सहकारीका सारथी अनि भरोसायुक्त भोजराज भण्डारी

मेचीकाली संवाददाता

४ असार २०८२, बुधबार
19 shares

मुक्तिनाथ गैह्रे

प्राकृतिक रुपमै अस्थायी जीवनको मानिस, बाँचिरहँदासम्म भने स्थायी नै हो कि जस्तो पनि लाग्ने गर्दछ । तर ‘जीवन अस्थायी नै रहेछ’ भन्ने दिवंगत व्यक्तिलाई विदा गर्नुपर्दा फेरि महसुस हुन्छ । स्थायी वा चिरस्थायी रहन्छन्ः जीवित अवधिमा गरेका ती सत्कर्मका कृति, ‘केवल कृति’ । करिब ३६ वर्ष नेपाल सरकारको स्थायी कर्मचारीका रूपमा काम गर्नुभएका निवृत्त राष्ट्रसेवक, तत्कालीन नवलपरासी जिल्ला प्रशासन कार्यालयका अधिकृत भोजराज भण्डारी यही जेठ २६ गते दिवंगत हुनुभयो । उहाँ पूर्व राष्ट्रसेवक मात्रै हुनुहुन्थेन, पूर्व निजामती कर्मचारी मात्र सिमित रहनुभएन, एक असल अभिभावक मात्र बन्नुभएन, त्यसभन्दा अझ माथि उठेर सहकारीका अब्बल हस्ती र अभियन्ता बन्नुभयो । उहाँ एक लगनशील लेखापरीक्षक हुनुहुन्थ्यो, आदर्श अभिभावक हुनुहुन्थ्यो, सक्रिय अनि सहज समाजसेवी पनि हुनुहुन्थ्यो ।

अर्थात्, दिवंगत भोजराज भण्डारी नेपालको तीन खम्बे अर्थनीतिअन्तर्गत आर्थिक सहकार्यको क्षेत्र ‘सहकारी’का उम्दा अभियन्ता हुनुहुन्थ्यो, प्रष्ट प्रशिक्षक हुनुहुन्थ्यो, सक्षम सल्लाहकार हुनुहुन्थ्यो, समग्रमा सहकारीका सबलतामा सम्पूर्णताको प्रतीक हुनुहुन्थ्यो । उहाँकै अभियानमा अझ बलियो बन्दै सुनवल क्षेत्रसहित नवलपरासी जिल्लाले सहकारीको सहकार्यलाई सक्रिय र सबल पार्दै आएको हो । लुम्बिनी प्रदेश समेतले उहाँको सुवासलाई सुम्सुम्याउँदै गर्दा सन्नाटाको सकस सम्हाल्नुपरेको छ । यी विषय उहाँको निधनपश्चात्को श्रद्धाञ्जलीका वक्तव्यमा आइसेकका छन् ।

झन््डै ३६ वर्ष नेपाली जनताको प्रशासनिक सेवा पश्चात निवृत्तिमा गएपछि विगतका १५ वर्षयता उहाँ घरको अभिभावक केही कम एवम् समाज, सहकारी र सहयोगको अभिभावक ज्यादा देखिनुभयो । यसैले होला गएका १५ वर्षमा उहाँले सिकाएका सहकारी सफल भएर सुविस्तारित भएका छन् । उहाँले हेरेका हिसाबमा हिँड्दाहिँड्दै हिमालझैँ अग्ला बनिरहेछन् । उहाँकै निर्देशनले निर्दिष्ट सहकारीहरू निक्षेप संकलन सहित निक्षेप परिचालनमा नमुना बन्दै गएका छन् ।

भोजराज भण्डारी सहकारीका अभियन्ता हुँदै गर्दा स्थानीय सहकारीमा नेतृत्व लिने र सबलीकृत गर्ने काममै सत्कर्म देख्नुभयो । त्यसैगरी, सहकारी संघको जिल्लाको नेतृत्वमा जाने, जिल्ला समितिलाई अघि बढाउने, जिल्लाका सहकारीहरू सम्पूर्णलाई सकेसम्म सबलीकृत गर्ने सत्संगमा सदैव समर्पित रहनुभयो । जिल्लाले मात्र होइन प्रदेशले समेत उहाँलाई खोज्यो । पछिल्लो पटक सहकारीको संगठनमा उहाँ लुम्बिनी प्रदेश कार्य समितिमा रहेर काम गर्दै सौम्य आन्दोलन छेडिरहनुभएको थियो ।

