स्वच्छता र पुर्खा सम्मानको पर्व ऋषि पञ्चमी

मेचीकाली संवाददाता

२५ भाद्र २०७८, शुक्रबार
134 shares

घनश्याम कोइराला
भदौ शक्ल द्वितीयाको दिन रसिलो, पोसिलो स्वादिष्ट दरसँगै सुरु हुने हरितालिका तीज भदौ शुक्ल पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि सकिन्छ । तीजको व्रत अविवाहिताहरूले असल पति प्राप्तिको कामना तथा विवाहिताहरूले पतिको सुस्वास्थ्य र दीर्घायूको कामना गरेर गर्दछन् ।

ऋषि पञ्चमी व्रत रजस्वला हुँदा छोइछाइको प्रायश्चित्तका लागि गरिने व्रत हो । गणनाअनुसार पञ्चमी भनेको सोह्र तिथिमध्ये पाँचौँ तिथि हो । पञ्चमी भनेको पाँचको समूह पनि हो । हाम्रो शरीर पाञ्चभौतिक अर्थात् वायु, तेज, आकाश, पृथ्वी र जलसहितको छ । ज्ञानेन्द्रिय पाँच छन् । कर्मेन्दिय पाँच छन् । सुन्ने, सँुघ्ने, स्पर्श थाहा पाउने, स्वाद थाहा पाउने, देख्ने गरी तन्मात्रा पनि पाँच छन् । पञ्चमीको व्रतसँग यिनको शुद्धिको प्रसंग पनि जोडिएको देखिन्छ । मानिस स्वस्थ हुन इन्द्रिय र तन्मात्रा दुरुस्त हुनुपर्दछ । यिनैको असन्तुलन नै अस्वस्थता हो ।

हाम्रा पर्वहरू मानिसका यिनै विषयसँगै सकारात्मक मनोविज्ञानका लागि मनाइने गरेको देखिन्छ । ज्ञानेन्द्रिय, कर्मेन्द्रिय, तन्मात्रा र भौतिक तत्वहरूको असन्तुलन भए मानिस पूर्ण स्वस्थ हुँदैन । मानिसमा समानता, सद्भाव, सम्मान र सकारात्मक सोच विकास हुन र जीवनमा यिनको अवलम्बन गर्न यस प्रकारको मनोविज्ञान आवश्यक हुन्छ । यसका लागि आहार, विहार, आचार, विचारमा सन्तुलन हुनुपर्दछ । हाम्रा पर्वहरूले दिने सन्देश यिनै हुन् । भेटघाट, खानपिन, पहिरन, नाचगान आदि क्रियाकलाप यिनैलाई ध्यान दिएर गरिनु पर्दछ । तर, हामी आपूm बिगाछौँ अनि, पुर्खा, परम्परा र संस्कृतिका आधारहरूलाई दोष दिन्छौँ ।

तीजको कथा प्रसंग अनुसार महादेव, शिवलाई मन पराएकी पार्वतीको विवाह उनका पिता पर्वतराज हिमालयले विष्णुसँग गरिदिने निधो गरेका थिए । महादेवसँग नै विवाह गर्ने दृढ संकल्प गरेकी पार्वतीलाई उनका साथीहरूले केही समय लुकाएर राखेका थिए । यही साथीहरूबाट लुकाइएको घटना–‘हरिता’ अपहरण गरिएकी वा लुकाइएकी, ‘आलिका’ साथीहरूद्वारा यसरी यो शब्द बनेको हो । मान्यताअनुसार त्यो दिन भदौ शुक्ल पक्षको तृतीया तिथि परेको थियो, तृतीयाकै अपभ्रंश तीज हो भन्ने भनाइ छ ।

