

–११५ मुलुकका नागरिकले लिएका छन् श्रम इजाजत
– श्रम इजाजत लिएकामा सबैभन्दा धेरै चाइनिजहरु । कोरिया, जापान, अमेरिका, बेलायत, फ्रान्स, जर्मन, अस्टे«लियालगायतका सयौंले लिएका छन् श्रम इजाजत । भारतीयहरु अनौचारिक श्रममा रहेकाले धेरैको तथ्यांक नै छैन ।
अमृत गिरी
बुटवल । काम खोज्न नेपालीहरू मात्र विदेशिने होइनन्, रोजगारीको खोजीमा विदेशी श्रमिकहरू पनि नेपाल आउन थालेका छन् । विशेषगरी भारत र चीनबाट ठूलो संख्यामा श्रमिकहरू नेपालमा कामका लागि आइरहेका छन् । तीमात्रै होइन, विश्वका ११५ मुलुकका नागरिकले नेपालमा श्रम इजाजत लिएका छन् । नेपालमा कोरिया, बेलायत, अमेरिका, फ्रान्स मात्रै होइन मलेसिया, कुबेत, थाइल्याण्डसहितका ठूला देशबाट सयौंको संख्यामा श्रम इजाजत लिएको पाइएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको श्रमिक तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्याङ्कमा गैरनेपाली श्रम इजाजतको विवरणमा विश्वका ११५ मुलुकका गैर–नेपालीले श्रम इजाजत लिएको सार्वजनिक छ । सरकारी तथ्याङ्कमा श्रम इजाजत लिएका, नयाँ, नीवकरण गरेका, महिला र पुरुषको संख्या मात्रै उल्लेख छ, कहाँ–कहाँ के काम गर्छन् भन्ने विस्तृत विवरण उल्लेख गरिएको छैन ।

त्यसरी श्रम इजाजत लिएकाहरुको संख्या २१ हजार ७०० छ । यीमध्ये पुरुष १९ हजार १ सय ४५ जना र महिना २ हजार ६ सय २१ जना रहेका छन् । श्रम स्वीकृति लिएर व्यवसायजन्य काम गरेका पनि यहीँ सूचीमा रहेको देखिन्छ ।
भारतबाट आएकाहरु सबैले भने श्रम स्वीकृति लिएको देखिँदैन । भारतबाट आएकाहरु अनौपचारिक श्रममा धेरै भएकाले सबैको आधिकारिक तथ्याङ्क भने छैन । नेपाल–भारत खुला सीमाले भारतीय श्रमिकहरूलाई सजिलै नेपाल प्रवेश गर्ने अवसर दिएको छ । यताका नागरिक उता र उताका यता आऊजाऊको चलन भने पुरानो हो । यसमा सन् १९५० को सन्धिले पनि केही खुकुलो बनाएको दाबी गरिन्छ । निर्माण, होटल, घरेलु कामलगायतका क्षेत्रमा भारतीय श्रमिकहरू अनौपचारिक रूपमा कार्यरत छन् ।

सन् २०२४/२५ को एक वर्षको अवधिमा ११५ भन्दा बढी मुलुकका १४ हजार ५९१ जना विदेशी नागरिकहरुले नेपालमा रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । तथ्याङ्कअनुसार नयाँ श्रम स्वीकृति लिने विदेशी कामदारको संख्या ९ हजार ९९ रहेको छ भने श्रम स्वीकृति नवीकरण गराएकाको संख्या ५ हजार ४९२ रहेको छ ।
सयभन्दा धेरैले श्रम इजाजत लिएका शीर्ष १० देशबाट मात्र करिब १२ हजारभन्दा बढी विदेशी नागरिक नेपालमा छन् । यीमध्ये पुरुष नयाँ श्रमिकहरूको संख्या ८,१६४ रहेको छ भने महिला नयाँ श्रमिकहरूको संख्या मात्र ९३५ छ । यस्तै पुरुष नवीकरण गरेकाको संख्या ४,७५१ र महिला नवीकरणको संख्या ७४१ रहेको विभागको तथ्याङ्कमा छ ।

श्रम तथा व्यवसायजन्य विभागका अनुसार आर्थिक वर्ष ०६९/७० यता नेपालमा काम गर्न आउने विदेशीको संख्या बढ्दो छ । आर्थिक वर्ष ०६९/७० मा ९ सय ८४ विदेशी रोजगारीका लागि नेपाल आएका थिए । आव ०७५/७६ मा १ हजार ९ सय ८१ विदेशी कामदारले विभागबाट श्रम स्वीकृति लिएका थिए । आव ०७६/७७ मा २ हजार ५० विदेशी श्रमिकलाई विभागले काम गर्न स्वीकृति दिएको थियो ।

