घनश्याम कोइराला
मानिसले गुण र दोषका बारेमा कुरा गर्दछन् । सामान्य मान्यता के पाइन्छ भने आपूmलाई मन परेका विषयजति गुण र मन नपरेका जति दोषजस्ता देखिन्छन् अर्थात् मन परेको राम्रो, मन नपरेको नराम्रो । तर, वास्तविकता त्यस्तो हुँदैन । मन पर्नु, मन नपर्नु मानिसका रुचिका विषय हुन् । मन पर्दैमा गुण र मन नपर्दैमा दोष हुँदैन । मानिसका सन्दर्भमा भन्ने हो भने गुण र दोष मानिसका प्रवृत्ति हुन् । यस विषयमा शास्त्रमा भनिएको छ ।
यथाधिकारं विधिषु प्रवृत्तिर्गुण उच्यते । अधिकारोपप्लवेन प्रवृत्तिर्दाेष उच्यते ।।
यसको अर्थ हो, अधिकारअनुसार विधिहरूमा रहँदाको प्रवृत्तिलाई गुण भनिन्छ भने अधिकारलाई नाघेको प्रवृत्तिलाई दोष भनिन्छ । आजभन्दा झण्डै १०० वर्ष पहिले हाम्रै नेपालका विद्वच्छिरोमणि पं.कुलचन्द्र गौतमले यो श्लोक रचना गर्नुभएको रहेछ । अहिले पनि हामीहरू अधिकारबारे अस्पष्ट देखिँदै छौँ । गुण र दोष खुट्याउन अलमलिइरहेका छौँ ।
वस्तुका हिसाबले भन्ने हो भने चाहे प्राकृतिक हुन्, चाहे मानवीय आविष्कार, अनुसन्धान र अध्ययनका निष्कर्ष, सबै कामलाग्दा हुन्छन् तर सबैलाई, सबै ठाउँमा, सबै समयमा उत्तिकै काम लाग्छ भन्ने हुँदैन । प्रकृतिमा कुनै त्यस्तो वस्तु छैन जो कुनै न कुनै काममा उपयोगी नभएको होस् । मानिस हुन् वा पशुप्राणी, प्रकृतिको यही उपयोगी सिद्धान्तबाट प्रेरित भइरहेका छन् । मानिसले निर्माण र सिर्जना गरेका, गर्दै गरेका सबै विषयहरू पनि यस्तै छन् । सबै मानिस पनि जान्ने नै छन् । तर, सबै प्रश्नको एउटै उत्तर, सबै विषयको एउटै केन्द्र, सबै रोगको एउटै उपचार ठान्नु मानिसको अज्ञान वा कमजोरी मात्र हो ।
पहिलेपहिले मानिसको ज्ञान, सिप र चेतनाको दायराभन्दा अहिले निकै विस्तार भएको छ । मानव सभ्यताको विकासका क्रममा यस्तो समय पनि रह्यो, जब सबै विषयको ज्ञानको भकारी एउटै या सीमित शक्तिशाली व्यक्तिलाई मानिने हुन्थ्यो । उनीहरूले त्यस्ता मानिसहरूलाई सर्वज्ञ माने र भने । अहिलेका मानिसले एउटै कम्प्युटर÷ल्यापटप खोलेर इन्टरनेटमा गुगलसर्चद्वारा फरक फरक मानिसले मिहिनेत गरेर राखिएका अनेकौँ विषयका सूचना प्राप्त गर्न सक्दछ । सूचनाबाट जानकारी र यसबाट ज्ञान हासिल गर्न सक्दछ । यस्तो कुरा कुनै एउटा मानिसबाट सम्भव भएको मान्न आज सकिँदैन ।
हामी सानो छँदा कुनै ठूलो रुख चढ्ने, टाकुरामा पुग्ने वा त्यहाँबाट हाम फाल्ने कुरा चल्दा कसैले आफ्ना बाले र धेरै जसोले राजाले मात्र त्यस्तो गर्न सक्ने दाबी गर्दथ्यौँ । कतिले त यस्तो काम भगवानले मात्र गर्न सक्ने पनि भनिन्थ्यो । हाम्रा बालमस्तिष्कमा बा ठूला मानिस हुन्थे र राजा सबैभन्दा शक्तिशाली हुन्थे । भगवान वा देउता त सबैभन्दा महान् र ठूला मानिने नै भए । जे छ, जे देखिन्छ त्यसको आकलन वा मूल्याङ्कन गर्न सकिन्छ । तर जे देखिँदैन, त्यसलाई जति ठूलो र शक्तिशाली भन्न सकिने नै भयो ।
