

पोमनारायण पौडेल
बौद्ध सम्प्रदायले हरेक वर्षको ज्येष्ठ पूर्णिमालाई महासमय दिवसकोरुपमा मनाउने प्रचलन रेहेको छ । यो दिवस विशेष गरी बौद्धराष्ट्रहरु जस्तै श्रीलङ्का, थाईल्याण्ड, म्यान्मार, कम्बोडिाया जस्ता देशहरुमा विशेष महत्वकासाथ मनाउने गरिन्छ । महासमय दिवसका दिन सार्वजनिक विदा दिने चलन समेत रहेको छ । नेपालमा पनि महासमय दिवसलाई २०७८ साल देखि कपिलवस्तुको महावन स्थित महासमय स्थलमा नै मनाउन थालिएको छ ।

महासमय दिवसका अवसरमा विभिन्न देशहरुवाट भिक्षु भिक्षुणी, उपासक उपासिकाहरुको महासमय स्थलमा आगमन हुने गर्दछ । यस वर्षको महासमय दिवस यहि ज्येष्ठ २८ गते रहेको छ । स्थानीय पालिकाहरु र स्थानीय समुदायको सहकार्यमा महासमय दिवस मनाउने तैयारी भैरहेको छ । उक्त दिवसमा महासमय स्थलमा देश तथा विदेशका बौद्ध भिक्षुहरु महासमय स्थल आई महासमय सुत्र पाठ गर्ने प्रचलन रहेको छ । बुद्धका वचनहरुको संगालो दीघ निकायमा महासमय सुत्र र यसको महत्वका बारेमा उल्लेख गरीएको छ । यी सुत्रहरुमा द्वन्द्वलाई दिगो शान्तिमा कसरी रुपान्तरण हुन्छ भन्ने विषयमा भगवान बुद्धले गरेको महत्वपूर्ण भूमिकाको बारेमा उल्लेख गरिएको छ । यिनै विषयमा यस स्तम्भमा कपिलवस्तु महावन स्थित महासमय दिवस र महासमय सुत्रको बारेमा जानकारी गराउने प्रयास गरीएको छ ।
प्राचीन कपिलवस्तु बुद्धहरुको जन्म तथा कर्म भूमि हो त्यसैले यसलाई बुद्धहरुको राजधानी पनि भनिन्छ । यहाँ विभिन्न कालखण्डमा क्रकुछन्द, कनकमुनि र शाक्यमुनि बुद्धहरुले जन्म लिए र आफ्नो ज्ञानलाई लोककल्याणका लागि बाँडे । कपिलवस्तु भगवान गौतमबुद्धको गृहनगर हुनुका साथसाथै कपिलवस्तु महावनमा महासमयसुत्र प्रदान गर्नु भएकाले यो भूमि ऐतिहासिक, सांकृतिक, पुरातात्विक तथा धार्मिक हिसाबले थप महत्वपूर्ण मानिन्छ । बुद्धहरुको शासनकालमा एकपटक मात्रै सम्पूर्ण देव तथा असुरहरुलाई प्रदान गरिने महासमय सुत्र देशना गरेको भूमि हालको बाणगङ्गा नगरपालिका वडा नं.८ मधुवनको उत्तरी क्षेत्र जसलाई महासमय स्थलका नामले प्रसिद्ध रहेको छ । यस वर्ष यसै स्थलमा २५९९ औ महासमय दिवस आयोजना हुने तैयारी छ ।

