एकताबद्ध र सशक्त एमालेको अपेक्षा

मेचीकाली संवाददाता

२२ भाद्र २०७८, मंगलवार
107 shares

हरि ज्ञवाली
मुलुक र जनताको हितका लागि नफुट्नुपर्ने नेकपा एमाले औपचारिक रूपमा दुई टुक्रा भएको महिना बितिसक्यो । एमालेलाई फुट्न नदिनका लागि दोस्रो तहका केही नेताहरू आफ्नो पुरानो संलग्नता छाडेर पार्टी एकताको पक्षमा लागेता पनि उनीहरूकोे प्रयास पूर्णतः सफल भने हुन सकेन । अन्ततः पार्टी फुटेरै छाड्यो ।

मुलुकको राजनीतिक स्थिरता र सुन्दर भविष्यका लागि एमालेमा जे नहुनु पथ्र्यो, त्यही भयो । यो बिडम्बनाको विषय हो । एमाले विभाजनका मुख्य योजनाकार र कारकतत्वहरू को–को र के–के हुन् ? समयक्रममा खुल्दै जानेछ । तैपनि एमालेको यो विभाजनले मुलुकमा अस्थिरता र अन्योल भने झनै बढाएको छ । जनताका सपना र आकांक्षाहरू चकनाचुर भएका छन् । यो अत्यन्त दुःखद कुरा हो ।

आफ्नै पार्टीको आन्तरिक द्वन्द्व र आपसी इगोका कारण एमालेमा विभाजन आएको हो । त्यही आन्तरिक द्वन्द्व, आपसी इगो र विभाजनकै कारण एमाले नेतृत्वको दुई तिहाइको सरकार ढलेको हो । प्रदेश सरकारहरू पनि त्यही जगका आधारमा धमाधम ढलेका हुन्, अझै ढल्ने क्रममा छन् । बलियो जनसर्थनप्राप्त भएको एमालेको हातबाट संघीय सरकार फुत्किएर कमजोर जनसर्थन भएको काङ्ग्रेसको हातमा पुगेको छ । सरकार फुत्किए सँगसँगै पार्टी पनि विभाजित भएको छ । यसर्थ यतिखेर नेकपा एमाले सर्वाधिक संकटमा परेको छ । यो गम्भीर संकटबाट एमाले अब कसरी उत्रिन्छ वा झनै डुब्छ ? त्यो भने एमाले नेतृत्वका आगामी क्रियाकलापले नै निर्धारण गर्नेछन् ।

नेकपा एमाले अरूका कारण हैन, आफ्नै कमजोरीका कारण गम्भीर संकटमा फस्दै गएको हो । आफ्नै दुर्बुद्धिले दुर्गतिपथमा घिस्रिएको हो । पार्टीका नेताहरूकै अहंकार र द्वन्द्वका कारण यतिखेर एमाले इतिहासकै सर्वाधिक सङ्कटमा परेको छ । करिब छ महिनाको अन्तरालमा दुई पटक संसद् विघटन र दुवै पटकको संसद् पुनस्र्थापनापश्चात सत्ताको बागडोर केपी ओलीबाट शेरबहादुर देउवाको हातमा पुगेको हो । एमाले सबभन्दा ठूलो दल भएर पनि यतिबेला प्रतिपक्षमा खुम्चिन बाध्य भएको छ । आफ्नै पार्टीका सांसदले विपक्षीलाई भोट दिँदासमेत एमाले नेतृत्व निरीह बनिरह्यो । यो निरीहता पार्टी एकताको प्रतीक्षाका लागि थियो वा आफ्नै कमजोरी लुकाउनका लागि ? सूक्ष्म विश्लेषण भने गर्नैपर्ने देखिन्छ ।

नढाँटी भन्नुपर्दा एमाले नेतृत्वले सत्ताको शिखरमा पुगेपछि नेपाली जनमतको अपार तागतलाई सम्हाल्न सकेन । नेताहरूले जनआकांक्षाको मर्मलाई उचित व्यवस्थापन गर्न जानेनन् । जनताले सुम्पेको जिम्मेवारीपूर्ण स्वर्ण अवसरलाई उचित ढंगले सदुपयोग गर्न सकेनन् । नेताहरूमा अतिशय मात चढ्यो । पार्टीभित्र आन्तरिक विवाद बढ्दै जाँदा जनताको असीम आकांक्षामाथि विश्वासघात बढिरह्यो । नितान्त व्यक्तिगत र पदीय स्वार्थका लागि पार्टीभित्र झगडाको आगो सल्किएर जनअपेक्षामाथि कुठाराघात भइरह्यो ।

