

अमृत गिरी
बुटवल। केही दिनअघि गुल्मीको पुर्कोटस्थित पृथ्वी माविका केही बालबालिकाले ‘अपहरणकारीले लखेट्यो’ भन्दै रोइकराई गरेको भिडियो भाइरल भएपछि विद्यालयदेखि प्रहरी हेडक्वाटरसम्म हल्लाखल्ली मच्चियो । खासमा अपहरण नभई उनीहरूले गृहकार्य नगरेको र स्कुल जान मन नलागेकै कारण यस्तो फट्याइँ भएको खुल्यो । पहिले अपहरण भएको खबरले छाएका मिडिया पछि उनीहरुको ढाँट्ने कलालाई ट्रोल बनाइरहेका छन् । यी दुवै प्रकारले बालबालिकामाथि नै असर पार्ने निश्चित छ ।
बालबालिकाले मनोरञ्जनकै लागि रचेको घटनाले एउटा गम्भीर सन्देश छोड्यो–विद्यार्थीलाई मनोवैज्ञानिक रूपमा कक्षाकोठा रोज्ने बनाउन नसक्दा यस्तो घटना घट्न सक्ने रहेछ । बालबालिकामा समाजिक सञ्जालको दुरुपयोगबाट पनि यसप्रकारका उट्पट्याङ आउने गरेको हुनसक्छ । यसप्रकारका घटना रोक्ने भूमिका ती बालबालिकाको मात्रै नभई अभिभावक र विद्यालयको पनि उत्तिकै हुन्छ ।
यस्तै, रुपन्देहीको एक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीले अभिभावकको हकाराइले स्कुलको बाल्कोनीबाट हाम फालेर घाइते भए, उनको उपचार चलिरहेको छ । केही वर्षअघि राप्ती गाउँपालिका वडा नं.२ बराहाखुटीको आदर्श नमुना मावि लालमटियामा कक्षा ८ मा अध्यनरत १४ वर्षीया बालिकाले आत्महत्या गरिन् । परीक्षामा फेल भएको भन्दै उनले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा छ । ललितपुरस्थित जेम्स स्कुलमा कक्षा १० का छात्रले परीक्षा दिन नसक्ने भन्दै केही वर्षअघि आत्महत्या गरेको घटना विवरण प्रहरीमा छ ।
यस्तै इलाममा एसएलसी पुरक परीक्षामा अनुत्तीर्ण भएपछि १९ वर्षीया किशोरीले घरमै आत्महत्या गरिन् । यसप्रकारका धेरै घटनाहरू प्रहरीको अभिलेखमा छन् । यी केही प्रतिनिधिमूलक दृष्टान्तले विद्यालय तहमै मानसिक स्वास्थ्य समस्या उन्मुखका कैयन घटना भइरहेको देखाउँछ । जुन बालबालिका मात्रै होइन किशोर किशोरीहरुमा समेत उच्च जोखिमको अवस्था हो । कतिपय बालबालिकाहरु बुलिङमा परेर, आफ्ना कठिनाइहरु बताउन नसक्ने भएर पनि ठूला दुर्घटनाका शिकार भइरहेको पाइन्छ ।

बढ्दो छ मानसिक स्वास्थ्य समस्या
व्यक्तिमा उत्पन्न हुने तनाव वा भावनात्मक अप्ठ्यारो वा असहज स्थितिलाई मनोसामाजिक समस्या मानिन्छ । यो नेपालमा बढ्दो क्रममा पाइएको विज्ञहरुको भनाइ छ । स्कुले केटाकेटीहरु समस्या उन्मुख हुनु र परिपक्व भएकाहरु समस्यामै पर्नुले जोखिम बढिरहेको विभिन्न समयमा भएका अध्ययन प्रतिवेदनले देखाएको छ ।
अभाव, गरिबी, बेरोजगारी, हिंसा, लहलहै, देखासिखी, सामाजिक तथा राजनीतिक परिवेश आदि कारणले धेरैजसोमा मानसिक समस्या निम्तिएको र यसको असर बालबालिकामा समेत पर्दै गएको विज्ञहरुको ठहर छ । परिवार, साथी, नातागोता, विद्यालय, शिक्षक, समुदाय, प्राकृतिक वातावरण, विपद् तथा महामारी आदि मनोसामाजिक समस्याका कारणहरू हुन सक्छन् ।
विद्यार्थीमा मनोसामाजिक समस्याका रुपमा भावनात्मक, व्यवहारिक, सिकाइजन्य र विकासात्मक समस्यालाई लिइन्छ । यो समस्या जहाँसुकै र जोसुकैलाई पनि हुन सक्दछ र यसलाई मानसिक समस्या उन्मुखको अवस्था मानिन्छ । यो जुनसुकै लिङ्ग, उमेर र जातजातिमा हुन सक्ने जोखिम रहेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मनोचिकित्सक डा.विनोद पौडेलको भनाइ छ ।
