अन्तर्राष्ट्रिय योग दिवस

मेचीकाली संवाददाता

७ असार २०८२, शनिबार
9 shares

तेजनारायण गैरे

योगको अर्थ ब्यापक छ । योगको सोझो अर्थ जोड्नु हो । योगले जीवात्मालाई परमात्मा सँग जोड्छ अथवा शरीर, मन र आत्मालाइ जोड्ने वा एकाकार बनाउने काम गर्दछ । योग शब्दको सामान्य अर्थ सम्बन्ध, मिलन र एकता पनि हो । शारीरिक तथा मानसिक स्वास्थ्य, ज्ञान, त्याग र बैराग्य सँग पनि योगको महत्वपूर्ण भूमिका रहन्छ । अहिले मानिसहरुलाई शारीरिक तथा मानसिक समस्याले सताएको छ । यस अर्थमा अहिले मनसँग शरीरको सम्बन्ध तथा जोडलाई नै योग भन्न सकिन्छ । यस अर्थमा शारीरिक रुपमा स्वस्थ्य, मानसिक रुपमा शान्त र आध्यात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई नै योग भनिन्छ ।

त्यसैले योगलाइ एउटा जीवनशैलीको रुपमा हेर्नुपर्छ र बनाउनुपर्छ । योगशुत्रका शुत्रधार पतञ्जली महर्षिको योग शुत्रअनुसार योगस्चित्तवृत्ति निरोधस् अर्थात चित्त वृत्तिको निरोध नै योग हो । योगको उदेश्य चित्त बृत्तिको निरोध हो अथवा चित्त र वृत्तिलाइ ठीक बाटोमा डोराउनु नै योग हो । बास्तबमा हाम्रो अस्थिर मनलाई स्थिर बनाउनु नै योग हो ।योग साधाना र अभ्यास हो जसको माध्यमले चित्त मन र इन्दियलाई बसमा राख्ने प्रयास गरिन्छ । यसरी चित्तमा आउने विकार रोक्नु नै योग हो । शरीर, इन्द्रिय, मन, बुद्धि र अहंकार माथि विजय प्राप्त गर्ने माध्यम नै योग हो । भगवत गीताअनुसार योगस् कर्मषु कौसलम् अर्थात् कर्मको कुसलता नै योग हो । उच्चकोटिको काम गर्ने क्षमता विकास गर्नु नै योग हो । शुख, शान्ति र आनन्दको जीवन यापन गर्नु पनि योग हो । रोगीका लागि योग चिकित्सा पद्धति हो, निरोगीका लागि जीवन पद्दति हो । योग भनेको अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सवलता, जीवनबाट ब्रहृमतर्फ, प्रत्यक्षबाट परोक्षतर्फ एवं सीमितबाट असीमितता तर्फको आध्यात्मिक यात्रा हो । योग शरीर, मन र आत्माको जागरूकताको कला भएकोले यसले हामीले हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्दछ ।
प्राचीन वैदिक कालमा हिमखण्डको काखमा तथा पवित्र स्थानमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादित अनुपम विद्या योग सम्पूर्ण मानको लागि वरदान शिद्ध भएको छ । योगका जन्मदाता तथा प्रतिपादक भगवान शिवलाई मानिन्छ । श्रीकृष्णको उपदेस गीतालाई योगशास्त्र भनिन्छ । योगदर्शनको व्याख्या सर्वप्रथम महर्षि पतञ्जलीले योग शुत्रमार्फत गरेको हुँदा उहालाई योग प्रणेता अथवा योगपिता भनिन्छ । महर्षि पतञ्जलिले अष्टांग योगको वर्णन गरेका छन्, जुन जीवनका समस्त दुसखबाट मुक्तिपाई स्वास्थ्य र आनन्दमय मानवीय जीवन यापनको लागि महत्वपूर्ण छ । यसरी प्राचीन कालमा प्रतिपादन गरेको योग, ध्यान र आयुर्वेदका माध्यमबाट शारीरिक आरोग्यता तथा मानसिक शान्ति यवं स्थिरता प्राप्त हुन्छ ।

यसरी प्रतिपादन भएको योग हाम्रो देश नेपालमा भने आमजनमानसमा पुग्न नसकी सीमित ब्यक्तिहरु अभ्यासमा भएको अवस्था थियो । नेपालका योग अभियन्ताहरुले योगलाई महत्व दिँदै पुनर्जागरणगरी योग दिवस मनाउन २०३८ माघ १ बाट सुरु गरिएको थियो । योग र ध्यानका लागि सूर्य उत्तरायण महत्वपूर्ण मानिने भएकोले उत्तरायण सुरुहुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गते योग दिवस मनाउन सुरु भएको हो । नेपालमा २०७२ माघ १ मा पहिलो राष्ट्रिय योग दिवस मनाइयो । नेपालमा मनाइने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय योग दिवस हाल आएर एउटा पर्वको रुपमा स्थापित भएको छ ।

