमा परेर एक नेपालीको मृत्यु भएको समाचार बुधबार नै सञ्चार माध्यमहरूमा सार्वजनिक भएको थियो । त्यसपछि ती नेपालीबारे सोधखोज सुरु भएको थियो ।
गृहमन्त्री रमेश लेखकले बुधबार मात्रै पत्रकारहरूसँग कुरा गर्दै रुपन्देहीका सुदीप आमासहित जम्मुकश्मिर घुम्न गएको बेला आतंकवादी हमलामा परी मृत्यु भएको औपचारिक रूपमा पुष्टि गरेका थिए ।
मृतकका परिवारबाट पनि यो कुरा पुष्टि भएको छ । पारिवारिक स्रोतका अनुसार आमा रिना, बहिनी सुष्मा र ज्वाइँ युवराजसँग शनिबार बुटवलबाट पहलगाममा घुम्न गएका थिए ।
उनीहरु शनिबार बेलुका बुटवलबाट दिल्लीका लागि छुट्ने नेपाल–भारत मैत्री बस सेवाको लु २ ख ६६३४ नम्बर बसमा इटाभट्टीबाट टिकट काटेर चढेका थिए । दिल्लीसम्म बसमा गएपछि त्यहाँबाट उनीहरु जहाजमा कश्मिर गएका थिए ।
उनीहरू पहलगाममा पुगेर घुमफिर गरिरहेकै अवस्थामा बन्दुकधारी आतंककारीहरूले मंगलबार दिउँसो एक्कासी गोली चलाएपछि सुदीपको ज्यान गएको उनीहरुले त्यहीँबाट म्यासेन्जरमा यताका नातेदार बुटवल–१४ का वडाध्यक्ष दधिराम न्यौपानेलाई जानकारी गराएका थिए ।

‘हिउँ खेल्ने ठाउँमा एक्कासी आएर बन्दुकधारीले कुन धार्मिक समूहको हो भन्दै सोधेर गोली होनेपछि सुदीपको ज्यान गएको हो भन्ने छ, धेरै कुरा थाहा भएन,’ वडाध्यक्ष न्यौपानेले भने । सुदीपको घटनास्थलमै ज्यान गए पनि आमा, बहिनी र ज्वाइँ सुरक्षित छन् । उनीहरूले भागेर ज्यान जोगाएका हुन् । भाग्ने क्रममा आमा सामान्य घाइते छन् । सुदीपको शव बिहीबार नेपाल आइपुग्ने वडाध्यक्ष न्यौपानेले बताए । श्रीनगरबाट दिल्ली हुँदै लखनउसम्म जहाजमा र त्यहाँबाट बेलहिया नाका हुँदै सडकमार्गबाट शव नेपाल ल्याइने उनले बताए । सोही जहाजमा उनका आमा र बहिनी पनि नेपाल आउनेछन् ।
सुदीपका आमाबुबाको सम्बन्ध बिच्छेद भएपछि उनी बुटवल–११ कालीकानगरमा बस्दै आएका थिए । त्यसअघि उनीहरूको घर बुटवल–१४ बेलभरियामा थियो । सुदीपको पुख्र्यौली घर भने पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर ४ हो । सुदीपका बुवा कौशलराज न्यौपाने सामुदायिक विद्यालयका शिक्षक हुन् ।
उनीहरू २०२४ सालमै बसाइँ सरेर बुटवल आएको बेलभरिया स्थानीय बासिन्दा थानेश्वर पौडेलले बताए । ‘घुम्न गएका निर्दोष व्यक्तिको ज्यान गएपछि बेलभरिया गाउँ शोकमग्न भएको छ,’ पौडेलले भने । सुदीपको सवारी लाइसेन्ससमेत घटनास्थलमा भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मिनी स्वीट्जरल्यान्डमा आतंकवादी हमला
जम्मु–कश्मिर प्राकृतिक सुन्दरताको निम्ति विश्वभर चर्चित छ । घाँसे मैदान र नीला तालहरूले सजिएको पहलगाम स्वर्गकै एउटा टुक्राजस्तो लाग्छ । त्यही सुन्दरतामा रमाउन पुगेका २४ पर्यटकसहित २६ जनाको मंगलबार गोली हानी हत्या भयो । करिब त्यति नै घाइते भए । नेपालबाट जम्मु–कश्मिरको सुन्दरता नियाल्न आमा र बहिनीसहित गएका बुटवलका २७ वर्षीय सुदीप न्यौपानेले पनि ज्यान गुमाए ।
भारतको पहलगामलाई मिनी स्वीट्जरल्यान्ड भनेर पनि चिनिन्छ । त्यहीँ आतंकवादी हमला भयो । श्रीनगरबाट करिब ९० किलोमिटर टाढा रहेको पहलगाम पर्यटकहरूबीच लोकप्रिय गन्तव्यस्थल हो । घटनास्थलसम्म हिँडेर वा घोडाबाट मात्र जान मिल्छ । यो आक्रमण विगत केही वर्षयताकै सबैभन्दा ठूलो नागरिकमाथिको आक्रमण मानिएको छ ।
नेपाल सरकारबाट निन्दा
