हरितालिका तीज अर्थात् भदौरे उत्सव

मेचीकाली संवाददाता

२४ भाद्र २०७८, बिहीबार
932 shares

डा.मीन श्रीस मगर
परिचयः खासगरी वर्षान्त र हिउँदको प्रारम्भमा मनाइने चाडबाडहरू नारीसँग सम्बन्धित पाइन्छन् । तीज, दशैं र तिहार नारी महिमासँग जोडिएका छन् । नेपाली समाज कृषि युगमा प्रवेश गरेपछि घरधन्धाका साथै खेतीपातीको काममा समेत नारीहरूको व्यस्तता र महत्व बढ्न गयो । वर्षेबाली (मुख्य बाली) लगाउने समयमा नारीहरू थप व्यस्त हुनुपर्ने भएकाले नै उनीहरूको सम्मानमा यस्ता चाडवाडहरू मनाउने परम्पराको विकास हुन गयो । उमंगका साथ चाडपर्वहरु मनाउने नेपाली परम्परा प्राचीन कालदेखि नै चलिआएको मानिन्छ ।

वर्षेबाली लगाउने कामले थकित नारीहरू कामको चटारो कम भएपछि केही दिन माइतीमा गएर विश्राम लिने चलनबाट नै तीज जस्ता भदौरे उत्सवहरू मनाउने चलनको विकास भएको हो । आमरुपमा तीज भनेर भाद्रशुक्ल द्वितीया र तृतीयाको दिनलाई बुझ्ने गरिन्छ ।

तीज मनाउने शैलीगत विविधता
नेपाली समाज भौगोलिक, जातजातीय तथा सांस्कृतिक विविधताले सजिएको सुन्दर फूलबारी हो । त्यसैले हाम्रा चाडवाडहरू अन्तरघुलन, समन्वय, सहिष्णुता र भातृत्वका रंग एवं सुवासनाले भरिएका छन् । पश्चिम नेपालका पहाडी भू–भागमा बसोबास गर्ने मगर समाजमा तीजलाई विशुद्ध सामाजिक एवं सांस्कृतिक चाड मान्ने गरिन्छ । भाद्र द्वितीयाका दिन दर खाने र तृतीयाका दिन नाचगानका साथ समापन गरिने यो चाडको प्रारम्भ एघार दिनअघि नै गरिन्छ । ग्यारी शेफर्ड (सन् १९८२) का अनुसार विवाहित महिलाहरूले भदौ महिनामा एघार दिनसम्म झोरा गाउने र नाच्ने गर्दछन् । तीजको दिनमा समापन गरिने झोरा गीतको विषयवस्तु राम्रो लुगा र मीठो खानासँग सम्बन्धित हुन्छ । झोरा समापनको दिन युवाहरूले महिला र केटीहरूलाई केरा र दही खान दिन्छन् । यसको सट्टा केटीहरूले दसैंमा युवाहरूलाई खानपिन गराउँदछन् (पृ.२६०) । केशरजंग बराल मगरका अनुसार मगरहरूले तीजको गीतलाई झोरा भन्ने गर्दछन् । मगर महिलाहरू तीजमा आफ्नै संस्कृतिमा आधारित झोरा नाच्ने गर्दछन् । गुरु परम्परा र निश्चित कथावस्तुमा आधारित झोराका गुरुमाहरूको मृत्युपछि नयाँ पुस्ताले निरन्तरता दिन चासो नराख्दा झोरा लोकगीत नृत्य लोप भएर गयो (पृ. ११७–११८) ।

हिमाली जिल्ला डोल्पाका साथै रुकुम र रोल्पा भेगका मगर समाजमा भने झोरा गाउने र नाच्ने चलन अझै पनि पाइन्छ (मगर अध्ययन केन्द्र, २०६३ः१८) । पाल्पा–स्याङ्जातिरबाट दाङमा बसाइ सरेका मगरहरूले पनि झोरा संस्कृतिलाई निरन्तरता दिइरहेको पाइन्छ । साउने संक्रान्तिबाट प्रारम्भ भएको झोरा गाउने र नाच्ने काम भाद्र शुक्ल तृतीया अर्थात् तीजको दिन समापन गरिन्थ्यो । तीजमा माइतीले छोरीचेलीलाई बोलाउनै पर्ने र दसैंमा छोरीचेलीहरू माइतीले नबोलाए पनि माइत आउनै पर्ने परम्परा बनेको छ । छोरीचेली माइती जाँदा रोटी, रक्सी र अन्य परिकारको पाहुर लिएर जाने चलन पाइन्छ ।

