आत्म र समाजका लागि योग र यसका प्रवर्तक पतञ्जली

मेचीकाली संवाददाता

७ असार २०८२, शनिबार
80 shares

डी.आर.घिमिरे

आज जुन २१ अन्तर्राष्ट्रिय योग दिवस । यो दिवसले मानिसहरूलाई योगको महत्व बुझाउन र दैनिक जीवनमा योगलाई व्यवहारमा उतार्न प्रेरित गर्ने विश्वास गर्न सकिन्छ । यो वर्ष Yoga for Self and Society अर्थात् ‘आत्म र समाजका लागि योग’ भन्ने नारासहित अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ । यो दिवस भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा संयुक्त राष्ट्रसंघमा प्रस्ताव राखेपछि २०१५ देखि विश्वभरि मनाउन थालिएको हो ।

यस अवसरमा योगका प्रवर्तक पतञ्जलीको स्मरण गर्नु स्वभाविक हुन्छ । आज संसारभरीनै योगको महत्व बढ्दै गएको छ । मानिसमा निरासा, कुण्ठा, मानसिक चिन्ता, डिप्रेसन, एन्जाइटीजस्ता यावत् रोगले सताउन थालेकोले पनि योग गर्ने प्रचलन बढ्दै गएको छ । बुटवलमा २०६० सालतिर बाबा योगीराजले पहिलोपटक योगको सम्वन्धमा पत्रिकामा लेखमार्फत् धेरै जानकारी गराउनुभएको थियो । सोही समय अर्थात् २०६१ सालमा बुटवल हिलपार्कमा पहिलोपटक नै हुनुपर्छ सार्वजनिक रुपले योग सिकाइएको थियो । यस काममा माननीय भोजप्रसाद श्रेष्ठको उल्लेख्य सहयोग थियो । आज टोलटोलमा योग शिविर हुँदैछन् । स्वास्थ्यप्रति मान्छेको चासो वढ्दै गएको छ । रोग लाग्न नदिने अचुक उपायनै योग रहेछ भन्ने जागरण पैदा भएको छ । हुन पनि योगले शरीर, मन र आत्मालाई सन्तुलनमा राख्छ र शारीरिक लचकता, मानसिक शान्ति, रोग प्रतिरोध क्षमता बढाउने, चिन्ताबाट मुक्ति दिने लगायत फाइदा पु¥याउँछ । योगमा आसन, प्राणायाम, ध्यान, यम, नियमलगायत आठवटा चरणहरू हुन्छन् ।

पतञ्जलीले योगमात्र हैन आयुर्वेद र व्याकरणको विकासमा पनि योगदान गरेका छन् । अझै महत्वपूर्ण कुरा त उनै पतञ्जलीले अर्घाखाँचीको शीतगंगामा जन्मेका भनेर विगत ७ वर्षअघि (जुन २१, २०१९) अनुसन्धानकर्ता विष्णुराज आत्रेयले दावी गरेका थिए । पतञ्जलीको जन्मस्थान र संस्कृत भाषाका प्रसिद्ध व्याकरण शास्त्री पाणिनिको कर्मस्थान नेपाल रहेको दावी गर्दै उनले त्यतिबेला बीबीसीसँगको अन्तर्वार्तामा भनेका थिए– विभिन्न शास्त्रहरू र स्वयम् पतञ्जलीले लेखेका ग्रन्थको अध्ययनपश्चात् मैले मेरो दाबी सार्वजनिक गरेको हुँ । स्मरणीय छ, पाणिनिलाई इसापूर्व तीन हजार वर्ष र पतञ्जलीलाई दुई हजार वर्ष पूर्वका ठानिन्छ । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा गोल्दा भन्ने स्थान छ र त्यहाँ पलाँटे भन्ने ठाउँ छ । जुन पतञ्जलीबाट अपभ्रंश भएर बनेको भनिएको छ ।
पतञ्जलीलाई योगका प्रवर्तकका रूपमा मात्र चिनिन थालेकोमा उनले असहमति जनाउँदै भनेका थिए–मानव तन, मन र वचनले स्वस्थ र शुद्ध हुनुपर्छ । त्यसैले पतञ्जलिले शरीर स्वस्थ र शुद्ध राख्न आयुर्वेद, मन स्वस्थ र शुद्ध राख्न योग तथा वचनको शुद्धीकरणका लागि व्याकरणको अन्वेषण गरेका हुन् ।
शाष्त्रिय प्रमाणका आधारमा उनले नेपालको अर्घाखाँचीमा जन्मेको दावी गरेका थिए । उनले मानेका प्रमाणहरु यस प्रकार छन्–पतञ्जलीले आफू जन्मेको स्थानलाई गोनर्द भनेका छन् र गोनर्दमा जन्मिएका हुनाले नै उनलाई गोनर्दीय भनिएको हो । उनको पितालाई चरक आत्रेय भनिन्थ्यो भने आमाको नाम गोणिका थियो । गोणिका शब्द ‘गो’ शब्दको अपभ्रंश गोणीबाट विकसित भएको हो । पाणिनिले रचना गरेको अष्टाध्यायी व्याकरणको भाष्य लेख्ने काम पनि पतञ्जलीले गरेका हुन् । जसलाई व्याकरण महाभाष्य भनिन्छ ।

