उच्च शिक्षाका नाममा बढ्दो विदेश मोह

अर्बौंसहित वर्षेनी एक लाखभन्दा बढी विद्यार्थी बाहिर, देशमै पढ्न सकिने विषयका लागि पनि विदेश पलायन, शिक्षाका नाममा देशको भविष्य र पुँजीको बहिर्गमन, एक दशकमा सात लाख एनओसी र पाँच खर्ब रुपैयाँ बाहिर, देशमै छ अवसर, मन भासिन्छ विदेशतिर ।

मेचीकाली संवाददाता

२३ श्रावण २०८२, बिहीबार
42 shares

अमृत गिरी

बुटवल । नेपालमै हुने अधिकांश विषयको पढाइ छाडेर विदेशमा उच्च शिक्षा अध्ययनका लागि हरेक वर्ष एक लाखभन्दा बढी नेपाली विद्यार्थी अर्बौं रुपैयाँसहित बाहिरिएको छ । वैदेशिक अध्ययन स्वीकृतिका लागि सरकारले लागू गरेको निर्देशिका–२०७९ मा देखिएको विवाद समाधान भएपछिका वर्षहरूमा विद्यार्थीको संख्या झनै बढ्दै गएको पाइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत वैदेशिक अध्ययन अनुमति शाखाबाट पछिल्लो एक दशकमा ७ लाख ६२ हजार ७३७ वटा ‘नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)’ जारी भइसकेका छन् । मन्त्रालयका उक्त शाखा हेर्ने प्रमुख वीरेन्द्र जंग थापाका अनुसार, २०७०/७१ मा २८ हजार १२६ एनओसी जारी भएको थियो भने २०७८/७९ मा त्यो संख्या तीनगुणाले बढ्दै १ लाख १२ हजार ९६८ पुगेको छ ।

हरेक वर्ष एक लाखभन्दा बढी नेपाली विद्यार्थी अध्ययनका लागि भन्दै अर्बौं रकमसहित विदेशिने गरेपछि केही वर्षअघि सरकारले वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९ ल्याएको थियो । निर्देशिकाले १२ कक्षा पास गरेकाहरुलाई ‘नो अब्जेक्सन सर्टिफिकेट’ एनओसी नदिने देखिएपछि चर्को बहस भयो, विवाद उत्पन्न भयो र विद्यार्थीहरु त प्रदर्शनमै उत्रिए । पछि शिक्षा मन्त्रालयले १२ कक्षा पास गरेका विद्यार्थीहरुलाई पनि एनओसी दिने गरी निर्देशिका परिमार्जन गरेर त्यसबेलाको विवाद समाधान भयो ।

त्यसपछिका हरेक आवमा विदेश जानेको संख्या वर्षेनी बढिरहेको छ । अहिले पनि वैदेशिक अध्ययनका लागि वर्षेनी लाखभन्दा धेरै विद्यार्थी विदेश जाने गरेको सरकारी तथ्यांक छ । पछिल्लो एक दशकमा उच्च शिक्षाका लागि विदेश जान शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखाबाट एनओसी लिनेको संख्या तीन सय प्रतिशत भन्दा धेरैले बढेको छ । झण्डै ७ लाख जनाले यस्तो पत्र लिइसकेका छन् ।

पढ्न भन्दै ८४ देश गएका छन् नेपाली
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत वैदेशिक अध्ययन अनुमति शाखाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७१÷०७२ देखि २०८१/०८२ सम्ममा ७ लाख ६२ हजार ७३७ वटा एनओसी जारी भएका छन् । एक दशकअघि अर्थात् आर्थिक वर्ष २०७०÷७१ मा उच्च शिक्षाका लागि विभिन्न देश जान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत वैदेशिक अध्ययन अनुमति शाखाबाट २८ हजार एक सय २६ वटा एनओसी जारी भएकोमा आव २०८०/८१ मा ६६ वटा देशका लागि एक लाख १२ हजार दुई सय ५६ पुग्यो भने गत आव २०८१/८२ मा त्योभन्दा धेरै १ लाख २३ हजार ५ सय ८९ जना नेपाली विद्यार्थीले विदेश पढ्न जाने भन्दै एनओसी लिए ।

उक्त शाखाका प्रमुख थापाका अनुसार पछिल्ला तीन वर्षदेखि यो संख्या बढिरहेको छ । आर्थिक वर्ष २०७७/०७८ मा २८ हजार ८८३ जनाले एनओसी लिएका थिए । त्यसपछि आर्थिक वर्ष २०७८/०७९ मा एक लाख १२ हजार ९६८ जनाले एनओसी लिएका थिए । त्यस्तै आर्थिक वर्ष २०७९/८० मा एक लाख १० हजार २१७ जनाले र आर्थिक वर्ष २०८०/८१ मा एक लाख १२ हजार ९६८ जनाले र गत आव २०८१/८२ मा १ लाख २३ हजार ५ सय ८९ जनाले एनओसी लिएको सरकारी तथ्याङ्क छ ।