त्यसैदिन लुकेकै ठाउँमा महादेव र पार्वतीको भेट भएको थियो । यस भेटघाटपछि पार्वती घर गएर आफ्ना पितासँग आपूmले महादेवसँग नै विवाह गर्ने दृढ अठोट व्यक्त गरेकी थिइन् । उनको यो दृढताका कारण विष्णु र हिमालयराज पर्वतले समेत पार्वतीको विवाह महादेवसँग गर्न सहमत भएका थिए । यसैको सम्झनामा महिलाहरूले यस दिन महादेव र पार्वतीको पूजा गरी व्रत बस्ने गर्दछन् । महादेव र पार्वतीको पूजा आराधना गरिने पर्व महिला र पुरुष दुवैले गर्न नमिल्ने कुनै शास्त्रीय प्रमाण भेटिँदैन । पार्वती (महिला) को संकल्प पूरा भएको अर्थमा यसलाई पुरुषहरूले त्यति महत्व नदिएको पनि हुन सक्दछ । तर, महादेवले पनि पार्वती विवाह गर्ने सफलता प्राप्त गरेको खुसीमा पुरुषले पनि समान रूपमा महादेव–पार्वतीको पूजा गर्न नहुने होइन । यसोगर्दा नै महिला–पुरुष समानताको पक्ष बलियो हुने देखिन्छ ।

तीजकै निरन्तरताको रूपमा देखिने ऋषि पञ्चमीको खास प्रसंग भने भिन्न छ । चलन चल्तीमा सँगसँगै जस्तो देखिए पनि यसको सम्बन्ध तीजसँग भएको देखिँदैन । ऋषि पञ्चमी तीजको निरन्तरता होइन । यो महिलाहरूको स्वच्छतासँग र प्रायश्चित्तसँग सम्बन्धित देखिन्छ । शास्त्रीय प्रावधान भने सप्तर्षि पूजा पति–दुवैले गर्नु भन्ने छ । रजस्वलाजन्य अशुद्धिको विषय भएकोले महिलाहरूले मात्र गर्ने चलन चलेको हुन सक्ने अनुमान गर्न सकिन्छ । श्रीमद्भागवत महापुराणमा वर्णन गरिएको कथा (छैठौँ स्कन्धको नवौँ अध्याय) अनुसार स्वर्ग र देवताका राजा इन्द्रले विश्वरूप भन्ने शक्तिशाली व्यक्तिको हत्या गरे । त्यस ब्रह्महत्याको पापबाट मुक्ति पाउन उनको पापलाई पृथ्वी, जल, वृक्ष र स्त्रीमा बाँडेको प्रसंग छ । त्यहाँ भनिएको छ–

ब्रह्महत्यामञ्जलिना जग्राह यदपिश्वरः । संवत्सरान्ते तमघं भूतानां स विशुद्धये अर्थात् राजा भए पनि इन्द्रले हात जोडेर स्वीकार गरेको त्यस ब्रह्महत्याको पापलाई एक वर्षपछि शुद्धिका लागि पृथ्वी, जल, वृक्ष र स्त्रीमा चार भाग लगाए । पृथ्वीमा मरुभूमिको रूपमा यो देखिन्छ । वृक्षमा काट्दा आउने चोपका रूपमा देखिन्छ । जलमा फोका र फिँजका रूपमा देखिन्छ ।

स्त्रीमा परेको भागका सन्दर्भमा भनिएको छ–
शश्वत्कामवरेणांहस्तुरीयं जगृहु स्त्रियः । रजोरूपेण तास्वंहो मासि मासि प्रदृश्यते अर्थात् सधै काममा सक्षम स्त्रीले स्वीकार गरेको चौथो अंश पाप प्रत्येक महिना रजका रूपमा देखिन्छ । (श्रीमद्भागवतमहापुराण, षष्ठम स्कन्ध, नवम अध्याय, श्लोक ९, गुडविल प्रकाशक तथा वितरक)
यसरी प्रत्येक महिना महिला रजस्वला हुँदा देखिने रजलाई इन्द्रले गरेको पाप (अपराध) को रूपमा बताइएको छ । यसबाट सिंगो महिला नै अपवित्र हुने विषय नभई देखिने, बग्ने रजमात्र दूषित हुने स्पष्ट हुन्छ । अरुले गरेको अपराधको भारी अरुलाई बोकाउने विषय न्यायसंगत हुँदैन । शास्त्र भनेको विज्ञान हो र विज्ञान कहिल्यै अन्यायी हुँदैन । अर्को, त्यस रजको उपयुक्त व्यवस्थापन र शारीरिक सरसफाइ र स्वच्छताको विषय भएको बुझिन्छ ।