त्यस ग्रन्थमा उनले ‘म गोनर्दमा जन्मेको हुँ’ भनेकाले स्वभावैले गोनर्द कहाँ पर्छ भन्ने प्रश्न उठ्छ । यसमा अध्येताहरूबीच एकमत नभएपनि आत्रेय शाष्त्रका आधारमा निष्कर्षमा पुगेका थिए । यद्यपि गोनर्द कहाँ पर्छ भन्नेवारेमा पनि विवाद नभएको हैन । गोनर्द कसैले भारतको मध्यप्रदेशस्थित उज्जैनमा पर्छ भनेका छन् भने कसैले भारतकै कश्मीर, काशी र उत्तर प्रदेशस्थित गोण्डालाई मानेका छन् । तर शाष्त्रका व्याख्याताहरुले गोनर्द आर्यावत्र्तको प्राच्य देशमा पर्छ भन्ने व्याख्या गरेका छन् ।
उता पाणिनिले आफ्नो अष्टाध्यायीमा ‘एङ् प्राचां देशे’ भनेर सङ्केत गर्नु र यस सूत्रका व्याख्याकार वामन जयादित्यको काशीका व्याख्यामा पनि त्यसबारे स्पष्ट उल्लेख हुनु तथा अष्टाध्यायीका वृत्तिकार भट्टोजिदीक्षितले पनि त्यस सूत्रको समर्थन गर्नु र प्राचां देशको गोनर्दका सम्वन्धमा विभिन्न धर्मग्रन्थका आधारमा स्पष्ट गर्न सकिने भएकोले नेपालनै रहेको दावी गरिएको हो ।
शास्त्रहरू केलाउँदा गोनर्दलाई ‘गावहः नर्दन्ति यस्मिन् पर्वते’ अर्थात् गाईहरू डुक्रिने वा कराउने पर्वत भनिएको पाइन्छ । यस आधारमा अहिलेको अर्घाखाँची क्षेत्रमा गाईको संख्या धेरै भएको कुरा पनि विभिन्न शास्त्रबाट पुष्टी गरिएको आत्रेयले बताएका थिए । यो कसरी भने अयोध्याका राजा दशरथकी औरस पुत्री तथा अङ्गदेशका राजाकी पोष्यापुत्री राजकुमारी शान्ताको विवाह हाल मधुवनधाम कपिलवस्तुका युवा ऋषि ऋष्यशृङ्गसँग भएको र तिनले दाइजोमा असल जातका एक लाख गाई पाएका थिए । हो तिनै गाईका सन्ततिले नर्त्तनाचल परिक्षेत्र ढाके । त्यसको पहाडी भेगलाई गोपर्वत भन्न थालियो भने तराई भेगलाई गोशृ भनियो । गोपर्वतलाई पाणिनीले तपस्या गरेको स्थान मानिन्छ । जसलाई अहिले पनि पणेना भनिन्छ । यी सवै आधारमा गोनर्द त्यस क्षेत्रमै पर्छ भनेर अनुमान गरिको छ ।

