जेन–जी आन्दोलन र नेकपा एमाले

मेचीकाली संवाददाता

७ आश्विन २०८२, मंगलवार
98 shares

मेघराज भट्टराई

आन्दोलनको पृष्ठभूमि र प्रभाव
नेपालको पछिल्लो राजनितिक घटनाक्रमले असाधारण परिस्थिति सिर्जना ग¥यो । मुलुकमा व्याप्त भष्ट्रचार, सार्वजनिक सेवा प्रवाहमा रहेको बेथिति तथा नेताहरुको कार्यशैली र जीवनशैलीप्रतिको आक्रोश जेनजेड आन्दोलनमार्फत मुखरित भयोे । आन्दोलनका क्रममा पहिलो दिन १९ जनाको मृत्यु भयो भने ४०० भन्दा बढी युवाहरु घाइते भए । स्कूल ड्रेसमा रहेका विद्यार्थीको हत्याले सारा नेपालीलाई भावविह्ल बनायो । त्यसैक्रममा घटनाको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्रीको राजीनामा आयो । तर यसले पनि नेपाली जनताको आक्रोशलाई शान्त पार्न सकेन र ठूलो विद्रोहको शुत्रपात ग¥यो ।

अर्को दिन वातावरण भयाबह बन्यो । देशका विभिन्न शहरमा आन्दोलन चर्किँदै जाँदा परिस्थिति नियन्त्रण बाहिर जान थाल्यो । परिस्थितिलाई मध्यनजर गर्दै प्रधानमन्त्रीको राजीनामा आयो तर पनि आन्दोलन थामिएन । आन्दोलनमा व्यापक घुसपैठ भयो र आन्दोलनले हिंसात्मक मोड लिन सुरु ग¥यो । हेर्दा हेर्दै संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, बालुवाटार, शीतलनिवासलगायत देशका हजारौं सरकारी तथा सार्वजनिक सम्पति, औद्योगिक तथा व्यवसायिक प्रतिष्ठान, विभिन्न राजनितिक दलका नेता कार्यकर्ताको घर तथा सम्पति ध्वस्त पार्ने काम गरियो । जताततै तोडफोड, आगजनी र लुटपाट मच्चाइयो । दशौ हजार कैदीलाई जेलबाट भगाइयो । नेता कार्यकर्तामाथि भौतिक आक्रमण भए । प्रहरी र सर्वसाधारण मारिए । यसरी भष्ट्रचार र बेथितिविरुद्ध सुरु भएको आन्दोलनले ३६ घण्टा बित्दा नबित्दै राज्यसत्ता कब्जा गर्नु आफँैमा एउटा अभूतपूर्व घटनाक्रम थियो तर आन्दोलनका नाममा भएको घुसपैठ र त्यसले निम्त्याएको हिंसात्मक गतिविधिले आन्दोलनलाई बदनाम समेत बनायो ।

यद्यपि भदौं २४ गते राति सेना परिचालन गरेसँगै हिंसात्मक गतिविधि कम हुन थाल्यो । २५ गतेबाट आन्दोलनरत पक्ष, सेना र राष्ट्रपतिका बीचमा छलफल सुरु भयो । आन्दोलनरत पक्षको मागबमोजिम राष्ट्रपतिबाट सुशीला कार्कीलाई देशको अन्तरिम प्रधानमन्त्री घोषित गरियो र २०८२ फागुन २१ गते आम निर्वाचन गर्ने घोषणासहित संसद् विघटन गरियो ।