महासमय स्थलमा इ.स.पाँचौ शताब्दिमा यस स्थलमा कलात्मक शैलीको विहार निर्माण भएको र हाल भग्नावशेष रहेको छ । यसको करिब ४०० मीटर उत्तरमा साना ठूला गरी ७ वटा जति गुफाहरु छन् । गुफाको पूर्वउत्तर दिशामा करेचुली डाडा (पर्वत) तल साना चुरे पहाड रहेका छन् । यस पर्वतको बौद्ध साहित्यमा युगन्धर पर्वतको नामले चिनिन्छ । युगन्धरको तल बाणगङ्गा (प्राचीन भागिरथि) नदी बगेकी छन् । बौद्ध साहित्य पवित्र बुद्ध बचनको संगालो सुत्रपिटक अन्तर्गत दीघनिकायमा उल्लेख गरिए अनुसार महावनको उत्तर तर्फ जहा पहाड, गुफा र पूर्वमा युगन्धर पर्वतको तल, भागिरथि नदीको पश्चिम तटमा ज्येष्ठ पूर्णिमाको राती बुद्धले महासमय सुत्र देशाना गर्नु भएको उल्लेख गरिएको छ । त्यसैगरि उक्त ग्रन्थमा पूर्वमा रहेको युगन्धर पर्वतवाट चन्द्रमा उदाएको भन्ने उल्लेख गरिएको कारण ज्येष्ठ पूर्णिमाको राती यो सुत्र देशना भएको हो भन्न सकिन्छ ।
आज भन्दा २५९९ वर्ष अघि अर्थात गौतमबुद्धको ५० औ वर्षको उमेर र बुद्धत्व प्राप्ती गरेको १५ औ वर्षवास कपिलवस्तुमा विताउने क्रममा भिक्षुहरु, देवताहरु र असुरहरुलाई कपिलवस्तुको महावन क्षेत्रमा महासमयसुत्रको देशना गर्नु भएको थियो । बुद्धले देसना गरेको महासमय सुत्रको श्रवण गर्नका लागि सहस्र देवगण, भिक्षुहरु, असुर आएका थिए भनि बौद्ध साहित्यहरुमा बर्णन गरिएको छ ।
महासमयसुत्र विशेष गरि तत्कालिन कोलिय राज्य र कपिलवस्तु राज्यको सीमानामा बग्ने रोहणी नदीको पानीको बाडँफाडको विषयलाई शान्त पार्ने उद्देश्य लिएर गरिएको थियो । तत्कालिन कोलिय र कपिलवस्तुका किसानहरुले उक्त नदिको पानी सिंचित गरी अन्न उत्पादन गर्ने गर्दथे । गर्मी मौसम र खडेरीका कारणले होला नदिमा पानीको सतह कम भएको थियो । दुबै देशका कृषकहरुलाई पानी सिंचाईका लागि प्रयाप्त थिएन । उक्त रोहिणी नदिको पानीलाई कहिले कोलियका किसानहरुले थुनेर लैजाने र कहिले कपिलवस्तुका कृषकहरुले थुनेर लैजाने गर्दथे र यसो गर्दै जादाँ आपसमा विवाद बढ्न थाल्यो । आपसी कलह झन पछि झन बढ्दै जादा कलह सतहमा आउन थाल्यो ।

रोहिणी नदिको पानीको बाँडफाडको विषय बढ्दै जादा आपसी गाली गलौजमा दुबै देशका किसानहरु उत्रिन थाले । कोलिय राज्यका किसानहरुले भन्न थाले “हाम्रो बालीलाई पुग्ने गरी हामी पानी लिन्छौ“ भन्न थाले । उता कपिलवस्तुका किसानहरुले पनि कोलियका किसानहरुलाई पनि भन्न थाले, “तिमीहरुले धानका भकारी भर्दा सुन र चाँदीका सिक्काहरु लिएर तिमीहरुसंग धान किन्न आउन सक्दैनौ, हामी पानी नलगि छाड्दैनौ” भने । यसरी आपसी झगडा झन पछि झन बढ्न थाल्यो । कोलियहरुले कपिलवस्तुका शाक्य राजालाई गाली गर्न थाले र भने “कपिलवस्तुका तिम्रा राजा आफ्नै दिदी वहिनीसंग विवाह गर्ने नराम्रो संस्कार भएका “भनेर शाक्य राजाहरुलाई आरोप लगाउन थाले । कपिलवस्तुका किसानहरुले पनि तिम्रा राजा कुष्ठरोग लागि रुखका टोड्काहरुमा बस्ने कहाँका गतिला छन्र” भनि कोलियका किसानहरुले प्रत्यारोप गर्न थाले । यो कुरा क्रमशः दुबै देशका राजाहरुका दरवार सम्म पुग्यो । दुबै देशका राजाहरुले आफ्ना सेनाहरुलाई उक्त रोहिणी नदिको बाँधमा हात हथियार सहित भेला गराए ।
रोहिणी नदीको बाँधमा दुबै देशका सेनाहरु पानीको विषयलाई मुख्य विषय बनाएर युद्धको तैयारी भई रहेको ब्यहोरा भगवान बुद्धले महाकरुणा ध्यानपत्ति अवलोकनवाट थाहा पाउनु भयो । त्यस पछि बुद्ध त्यहाँवाट कपिलवस्तु र कोलिय राज्यको विचमा रहेको रोहिणी नदीको बाँध भएको क्षेत्रमा जाने निश्चय गर्नु भयो । बुद्ध त्यहाँ पुगे पछि दुबै कूलका श्रेष्ठ आएको देखे पछि युद्ध गर्ने तैयारीमा रहेका सेनाहरुले हतियार राखी बुद्धलाई अभिवादन गरे । बुद्धले त्यहाँ भेला भएका दुबै देशका सेनाका जवानहरुलाई विभिन्न सुत्रहरु र जातक कथाहरु (बुद्धका पुर्व जन्मका कथाहरु) सुनाई शुरु हुनै लागेको युद्धलाई रोक्ने निश्चय गरी दुबै देशका सैनिकहरुलाईसंगै राखेर देशना गर्न थाल्नु भयो ।