विपक्षमा रहँदा जनजीविकाका तमाम सबाल उठाएर जनताका प्रिय बनेका एमाले नेताहरू सरकार चलाउन भने अपेक्षाकृत कुशल, सक्षम र सफल देखिएनन् । पार्टीले सिद्धान्त, विधि, विचार र अनुशासनमा नियन्त्रण गर्न नसकेपछि नै नेताहरू आफ्नो व्यवहार र आदर्शबाट च्युत भएका हुन् । अहम् र दम्भकै कारण एमाले सत्ताको शिखरबाट सडकमा पछारिएर विक्षिप्त बनेको छ ।

एमालेको विक्षिप्तताले लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त संघीयता र गणतन्त्रजस्ता महत्वपूर्ण राजनीतिक उपलब्धिहरू जोखिममा पर्ने हुन् कि भन्ने चिन्ता एकातिर बढेको छ भने अर्कोतिर राजनीति अस्थिर र सङ्कटपूर्ण बन्दै जाँदा मुलुक नै असफल बन्ने त होइन भन्ने त्राससमेत थपिएको छ ।
अहिले सबैजसो पार्टी र नेताको अर्जुनदृष्टि सत्ता बनेको छ । उनीहरूलाई जसरी पनि सत्ता चाहिएको छ । पार्टी फुटाएर सत्ता चाहिएको छ । गुट परिवर्तन गरेर सत्ता चाहिएको छ । जेजसो गरेर पनि मन्त्रीपद चाहिएको छ । अर्को चुनाव जित्ने आर्थिक जोहोका लागि मन्त्री बन्नै परेको छ । यो लुछाचुँडीमा निरीह र निर्दोष जनता परेका छन् । यो अर्को दुःखद कुरा हो ।

हुन त आम मानिसलाई सत्ता र सरकार परिवर्तनमा त्यति धेरै चासो र सरोकार हुँदैन । उनीहरूको एकमात्र आकांक्षा र चाहना आफ्नो दुःखद जीवनशैलीमा परिवर्तन हो । जो कुनै सरकारले गर्न सकेनन् । आशा गरिएको अनि नेपाली समाज र संस्कृतिमा जरा गाडेर बसेको एमालेले पनि जनआकांक्षा पूरा गर्न सकेन । यही नै बिडम्बना हो ।

समाजका सबै क्षेत्रमा प्रभाव जमाउन सफल एमाले संगठनको मूल आधार निम्न मध्यम वर्ग नै हो । तर, सांगठनिक रूपमा आफूलाई बलियो बनाउँदै सडकका आडमा पाएका पटकपटकका क्षणिक सत्ता–अवसरलाई नेताहरूले निजी स्वार्थका लागि दुरूपयोग गरे । पार्टी र जनताका लागि भन्दा पनि उनीहरूको स्वार्थ फगत पदकेन्द्रित र सरकारकेन्द्रित बन्यो । जनताको मुक्तिका लागि भन्दै ठूलो संघर्ष र बलिदान गरेर आएका कतिपय नेताहरू नै यतिखेर नेपालको कम्युनिष्ट विभाजनको कुत्सित अभियानमा लागेका छन् । नेताहरूले राजनीतिलाई पेसा बनाउन थालेपछि नै तमाम विकृति र विसंगति बढेका हुन् । फलस्वरूप पार्टी दुई टुक्रा भएको हो ।

‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा लिएर एमाले सत्तामा पुगेको हो । यतिखेर जनताले चाहेको, खोजेको र अपेक्षा गरेको आफ्नो जीवनस्तरमा आमूल परिवर्तन हो । जीवनमा आर्थिक अभाव र दरिद्रता समाप्त होला भन्ने आशामा एमालेलाई समर्थन र विश्वास गरेका हुन् । नेताहरूले आफ्नो अहंकार र राजनीतिक स्वार्थका कारण जनतालाई भुलेपछि जनताका सपना पूरा हुन सकेनन् । त्यसैले त एमाले विभाजनले आम जनता निराश,खिन्न र दुःखी भएका छन् ।

