

टोपलाल अर्याल
गुल्मी । गुल्मीमा आगामी बर्षका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्रको योजना तर्जुमा गरिएको छ । दुई कार्यालयले संयुक्त रुपमा आयोजना गरेको योजना तर्जुमा गोष्ठिमा जिल्ला समन्वय समिति, १२ स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, प्राविधिक तथा जिल्लाका सरोकारवालाहरुको उपस्थितीमा रहेको थियो । नेपाल कृषि प्रधान देश हो । पहाडी जिल्लाहरुको समृद्धिको आधार कृषि र पशुपालन भएपनि जिल्लाका दुई ठूला कार्यालयको बजेट बर्षेनी घट्दै गएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र, गुल्मीको गतवर्ष चार करोड २८ लाख रुपैयाँ बजेट थियो ।
अहिले प्रदेश सरकारले ३५ प्रतिशत बजेट घटाएर प्रस्ताव गर्न भनेको छ । केन्द्रले योजना तर्जुमा गरेर तीन करोड ६१ लाख रुपियाँ बजेट प्रस्ताव गरेको छ । आगामी आर्थिक वर्षको लागि जैविक विविधता संरक्षण तथा नश्लसुधार, रोग निदान र निरोधक कार्यक्रम, पशुजन्य पदार्थको गुणस्तरिय उत्पादन तथा बजारीकरणको कार्यक्रम, कर्मचारी तथा प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिको कार्यक्रम, पशु सेवा तथा पशु स्वास्थ्यका लागि विशेषज्ञ सेवाका कार्यक्रम, तथ्याङ्क विश्लेषण तथा रिपोर्टिङ्ग, मासुपसल डेरी पसल औषधी पसलको नियमन कार्यक्रम समावेश छन् ।
त्यस्तै पशुमा लाग्ने महामारी जन्य रोगहरुको न्यूनीकरणका तथा नियन्त्रणका कार्यक्रमहरु, समुहगत रुपमा संञ्चालन हुने ठुला तथा मझौला किसिमका अनुदान र स्थानीय तह तथा संघीय सरकारसँग समन्वय गरेर कार्यक्रम गर्ने गरेर योजना तर्जुमा गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमकान्त पाण्डेयले जानकारी दिए । त्यस्तै कृषि ज्ञान केन्द्र गुल्मीले आगामी आर्थिक वर्षको लागि तिन करोढ ३४ लाख रुपियाँ बराबरको योजना र बजेट प्रस्ताव गरेको छ ।
कृषि उत्पादन, बजारीकरण, नियमन, प्रविधि प्रसारका कार्यक्रम निर्माण गरेर प्रस्ताव गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत नरेश धितालले जानकारी दिए । गत वर्ष कृषि ज्ञान केन्द्रको लागि चार करोड ८४ लाख ३४ हजार रुपियाँ बजेट बिनियोजन भएको थियो । कृषि ज्ञान केन्द्रले गत वर्ष सञ्चालन गरेका बाली बस्तु सघन व्यावसायिक उत्पादन क्षेत्र विकास, सिंचाइ, माटो व्यावस्थापन, बिउमा आत्मनिर्भर, कृषि प्रविधी प्रदर्शन, लक्षित समुदाय लक्षित आयआर्जन, महिला लक्षित उन्नत किट वितरण र कृषि प्राविधिकसंग भेटघाट कार्यक्रम रहेको बरिष्ठ कृषि विकास अधिकृत धितालले बताए ।
प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख द्रोण खत्रीले प्रदेशको प्राथमिकता नै बुझ्न नसकिएको बताए । कृषि र पशुपालनको बजेट घटाएर सडक र पुल बनाउँदैमा आर्थिक समृद्धि प्राप्त नहुने खत्रीले बताए ।