

हरि ज्ञवाली
नेकपा एमालेको महत्वपूर्ण जनवर्गीय सङ्गठन नेपाल बुद्धिजीवी परिषद्को नाम ‘नेपाल बौद्धिक परिषद्’ का रुपमा परिवर्तन भएको छ । परिषद्को हालै सम्पन्न ११ औंँ अधिवेशनले विधान परिवर्तन गर्दै नेपाल बौद्धिक परिषद् बनाएको हो । अधिवेशनले गजेन्द्र खतिवडाको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।
पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको सो अधिवेशनले अध्यक्ष ओलीकै सुझावअनुसार नेपाल बौद्धिक परिषद् बनाएको हो । अधिवेशनका प्रमुख अतिथि अध्यक्ष ओलीले मुलुक र जनताको सुन्दर भविष्यका लागि ८४ को चुनावमा एमालेले बहुमत हासिल गर्नैपर्ने आवश्यकता औँल्याउँदै बौद्धिक परिषद्ले पार्टीमा सक्रिय र महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । पार्टीको थिंक ट्यांक मानिने बौद्धिक परिषद्को नवनिर्वाचित कमिटीमाथि पार्टीलाई सैद्धान्तिक, वैचारिक र नीतिगतरुपमा लोकप्रिय बनाउँदै बहुमतमा पु¥याउने गहन जिम्मेबारी र अभिभारा थपिएको छ ।
बुद्धिजीवीहरू पार्टीको पथप्रदर्शक मात्र हाइनन् अपितु सिङ्गो राष्ट्र र समाजका दिशानिर्देशक पनि हुन् । उनीहरुको विचार, चेतना, अनुसन्धान, लेखन र सक्रियताले मात्र देश र समाजको सकारात्मक रूपान्तरण सम्भव हुन्छ । पार्टीलाई उपयुक्त विचार, विवेक र दिशानिर्देश गर्ने हुँदा पार्टीनिर्माण, विस्तार, उन्नयन र विकासमा बौद्धिक वर्गको योगदान र भूमिका अत्यन्तै महत्वपूर्ण मानिन्छ । पार्टीलाई सैद्धान्तिक, वैचारिक र कार्यक्रमिक रूपमा दिशानिर्देश गर्दै देश र जनताको पक्षमा लाग्न सुझावहरू दिने, पार्टीको चुनावी घोषणापत्र निर्माण गर्ने, पार्टी सरकारमा हुँदा नीति, कार्यक्रम र बजेटमा उपयुक्त सुझाव दिने र जनताका आकाङ्क्षा र समस्यालाई उजागर गर्दै पाटीलाई देश र जनतामुखी बन्न दबाव दिने कार्य बौद्धिक जगत्का कर्म हुन् ।
यतिखेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहनुभएको छ । राजनीतिक अस्थिरता र खिचातानीको दुश्चक्रबाट देशलाई मुक्त पार्दै विकासको गतिलाई तीव्रता दिने मूल उद्देश्यसहित दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार सञ्चालनकोे अभिभारा उहाँले लिनुभएको छ । सोहीअनुरुप केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्रको विकास, राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिको यात्रामा आमजनतामा आशा जगाउने गरी काम गरिरहेको छ । प्रम ओली ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न प्रतिबद्ध हुनुहुन्छ । सो प्रतिबद्धता पूरा गराउने अभियानमा बौद्धिक परिषद् अग्रसर हुनुपर्ने आवश्यकता देखिन्छ ।
नेकपा एमाले मिसन ८४ को नारा लिएर आगामी निर्वाचनमा एकल बहुमत हासिल गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको छ । मिसन ग्रासरुट, मध्य पहाडी सङ्कल्प यात्रा र जरा अभियान जस्ता कार्यकर्तामुखी कार्यक्रम सम्पन्न गरेको एमालेले आगामी चुनावमा तिनै तहमा एकल बहुमतको सरकार बनाएर मुलुकमा समृद्धि र विकासको लहर ल्याउने सङ्कल्प गरेको छ । मुलुकले भोगिरहेको राजनीतिक अस्थिरता र अन्योलको दीर्घकालीन समाधानका लागि विसं.२०८४ सालमा हुने तीनवटै तहमा एमालेको बहुमत हुनुपर्ने आवश्यकता बोध गरेको छ ।