त्यसो त नेपालमा कम्युनिष्ट आन्दोलनप्रति अझै पनि बलियो जनसमर्थन देखिन्छ । तर नेताहरूको कथनी र करनीमा रहेको भिन्नताले गर्दा कम्युनिस्ट आन्दोलन नै भताभुंग भएको छ । शीर्ष नेताहरू भ्रष्टाचार र नैतिक पतनको दिशामा गएर पथभ्रष्ट हुँदै गएपछि जनसमर्थन पनि गुम्दै गएको छ । जनाधारको हिसाबले नेपालको सबैभन्दा व्यवस्थित,बलियो र संगठित पार्टी एमालेलाई यतिबेला अत्यन्तै अव्यवस्थित, लथालिङ्ग र विभाजित अवस्थामा पु¥याउन केही तत्व सक्रिय छन् र कोसिस गरिरहेका छन् । यसमा देशी विदेशी र हिंजो एमालेमा रहेर एकछत्र राज गरेका, पार्टीका र राजकीय भूमिकामा समेत हालीमुहाली गरेका कतिपय स्वार्थी नेताहरु सामेल छन् । यिनलाई असफल बनाउनुपर्ने छ । फोडेर जानेहरु त गइसके अरु रहेकाहरुका पनि सबैका मति सही छैनन् । बेलैमा पहिचान गरेर एकताबद्ध र सबल एमाले बनाउन जरुरी छ । यहीँ आम कार्यकर्ताको अपेक्षा छ ।

एमालेको विभाजनले नेपालको समग्र कम्युनिष्ट आन्दोलन नै प्रतिरक्षात्मक अवस्थामा पुगेको छ । यसले कम्युनिष्ट आन्दोलन नै भ्रष्टीकरण हुँदै दक्षिणपन्थी ध्रुवीकरणमा बरालिने त होइन भन्ने आशंकासमेत बढाएको छ । जनताले ठूलै विश्वास र असीम आकांक्षा राखेर तीनै तहका सरकारमा एमालेलाई पठाएका हुन् । ती सरकारले पार्टीका तर्फबाट पाउनुपर्ने सुझाव, पृष्ठपोषण र नियन्त्रण पाएनन् । फलस्वरूप सबै तहका सरकारले गरेका राम्रा कामको पार्टीमार्फत जनतामा सम्प्रेषण भएन । न सरकारहरू पार्टीको घोषणापत्र, निर्देशन र कार्यक्रमअनुसार चल्न सके न त सरकारका कामको जिम्मेबारी पार्टीले लिने अवस्था नै रह्यो । फलस्वरूप न जनताले सुम्पेको सरकार हातमा छ न जनताका बीचमा पार्टी नै बच्न सकेको छ ।

नेकपा एमाले सामूहिक नेतृत्वमा चल्न छाडेपछि पार्टीमा संकट आएको हो । पार्टीले तय गरेको पद्धति, विधि र निर्णयअनुसार काम भएका भए यस्तो अवस्था आउने थिएन । सरकारको काम पार्टीको संस्थागत निर्णय, निर्देशन र अनुगमनअनुसार भएको भए समस्या थपिने थिएन ।

आफ्नो नेतृत्वका करिब दुई तिहाइका प्रदेश सरकारहरू पनि धमाधम ढल्दै जाँदा एमालेलाई धेरै थोक सिकाएको हुनुपर्छ । आन्तरिक कलह र भित्रभित्रै रापिंँदै गइरहेका गुट–उपगुटका शृङ्खलाले सिङ्गो पार्टीमा आगो कसरी सल्काउँछन् भन्ने पाठ एमालेले राम्रैसँग बुझेको हुनुपर्छ । पार्टीमा आन्तरिक द्वन्द्व व्यवस्थापन गर्न नसक्दाको परिणाम कतिसम्म घातक हुन्छ भन्ने तितो अनुभव पनि गरेकै हुनुपर्छ ।

यसर्थ, पार्टीमा हदैसम्मको शुद्धीकरण र कडा अनुशासन एमालेका लागि अब अपरिहार्य विषय भएका छन् । जनमुखी चिन्तन, आदर्श जीवनशैली, सैद्धान्तिक र राजनीतिक आधारमा स्कुलिङ एमालेले अँगाल्नैपर्ने कुरा भएका छन् । यिनै विषयका आधारमा पार्टीले तय गर्ने नीति, व्यवहार तथा आचरणले नै अबको एमालेको भविष्य निर्धारण हुनेछ ।

नेपाली जनताको सुन्दर र बाँच्नलायक जीवन अनि समृद्ध समाज निर्माणका लागि एमाले अब परिष्कृत र एकीकृत हुनैपर्ने देखिन्छ । तर, भोगिएको र अहिले देखिएको एमालेभन्दा नितान्त फरकरूपमा । त्यस्तो असल र परिष्कृत एमाले कहिले र कसरी बन्ला ?