‘सहकारी त सबैका हुन् । सबैले लाभ लिन पाउनुपर्छ, जनता जाग्ने जनसहयोगबाटै हो । यसर्थ, सहकारी सबैको साझा पिल्लर अर्थात् मुनिखामो हो’ भन्ने गर्नुहुन्थ्यो उहाँले ठाउँठाउँमा । यही भावनाले ओतप्रोत भएर आफन्त, इष्टमित्र र चिने जानेका व्यक्तिहरूलाई सहकारीको सत्संगमा सदैव समर्पित रहन सन्देश दिँदै सक्रिय रहनुभयो । उहाँको अर्को सबल पक्ष के थियो भने उहाँ आफैँमा लेखापरीक्षणको काममा पोख्त हुनुहुन्थ्यो । त्यसकारण पनि, हर हिसाबमा हडबढाउनु हुँदैन, हर हिसाब चुस्त दुरूस्त हुनुपर्छ र जनताका एकएक पाही–पैसा सुरक्षित एवं सदुपयोग गरिनुपर्छ भन्ने मान्यता व्यवहारमा ल्याइदिनसक्ने विशिष्ट व्यक्तित्वको भूमिका निर्वाह गर्न सक्नुभयो ।

लेखा परीक्षणको सीप भएका, कानुनका जानकार, अनि सामाजिक सफलताका सचेतनाले भरिएका यस्ता सेवानिवृत्त सत्पात्र सर्वत्र सर्वप्रिय र सक्रिय रहँदै आउनुभएको थियो । बिहानदेखि साँझसम्म उहाँ सामाजिक काममा सक्रिय नै रहँदै आउनुभयो । आध्यात्मिक चेतले भरिपूर्ण उहाँ पछिल्लोपटक तीर्थ यात्रामा जाने क्रममा केही साताअघि मात्र निमोनियाको समस्याले ग्रसित हुन पुग्नुभयो । र, त्यही समस्या बल्झिएर गएको जेठ २६ गते दिवंगत हुनुभयो । उहाँको निधनमा सुनवल नवलपरासीका भण्डारी परिवारले अकल्पनीय र असामयिक रूपमा अभिभावक गुमाउनु त प¥यो नै । त्यस क्षेत्रले प्रखर पात्र गुमाएको छ । स्थानीयवासीले सहर्ष स्पन्दनका सहयात्री गुमाएका छन् । सहकारीहरूले सहकार्यको मर्म, हिसाब, कानुन र परीक्षण बुझेको आभायुक्त ओजस्वी अभिभावक गुमाएका छन ्। इष्टमित्रहरूले बेलाबखतका सरसल्लाह र सुझाव दिने परामर्शदातृ गुरू गुमाउन पुगेका छन् ।

उमेरले बल्ल ६६ पुग्दै गर्दा, भर्खरै जन्मेकी नातिनीले हजुरबा चिन्नै लाग्दा, सेवानिवृत्त जीवनका अबका अवधि परिवारलाई पनि पस्किन्छु भन्दै गर्दा, ईष्ट–मित्र, नाता–गोताका निवासमा अलि फुसर्दिलो भएर जानुपर्ला भन्दै गर्दा परेको पारिवारिक विपत्तिले हामी सबैलाई रूवाएको छ । उहाँकै समवयी उमेरका व्यक्ति होऊन् वा युवावयका, वरिपरिका बासिन्दा होऊन् वा दूरका आफन्त, सेवा अवधिका सखा होऊन् वा अध्ययन कालका सहपाठी सबै सबैसँग साथीको व्यवहार गर्ने, सबैसँग घुलमिल हुने, सहयोगका लागि सदैव तत्पर हुने, समाज नै सबथोक हो भन्ने साझा पात्रलाई चिरकालसम्म नबिर्सने गरि विदा गर्नुपर्ने परिस्थितिमा ल्याई पु¥याएको छ । उहाँको सान्निध्यमा अझ धेरै सिकौं, अझ बलियोसँग प्रस्तुत होऔं, अझ परिस्कृत बन्दै परिचालित होऔं भन्नेहरूको भरोसा भाँचिएको छ ।

सुनवल– ३, खैरेनीस्थित उहाँको निवास क्षेत्र अहिले शोकमग्न छ । त्यस्तै शोकाकूल छ, उहाँको जन्मस्थान स्याङ्जाको मालुङ्गास्थित धाङ्लिङ् पनि । श्रीमती लिलाले जीवनलीलाका सहयात्रीको साथ गुमाउनुभएको छ । छोराबुहारी विक्रम र सिर्जना अनि रवि र भावनाको सिर्जनापुञ्जरूपी तेजभाव हराएको छ । छोरी शोभा र ज्वाइ चन्द्रकान्त लामिछानेको माइतको मियो भाँचिएको छ । नाति–नातिना मोक्षा, मानस, अनुषा, आभाष र रीभा को पारिवारिक एवम् परम्परागत विश्वविद्यालय विलुप्त भएको छ । दुःखको यो अवधिमा दिवंगत बुवा भोजराज भण्डारीप्रति हार्दिक श्रद्धाञ्जली अर्पणसहित सुखद बैकुण्ठबासको कामना गर्दछु । शोकाकूल भण्डारी परिवारसहित सम्पूर्ण आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु । साथै, बुवा भोजराजका भरोसायुक्त भावहरू सम्पूर्णमा समाहित हुने पितृआशीषको कामना गर्दछु ।