पशु आहारा र माछाको दानामा परनिर्भरता

वर्षेनी हजारौं टनमा भइरहेको आयातको तथ्याङ्क हेर्दा नेपालको पशुपालन र मत्स्यपालन क्षेत्र विदेशी फिड र सप्लिमेन्टमा पूर्ण निर्भर बन्दै गइरहेको छ

मेचीकाली संवाददाता

१७ असार २०८२, मंगलवार
187 shares

अमृत गिरी
बुटवल। दाङ तुलसीपुरका दिनेश डाँगीले सुरुमा निर्माण व्यवसायको काम गरे । करोडौं रकम घाटामा गयो । त्यसबाट पार लागेन र उनी पशुपालनमा लागे । भारतबाट मुर्राभैंसी र तराईबाट केही जर्सी गाई किनेर पशुपालन सुरु गरे । घरघरमा दुध पु¥याउन थाले । भनेजति दुध दिएनन् र उत्पादन भएजतिको दुध पनि सबै नबिकेपछि उनी खिन्न भए । उनलाई राम्रो दाना खुवाउन भनेर कुनै पशुपालनमा जानकार विज्ञले सुझाए । उनी थिए बुटवलका वरिष्ठ पशु चिकित्सक डा.भक्त निउरे । राम्रो पेलेट दाना कहाँ पाइन्छ भन्दै खोजिरहेका डाँगीले नेपालमा त्यस्तो दाना पाएनन् । भारतबाट मगाएर उक्त दाना खुवाएपछि गाईभैंसीले दोब्बर दुध बढाए । तर, दुध बिकेन । गाईको दुध त झनै बिक्दैन्थ्यो । त्यसपछि उनी दानाको व्यापारतिर लागे । यो करिब ११ वर्षअघिको कुरा हो ।

डाँगी जब दानाको व्यापारका लागे त्यसपछि उनलाई सुरुमा गरेका सबै काम फिक्का लागे, पछुतो भयो–ढिलो सुरु गरेकोमा । अहिले उनले मुलुकका धेरैजसो ठाउँमा दानाको कारोबार गर्छन् । उनले भारतबाट आयात गर्दै देशका मुख्यमुख्य स्थानमा बिक्री डिपो राखेका छन् ।

यहीँबिचमा उनले नेपालमै दाना उद्योग खोल्ने भन्दै बाँके जिल्लाको कोहलपुर क्षेत्रमा थुप्रै जग्गा जोडे । छोरालाई त्यस्तै विषयको अध्ययन गराए । तर, उद्योगका लागि चाहिने कच्चा पदार्थ स्वदेशमा जुट्ने भएन । कच्चा पदार्थ विदेशबाट ल्याएर यहाँ उद्योग खोल्दा त्यसबाट हुने उत्पादनलाई बजारमा पठाउँदा लागत धेरै लाग्ने भयो । उनले त्यसलाई थाती राखे र दानाको आयात गरी विक्रीवितरणमै केन्द्रित रहे । उनको नन्दन फिड्स प्रालि मुलुकको ठूलो दाना सप्लायर्समध्येमा पर्छ । ‘किसान हुँदै दाना व्यापारी बन्दासम्मका थुप्रै रामकहानी छन्, यहाँसम्म आइपुग्दाका हण्डर र ठक्कर भनिसाध्य छैन,’ डाँगी भन्छन्,‘लहडले पशुपालन गर्नेभन्दा पनि विज्ञहरुको समन्वय र सल्लाहले मात्रै गर्नुपर्ने रहेछ तर यहाँ त देखासिकी ज्यादा छ ।’ डाँगीले नेपालमा पशुपन्छी र माछाका लागि आवश्यक दाना लगभग सबैजसो आयातबाटै धानिएको बताए । ‘उद्योग स्थापना गरेर थेग्न सक्ने अवस्थै छैन, बरु आयातबाटै चल्नसक्छ,’ डाँगीको भनाइ छ । डाँगीले मात्रै वार्षिक झण्डै तीन हजार टन भन्दा धेरै पशु र माछाको दानाको आयात गर्दै आएका छन् ।

उनले आयात गर्ने दाना सबै भारतमा उत्पादन हुन्छ । भारतमा जापानी कम्पनीले उत्पादन गरेको दानालाई उनले नेपालमा ल्याएर सबैतिर सप्लाई गर्दा रहेछन् । त्यसका अलवा बनारस विश्वविद्यालयले नयाँ खोज गर्दै ‘पञ्चामृत पोषक’ नामको दाना उद्योग सञ्चालनमा ल्याएको रहेछ । किसानलाई परीक्षणका लागि पठाएको सबैले मन पराएको उनको दाबी छ ।
डाँगीले जस्तै दाना आयात गरेर बेच्ने अरु पनि छन् । कपिलवस्तुका नारायण बेलबासेले पनि वार्षिक १५ सय.टनको हाराहारीमा माछाको दाना आयात गर्दै आएका छन् । उनले सुरुमा आयात गर्दा यसक्षेत्रको माग २०० सय टनको हाराहारीमा थियो । तर, अहिले माग बढेर दुई हजार टनभन्दा माथि पुगिसकेको छ । ग्रिन फिल्ड एग्रो सप्लायर्स नामको कम्पनीबाट उनले आयातित झण्डै दशथरी ब्राण्डका दाना नेपालका विभिन्न क्षेत्रमा सप्लाई गर्दै आएका छन् । पानीमा डुब्ने र तैरिने दुई प्रकारका दाना छन् । डुब्ने दानाको उत्पादन यहीँ पनि हुन्छ तर माछापालकले तैरिने दानाबाटै फाइदा बढि हुने भएकाले त्यस्तै खोज्छन् ।
नेपालमा पशुपालन तथा कुखुरा पालन उद्योगको विस्तारसँगै पशु र माछाजन्य आहाराको माग पनि तीव्र गतिमा बढिरहेको छ । घरेलु उत्पादन नगन्य रहेको र किसानले पनि विदेशी नै रोज्न थाल्दा ठूलो परिमाणमा विदेशी दानाको आयात भइरहेको छ । एकप्रकारले पशु र माछाको दानामा नेपाल विदेशी बजारमा निर्भर छ । आयातको तथ्याङ्क हेर्दा नेपालको पशुपालन र मत्स्यपालन क्षेत्र विदेशी फिड र सप्लिमेन्टमा पूर्ण निर्भर बन्दै गइरहेको छ ।