सुदूरपश्चिमको पहाडी समाजमा भाद्र शुक्ल पञ्चमीका दिन गौरा चाडको प्रारम्भ गरिन्छ । त्यस अवसरमा महिलाहरूले निराहार ब्रत बसी नदी, तलाउ, धारा, पधेराँमा स्नान गरी सगुन गाउँदै गौराघरमा बिरुडा (गहुँ, केराउ, गहत, मास र गुराँस) भिजाउँछन् । गौरादेवीको पूजामा बिरुडा प्रयोग गरिन्छ । काठमाडौ उपत्यकामा जनैपूर्णिमामा क्वाँटी खाने चलन भएझैं सुदूरपश्चिमी समाजमा गौरा चाडको अवसरमा बिरुडा पकाएर खाने चलन छ । हिमालयकी छोरी पार्वतीले भगवान् शिवलाई पति पाउन गौरादेवीको निराहार व्रत बसेको किम्वदन्तीका आधारमा गौरा चाड मनाइन्छ । भाद्र शुक्ल सप्तमीका दिन महिलाहरूले खेतबाट कुश, दुबो, धान, काँस र साउँको बिरुवा ल्याई सज्जा (विशेष प्रकारको सामग्री) बनाउँछन् । अठेबाली (अष्टमी) का दिन निराहार व्रत बसेका महिलाहरू बिरुडाका भाँडा लिएर खलो (गौरा खेल्ने स्थान) मा गएर नाचगानसहित गौरा चाड समापन गर्दछन् (उपाध्याय २०७१ः१) । यो चाड सुदूरपश्चिमी पहाडी समाजका अतिरिक्त भारत उत्तराखण्डको कुमाउ गढवालतिर सबैभन्दा ठूलो उत्सवको रुपमा मनाउने गरिन्छ ।

मध्य र सुदूरपश्चिम नेपालका तराई क्षेत्रका थारु महिलाहरूले तीज मनाएसरह ‘सावनी डोला’ मनाउने गर्दछन् । असारको तृतीयादेखि साउनको तृतीयासम्म एक महिनाभरि विवाहित र अविवाहित महिलाहरू एकै थलोमा भेला भएर गीत गाउँदै पिङ खेल्दछन् । साउन तृतीयाका दिन दिदीवहिनीहरूले आफ्ना श्रीमान् वा दाजुभाइहरूको दीर्घायुको कामना गर्दै निराहार ब्रत बस्दछन् । यो चाडको समापनमा महिलाहरू नदीमा गएर झुरकी सेलाउने र पूजापाठ गरी सिमही खाने खुवाउने गर्दछन् । झुरकी सेलाउने क्रममा महिलाहरूले नदीको वगरमा उम्रेका काँसमा एकहातले गाँठो पार्ने चलन छ । विवाहिता महिलाले सात र अविवाहित महिलाले पाँच गाँठो पारेर पूजाआजा गरी चाँदीको सामग्रीले काटेर नदीमा सेलाउने गरिन्छ । नेवार समुदायमा ऋषिमञ्चमीको दिनलाई “कोखजा विये” भनिन्छ र बुँसाकी चाहिन्छ । यसको अर्थ कोखपूजा हो । लिम्बूहरूले पनि तीजकै समयमा कोखपूजा मनाउँछन् (सौरभ, २०६९ः ७) ।

