

घनश्याम कोइराला
शास्त्रमा भनिएको छ,‘सुखमापतितं सेव्यं दुःखमापतितं तथा । चक्रवत् परिवर्तनते दुःखानि च सुखानि च’ जसरी जीवनमा प्राप्त हुने सुखको सेवन आनन्दपूर्वक गरिन्छ, त्यसैगरी दुःखलाई पनि स्वीकार गर्नु पर्दछ । सुख र दुःख चक्रजस्तै आउने र जाने भइरहन्छ । पहिले अलि बढी सुख–सुविधा प्राप्त उपभोग गरेकाहरूले अलिकति दुःख–कष्ट बेहोर्न पर्दा पनि आश्चर्य मान्न र असहनीय ठान्नु हुँदैन ।
हाम्रा पुर्खाको भनाइ पनि उत्तिकै महत्वपूर्ण छ,‘आत्तिन, मात्तिन, हस्कन र झस्कन हुँदैन ।’ तर यस्तो महत्वपूर्ण भनाइलाई व्यवहारमा अनुवाद गरेको थिएन । शास्त्रीय वचनहरू, लोकोक्ति–जनश्रुतिहरू अनुभवका बाकस हुन् । आवश्यकताअनुसार तिनीहरूको स्मरण गर्नु पर्दछ र व्यवहारमा लागू गर्नुपर्दछ । आत्तिएर, मात्तिएर, हस्किएर, झस्किएर धेरै कुरा बिग्रेको छ ।
यद्यपि, व्यवस्थापन र शैली भन्ने विषय प्राविधिक जस्तो देखिन्छ तर स्वव्यवस्थापन र जीवनशैलीको दार्शनिक आधार हुन्छ । कुन दर्शनबाट प्रभावित छ, सोही अनुसारको व्यवस्थापन र शैली हुन्छ भन्ने कुरा बिर्सन हुँदैन । यस विषयमा अन्यत्र चर्चा गर्न सकिने छ । यहाँ विमर्श प्रस्तुत गरिएको छ ।
बिहान उठ्नेबित्तिकै दुई मिनेट आँखा चिम्म गरेर सोचौँ त, ‘हिजो मैले के काम गरेँ ? हिजो गरेको काममध्ये नियमित गर्ने गरेको काम ? नयाँ काम ? पछुतो मान्नुपर्ने काम ? हिजोको उपलब्धि के हो ? हिजो कमजोरी के रह्यो ? हिजो मैले सुनेका खास खास कुरा के के हुन् ? हिजो सुनेका कुाकानीमध्ये साह्रै मन परेको कुरा कुन हो ? अलि बुझ्न नसकेको कुरा कुन हो ? मन नपरेको कुरा कुन हो र किन हो ?’ यी कुराहरू स्मरण गरेपछि निरन्तरता दिने, सच्याउने, बुझ्ने कुरा स्वतः आउँछन् । यसैलाई ध्यानको माध्यम बनाउन सकिन्छ ।
अर्को, तपाइँ घरबाहिर काम गर्नुहुन्छ । कार्यालयको, संस्थाको, समूहको प्रमुख हुनुहुन्छ वा जुनिअर हुनुहुन्छ । तपाइँका सिनिअर, सहकर्मी वा सहयोगीहरूलाई नमस्कार गर्ने बानी बसाल्नुहोस् । सन्चो बिसन्चो सोध्नुहोस् । तपाइँ आफ्नो आसनमा हुनुहुन्छ भने समयअनुसार खाना, खाजा, चिया, कफी खाए नखाएको सोध्नुहोस् । कुनै भयावह नै घटना घटेको अवस्था छैन भने मुसुक्क मुस्कुराउनुहोस् । अनि कामको कुरा गर्नुहोस् ।
आवश्यकता र समय छ भने सँगै खाना, खाजा, चिया, कफी सँगै खानुहोस् । खास नयाँ विषय छ भने विषयअनुसार भावभङ्गिमा सहित वर्णन गर्नुहोस् । साह्रै आवश्यक विषय होइन भने नभन्नुहोस् । पहिले सार प्रस्तुत गर्नुहोस्, लामो नबनाउनुहोस् । जिज्ञासा बढेजस्तो लाग्यो भने सप्रसङ्ग वर्णन गर्नुहोस् । तपाइँले आफ्नो कुरा बताउँदा बताउँदै श्रोताले त्योभन्दा महत्वपूर्ण विषय भन्नै नपाउने, बोल्नै नपाउने अवस्था नरहोस् भन्ने ध्यान दिनुहोस् ।
कसैसँग केही कुरा गर्नुपर्ने छ भने फोनको सुविधा प्रयोग गर्नुहोस् । फोन सजिलो र सहज माध्यम हो । यसको प्रयोगले समय र पैसा दुवै जोगिन्छ । तर, सबै कुरा फोनमा भन्न नसकिने वा फोनको भरमा स्पष्ट नहुने छ भने मात्र भेट्न बोलाउनहोस् वा भेट्न जानुहोस्, भेट्न बोलाउनुहोस् ।