एमालेको एकल बहुमतको सरकारविना देश र जनताले भोगिरहेको समस्याबाट मुक्ति संभव देखिँदैन । अन्य राजनीतिक दलहरुमा एमालेको जस्तो देशविकासको भिजन, चिन्तन र अठोट पाइँदैन । एमालेको नेतृत्वविना न ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा हुन सक्दछ न त मुलुकको राष्ट्रिय स्वाभिमान र अस्तित्वको रक्षा नै । त्यसो हुन नदिनकै लागि देशविरोधी, प्रतिगामी र देशीविदेशी शक्तिहरुले नेकपा एमाले र अध्यक्ष ओलीविरुद्ध चौतर्फी घेराबन्दी गरिरहेका छन् । नानाथरी षड्यन्त्र, तथानाम दुष्प्रचार गर्दै अनेकाँैं आरोपहरुसमेत लगाएका लगायै छन् । देशीविदेशी षड्यन्त्रकारीहरु र प्रतिगामी तत्वहरु सल्बलाइरहेको वर्तमान स्थितिमा उनीहरुका भ्रमलाई चिर्दै पार्टी र नेतृत्व रक्षाका लागि वैचारिक संघर्ष गर्नु र प्रचारात्मक अभियानमा लाग्नु अहिलेको आवश्यकता हो । यो कार्यमा बौद्धिक परिषद्को सक्रिय भूमिका र योगदान अपरिहार्य छ ।
हाम्रो पार्टी नेकपा एमालेले जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मानेको छ । मदन भण्डारीद्वारा प्रतिपादित जबज नै नेपाली समाजको मौलिक र महत्वपूर्ण सिद्धान्त हो । यो नै नेपालको परिपूर्ण लोकतन्त्र हो । यसैमार्फत नै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा परिपूर्ति हुन सक्दछ । माक्र्सवादको आलोकमा नेपाली समाजलाई मार्गदर्शन गर्ने सर्वोकृष्ट सिद्धान्त जबजमार्फत् नेपाली जनताका आशा, भरोसा र विश्वास आर्जन गर्ने गरी सामाजिक न्याय र सुशासनका प्रत्याभूतिसहित राज्य सञ्चालन गर्नु पार्टी नेतृत्वको सरकारको प्रमुख जिम्मेवारी हो भने पार्टी र सरकारलाई तदनुरुपको जनमुखी र लोकप्रिय बन्न सुझाव र दबाव दिनु बौद्धिक वर्गको दायित्व हो ।
त्यसो त आजभोलि हाम्रा पार्टी कमिटीहरु एवम् नेता कार्यकर्ताहरुमा अध्ययन गर्ने, सामूहिक छलफल गर्ने, विषयवस्तुको गहिराइमा पुगेर निष्कर्ष निकाल्ने परिपाटी हराउँदै गएको छ । जनवादी केन्द्रियता लोप हुँदै गएको छ । नेता कार्यकर्ताहरुमा अनुशासन र नीति पद्धतिको पालना छैन । पार्टी प्रशिक्षण नियमित नहुँदा जताततै अराजकता र उच्छृङ्खलता बढिरहेका छन् । आपसमा विश्वास, आत्मीयता र कमरेडी भावना हुनुपर्नेमा अविश्वास, ईष्र्या, बदला र घात–अन्तरघातका शृंखला बढिरहेका छन् । जनवादी आदर्श र सिद्धान्त समाप्त हुन थालेको छ । यो विषम परिस्थितिमा पार्टीलाई सही दिशामा अगाडि बढाउन, सैद्धान्तिक, नीतिगत एवम् पद्धतिगत बाटोमा हिँडाउन, पार्टीभित्रका तमाम विकृति–विसङ्गति, अराजकता र अनुशासनहीनतालाई समाप्त पार्न र नीति र नेतृत्व निर्माणकार्यमा बुद्धिजीवीहरुले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने आवश्यकता देखिएको छ ।
केही समययता देशमा ठूलो परिवर्तन भएको छ । एकात्मक, केन्द्रीकृत र निरंकुश राजतन्त्रको ठाउँमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । नयाँ संविधानले सबै वर्ग वा समुदायका अधिकारलाई सुनिश्चित गरेको छ ।
तथापि राजनीतिक अस्थिरताका कारण नेपाली जनताले अपेक्षा गरेअनुसारका काम भने हुन सकेका छैनन् । नागरिकले संवैधानिकरुपले प्राप्त गरेका हक र अधिकारसमेत पूर्णरूपमा कार्यान्वयनमा आएको अवस्था छैन । यही बहानामा अहिले देशमा केही पनि भएन भन्ने भाष्य निर्माण गर्ने र समाजमा तीब्र गतिमा चरम निराशा फैलाउने अनि तथानामका नकारात्मक मनोविज्ञान निर्माणका तमाम प्रयत्न अनेकौँ कोणबाट भइरहेका छन् । निराशा र नकारात्मक मनोविज्ञान फैलाइएको वर्तमान अवस्थामा बौद्धिक वर्गले उपयुक्त नीति, सही विचारको निर्माण र यथार्थ वस्तुस्थितिबारेको प्रचारप्रचारका माध्यमले समाज र देशलाई आशा र सकारात्मक दिशामा बदल्न केन्द्रित हुनुपर्ने देखिन्छ ।