पश्चिम नेपालका बाहुन–क्षेत्रीलगायत हिन्दू समुदायमा तीजलाई सामाजिक तथा सांस्कृतिकभन्दा पनि धार्मिक महत्वका साथ मनाउने गरेको पाइन्छ । भाद्र शुक्ल द्वितीयको दिन माइती गएर दरखाने, तृतीयाका दिन निराहार ब्रत बसेर नाचगान गर्ने तथा साँझ शिवजीको पूजाअर्चना गर्ने र पञ्चमीका दिन सप्तऋषीको पूजा गरी समापन गर्ने चलन रहेको छ । विभिन्न धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार पर्वत राजा हिमालयकी छोरी पार्वतीले शिवजी जस्ता शक्तिशाली पति पाउन निराहार व्रत बसेकी थिइन् । पार्वतीले तपस्या गर्दागर्दै शिवजीलाई पतिका रुपमा पाएपछि उनले आफ्ना सहयोगी साथीहरूलाई भेला गराई भोज खुवाएकी थिइन् भन्ने विश्वासका आधारमा हिन्दू महिलाहरूले तीजको दिन निराहार व्रत बस्ने, गीत गाउने र नाच्ने गरेको पाइन्छ । हिमालयले पार्वतीलाई भगवान् विष्णुसँग विवाह गराइदिन तयारी गरेको अवस्थामा तालिका (पार्वतीकी सँगिनी) ले पार्वतीलाई हरित गरेर (अपहरण गरेरर भगाएर) लुकाउन लगेपछि निराहार बसेर इच्छाएको व्यक्ति शिवजीलाई पतिका रुपमा पाएकाले यस्तो ब्रतोत्सवलाई हरितालिका भनिएको कथन पनि पाइन्छ ।

तीजको अवसरमा अविवाहित नारीले व्रत लिएमा सुयोग्य वर पाउने र विवाहितले ब्रत लिएमा पति दीर्घायू र सुस्वास्थ्य हुनुका साथै वैवाहिक जीवन सुमधुर रहन्छ भन्ने मान्यता पाइन्छ । तीजको ब्रत समापन गर्दा पञ्चमीका बिहानै महिलाहरु नजिकैको नदी, खोला, ताल र पोखरीमा गई ३६५ दतिवनले दाँत माझेर गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर अरुणधतिसहित सप्तऋषिहरु अत्रि, गौतम, भारद्वाज, जमदग्नी, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा आराधना गर्दछन् । त्यसपछि नरोपी उम्रेका अन्न, समा, कागुनो, कन्दमूल र कर्कला आदि खाने चलन छ । भविष्य पुराणका अनुसार रजस्वला भएका अवस्थामा जानीनजानी भए गरेका पापजन्य कार्यबाट मुक्तिका लागि महिलाहरूले पञ्चमीका दिन सप्तऋषिको पूजा गर्ने चलन रहेको हो ।

तीज वा हरितालिका भारतका विभिन्न स्थानहरूमा पनि मनाइन्छ । महाराष्ट्र, गोवा, कर्नाटक, केरला, तमिल्नाडु र आन्ध्रप्रदेशमा “हरितालिका” “ते” र “तायी” चाडका रुपमा मनाइन्छ । भारतको पञ्जाव, गुजरात, छत्तिस गढ, झारखण्ड, महाराष्ट्र, उत्तरप्रदेश, चण्डीगढ, दिल्ली, मध्यप्रदेश, राजस्थान र विहारमा विभिन्न शैलीमा यो चाड मनाइन्छ । खासगरी मारवाडी र बाँनिया समुदायका लागि बढी महत्व रहेको पाइन्छ । हरियाणा र जयपुरमा महिलाहरूले व्रत बस्ने, पार्वतीको प्रतीमा पालकीमा राखेर घुमाउने, नृत्य एवं संगीतमा झुम्दै मीठोमसिनो खाने र पिङ खेल्ने गर्दछन् । मारवाडी समुदायमा सासुले नयाँ बुहारीलाई पहिलो तीजको उपहार स्वरुप एक सेट गरगहना दिने र सो गहना लगाएर बुहारी गुलियो नुनिलो मिठाई सहित माइत जाने चलन पाइन्छ ।

