सिद्धबाबा सुरुङमार्ग: मुख्य टनेलमा सकियो ‘इन्भर्ट’को काम

मेचीकाली संवाददाता

२१ असार २०८२, शनिबार
10 shares

रमेश पराजुली

बुटवल । बुटवल–पाल्पा सडकखण्डको जोखिमयुक्त सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङमार्गको मुख्य सुरुङमा ‘इन्भर्ट’ को काम पूरा भएको छ । ‘ब्रेक थ्रू’पछिको कामले तीव्रता लिएसँगै भित्री कामको मुख्य भाग पनि पूरा भएको छ । सुरुङमार्गको मुख्य सुरुङमा ‘ब्रेक थ्रु’ सफलतापूर्वक सम्पन्न भइसकेपछि निर्माण कार्य उल्लेखनीय रूपमा अघि बढेको हो ।

मुख्य सुरुङको प्रगति
मुख्य टनेलको कुल एक हजार ८९ मिटरमध्ये इन्भर्टको काम सकेर लाइनिङको एक हजार १२६ मिटरमध्ये ८३४ मिटर काम सकिएको आयोजनाका कार्यालय प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए । हालसम्म उत्तरतर्फ ३८८ मिटर र दक्षिणतर्फ ४४६ मिटर लाइनिङको काम सकिएको छ । मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गएको माघ ११ मा सम्पन्न गरिएको थियो । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको अहिलेसम्मको समग्र भौतिक प्रगति ५६.०३ प्रतिशत पुगेको छ । त्यस्तै, वित्तीय प्रगति ५०.२४ प्रतिशत रहेको छ ।

यस्तै बाइपास–१ र बाइपास–३ मा पनि ‘इन्भर्ट र लाइनिङ’को काम भइरहेको छ । १५१ मिटर लम्बाईको बाइपास–१ मा इन्भर्टको १४५ मिटर र लाइनिङको १२४ मिटर काम भइसकेको छ । १६१ मिटर लम्बाईको बाइपास–२ मा अहिलेसम्म ‘इन्भर्ट र लाइनिङ’को काम सुरु भएको छैन । १३० मिटर लम्बाईको बाइपास–३ मा इन्र्भटको १२५ मिटर र लाइनिङको ३० मिटर काम भइसकेको योजना प्रमुख अधिकारीले बताए । उनका अनुसार अहिले दैनिक ६० देखि ७० जना प्राविधिकले काम गरिरहेका छन् ।
यस्तैगरी स्लोप प्रोटेक्सनको दक्षिणतर्फ २ हजार ३०० मध्ये एक हजार ४९५, उत्तरतर्फ एक हजार १०० मध्ये ४९५, एमआरवान माउन्टेन साइड ९ हजार ६२० मध्ये ४८१, एमआरटु माउन्टेन साइट ७ हजार ४४० मध्ये १४१४ स्वायर मिटर काम भएको आयोजनाले जनाएको छ । यस्तै एमआरवान रिभर साइड र एमआरटु रिभर साइडतर्फ काम सुरु भएको छैन । अब भित्तामा कङ्क्रेटिङ गर्ने, सडक निर्माण, सुरुङभित्र ढलान, भेन्टिलेसन, विद्युत् जडान, अक्सिजन वारपार, सुरक्षाका उपाय, आगो निभाउने यन्त्र जडानलगायत काम गरिने आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले बताइन् । त्यसपछि सुरुङमार्गको उत्तर र दक्षिणपट्टि हेलिप्याड निर्माणको काम सुरु हुने उनको भनाइ छ ।

सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरबाट पाल्पाको दोभानसम्म पहिरोको जोखिमयुक्त क्षेत्र मानिन्छ । कुल एक हजार १२६ मिटर लामो सुरुङमार्ग विसं. २०७९ देखि निर्माण सुरु भएको हो । यो आयोजना निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीइसी) ले गरिरहेको छ । यो आयोजनाको विसं २०७८ साल फागुनमा सीएससीइसीसँग ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । ठेक्का सर्तअनुसार निर्माण सुरु भएको ५ वर्षभित्र अर्थात् विसं २०८३ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने छ । यसको निर्माणपछि समेत सोही कम्पनीले पाँच वर्षसम्म मर्मतको काम गरिदिनुपर्ने सर्त छ ।

स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअप्रेशन (एसडिसी) ले २०७५ सालमा यो क्षेत्रको सर्वेक्षण गरी सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरेको थियो । उक्त कम्पनीले सिद्धार्थ राजमार्गको चिडियाखोला–बर्तुङ सडकखण्डको सिद्धबाबादेखि दोभान प्रहरी चौकीसम्मको दुई हजार ७०० मिटर सडकक्षेत्र उच्च जोखिमयुक्त रहेको प्रतिवेदन पेश गरेको थियो । विशाल चट्टान तथा पहिरोयुक्त क्षेत्रमा सुरुङको आवश्यकता ठहर गर्दै निर्माण सुरु गरिएको हो ।

सुरुङको परिकल्पना र साकार पार्ने काममा सुरुदेखि नै अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल संलग्न छन् । उनले अगाडि बढाएका मेघा प्रोजेक्टमध्येको यो एउटा सफल परियोजना हो । संघीय सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुरुङमार्गका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको छ । स्थानियवासी र सरोकारवालाहरूले बजेट प्राप्त भएपछि निर्माण कार्य समयमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।

यो सडकलाई तराई र पहाड जोड्ने लाइफलाइन सडक मानिन्छ । यो सडक खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ तथा म्याग्दीसम्म सवारीसाधान आवतजावत गर्छन् । सिद्धार्थ राजमार्गअन्तर्गतको यो खण्ड तराई र पहाड जोड्ने महत्त्वपूर्ण ‘लाइफलाइन सडक’ हो । यसले पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँची, बागलुङ, कास्की र म्याग्दी जस्ता जिल्लालाई तराईसँग जोड्दछ । सुरुङमार्गको निर्माण सम्पन्न भएसँगै वर्षभरि पहिरोको त्रास विना सुरक्षित यात्राको सुनिश्चितता हुने अपेक्षा गरिएको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठको भनाइ छ । आयोजनाले अबको एक वर्षभित्र सवारीसाधन सञ्चालन हुने लक्ष्य लिएको छ । यसबाट पहिरोपीडित क्षेत्रका यात्रुहरूलाई ठूलो राहत पुग्नेछ ।