पछिल्लो पाँच वर्षको तथ्याङ्कले देखाउँछ कि नेपालमा पशुपालन तथा मत्स्यपालनका लागि आवश्यक पर्ने पशु आहारा र माछाको दानाको आयात तीव्र रुपमा वृद्धि हुँदै गएको छ । कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने राष्ट्रिय नीतिको बीचमा आयातमा यस्तो निर्भरता चिन्ताजनक विषय बनेको छ ।

वर्षेनी हजारौं टन आयात
नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गतको भन्सार विभागले सार्वजनिक गरेको केही समयअघिको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०८१/८२ को श्रावणदेखि चैत (पहिलो ९ महिनाको अवधिमा) पशुपन्छीजन्य आहाराका सामग्रीहरू झण्डै हजारौं टन परिमाणमा आयात गरिएका छन् । जसको मूल्य करोडौं रुपैयाँ बराबरको छ । वार्षिक कुल आयात तथ्याङ्कअनुसार नेपालले कफी हुक्स, माछाको दाना, सोयाबीन केक तथा पेलेट दानालगायतका पशुपन्छी आहाराहरू गरी हजारौं टन आहाराहरू आयात गरेको देखिन्छ ।

पशुजन्य उत्पादनसँग सम्बन्धित सामग्रीहरूमध्ये ‘फिश सप्लिमेन्ट’ र ‘माछाको दाना’ को आयातमा विशेष वृद्धि देखिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा १२२२.७३ मेट्रिक टन फिश सप्लिमेन्ट आयात गरिएको थियो भने २०७९/०८० मा यो मात्रा ३६७७.३५ मेट्रिक टनमा पुगेको छ । हालसम्मको तथ्याङ्कअनुसार २०७९/८० सम्म जम्मा ३०५२.३५ मेट्रिक टन फिश सप्लिमेन्ट नेपाल भित्रिएको छ ।
त्यसैगरी माछाको दाना (फिश फिड) को आयातमा समेत उल्लेखनीय वृद्धि भएको छ । २०७८/७९ मा ३०८.४२ मेट्रिक टन मात्र आयात भएको माछाको दाना २०७९/८० मा ५६१.०१ मेट्रिक टन पुगेको छ । पछिल्लो पाँच वर्षमा कुल ७६९.४३ मेट्रिक टन माछाको दाना नेपाल आयात गरिएको तथ्याङ्कले देखाउँछ ।

कृषि तथा पशुपालन क्षेत्रमा पर्याप्त वैज्ञानिक अनुसन्धान, घाँस उत्पादन प्रवद्र्धन, स्वदेशी फिड उद्योगको विकास तथा किसानलाई प्रविधि हस्तान्तरण गर्न नसक्दा आयात निर्भरता झनै बढेको वरिष्ठ पशु चिकित्सक भक्त निउरेको भनाइ छ ।
स्थानीय फिड उद्योगको प्रवद्र्धन, पशु आहारा उत्पादनका लागि आवश्यक कच्चा पदार्थमा अनुदान र अनुसन्धानमा लगानी बढाउन जरुरी रहेको रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाको भनाइ छ । नीति तथा व्यवहारमा सुधार नगरे आयात बढ्दो क्रममा रहनेछ, जुन आर्थिक सन्तुलन र कृषिमा आत्मनिर्भरताको उद्देश्यसँग मेल खाने छैन ।’ संघका अध्यक्ष सापकोटा भन्छन् ।

भारत र भियतनामबाट पनि आउँछ माछा
नेपालमा दाना मात्रै होइन, विदेशबाट माछाको समेत आयात हुँदै आएको छ । विगत पाँच वर्षमा झन्डै ५० हजार मेट्रिक टन खाने माछा आयात गरिएको छ, जसमा सन् २०७७/७८ मा २२२२.५७ मेट्रिक टन र २०७८/७९ मा १५८८.५८ मेट्रिक टन थियो । अझ खुला सीमानाको दुरुपयोग गर्दै भारतबाट लुकिछिपी आउने माछाको संख्या त धेरै नै रहेको छ । सीमाक्षेत्रमा पोखरी नै खनेर भारतबाट तस्करी गरी ल्याएका माछा त्यहीँ राख्ने र नेपालीभन्दै बेच्ने गरेको माछापालकहरुको गुनासो छ । बैखी नामको माछालाई पानीबाट बाहिर निकालेर झण्डै १५ मिनेटसम्म बोरामै प्याक गरेपनि जीवितै राख्न सकिने भएकाले त्यसप्रकारका माछाको तस्करी भइरहेको किसानहरुको दाबी छ । भियतनामलगायतका समुन्द्री मुलुकबाट त माछाका तयारी टुक्राहरु नै प्याकिङ गरेर आयात भइरहेको छ ।