बिहान उठ्ने समय निर्धारित गर्नुहोस् । सुत्ने समय निर्धारित गर्नुस् र अवलम्बन गर्नुहोस् । सुत्नुअघि उठेपछि गर्ने नियमित कामको क्रम मिलाउनुहोस् । यसले तपाइँको ‘भोलि’ व्यवस्थापन गर्न सजिलो हुनेछ । भोलिपल्ट कहिँ हिँड्नुपर्ने–जानुपर्ने छ भने त्यसलाई पनि ध्यान दिनुहोस् । हाम्रा पुर्खाले अघिल्लै दिन ‘साइत’ सार्ने चलन चलाएको देखिन्छ । त्यसरी साइत सार्दा छाता, लौरो, जुत्ता आदि घरबाहिर राखिन्थ्यो । तपाइँ पनि भोलि हतारमा नभेटिने वस्तु समेटेर राख्नुहोस् । भोलिपल्ट हिँड्ने बेलामा सानोतिनो वस्तु नभेटेर दुःखी हुन नपरोस् ।
प्रायः औषधी, मोबाइल चार्जर, चस्मा, रुमाल, कलम छुटेको हुन्छ । दाँत माझ्ने ब्रस, पेस्ट पनि सम्झनुपर्ने छ कि ? कहिलेकाहिँ हिँड्ने समयमा लगाउने लुगा खुम्चिएको हुन्छ, इस्तिरी गर्नुपर्ने हुन्छ । यो सानो र थोरै समयमा हुने काम हो, त्यति नै बेला बिजुली गएको बेला प¥यो भने ? टाँक वा चेन त ठिक होला नि ? कसैलाई केही अह्राइ–सिकाइ, खटन–पटन गर्नुपर्ने पो छ कि ? यस्ता विषय पनि ध्यान दिनुपर्ने विषय हुन् ।
व्यवस्थापन निकै ठुलो, फराकिलो विषय हो । व्यवस्थापनको विषय धेरै र दायरा व्यापक छ । व्यवस्थापनको कुनै न कुनै नियम नलाग्ने कुनै विषय, कुनै क्षेत्र नै छैन । अझ त्यसमाथि जीवन व्यवस्थापन त भन्नै परेन । स्वव्यवस्थापन नै वास्तवमा जीवन व्यवस्थापन हो । व्यवस्थापनको सिद्धान्तको विस्तार जस्तै जीवनको विषय पनि विस्तृत छ । जीवनको परिभाषा नै धेरैथरि छ । त्यसैले जीवनलाई कसैले गरिदिएको परिभाषाभित्र सीमित नपारी आफैलाई हेर्ने, बुझ्ने, व्यवस्थित रूपमा अघि बढाउने हो ।
सिङ्गो जीवनको पूर्वानुमान गर्न नसकिएला । अहिले सोचेको कुराले नपुग्ला । अरुको जस्तो सहज वा अरुको जस्तो जटिल नहोला । अरुले जस्तो सहयोग पाइएला वा नपाइएला । अरुको सहयोग चाहिएला वा नचाहिएला । अरुकै जस्तो सफलता वा असफलता पनि नहोला ।
तर, व्यवस्थापन भनेको नियमित पार्न, सहज बनाउन, समय सदुपयोग गर्न, कम समयमा धेरै काम गर्न, गरेको कामको उचित परिणाम प्राप्त गर्न, आपूmसँग अरुलाई र अरुलाई आपूmसँग जोड्न अर्थात् असल सामाजिक सम्बन्धहरू बनाउन गरिने सोच, विधि, प्रक्रिया, कार्यन्वयन र परिणाम सम्मको चक्र हो ।
स्वव्यवस्थापन, जीवन व्यवस्थापनको सबैभन्दा सजिलो उपाय आपूmलाई प्रत्येक दिन व्यवस्थित बनाउनु हो । यसमा आहार, विहार, कर्म र सम्बन्धलाई ध्यान दिनु पर्दछ ।
सुरुमा उल्लेख गरिएजस्तै जीवनमा प्राप्त हुने सुखको सेवन गर्ने, नपाउँदा नआत्तिने, धेरै पाउँदा नहस्किने, गुम्छ कि भनेर नझस्किने हो । जीवन र प्रकृतिका कुनै पनि अवस्था स्थायी हुँदैन । सुख र दुःख पनि चक्रजस्तै आउने र जाने भइरहन्छ । अर्को शब्दमा भन्नुपर्दा सङ्घर्ष हो जीवन, जीवन सङ्घर्ष हो; दुःख भयो भनेर हार नमान….! …रातपछि दिन आउँछ, हुन्छ बिहान !! जीवन संयम र सन्तुलन हो । असंयम र असन्तुलन त जीवनको सत्यानास हो । (लेखकः कोइराला जीवनशैली अध्येता हुनुहुन्छ ।)