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रालयले छुट्टाछुट्टै वक्तव्यमार्फत आतंकवादी आक्रमणको निन्दा गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘भारतको पहलगाममा भएको आतंकवादी हमलामा निर्दोष नागरिकहरूको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु ।’ साथै उनले भनेका छन्, ‘निरपराध मानिसहरूलाई लक्षित गर्दै गरिने यस्ता हिंसात्मक कार्यहरू अत्यन्तै निन्दनीय छन् र कडाभन्दा कडा शब्दमा भत्र्सना गर्नुपर्छ ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लियनसहितका विश्व नेताहरूले घटनाको भत्र्सना गरेका छन् ।
ओली–मोदी टेलिफोन संवाद
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सकमक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन् । जम्मु कश्मिरमा आतंकवादी समूहले गरेको हमलापछि प्रधानमन्त्री ओलीले मोदीसँग संवाद गरेका हुन् । उनले मोदीसँगको छलफलका क्रममा आतंकवादी हमलमा ज्यान गुमाउनेप्रति समवेदना प्रकट गर्दै यस्ता कार्यविरुद्ध नेपालको ऐक्यबद्धता रहेको बताएका छन् ।
‘मैले उहाँ (मोदी) सँग कुरा गरेँ र पहलगाम आतंकवादी हमलामा भएको ज्यान गुमाउनेप्रति गहिरो समवेदना व्यक्त गरेँ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यस्ता जघन्य कार्यहरू विरुद्ध भारतसँग नेपालको अटल ऐक्यबद्धता दोहो¥याएँ ।’
हजारौंको ज्यान लिएको कश्मिर द्वन्द्व
बुटवल । कश्मिरमा प्रायः तनाव नै हुने गर्छ । खासगरी भारत र पाकिस्तानका बिचको तनावमा आतंकवादी समेत घुसेर दुवै देशलाई टाउको दुखाइ बनाइरहेका छन् । एकले अर्कोलाई आरोप लगाउन भने यी देश पछि पर्दैनन् ।

सन् १९९० को दशकदेखि भारतीय शासनको विरोधमा पृथक्तावादी सशस्त्र विद्रोह सुरु भएयता यो क्षेत्रमा सुरक्षाकर्मी र सर्वसाधारणसमेत गरी दशौँ हजारको ज्यान गइसकेको छ । यो बीबीसीले सार्वजनिक गरेको तथ्यांक हो । ब्रिटेनबाट भारत स्वतन्त्र भएसँगै सन् १९४७ मा भारत र पाकिस्तान विभाजनका क्रममा यो हिमाली क्षेत्र पनि विभाजित भएको थियो । त्यसपछि भारत र पाकिस्तानबीच यो क्षेत्रका लागि दुइटा युद्ध र अन्य कैयौँ द्वन्द्वका घटना पनि भए । भारतले यो क्षेत्रमा करिब पाँच लाख सैनिकहरू स्थायी रूपमै परिचालन गरेको बताइएको छ । भारत सरकारले सन् २०१९ मा कश्मीरको आंशिक स्वायत्तता खारेजी भएसँगै यो क्षेत्रमा सुरक्षा अवस्थामा सुधार र हिंसामा कमी आएको दाबी गर्दै आएपनि हिंसात्मक घटना भने बेलाबेला भइरहेका छन् । पछिल्लो पटक सन् २०२४ को जुनमा सर्वसाधारण लक्षित आक्रमण भएको थियो । हिन्दू धर्मावलम्बीहरू चढेको बसमा सशस्त्र समूहले गोली चलाउँदा नौ जनाको मृत्यु भएको थियो ३३ जना घाइते भएका थिए ।
त्यसअघि सन् २०१९ मा भारत प्रशासित कश्मिरमा भएको आत्मघाती आक्रमणमा ४६ जना सैनिक मारिएका थिए । त्यसपछि भारतले पाकिस्तानमा विद्रोहीहरू लुकेको दाबी गर्दै केही क्षेत्रमा आक्रमण गरेको थियो । भारतले पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकमाझ लोकप्रिय रहेका पहलगामसहितका क्षेत्रको प्रवद्र्धन गरिरहेको छ । गत वर्ष मात्रै कश्मीरमा ३५ लाख पर्यटक पुगेका सरकारी तथ्याङ्कहरूले देखाएका छन् । त्यहीँ मिनी स्वीटजरल्याण्ड मानिने ठाउँमा घुम्न गएका पर्यटकहरुलाई आतंकवादीले हमला गरे । जसमा नेपाली युवा बुटवलका सुदीप न्यौपाने पनि परे ।