गोनर्द संस्कृत शब्द भएपनि यसलाई पहाडमा बस्नेले जनबोलीमा गल्दा र तराईका अवधीभाषीहरूले जनबोलीमा गोण्डा भन्छन् । यही भाषाका आधारमा गोण्डा भनिएको हुन सक्ने देखिन्छ । यसरी पतञ्जली ल गोनर्दको पर्वतमा जन्मिएका हुनाले अहिलेको अवस्थामा अर्घाखाँचीको गोल्दा मात्रै त्यस्तो पर्वत रहेको पुष्टी हुने तर्क आत्रेयको थियो । यस तर्कका पछाडि कारण पनि छ । जस्तो कि भारतको उत्तरप्रदेशमा रहेको गोण्डामा पर्वत छैनन् । काशीमा गोनर्दबारे खासै केही पनि भेटिदैन र त्यो प्राच्य देशमा पनि पर्दैन । कश्मीरमा स्थानको नाम गोनर्द छैन । यद्यपि त्यहाँ गोनर्द नामका राजाले शासन गरेको इतिहास भने रहेको वताइन्छ ।
उज्जैनमा रहेको गोन्दरमहु भन्ने स्थान प्राच्य देशमा पर्दैन । पाश्चात्य संस्कृत विद्वान् मोनियर विलियम्सले पनि आफ्नो कोशमा गोनर्दलाई एउटा पर्वतको नाम भनेका रहेछन् । यी सबै तथ्यहरूका आधारमा पतञ्जली जन्मिएको गोनर्द भनेको हालको अर्खाखाँची र प्युठान जिल्लाको सङ्गम हो भनिएको छ । यद्यपि यसबारे थप अध्ययन गर्न जरुरी छ ।
यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दावी गर्दै आएका छन् । उनको विचारमा त्यो समय भारत भन्ने देश नै अस्तित्वमा थिएन । थिए भने स–साना राज्यहरु केवल रजौटाको रुपमा थिए । त्यस अर्थमा योगको उत्पत्ति नेपाल वा उत्तराखण्डमा भएको भन्न सकिन्छ ।

प्रम ओलीका अनुसार हाम्रा ऋषिमुनिलाई उद्धरण गर्ने प्रचलन नभएकोले पनि यस्ता समस्या आएका हुन् । महर्षि पतञ्जली मात्र हैन आयुर्वेदका महर्षि चरक जस्ता विद्वान पनि यहीँ जन्मिएको बताइरहन्छन् ओली ।
जेहोस् नेपाली भूमिमा जन्मेको योग आज विश्वव्यापीकरण भएको छ । संयुक्त राष्ट्रसंघले मान्यता प्रदान गरेपछि योग दिवस मनाउन थालिएको छ । रोग, शोक र चिन्ताको समाधान गर्ने एउटा साधन हुने अपेक्षा गरिएको छ । अहिले संसारभरि मानसिक तनाव, चिन्ता र निद्रा नलाग्ने समस्या बढ्दै गएका छन् जसका कारण एउटा हैन अनेक रोगको सिकार हुनु परेको छ । हुनपनि अवको दश वर्षमा संसारभरी मानसिक रोगको संख्या उल्लेख्यरुपले बढ्ने र यसको समाधान योग, ध्यान तथा प्राणायमबाट हुने अपेक्षा गरिएको छ । नयाँ नयाँ आविष्कारले मान्छे सहज हैन जटिलतर्फ गएको पाइन्छ । विज्ञानले जेजति तथ्य पत्ता लगाउँदै गएको छ, तिनको समाधान परम्परा र सस्कृतिमा आधारित हुनु अहिलेको मुख्य चुनौती हो । यसबाहेक धेरै जीवनशैलीजन्य रोगको निदानका लागि पनि योग अनिवार्य मान्न थालिँदै गएको छ ।

यस अर्थमा योग केवल व्यायाम मात्र नभई मन र शरीरको सम्पूर्ण अनुशासन हो जसले हामीलाई निरोगी, आनन्दित र स्वतन्त्र बनाउँछ । कसैकसैले योगलाई धर्मका रुपमा लिने गर्छन् तर यो गलत हो र सम्पूर्ण मानवताका लागि उपयोगी अभ्यास हो । योगले दैनिक जीवनमा स्वास्थ्य, समृद्धि र शान्ति दिन्छ । यो दिनले आम नागरिकमा हरेक दिन योग अभ्यास गरेर स्वस्थ्य रहनका लागि प्रेरणा प्रदान गरोस् । यही शुभकामना ।