मानव समाजलाई सुव्यस्थित बनाउन विभिन्न समयमा विभिन्न नियमहरू बनाइए । ती नियमहरू देश, काल, परिस्थितिअनुसारका बनाइए । नियमहरू कडा बनाइए । राज्यको उत्पत्ति नभइसकेको हुनाले ठूलो प्रकृतिका दण्डसजाय नर्क जाने र त्यहाँ यातना भोग्नुपर्ने, अर्को जन्ममा अझ बढी कष्ट भोग्नुपर्ने र अपमानित हुनुपर्ने विषय राखिएको देखिन्छ ।

केही प्रश्न त फेरि पनि उठ्छ–के इन्द्रले विश्वरूपलाई मार्नुअघि महिलाहरू रजस्वला नै हुँदैन थिए ? यदि यस्तो हो भने प्राकृतिक प्रजनन कसरी हुन्थ्यो ? कहीँ, कसैमा कुनै अपवाद घटनाबाहेक यस्तो सम्भव छैन । यसबाट के थाहा हुन आउँछ भने मानिसले महिला रजस्वला हुने कुरा पछिसम्म पनि थाहा पाएको रहेनछ । थाहा नपाउनु अपराध होइन, तर अज्ञान त हो । कुनै समयको कुनै घटनाविशेषसँग जोडिएको विषयलाई शाश्वत बनाउनु सही हुन सक्दैन । अज्ञानको निरन्तरतालाई ज्ञानले भंग गरिदिन्छ । अज्ञान बोकेर हिँड्नु अन्धविश्वास हो ।

रजस्वला एउटा विशेष अवस्था हो । यसले महिलाको यौवन आगमनको संकेत गर्दछ । प्रजननका लागि तयार हुने कुराको संकेत गर्दछ । शरीरबाट नियमित रूपमा रजको रूपमा रगत बग्नु र त्यसक्रममा महिलाहरूमा भित्रैदेखि असहज हुनु ख्याल गर्नुपर्ने पक्ष हुन् । कतिपय महिलाहरूमा महिनावारीका बेलामा निकै पीडासमेत हुने गर्दछ । यी कारणले त्यस्तो अवस्थामा गह्रौँ काम नगर्नु, हिँडडुल नगर्नु, खानपान र सरसफाइमा ध्यान दिनु आदिका लागि विशेष ध्यान दिन छुनसम्म नहुने (नछुने) गरी व्यवस्थापन गर्नु गलत होइन । सामाजिक कार्यविभाजनका हिसाबले घरधन्दा, भान्सा, पूजा आदिबाट समेत अलग हुनु पनि गलत होइन । पन्छिने, पर सर्ने भन्ने विषयको खास अर्थ छ, तर अपराधीलाईझैँ सिंगो मानिसलाई नै अशुद्ध, अपवित्र भनेर परसार्नु विज्ञानसम्मत छैन ।

पूर्वीय संस्कृतिमा प्रायः मानककै रूपमा लिइने चाणक्य नीतिमा यस्तो लेखिएको पाइन्छ— ‘भष्मना शुध्यते कांस्यं ताम्रमम्लेन शुध्यति । रजसा शुध्यते नारी नदी वेगेन शुध्यति अर्थात् खरानीले माझ्नाले काँसको भाँडा शुद्ध हुन्छ । तामाको भाँडा अमिलोले माझ्दा शुद्ध हुन्छ । रजस्वला भएर नारी शुद्ध हुन्छन् । बग्नाले नदी शुद्ध हुन्छ ।’ यसरी रजस्वला हुने विषयलाई शुद्धीकरण हुने कुरासँग जोडिएको छ । रजोवती भएकी सिंगो महिला नै अशुद्ध हुने विषय शास्त्रसम्मत छैन । गरुडपुराणमा त महिला सधै शुद्ध रहने कुरा उल्लेख गरिएको छ । त्यो यस प्रकार छ–‘सोम शौचं ददौ तासां गन्धर्वश्च शुभां गिरम् । पावकः सर्वदा मेध्यो मेध्यो वै योषितो ह्यतः अर्थात् सोमले पवित्रता, गन्धर्वले सुन्दर वाणि र अग्निले पवित्रता दिएका हुनाले स्त्रीहरू सधै नै चोखा हुन्छन् ।’ (श्री गरुडपुराणम् १९÷९५) महिलाहरू कहिल्यै अपवित्र नहुने, सदा पवित्र रहने प्रमाणको रूपमा लिन सकिन्छ ।