भएका कमजोरीः आत्मालोचनाको आवश्यकता
यस प्रकारको ऐतिहासिक घटनाक्रमले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तमा तरंग पैदा गरेको छ । नेपालका राजनीतिक दलहरुलगायत समाजका सबै अववयमा यसको प्रभाव देखा परेको छ । विशेष गरेर यो घटनाक्रमले नेकपा एमालेलाई असामान्य मोडमा खडा गरेको छ । सरकारको नेतृत्व गरिरहेको राजनितिक दल भएको कारणले गर्दा समेत जेनजेड आन्दोलन नेकपा एमाले र त्यसको नेतृत्वविरुद्ध केन्द्रित हुनपुग्यो । आन्दोलनका दौरानमा व्यक्त भएका आक्रोश र आरोप मूलतः एमाले लक्षित थियो । आखिर किन यस्तो परिस्थतिको निर्माण भयो त ? किन सबैभन्दा बढी प्रहार नेकपा एमालेलाई गरियो त ? के नेकपा एमाले र त्यसको नेतृत्वले राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्ताको रक्षाका लागि लिएको कदमका विरुद्ध देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुको चलखेल प्रमुख कारण थियो त ? वा नेपाली समाजको मनोविज्ञान र जनताको चाहनालाई सही ढंगले बुझेर तद्अनुसारको व्यवहार गर्ने काममा एमाले चुक्यो भन्ने विषय एमालेका लागि आज सर्वाधिक महत्वको विषय बन्न पुगेको छ । हो, राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने कामको अगुवाई गर्दा विदेशी शक्तिहरु एमालेका विरुद्ध लागेका थिए । जेनजेड आन्दोलनमा तीशक्तिहरु सक्रिय पनि भए । तर विदेशी शक्तिकै कारणले मात्रै नेकपा एमालेविरुद्ध यति धेरै आक्रोश र प्रहार भएको भने होइन । होला बाहिरी कारणले पनि यो परिस्थतिको सृजना गर्न मद्दत ग¥यो होला तर त्योभन्दा बढी हाम्रो आफ्नै आन्तरिक कारण रहन गयो । त्यसैले आज नेपालका राजनीतिक दलले गरेका गल्ती र कमजोरीको समेत निर्मम समीक्षा गरी त्यसलाई आत्मसात् गर्नु अपरिहार्य छ ।

भ्रष्टाचार नियन्त्रणमा असफलता
विशेष गरेर मुलुकमा व्याप्त भ्रष्टाचारले नेपाली जनता लामो समयदेखि आक्रान्त थिए । नियमित जसो आउने नीतिगत तथा सानातिना भ्रष्टाचारका समाचारले नेपाली जनतामा ठूलो आक्रोश पैदा भइरहेको थियो । समाजमा व्याप्त भ्रष्टाचारलाई नियन्त्रण गर्ने, भ्रष्टाचारका आरोपीहरुलाई निष्पक्ष ढंगले अनुसन्धान गरी कानुनको दायरामा ल्याउने र सुशासनको प्रत्याभूति दिने काममा सरकारको कमजोरी रह्यो । कतिपय अवस्थामा एमाले नै भ्रष्टाचारको संरक्षक हो कि भन्ने भाव नेपाली जनतामा पर्न गयो । अपारदर्शीढंगले भएका कतिपय नियुक्ति र त्यसमा बिचौलियको चलखेलका समाचारले समेत जनतामा आक्रोश पैदा ग¥यो ।

सार्वजनिक सेवा प्रवाहमा बेथिति
अर्कोतर्फ सार्वजनिक सेवा प्रवाहमा कुनै प्रकारको परिर्वतन आउन सकेन । एकजना सेवाग्राही सेवा लिन जाँदा उसले बेहोर्नुपर्ने झन्झट, सास्ती र दुव्र्यवहारले उसमा राजनितिक दल र नेतृत्वविरुद्ध आक्रोश सिर्जना ग¥यो । कार्यालयमा जाँदा कर्मचारीले गर्ने व्यवहारले आफूलाई अपमानित भएको महशुश गर्दै फेरि कहिल्यै जान नपरे हुन्थ्यो भने मनोभाव जाग्न थाल्यो । सेवा लिनका लागिसमेत घुस बुझाउनु पर्दा जनतामा व्यापक निराशा र आक्रोश पैदा भयो ।