मनोचिकित्सक डा.पौडेलका अनुसार परिवारमा हुने झैझगडा, किशोरावस्थाको असमझदारी, देखासिकी, शिक्षक र साथीको व्यवहारले बालबालिकामा तनाव बढाउने गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा यहीँ चैतदेखि मनोचिकित्सक पौडेलको नेतृत्वमा बालबालिका तथा किशोरकिशोरीहरुको मानसिक स्वास्थ्य सेवा सञ्चालनमा आएको छ । जहाँ व्यवहारिक समस्यादेखि भावनात्मक र शारीरिक समस्या भएका १९ वर्ष मुनिकाका लागि सेवा उपलव्ध छ ।
बुटवलकै अर्का वरिष्ठ मानसिक रोग विशेषज्ञ डा.मनोज ढुंगानाले विद्यालयस्तरमै मनोपरामर्श सुरु नगरे समस्याले दीर्घकालीन असर पार्ने बताउँछन् । उनले बालबालिकालाई जोखिमउन्मुख बनाउने भूमिका भने धेरैजसो अभिभावककै हुने बताए । परामर्शदाता गीता पाठकका अनुसार शारीरिक थकान, निद्रामा समस्या, आत्मविश्वासको कमी, डर, निराशावाद जस्ता लक्षणलाई समयमै चिन्दै परामर्श दिन जरुरी छ ।
यस्तै अध्ययनमा खटिएका सीएमसीका परामर्शदाता हिमाल गैरेले अभिभावकको हेला र निगरानीको कमीले पनि बालबालिकामा नैराश्यता बढाउने बताए । उनले संकलन गरेको तथ्यांकका आधारमा प्रदेश सरकारले हालै ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना २०८१–२०८६’ लागू गरेको छ । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेम सारुका अनुसार यस कार्ययोजनाले दीर्घकालीन रणनीतिबाट समस्या समाधान गर्ने लक्ष्य राखेको छ । मन्त्री सारुले विद्यालय तह, समुदायस्तर सबैतिर मनोपरामर्शका विशेष कार्यक्रमहरु सञ्चालन गरिने र त्यसका लागि विशेषज्ञहरु नै परिचालन गरिने बताए ।
अहिले भइरहेका यी घटनाहरुले देखाउँछन्–विद्यालय मात्र होइन, घर र समुदायले पनि मानसिक स्वास्थ्यप्रति समान चासो दिनु जरुरी छ, अभिभावकले सन्तानको निगरानी गर्नु अपरिहार्य छ । बालबालिकाको पढाइ, व्यवहार र साथी–सम्पर्कमा ध्यान दिएर, शिक्षक र अभिभावकले सहानुभूतिपूर्वक व्यवहार गरेर र सरकारको योजनालाई व्यवहारमा उतारेर मात्र विद्यार्थीलाई सुरक्षित र आत्मविश्वासी बनाउन सकिने मनोसामाजिक परामर्शदाताहरु बताउँछन् । मानसिक स्वास्थ्यलाई उपेक्षा गर्नु भनेको भविष्यलाई संकटमा धकेल्नु रहेको उनीहरुको भनाइ छ ।
विद्यार्थीमा देखिने मनोसामाजिक समस्याका लक्षण
मनोसामाजिक समस्या भएका विद्यार्थीहरूमा शारीरिक र भावनात्मक लक्षणहरू देखा पर्नेगरेको विज्ञहरु बताउँछन् । शारीरिक लक्षणमा थकान, भोक नलाग्ने, पेट वा टाउको दुख्ने, निद्रामा गडबडी हुने आदि पर्दछन् भने भावनात्मक लक्षण अन्तर्गत मनमा छटपटी हुने, आत्तिने, आत्मविश्वासको कमी हुने, रुन मन लाग्ने, निराशावादी हुने, मन चिसो हुने, एकदमै डर लाग्ने आदि लक्षणहरू पर्दछन् ।
तिनै खालका बालबालिकाहरूको पिर, चिन्ता, तनाव एवम् अलमललाई समानुभूतिपूर्वक सुनिदिएर मनको बेचैनीलाई कम गर्न प्रदान गरिने मनोवैज्ञानिक उपचार पद्धतिलाई विद्यार्थी मनोसामाजिक परामर्श भनिन्छ । मनोसामाजिक परामर्शमा बालबालिकाहरूलाई दोष नदिई मनोसामाजिक समस्याका कारणहरू पहिल्याउन प्रयास गर्नुपर्दछ ।
नेपालमा असामयिक मृत्युका प्रमुख कारक
‘ग्लोबल बर्डन अफ डिजिज स्टडी’ को केही समयअघिको अध्ययन प्रतिवेदनले नेपालमा मुटुको धमनी साँघुरिएर अक्सिजन कम हुने समस्या, विभिन्न सरुवा रोग, आमा एवम् नवजात शिशुसम्बन्धी रोग, झाडापखाला, नवजात शिशुमा हुने इन्सेफलोपथी अर्थात् मस्तिष्कको सुजन, नवजात शिशुमा हुने अन्य रोग, सीओपीडी भनिने श्वासप्रश्वासको दीर्घरोग, सडक दुर्घटनामा हुने चोटपटक, समय नपुगी हुने जन्म, क्षयरोग, मधुमेहसम्बन्धी जटिलता र आत्महत्यालाई नेपालमा हुने असामयिक मृत्युका शीर्ष कारकका रूपमा देखाएको छ । यीमध्ये मधुमेह सम्बन्धी जटिलता र सडक दुर्घटना दिनदिनै बढिरहेको देखिन्छ ।