भदौको शुक्ल पञ्चमीलाई चलन चल्तीमा तीज पञ्चमी भनिएको भए तापनि मूलतः यो ऋषि पञ्चमी हो । ऋषि भनेका मानव पुर्खा हुन् । यद्यपि, गोत्र प्रवर्तक (वंश विस्तार गरेका) ऋषिहरू धेरै छन् । तर, ऋषि पञ्चमीमा पूजा गरिने ऋषि सप्त ऋषि हुन् । सप्त ऋषि भनेको सात जना ऋषिहरूको समूह हो । यी सातऋषिहरू हरेक कल्पमा फेरिइरहन्छन् । तर, विष्णु पुराणका अनुसार वशिष्ठ, कस्यप, अत्रि, जमदग्नि, गौतम, विश्वामित्र, भारद्वाजको समूहलाई नै सप्त ऋषि भनिएको छ । ऋषि पञ्चमीका दिन सात ऋषिसँग रहने देवी अरुन्धतीको पनि पूजा गरिन्छ । आफ्ना पूर्वजहरूको सम्झना, मानसम्मान, पूजा गर्नु राम्रो हो । प्रतीकको रूपमा मात्र भए पनि महिला पुर्खा देवी अरुन्धतीको पूजा गर्ने प्रचलनले नारी सम्मान र सहभागिताको सानो रूप देख्न सकिन्छ ।

यही बहानामा स्वास्थ्य तथा स्वच्छता र सरसफाइको विषयले निरन्तरता पाउनु राम्रो पक्ष हो । व्रत भनेको दृढ संकल्प हो । संकल्प केका लागि र कस्तो भन्ने कुरा मानिस स्वयंले बुझ्नुपर्ने विषय हो । पञ्चमीका ब्रतालुहरूले धमिराले उठाएको माटोले शरीर शुद्ध पार्ने, ३६५ पटक नुहाउने, ३६५ दतिवन गर्ने, दाँत माझ्ने आदि गर्दछन् । यसबाट स्पष्ट छ, यस्तो काम दिनदिनै गर्नुपर्दछ । वर्षभरिको गर्नुपर्ने कृत्य एकै पटकमा गर्दा एकै दिन ३६५ नै गर्नुपर्ने भनेको दिनको एकका दरले गर्नु भनिएको हो । यस्तो व्यावहारिक विषयलाई पनि बुझ्ने प्रयत्न नै नगरी अवलम्बन गर्नु अन्धविश्वास हो ।

पूर्वीय संस्कृतिमा एउटा महत्वपूर्ण भनाइ छ, ‘शरीरमाद्यं खलु धर्मसाधनम् अर्थात् धर्मसाधनाका लागि शरीर मुख्य हो ।’ स्वच्छ र स्वस्थ तन स्वच्छ र स्वस्थ मन ! नबुझेर गरिएको कुनै ठूलो कर्मले पनि पूरा फल दिँदैन । जानेर गरिएको सानो कर्मले पनि असल फल दिन्छ । स्वस्थ मन (सोच–विचार) का लागि स्वच्छ तन (शरीर) आवश्यक छ । यस अर्थमा मर्यादित महिनावारीका लागि ऋषि पञ्चमी पर्वको ठूलो महत्व रहेको देखिन्छ । (लेखक संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)