तीमध्ये सबैभन्दा धेरै जापान गएको तथ्याङ्क छ । नेपालीहरु विभिन्न ८४ देशमा पढ्न भन्दै एनओसी लिएर गएको मन्त्रालयका वैदेशिक अध्ययन अनुमति शाखाका प्रमुख थापाले जानकारी दिए । पहिले ६४ मुलुकसम्म पुगेका नेपालीहरु केही वर्ष यता ८४ वटा मुलुकसम्म पुग्ने गरेको विवरण छ ।

कुन देशमा कति नेपाली गए ?
गत आव २०८१/८२ मा जापान जानेको संख्या ३९ हजार ८ सय ४७ रहेको छ । यस्तै बेलायतको लागि २७ हजार ४ सय ७५, अष्ट्रेलिया १६ हजार २ सय ७९, यस्तै कोरिया ९ हजार ७ सय ५७, अमेरिका ८ हजार ८ सय ७०, भारत ३ हजार ३ सय ९६ जनाले वैदेशिक अध्ययनका लागि एनओसी लिएको मन्त्रालयको उक्त विभागको तथ्याङ्क छ ।

यस्तै संयुक्त अरब इमिरेट्स (यूएइ) २ हजार ९२, फ्रान्स १ हजार ९ सय ७०, क्यानडा १ हजार ८ सय ९४, फिनल्याण्ड १ हजार ८ सय ५३, न्युजील्याण्ड १ हजार ६ सय ४४, जर्मनी १ हजार १ सय ९८, डेनमार्क १ हजार १ सय ९७ माल्टा १ हजार ५६, चीन ७ सय ७३, थाइल्याण्ड ६ सय १० जना तथा साइप्रस ५ सय १ जना नेपाली विद्यार्थीले एनओसी लिएका छन् । साइप्रसका विभिन्न आधा दर्जन विश्वविद्यालयका लागि एनओसी जारी गर्नेभन्दै मन्त्रालयको वेभसाइटमै अहिले पनि सूचना जारी भइरहेको छ ।

यसैगरी इटाली ४ सय तीन, स्वीडेन २ सय ९७, बंगलादेश २ सय ४४, मलेसिया २ सय ३०, ग्रीस २ सय १६, बहराइन १ सय ७५, अष्ट्रिया १ सय ६८, आएरल्याण्ड १ सय ५०, कतार १ सय ४८, स्पेन १ सय ४८, नेदरल्णड १ सय ३१, हंगेरी १ सय १२, फिलिपिन्स ९३, बेल्जियम ८३, लिथुएनियाँ ७२, मेन्टोनोग्रो ६३, किरिगिस्तान ३९, लाट्भिया ३८, रुस ३५, पोल्याण्ड ३२, नर्वे ३१, जर्जिया २९, कुवेत २७, उज्वेकिस्तान २१, दक्षिण अफ्रिका १८, स्कटल्याण्ड १७, स्वीजरल्णड १७, चेक गणराज्य १५, ओमान १५, पाकिस्तान १३, पोर्चुगल १२, सिंगापुर ११, भियतनाम ११, टर्की ९, अल्बानियाँ ८, इजिप्ट ७, रोमानियाँ ७, लक्जेम्बर्ग ६, स्लोभाकिया ५, बुल्गोरिया ४, स्टोनिया ४, साउदिअरेबिया ४, स्लोवेनिया ४, आइसल्याण्ड २ र मेक्सिको १, क्रोएसिया १, गायना गरी १ लाख २३ हजार ५ सय ८९ जना विद्यार्थी विदेशिएको सरकारी तथ्याङ्क छ ।

विद्यार्थीसँगै खर्बौं रकम पनि विदेशियो
प्रत्येक वर्ष एनओसी लिनेको संख्यासँगै शिक्षाका नाममा विदेशिने रकम पनि बढिरहेको छ । नेपालबाट विद्यार्थी अध्ययन तथा भ्रमणकै लागि वर्षेनी लगभग १ खर्ब ५० अर्बको विदेशी मुद्रा देशबाहिर जाने क्रम जारी छ । विद्यार्थीहरुले मुख्यतया एजुकेशन ट्युसन, कोर्स फी, टिकेट, सटही गरेर लगेको रकमको विवरण हो ।

यसैगरी विदेश भ्रमण गर्न जाने नेपालीले पनि स्वास्थ्य, पर्यटनसम्बन्धी शीर्षकमा वर्षेनी अर्बौं रुपैयाँ विदेश जाने गरेको केन्द्रीय बैंकको तथ्याङ्क छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो १० वर्षमा उच्च शिक्षाका नाममा पाँच खर्ब १८ अर्ब ७३ करोड रूपैयाँ बाहिरिएको छ ।