बेरोजगारी र युवा पलायन
यस्तैगरी राष्ट्रिय पुँजीको विकास गर्दै प्रयाप्त रोजगारीका अवसर सिर्जना गर्ने काम हुन नसक्दा लाखौं युवाहरु विदेशिन बाध्य भए । नेपालमा बेरोजगारको संख्या बढ्दै जाँदा र प्रयाप्त अवसरको अभाव हुँदा युवाहरुमा निराशा छायो । युवा पुस्ताको मनोविज्ञान के छ र उसले के चाहन्छ भन्ने कुराको यकिन गरी तद्अनुसारको व्यवहार गर्ने काममा कमजोरी रह्यो ।

नोकरशाही कार्यशैली र सामन्ती जीवनशैली
अर्कोतर्फ जनताले मन पराएका व्यक्तिहरुसंग पैठेजोरी खेल्ने र तिनीहरुका विरुद्ध तथानाम बोल्दा एमालेको नेतृत्वप्रति वितृष्णा पैदा हुन थाल्यो । त्यस्तैगरी पार्टीका नेता तथा कार्यकर्ताको नोकरशाही कार्यशैली र सामन्ती जीवनशैलीले पनि जनतामा व्यापक निराशा पैदा ग¥यो । जनतासंगको सम्बन्ध र व्यवहारमा कमजोरी भयो । जनताको सुखदुखको साथी बन्नेभन्दा पनि भड्किलो जीवनशैली अपनाउने काम हुन थाल्यो । अर्कोतर्फ पुराना राजनितिक दलहरुमा लामो समयदेखि एउटै व्यक्ति नेतृत्वमा रहिरहने प्रवृत्तिले जनता आक्रोशित भए । २०४६ देखि अहिलेसम्म एउटै व्यक्तिले पटकपटक पद र अवसर प्राप्त गर्ने तर अपेक्षा गरेजस्तो परिवर्तनको महशुश जनताले गर्न नपाउँदा नेतृत्वप्रति वितृष्णा पैदा भयो । अन्तत यी सबै कारणले जेनजेड आन्दोलनको पृष्ठभूमि निर्माण भयो ।

भएका राम्रा कामः आत्मसाथको आवश्यकता
त्यसो भए के नेकपा एमालेले नेपाली समाजको अग्रगामी परिवर्तनका लागि कुनै योगदान गरेको थिएन त ? त्यो कदापि होइन किनभने नेपालको लोकतान्त्रिक आन्दोलनमा नेकपा एमालेले निर्वाह गरेको भूमिका कसैले चाहेर पनि नजरअन्दाज गर्न सक्नेछैन । समाजको प्रगतिशिल रुपान्तरणका लागि भएका विभिन्न आन्दोलनमा नेकपा एमालेको निर्णायक भूमिका थियो । विदेशी हस्तक्षेप र घरेलु प्रतिक्रियावादी शक्तिलाई निस्तेज पार्दै संविधानसभाबाट संविधान निर्माण गर्ने काममा एमालेको नेतृत्वदायी भूमिका थियो । अर्कोतर्फ सदियौँदेखि मिलेर बस्दै आएको नेपाली समाजमा जातीय द्वन्द्व सिर्जना गरी मुलुकलाई विखण्डनको बाटोमा लैजान भएका षडयन्त्रहरुको बहादुरीपूर्वक सामना गर्दै त्यसलाई निस्तेज पार्ने कामको अगुवाई एमालेले गरेको थियो ।