भगवान गौतमबुद्धले जानी जानी दुबै तर्फका सेनाहरुलाई सोध्नु भयो, तिमीहरु यहाँ किन आएको ? उत्तरमा दुबै देशका सेनाहरुले भने अरु कुनै कामले होईन हामी युद्ध गर्न आएका हौ । त्यसै गरी बुद्धले अर्को प्रश्न गर्नु भयो, तिमीहरुले किन युद्ध गर्न लागेका छौ ? सेनाका जवानहरुले जवाफमा पानीको कारणले हो भनि उत्तर दिए । बुद्धले फेरी अर्को प्रश्न गर्नु भयो, पानीको मूल्य कति पर्छ ? सेनाका जवानहरुको उत्तर थियो, अलिकति मात्र पर्छ । बुद्धको फेरी अर्को प्रश्न गर्नु भयो, पृथ्वीको मुल्य कति पर्छ ? उनीहरुको उत्तर थियो, वढि मुल्य पर्दछ । त्यसै गरी बुद्धले जानी जानी अर्को प्रश्न गर्नु भयो । पृथ्वीको राज गर्ने राजाहरुको मूल्य कति पर्छ ? सेनाहरुले उत्तरमा अनमोल भनि उत्तर दिए । अर्को प्रश्न राख्दै बुद्धले भन्नु भयो, त्यस्तो अनमोल मुल्य पर्ने राजाहरुको नाश गर्नका लागि युद्ध गर्नु ठिक होला त ? बुद्धले ती दुबै देशका सेनाहरुलाई यस्तै प्रकारका प्रश्नहरु सोध्ने काम गर्नु भयो र दुबै राज्यका सेनाको तर्फबाट पनि यस्तै जवाफ दिने काम हँुदै गयो । अन्तिममा दुबै तर्फका सेनाहरु नाजवाफ भए ।
भगवान गौतमबुद्धले ती सेनाहरुलाई युद्धबाट बिमूख बनाउन विभिन्न सुत्रहरु र जातक कथाहरु सुनाउने निधो गर्नु भयो । बुद्धले पानीको विषयमा भएको कलह शान्त पार्नका लागि ५ वटा जातक कथाहरु, युद्ध रोक्नका लागि ३ वटा जातक र युद्ध पछि मेलमिलाप बढाउनका लागि २ वटा जातक कथाहरु सुनाउनु भयो । त्यस पछि कोलियका २५० र कपिलवस्तुका २५० गरी ५०० जना सेनाहरु युद्ध नगर्ने निधो गरे र युद्ध रोकियो ।
बुद्धले शान्तिलाई दीगो बनाउनका लागि सैनिक जवानहरुलाई भिक्षु बनाउदा उपयुक्त हुने ठान्नु भयो । ती ५०० सैनिकहरुलाई विभिन्न ध्यान विधिहरुको अभ्यास र विभिन्न धर्मदेशना प्रदान गर्न गर्नु भयो । त्यसका लागि कुणाल दह( सम्भवत पाल्पाको सत्यवती वा अर्घाखाँचीको ठाठाको दह हुन सक्ने) हुदै कपिलवस्तु महावनमा ल्याउनु भयो । कपिलवस्तुको महावनमा (हालको महासमय स्थल) महासमय सुत्र देशना पनि गर्नु भयो । सबै ५०० भिक्षुहरुले अरर्हत्व भइ निर्वाण पद प्राप्त गरे । त्यसैले यो भूमि संसार भरका ब्यक्तिहरुका लागि अति पुजनीय र बन्दनीय छ । त्यसैले यस भूमिबाट २५९९ औं महासमय दिवस मनाउदै विश्व शान्तिको कामना गरौं । सबैको मङ्गल होस।