भारतमा तीन खाले तीज मनाउने गरिन्छ । साउन शुक्लपक्षमा दूध, दही र फूलले चन्द्रमाको पूजा गरी “हरियाली तीज”, कृष्णपक्ष तृतीयामा “कजारी तीज” र भाद्र शुक्लपक्ष तृतीयामा “हरितालिका तीज” मनाइन्छ । यी तीन मध्ये हरितालिका तीज सबभन्दा ठूलो हो । यस अवसरमा माटोले बनाइएको शिवपार्वतीको प्रतीमा अगाडि बसेर उत्साह र उमंगका साथ बिहानैदेखि भजन गाउने गरिन्छ । निष्कर्ष ः तीजलाई वर्षेबाली लगाउने काम सकेपछि अर्थात् वर्षायामको अन्ततिर मनाइने महत्वपूर्ण उत्सवको रुपमा लिइन्छ । प्रारम्भमा कृषिमा आधारित विशुद्ध सांस्कृतिक चाडको रुपमा विकास भएको तीजले समयक्रमसँगै धार्मिक मान्यताहरूलाई पनि ग्रहण गरेको पाइन्छ ।

खासगरी नेपाल र भारतका हिन्दू समुदायमा तीजलाई धार्मिक चाडको रुपमा ब्रत, पूजाआजा र नाचगानको साथ मनाउने गरिन्छ । यद्धपि यो चाडलाई सबै हिन्दू समुदायमा एकै नाम, शैली र तिथिमा मनाउने गरिएको पाइँदैन । धार्मिक दृष्टिले गौरा र तीज समान भए पनि मनाइने समय र शैलीमा भिन्नता पाइन्छ । मगर समाजमा मनाइने तीजमा धार्मिकभन्दा पनि समाजिक र सांस्कृतिक महत्व रहेको छ । माइतीले आफ्ना विवाहित छोरीचेलीलाई बोलाएर मीठोचोखो खुवाएर सम्मान दिने वा सम्झने उत्सव हो । माघे संक्रान्ति र साउने संक्रान्ति पनि माइतीले छोरीचेलीलाई सम्झने चाड भए तापनि तीजको महत्व फरक छ ।

तीज नेपाली समाजको चिनारी र अमूल्य निधि भएकाले यसको मौलिक परम्परामा आघात पुग्ने काम हुनु हुँदैन । “तीज” शब्दले कुनै धर्म वा सम्प्रदायलाई नबुझाएर भाद्र शुक्ल तृतीया तिथि अर्थात् समयलाई बुझाउँदछ । तृतीया तिथिमा मनाइने उत्सव भएकाले नै तीज भनिएको हो । पछिल्ला केही वर्षमा तीज मनाउने शैली निकै भड्किलो र खर्चिलो बन्दै जान थालेको छ । होटल वा पार्टी प्यालेसमा दर खाने बहुमूल्य वस्तु प्रदशर्न गरी सामूहिक तीज मनाउने प्रवृत्तिले यसको ऐतिहासिकता र मौलिकतालाई समाप्त पारेको छ । तीजको मौलिक र परम्परागत भाकाहरू र शब्दहरूलाई दोहोरी शैलीका झाम्रे, रत्यौली वा पश्चिमा र आधुनिक गीतका भाका र शब्दहरूले विस्थापित गर्दै लगेको छ । तीज छोरीचेलीको चाड भएकाले उनीहरूले आफ्नै भावना र मर्महरू झोरा वा तिजे भाकाहरूमा अभिव्यक्त गर्नु र नाच्नु परम्परा र मौलिकता हो ।

अर्कोतर्फ तीजको धार्मिक पक्षलाई मात्र महत्व दिएर तृतीया र पञ्चमीका दिन सरकारी विदा दिएर जागिरे महिलाहरूलाई द्वितीयका दिन माइत गएर दरखाने अवसरबाट वञ्चित गराउनु उपयुक्त देखिँदैन । यसैगरी चाडबाडहरूलाई जाति र धर्मको रंग दिन खोज्नु संकीर्णता र अज्ञानता मात्र हो । सांस्कृतिक संक्रमण र प्रविधिकरणका कारण नेपाली संस्कृतिमा देखापरेका परिवर्तन र परिमार्जनहरूलाई पनि बुझ्न सक्नुपर्छ । सम्मिलन, अन्तरघुलन र समन्वयात्मक प्रक्रियाबाट साझा नेपाली संस्कृति निर्माण भएको यर्थाथतालाई सम्मान गर्न जान्नुपर्छ । (लेखक डा.श्रीस आदिवासी जनजाति आयोगका मानार्थ सदस्य हुनुहुन्छ । यसलाई रेन्यूजडेलीबाट साभार गरी सम्पादन गरेका हौं ।)