मानव स्वास्थ्य हावा, पानी, माटो आदिको अनुकुल पर्यावरणसँग तथा उत्पादित स्वास्थ्य खाद्यपदार्थसँग सम्बन्धित छ । वातावरणीय प्रदुषण, माटोको क्षयीकरण यवं विषादी प्रयोगबाट उत्पादित खाद्य पदार्थको गुणस्तर घट्ने हुँदा कुपोषण वा रोग निम्ताउँछ । स्वास्थ्य खानाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र मानिसलाई वातावरण संरक्षणमा योगदान गर्न प्रेरित गर्छ । यसबाट के स्पस्ट हुन्छ भने हाम्रो स्वास्थ्य पृथ्वीको स्वास्थ्यसँग अन्तर सम्बन्धित छ ।
नेपालमा योगको दिन दिन चेतना र प्रभाव बढ्दै गएको छ । जसरी हाम्रो जीवनशैली बदिलिएको छ, हाम्रो स्वाथ्यमा पनि जोखिमता बढिरहेको, विभिन्न नयाँ नयाँ रोगको कारण महामारी आई मानवीय जीवन नै खतरामा परिरहेको, सरल जीवन यापनको खोजी तथा भौतिक शुख, सुविधाको खोजीमा भड्की रहेको जीवन पध्दतिको अवस्थामा योगलाइ आफ्नो दैनिक क्रियाकलापसँग जोड्न आवश्यक छ ।

योगको महत्व बढ़नुको कारण आधुनिक मनुष्यको मन तथा शरीर अत्याधिक तनाव, वायु प्रदूषण, अहिलेको रषायनिक पदार्थहरु प्रयोगबाट उत्पादित विषाक्तयुक्त खान पान तथा अत्यन्त ब्यस्थ जीवनशैलीका कारण रोगग्रस्त भैरहेको छ । आधुनिक जीवनसैली, खानपानका कारण चित्त या मन भट्कनुको साथै चञ्चल र अस्थिर भई राखेको हुँदा मधुमेह, उच्चरक्तचाँप, स्वासप्रश्वासजन्य यवं मुटु रोग, क्यानसर र नपुंसकता जस्ता घातक रोगको सिकार भएको अवस्था छ । यो परिस्थितमा शारीरिक रुपमा स्वास्थ्य, मानसिक रुपमा आनन्द दिने योग नै उच्चतम उपाय भएको हुँदा आज योग शब्द संसारभरि लोकप्रिय भएको छ । योग एउटा त्यस्तो अभ्यास हो जुन स्वाथ्यमा सरोकार राख्ने सबैका लागि वरदान शिद्ध भएको छ । योग शब्दलाइ कर्मयोग, ज्ञानयोग र ध्यान योगको अनेक रुपमा हिन्दु, बुद्ध र जैन संस्कृतिमा आइरहेको छ साथै अन्य धर्ममा आस्था राख्ने पनि यसलाई अंगिकार गर्ने क्रम बढिरहेको छ ।

योगको महत्व
आधुनिक जीवनले आधुनिक शिक्षा, सम्पत्ति, मान प्रतिष्ठा, भौतिक शुख प्राप्त गर्न सफल भए पनि स्वास्थ्य र आनन्द प्राप्त गर्न सकेको छैन । योगले शरीर, मन र आत्मालाइ एकाकार बनाइ मन शान्त र स्थिर रहन मद्दत गर्दछ । योगको निरन्तर अभ्यासले शारीरिक, मानसिक र अध्यामिक लाभ हुन्छ । यसबाट शारीरिक स्फुर्तिको जागरण हुन्छ र मन हल्का हुन्छ, मानसिक तनाव हट्छ, निद्रा राम्रो लाग्छ, पाचनक्रिया बलियो हुन्छ, अल्छिपन घट्छ तथा शरीर निरागी हुन्छ । योग कक्षामा स्वस्थ्यकर भोजन, आराम, प्रणायम, ध्यान पनि जोडिएको हुन्छ यसले शरिरको लचकता बढाइ शरीर शुद्धिमा मद्दत गर्छ । प्रणायम र ध्यानले आनन्दता र एकाग्रता प्राप्त गर्न सकिन्छ । नियमित र विधिपूर्वक गरिने योग अभ्यासले शरीर भित्र निष्क्रिय बन्दै गएका कोष तथा तन्तुहरुको पुनर्जागरणभै नयाँ कोषिका र तन्तुहरु निर्माण हुने शरीरका सम्पूर्ण अङ्गप्रत्यङ्गमा रक्तसञ्चार तथा प्राणवायु अक्सिजनको क्रिया बढ्नजाने हुँदा हर्मन, इन्जाइम आदि क्रियाशिल हुने भएकाले पाचन क्रिया बढ्ने र मुटु तथा फोक्सोको काम गर्ने क्षमता बृद्धिहुनगै उच्चरक्तचाँप, स्वासप्रस्वास रोगहरु न्यूनीकरण हुन्छन् ।