नाकाबन्दीको सामना गर्ने तथा पारवाहन सन्धीमार्फत भूपेरिष्ठत मुलुकबाट नेपाललाई भुजडित राष्ट्र बनाउने कामको नेतृत्वसमेत एमालेले गरेको थियो । लिपुलेक र लिम्पियाधुरासहितको चुच्चे नक्शा प्रकाशन गर्ने तथा विदेशी हस्तक्षेपको खुलेर विरोध गर्दै राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने कामको अगुवाईसमेत एमालेले गर्दै आएको थियो । दशकौंदेखि मूर्छित अवस्थामा रहेको नेपाली जनताको विकास र समृद्धिको चाहनालाई मुखरित गर्ने कामको अगुवाई एमालेले गरेको थियो । सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्ने अभियान अन्तर्गत सयौं गौरवका आयोजनाहरु र हजारौं महत्वपूर्ण योजनाहरु तीव्र गतिमा अगाडि बढाउने काम पनि एमालेको अगुवाईमा भइरहेको थियो ।

४. अब यसरी अगाडि बढौं
यसरी नेपालको इतिहासमा लामो समयसम्म प्रभाव पार्ने काम नेकपा एमालेले गर्दै आइरहेको भएता पनि विदेशी शक्तिहरुको हस्तक्षेपले मात्र नभई नेपालका राजनीतिक दलहरुबाट भएका गल्ती र कमजोरीका कारणले गर्दा आजको परिस्थति निर्माण हुन पुग्यो । अब यो परिवर्तित परिस्थितिमा नेकपा एमाले कसरी अगाडि बढ्छ भन्ने एमालेका लागि सर्वाधिक महत्वको विषय रहेको छ । नेपाली जनताको अपार माया र स्नेहका कारणले देशको सबैभन्दा बढी लोकप्रिय पार्टीको रुपमा स्थापित भएको एमालेले आज जुन प्रकारको असहज परिस्थितिको सामना गर्नुपरेको छ, त्यसबाट अगाडि बढ्न त्यति नै मेहनत गर्नुपर्ने छ ।

भएका गल्ती र कमजोरी स्विकार गर्दै आत्मालोचना गरौँ
त्यसका लागि सबैभन्दा पहिले भएका गल्ती र कमजोरीको निर्मम समीक्षा गर्दै आत्मालोचना गर्नुपर्नेछ । गल्ती स्विकार नगर्दा अर्को दुर्घटना निश्चितप्राय छ । भएका गल्ती र कमजोरी स्विकार गर्दा मात्रै अगाडिको मार्गचित्र स्पष्ट हुनेछ । त्यसैले हामीबाट यो यो गल्ती भयो भन्ने विषय निक्यौल गर्दै त्यसलाई आत्मसाथ गरौं ।

राम्रा कामलाई पुँजीकृत गरौं
दोस्रो, हामीले गरेका राम्रा कामहरुप्रति गर्व गर्दै त्यसलाई पार्टीको सम्पतिको रुपमा पुजीकृत गरौँ ।

पार्टी संगठन पुनर्गठन गरौँ
तेस्रो, राष्ट्रिय महाधिवेशन आयोजना गरौँ र सबै तहका पार्टी कमिटी तथा जनसंगठनको पुर्नगठन गरौं । अग्रजहरुले गरेको बलिदान, संघर्ष र योगदानको उच्च प्रशंशा र सम्मान गरौं । उहाँहरुलाई अभिभावकको भूमिका प्रदान गर्दै नेतृत्व पुस्तान्त्रण गरौं । पटकपटक अवसर प्राप्त गरेका तथा कार्यकर्ता र जनताबाट अस्विकृत व्यक्तिलाई विदा गरौं । जनताले मन पराएका, कार्यकर्ताको बिचमा लोकप्रिय, गुटगत गतिविधिलाई निस्तेज गर्दै समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने, स्पष्ट वैचारिक दृष्टिकोण भएको कुशल संगठकलाई नेतृत्वमा स्थापित गरौं ।