यतिबेला सबै पुराना राजनीतिक दलहरूले जनताको असली प्रतिनिधित्व गर्ने हैसियत गुमाइसके भनेर जबर्जस्त भाष्य निर्माण गर्न खोजिँदै छ । आम जनताले व्यवस्थाकै विकल्प खोज्न थालेको अनावश्यक हल्ला फैलाइँदै छ । राजनीतिक दलहरूका थोरै कमजोरीलाई औंल्याएर र जनताका केही असन्तुष्टिलाई बहाना बनाएर सडकमा भीड जम्मा गर्ने प्रयास पनि व्यापक मात्रामा भइरहेका छन् । मुलुक जटिल र तरल अवस्थामा पु¥याइँदै छ । प्रतिगामी शक्तिहरूले समाजलाई बराल्न र बिथोल्न भरमग्दुर प्रयास गरिरहेका छन् ।
सामाजिक सञ्जालको दुरुपयोग गर्दै नानाथरी भ्रम छर्ने, नेपालमा केही छैन,नेताहरूले सब बिगारिसके, अब मुलुक समृद्ध बन्दैन तसर्थ, विदेश जानुबाहेक अर्को विकल्प छैन भन्दै तथानाम गलत सूचना सम्प्रेषण भइरहेका छन् । केही पात्रहरूले जनताका गुनासा र निराशालाई संघीय लोकतान्त्रिक गणतन्त्रकै विरूद्धमा प्रयोग गर्ने प्रयास गरिरहेका छन् । सूचना प्रविधिको गलत प्रयोग गर्दै निराशा, आक्रोश र अराजकता बढाउने काम भइरहेका छन् । अराजक र प्रतिगामी तत्वहरु सल्बलाइरहेको यो घडीमा बुद्धिजीवीहरूले वैचारिक संघर्ष गर्दै उनीहरुबाट सिर्जित भ्रमलाई चिर्नु,सत्य, तथ्य र नेपाली मौलिक ज्ञान र विचारद्वारा समाजको अगुवाई गर्नुपर्ने आवश्यकता देखिन्छ ।
पार्टीले यतिखेर बुद्धिजीवीहरूबाट अग्रगामी दृष्टिकोण र सही विचार, परिस्थितिको यथार्थ विश्लेषण र तदनुरुपको सूचना सम्पे्रषणको अपेक्षा राखेको छ तर बिडम्बना, कतिपय बुद्धिजीवीहरु भने व्यक्तिगत स्वार्थ र अवसरका लागि सत्ता वा प्रभावशाली वर्गको पक्षपोषण गर्दै फगत आफ्नो स्वार्थसिद्धिमा केन्द्रित भएको पाइन्छ । कुनै पार्टी, विचारधारा वा गुटप्रति अन्धसमर्थक बन्ने, राजनीतिक दबाब, सामाजिक आलोचना वा आफ्नो स्वार्थका लागि गलत प्रवृत्तिका विरुद्ध बोल्नुपर्ने ठाउँमा नबोल्दा वा भूमिका निर्वाह नगरिदिँदा निष्पक्षता गुमाउँदै गइरहेका छन् । फलस्वरुप समग्र बौद्धिक वर्गप्रति नै आम जनताको आस्था र विश्वास घट्दै जान थालेको छ । यो चिन्तन र प्रवत्तिको अन्त हुनु जरुरी छ ।
जनताको निराशालाई आशा र भरोसामा नबदलेसम्म मुलुकको विकास र समृद्धि सम्भाव हुँदैन । मुलुकका सङ्कल्प र सपनालाई यथार्थमा परिणत गर्न सकेमात्र मुलुक समृद्ध र जनता सुखी बन्न सक्छन् । देश निर्माण केवल सरकार वा राजनीतिक दलहरूको मात्र कार्य होइन । बौद्धिक कार्यद्वारा राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा रहेका समस्यालाई निराकरण गर्ने र देशलाई सामाजिक न्यायमा आधारित विकास र समृद्धि तथा सुशासनतर्फ अगाडि बढाउनुपर्ने दायित्व बुद्धिजीवीमा आएको छ । बुद्धिजीवीहरूले आफ्नो ज्ञान, अनुभव र विवेक राष्ट्रहितमा प्रयोग गर्नुपर्छ । उनीहरू मौन होइन, सक्रिय नागरिकको रूपमा राष्ट्र निर्माणको यात्रामा अगाडि बढ्नुजरुरी छ ।
यतिखेर देशले बुद्धिजीवीहरूबाट अग्रगामी दृष्टिकोण र सही विचार, परिस्थितिको यथार्थ विश्लेषण र तदनुरुपको सूचना सम्पे्रषणको अपेक्षा राखेको छ । एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामहरुको फेहरिस्त जनताका बीचमा सम्प्रषेण गर्ने ,सरकारलाई निरन्तर जनमुखी बन्न दबाव दिने र गलत काम गर्नबाट रोक्नु नै बुद्धिजीवीहरूको अहम् भूमिका हो । यी महत्वपूर्ण भूमिका निर्वाहमा बौद्धिक परिषद् अत्यन्तै जागरुक र सक्रिय हुँदै तदनुरुपको कार्यमा समर्पित हुनुपर्ने आवश्यकता छ । (ज्ञवाली नेपाल बौद्धिक परिषद्का नवनिर्वाचित केन्द्रिय सदस्य हुनुहुन्छ ।)