योग कसलाई आवश्यक पर्छ भन्नुभन्दा पनि कसलाई पर्दैन भन्ने मुख्य कुरा हो । बालकको र विद्यार्थीको शारीरिक र बौद्धिक विकासका लागि योग आवश्यक हुन्छ । वयस्क युवाका लागि योग कुलतबाट मुक्ति, एउटा संस्कारयुक्त बाटो अपनाउन योग चाहिन्छ । घरायसी कामकाजमा व्यस्त गृहिणी, कामकाजी मानिस, बृद्ध सबैलाइ शारीरिक स्वास्थ्य तथा मानसिक शान्तिको निम्ति योगले औषधीको काम गर्छ । महिलाको सशक्तिकरण गरी राज्यको मूलधारमा पु¥याउन पनि योगको महत्वपूर्ण भूमिका हुन जान्छ । गाउघरमा कामकाजमा व्यस्थ महिलाहरु घाँस, दाउरा, खेतिपाती जन्य कृषि कार्य, भान्सा आदिको काम गर्ने, वरपर हिड्डुल गर्ने गर्दा थाहपाइनपाइ योगका आसनहरुको गररहेका हुन्छन् जसबाट शारीरिक रुपमा स्वस्थ हुन मद्दत गर्छ । तर सहरीया एवं अपिस, बैक, विद्यालय, लामो समय उभिएर तथा कुर्चीमा बसी काम गर्ने कतिपय महिला जीउ दुख्यो, खुट्टा हात कट्कट् खायो, ढाड दुख्यो भन्दै अस्पताल जाने क्यलसियम, भिटामिन, अनेक पेनकिलर ट्यावलेट प्रयोग गर्ने गर्छन् । यी समस्यालगायत महिनावारीको बेला पेट दुखाइ, गर्भावस्थामा स्वास्थ्य रहन, प्रसव बेथा हटाउन र मोटापा कम गर्न नियमित योग गर्नु पर्छ । योगको नियमित अभ्यास गर्ने, स्वस्थकर सन्तुलित खाना खाने, मैदाबाट बनेका खाद्यपदार्थ, चिसो पेय पदार्थ, बढी चिल्लो गुलियो नुनिलो पदार्थ, जङ्कफुडलगायत शरीरलाई हानीकारक खाद्य पदार्थ नखाने गर्न सकेमा भने शरीर स्वास्थ्य हुने हुँदा औषधीविना दीर्घ जीवन बाँच्न सकिन्छ ।

योग सर्वसुलभ छ र सवैको पहुचमा छ । अरु अभ्यासको तुलनामा योगमा कम शक्ति खर्च हुन्छ । योगले सर्वाङ्गीण शरीरका अंगका प्रत्यक्ष असर पार्ने हुँदा योगपश्चात पुनर्ताजकीको अनुभूति हुन्छ । योगले मानसिक तनाव कम गर्दछ । शरीरमा हर्मोन्स तथा इन्जाइमको सन्तुलन मिलाउन र शरीरलाई सक्रिय एवं ऊर्जावान् बनाउन योगले ठूलो भूमिका खेल्छ ।
अन्ततः योग शारीरिक, मानसिक र अध्यात्मिक अभ्यासको समिश्रण हो । मानव आफ्नो जीवन को श्रेष्ठताको लागी योग नै उत्तम माध्यम भएकाले यसको साथ आगाडि बढ्न आवश्यक छ । योग कुनै व्यक्ति विशेषको नभएर पूरै मानव जातीको लागि महत्वपूर्ण छ । यसको नियमित अभ्यास गर्नाले महामारी तथा अन्य रोगको विरुद्ध लड्न शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । रोगीका लागी योग चिकित्सा पद्दती हो भने निरोगीका लागी जीवन पद्धति हो तसर्थ समग्रमा जीवन र जगतमा शुख र शान्तिसँग बाच्ने कलाको नाम योग हो भन्दा फरक नहोला । आत्मिक जोड र विकासका लागि योग सर्वोत्तम पद्धति हो तसर्थ योगलाई जीवन पद्धति बनाउनुपर्छ ।

अनुशासन, इमान्दारिता खस्किएको हाम्रो देश नेपालको घर आगनमा ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाइरहदा हामीमा रहेको विकृति, विसंगति, राग, वैमनस्य, घमण्ड, छलछाम आदिमा केही हदसम्म भएपनि कमी आइ समाजिक, आर्थिक, राजनैतिक, सांकृतिक, सांगठनिक अनुशासन कायम गराउन सक्षम देशभक्तिले ओतपोत भएको योग्य, इमान्दार, अग्रगामी, स्वस्थ नागरिक बन्न सहयोग पुग्ने छ भन्ने आशा राखौँ । योगलाई जीवन दर्शनको रुपमा विकास गरी नेपाललाई योगको उर्वरभूमिको रुपमा आन्तरिक र अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन हरेक क्षेत्रबाट सहयोग गरौं । योगको अभ्यास हामी भोलिबाट हैन आजैबाट सुरु गरौँ । दैनिक गरौं योग, रहौँ निरोग । हाम्रो जीवन योगमय तथा योग जीवनको अंग बनोस् । ११ औं अन्तर्रांष्ट्रिय योग दिवस २०२५ को सबैमा शुभकामना । (लेखकः योग शिक्षक तथा नेपाल सरकारका सेवा निवृत्त बरिष्ठ कृषि अधिकृत हुनुहुन्छ ।)