कुन वर्षमा कति रकम बाहिरियो ?
केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०७१/७२ मा १८ अर्ब १० करोड, आव २०७२/७३ मा २० अर्ब १० करोड, आव २०७३÷७४ मा ३५ अर्ब, आव २०७४/७५ मा ३८ अर्ब १० करोड रूपैयाँ रकम बाहिरिएको थियो ।

त्यसैगरी, आव २०७५/७६ मा ४६ अर्ब ३२ करोड, आव २०७६/७७ मा २४ अर्ब ८१ करोड, आव २०७७/७८ मा २४ अर्ब ९५ करोड, आव २०७८/७९ मा ६७ अर्ब ७० करोड, आव २०७९/८० मा एक खर्ब ४२ करोड, आव २०८०/८१ मा (जेठसम्मको मात्रै) एक खर्ब, १७ अर्ब, एक करोड रूपैयाँभन्दा धेरै रकम बाहिरिएको छ ।

यस्तै आव २०८१/८२ को साउनदेखि जेठसम्म मात्रै १ खर्ब २४ अर्ब ७९ करोड रूपैयाँभन्दा धेरै रकम विदेशिएको तथ्याङ्क छ । यहीँ अवधिमा नेपालमा आएको यस्तै शीर्षकको रकम भने ३ अर्ब ६९ करोड रुपैयाँको हाराहारीमा रहेको नेपाल राष्ट्र बैंकका उपप्रवक्ता तथा सूचना अधिकारी सुमन न्यौपानेले जानकारी दिए । विदेशिएको यो रकम अघिल्ला आवहरुको तुलनामा धेरै रहेको उपप्रवक्ता न्यौपानेको भनाइ छ ।

नेपालमा सञ्चालित मेडिकल कलेजहरुमा विदेशी विद्यार्थीहरु पनि आउँछन् । तीमध्ये दुई वर्षअघि एक हजार एक सय ६७ विदेशी विद्यार्थी भर्ना भएका थिए । स्नातक र स्नातकोत्तर तहमा मेडिकल शिक्षा पढ्ने तिनै विदेशी विद्यार्थीले ल्याएको रकमको पनि राष्ट्र बैंकमा तथ्याङ्क राखिएको छ ।

देशमै छ अवसर, मन भासिन्छ विदेशतिर
के पढ्न जान्छन् विदेश ? के नेपालमा हुँदैन र पढाइ ? नेपाली विद्यार्थीहरूले विदेशमा अध्ययन गर्न छनोट गर्ने प्रमुख विषयहरूमध्ये अधिकांश विषयको नेपालमै पढाइ हुन्छ । नेपालमा पनि सामुदायिक तथा सार्वजनिक कलेजका अतिरिक्त निजी स्तरबाट सञ्चालित कलेजहरुमा समेत उच्च शिक्षाका विभिन्न कार्यक्रमहरु सुलभ दरमा गुणस्तरीय रुपमै पठनपाठन हुन्छ । व्यवस्थापन, व्यवसाय, सूचना प्रविधि, जनस्वास्थ्य अन्तर्गतका एमबीए, बिबिए, इन्टरनेशनल विजनेश, हस्पिटालिटी म्यानेजमेन्टका विदेशी कलेजमा हुने पढाइ यहीँ नेपालमै हुन्छ ।

यस्तै इन्फरमेशन टेक्नोलोजी (आइटी), कम्प्युटर साइन्स, सफ्ट्वेयर इन्जिनियरिङ, साइबर सेक्युरिटी, हेल्थ साइन्सअन्तर्गत नर्सिङ, पब्लिक हेल्थ, फार्मेसी, बायोमेडिकल साइन्स, इन्जिनियरिङतर्फ सिभिल, इलेक्ट्रिकल, मेकानिकल, कम्प्युटर, सोसल साइन्स एण्ड हुमानिटिजतर्फका विभिन्न विषयको पठन पाठन यहीँ पनि राम्रोसँग हुँदै आएको छ । रुपन्देहीमै पनि यी धेरै विषयको पढाइ हुँदै आएको छ ।

नेपालमा भौगोलिक अवस्था, पूर्वाधारको अभावलगायतक कारणले अहिले उड्डयन/एयरोस्पेस इन्जिनियरिङ र समुद्री जीवविज्ञान, समुद्र विज्ञानलगायतका विषयको भने पठनपाठन हुन सकिरहेको छैन । त्यसका अतिरिक्त इन्जिनियरिङ तर्फकै रोबोटिक्स/एआई–विशिष्ट स्नातक कार्यक्रमहरू पनि अति सीमित मात्रामा मात्रै छन् ।