राजनीतिक स्थिरता र सुशासनको एजेण्डा
चौथो, आज राष्ट्रिय राजनितिमा देखा परेका प्रमुख मुद्दाहरुको विषयमा हाम्रो स्पष्ट दृष्टिकोण अगाडि सारौं । लामो समयदेखि राजनितिक अस्थिरताको भूमरीमा फसेको नेपाललाई राजनीतिक स्थायित्व दिनुपर्नेछ । भूराजनितिक प्रभाव, जातिय तथा क्षेत्रिय विविधता, निर्वाचन प्रणाली र राजनीतिक शक्ति सन्तुलनलाई समेत मध्यनजर गर्दा अहिलेको संसदीय व्यवस्थाले राजनीतिक स्थायित्वको प्रत्याभूति गर्न सक्ने आधार देखिँदैन । त्यसैले शासकीय स्वरुपमा परिवर्तन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा जान आवश्यक देखिन्छ ।

नेपालको भूराजनितिक संवेदनशिलतासमेत मध्यनजर गर्दै राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय सन्धी सम्झौता तथा देशको राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डतासंग सरोकार राख्ने विषयमा प्रतिनिधिसभाको दुईतिहाई मतले पूर्व स्विकृत लिई निर्णय लिनुपर्ने प्रावधान राखी देश चलाउने कार्यकारी अधिकार सहितको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राष्ट्रिय एकताको प्रतिकको रुपमा संसदबाट निर्वाचित संवैधानिक राष्ट्रपति रहने शासकीय स्वरुपले नेपालमा राजनीतिक स्थिरताको प्रत्याभूति गर्नेछ । हिजो संविधान निर्माण गर्ने बेलामा एमालेले अगाडि सारेको यो विचारलाई आत्मसाथ गर्दै अपनत्व ग्रहण गर्नुपर्नेछ । त्यस्तै आज देशको आन्तरिक आम्दानीले चालु खर्चसमेत धान्न नसकी वैदेशिक अनुदान र ऋणमा भर पर्नुपर्ने अवस्था सिर्जना भएको छ । अर्कोतर्फ पुँजीगत खर्चको स्थिति त झन् दयनीय छ । त्यसैले सार्वजनिक खर्च कटौती गरी विकास खर्च बढाउन नितान्त आवश्यक छ ।

त्यसका लागि प्रदेश संरचना खारेज, जिल्ला समन्वय खारेज, प्रतिनिधिसभा र राष्ट्रिय सभाको सदस्य संख्या कटौती, स्थानीय तह ४५० आसपास कायम तथा अनावश्यक आयोग र समिति खारेज गर्ने काम गर्नुपर्नेछ । त्यस्तै भ्रष्टाचार नियन्त्रण गरी सुशासनको प्रत्याभूति दिन शक्तिशाली आयोग निर्माण गरी छानबिन गर्ने र दोषीलाई सजाय दिने काम गर्नुपर्नेछ । ज्वलन्त राष्ट्रिय मुद्दाहरुमा स्पष्ट धारणा बनाएर फागुनमा हुने निर्वाचन भाग लिने र संसद मार्फत संविधान संशोधन गर्नुपर्नेछ ।

जनताको सुखदुःखको साथी बनौं
पाचौं, माथि उल्लेखित चारवटा कामहरु सम्पन्न गरी आत्मालोचनासहित जनताको बिचमा जानुपर्नेछ । भएका गल्ती र कमजोरीप्रति जनतासंग माफी मागौं, हामीले गरेका राम्रा कामको जानकारी गराऔं, हाम्रा आगामी एजेण्डा जनतालाई बुझाऔं र अब हामी सच्चिएर यसरी अगाडि बढ्नेछौं भनी जनतालाई हाम्रो व्यवहारबाट आश्वस्त पारौं । जनताको सुखदुःखको साथी बनौं । नेता कार्यकर्ताको कार्यशैली र जीवनशैली जनमैत्री बनाउ । गुट उपगुटलाई निस्तेज पारौं । कामको मूल्याङ्कनका आधारमा जिम्मेवारी र अवसर प्रदान गरौं । यसरी अगाडि बढ्दा मात्र नेकपा एमाले फेरि जनताको प्रिय पार्टी बन्नेछ ।