सार्वजनिक भएका तथ्यांकमा कुन क्षेत्रमा विदेशी श्रमिकहरू बढी संलग्न छन् भन्ने विवरण दिइएको छैन । तर पर्यटन, सूचना प्रविधि, निर्माण, शिक्षा, गैरसरकारी संस्था (गैसस/एनजीओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू (आइएनजीओ) जस्ता क्षेत्रहरूमा विदेशी कामदारको संलग्नता रहने अनुमान गरिएको छ । श्रम मन्त्रालय स्रोतका अनुसार, विदेशी श्रमिक व्यवस्थापनलाई थप पारदर्शी, नियमन र मर्यादित बनाउने दिशामा विदेशी कामदार नियमन निर्देशिका अद्यावधिक गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
सरकारले आर्थिक वर्ष २०८१/८२ देखि २०९१/९२ लाई राष्ट्रिय रोजगार दशकको रुपमा मनाउने घोषणा गरि आन्तरिक रोजगारी प्रवद्र्धनका योजना बनाएपनि कामका लागि नेपालीहरु विदेशिने बाध्यता भने कम भएको छैन । यस्तै नेपालमा कामका लागि आउने विदेशीहरुको संख्या पनि कम भएको देखिन्न ।

नेपालको नमुना अटो भिलेज मैनावगरमा करिब ३००० जना मजदुर छन् । तीमध्ये ४० प्रतिशत जति भारतीय मजदुर रहेको बुटवल अटो इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष तथा मेकानिक्स प्रेम गौचनले बताए । गाडीका पट्टा (लिफस्प्रीङ्ग) मर्मत गर्ने र गाडी ग्रीजिङ्ग गर्नेकामदेखि अटोका धेरैजसो काममा भारतीय मजदुर छन् । तीमध्ये धेरै दक्ष छन् भने केही नयाँ र सिकारु समेत रहेको एसोसिएसनका कार्यालय सचिव हिमाल खनालले जानकारी दिए ।
अधिकांश ठूला परियोजनामा चिनियाँ विशेषज्ञ र श्रमिक
केही वर्षयता चिनियाँ श्रमिकहरूको संख्यामा उल्लेख्य वृद्धि भएको देखिन्छ । नेपालमा हाल १० हजार २ सय ६२ जनाले सरकारबाट श्रम इजाजत लिएका छन् । उनीहरुमध्ये महिलाको मात्रै संख्या ३८० रहेको छ । विभागको तथ्याङ्कमा नयाँ, नवीकरण गरेका, महिला र पुरुषको अलग अलग संख्या उल्लेख गरिएको छ । बुटवल–गोरुसिङ्गे सडक, सिद्धबाबा सुरुङमार्ग, बुटवल–नारायणगढ सडकजस्ता गौरवका महत्वपूर्ण पूर्वाधार निर्माणमा चिनियाँ इन्जिनियर र प्राविधिकहरू खटिएका छन् । उनीहरुको कार्यशैली र काममा खटिने बानी अनुकरणीय रहेको उनीहरुसँगै काम गरेका नेपाली प्राविधिकहरु बताउँछन् ।

नेपालको श्रम बजारमा सुधारको खाँचो
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का विभिन्न प्रतिवेदनहरूमा नेपालमा श्रम बजारको संरचना कमजोर रहेको उल्लेख गर्दै सुधारका उपाय अबलम्बन गर्न सुझाएको छ । आइएलओको ज्याला नीति निर्देशिका २०२४–२५ ले भनेको छ–‘नेपालमा ८० प्रतिशतभन्दा बढी श्रमिकहरू अनौपचारिक क्षेत्रमा छन् र उनीहरूको पारिश्रमिक पारदर्शिताका साथ निर्धारण हुँदैन ।’ आइएलओका विशेषज्ञहरूले ‘नेपालमा प्रभावकारी ज्याला नीतिको डिजाइन र कार्यान्वयन’ सम्बन्धी प्रतिवेदन तयार पारेका थिए । उनीहरुले श्रमिक र रोजगारदाताबिच संवाद गरेर, कतिप घटनाको अध्ययन गरेर तलब निर्धारण संयन्त्र निम्छरो रहेको औंल्याएका थिए । श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको प्रतिवेदनसमेत कार्यान्वयन नभएको गुनासो छ ।

सिपयुक्त श्रमिक, समृद्ध राष्ट्र
बलसँगै प्रविधिमा दक्ष जनशक्तिको खोजी नेपालमा पनि तीव्र छ । नेपाल सरकारले यसैलाई मध्यनजर गरी सन् २०२७ सम्म ३ लाख आइटी रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । नेपालले धेरै निर्यात गर्नेमध्येमा अहिले आइटी क्षेत्र पनि पर्छ । आजको श्रम बजार केवल बलको होइन, दिमाग र प्रविधिको उपयोग गर्ने जनशक्तिको खोजीमा छ । डेटा विश्लेषण, डिजिटल साक्षरता र प्राविधिक ज्ञान भएका जनशक्ति आजको अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धी मानिन्छन् ।
आइटी विशेषज्ञ प्रवेश घिमिरे भन्छन्, ‘अब प्रविधिमा दक्ष जनशक्ति नै नेपालको आर्थिक समृद्धिको कडी बन्न सक्छ ।’ सरकारले २०२७ सम्म आइटी क्षेत्रमा ३ लाख रोजगारी सिर्जना गर्ने योजना सार्वजनिक गरिसकेको छ, जसका लागि ‘नीति सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको सहकार्य अपरिहार्य छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) ले हाल ४९ डिप्लोमा र ३३ प्री–डिप्लोमा कार्यक्रममार्फत देशभर ११६९ संस्थामा श्रमिक सिप विकासमा योगदान दिइरहेको छ । यद्यपि यी कोर्षहरु पनि पुराना भएको गुनासो छ ।