पछि पछि थाहा हुँदै आयो–हाम्रा बा होइन, शक्तिशाली त राजा हो । राजा सबै कुरा जान्दछन्, सबै ठूलो काम गर्न सक्दछन् । राजाले गर्न नसक्ने काम केही पनि छैन । त्यही भएर त राजासँग सबै डराउँथे । सर्वशक्तिमान र सर्वज्ञ मानिएका राजाप्रति सम्मान कम र उनीबाट डर बढी हुन्थ्यो । किन कि, राजा त आफ्नो प्रभाव र शक्ति आफ्ना प्रतिनिधिका माध्यमबाट प्रदर्शन गर्दा रहेछन् । हामीले जान्दा राजाका प्रतिनिधि प्रहरी, शाही सैनिकहरू, पञ्चहरू, सृष्टि र सिर्जनालाई जानिनसक्नु, रहस्यमय भनेर प्रचार गर्ने केही पुरेतहरू हुन्थे । राजा राज्यशक्तिको स्रोत र केन्द्र थिए भन्ने सुल्टो ज्ञान नभएर उनी शक्तिशाली र सर्वज्ञ भएर राजा भएको भन्ने उल्टो ज्ञान हामीले राखेका थियौँ । समाजको ठूलो पङ्क्ति यही बुझ्दथ्यो ।
अहिले राजाको शासन छैन । राजाले शासन गर्दा निर्दलीय, एकतन्त्रीय, एकजातीय, एकवंशीय, एकधर्मीय, एक केन्द्रीय शासन थियो । यस्तो शासन कुनै जनताको सुरक्षा तथा लोकहितको सिद्धान्तमा आधारित थियो, थिएन त्यो आफ्नो ठाउँमा छ । तर त्यसको सञ्चालनमा ती सिद्धान्त र मान्यतामा कमजोरी देखिँदै थियो । सत्ताका आडमा भोगविलास तथा ऐशो–आरामका लागि शासनको शक्ति केन्द्रित गरिएको थियो । यसका सीमाबन्धन पनि यही नै रहेको थियो । जनताको अज्ञानता र भयदोहन नै शक्तिको स्रोत थियो । जनतामा ज्ञान वृद्धि भएर भय हराउँदा घामको झुल्कोसँगै शीत ओबाएझैँ त्यो व्यवस्था ओझेल प¥यो । अहिले बहुदलीय, गणतन्त्रीय, लोकतन्त्रीय, बहुजातीय, बहुधर्मीय, बहुकेन्द्रीय, अनेक वंशीय शासन स्थापित भएर सञ्चालित छ अर्थात् शासन सत्ताका स्रोत जनता भएका छौँ, जनता शक्तिशाली भएका छौँ । जनताबाट निर्वाचित प्रतिनिधिले नीति निर्माण गर्दछन् । प्रशासनले तिनै नीतिहरू कार्यान्वयन गर्दछ ।
चौक, बजार, चियापसल, कार्यालयहरू आदि सार्वजनिक ठाउँहरूमा र घरमा इष्टमित्रहरूसँगका बातचितमा नेता र पार्टीहरूका विरुद्धमा चर्चा र बहस हुन्छन् । आमरूपमा अहिले कुनै नेता र पार्टीलाई क्या बात् भन्दैनन् । सबैले मूलतः आफ्नै नेता र पार्टीलाई धिक्कारिरहेका देखिन्छन् । असन्तुष्टि ओकलिरहेका हुन्छन् । शिक्षक, किसान, कर्मचारी, व्यापारी, विद्यार्थी आदि सबै नै सबै पार्टीका विरुद्धमा देखिन्छन् । यस्तो किन होला किनभने राजनीतिक दलहरूले आफ्नो राजनीतिक कामलाईभन्दा अन्य कामलाई राजनीतिक कामजस्तो बनाइदिए । राजनीति गर्ने व्यक्तिहरूका आफ्ना परिस्थिति परिवेशका विषय धेरै हुन सक्दछन्, तर उनीहरूको मुख्य काम नीतिगत विषयमा काम गर्नु नै हो । उनीहरूले मुख्य कामसम्बन्धी आफ्ना अयोग्यता लुकाउन र उचित कामबाट लोकप्रियता हासिल गर्न तथा त्यसको जगेर्ना गर्न नसक्दा अन्य कामहरूलाई नै राजनीतिक जिम्मेवारीसरह राख्न खोजेका हुनाले यस्तो अवस्था सिर्जना भएको हो । एक हिसाबले हेर्दा राजनीतिक दलहरू ‘मायाँ बैगुनी, नभई नहुने’ जस्ता भएका छन् ।
माथिल्ला पङ्क्तिहरूमा गुण, दोष, अधिकार, प्रवृत्ति आदिबारे केही चर्चा गरियो । हुन त समाजलाई सुन्दर, शान्त, समृद्ध र सभ्य बनाउन समाजका सबै क्षेत्र, सबै मानिसहरूको भूमिका हुन्छ तर यतिबेला नेपाली समाज राजनीतिबाट प्रभावित छ । देशमा राजनीतिक स्थिरता नभएको हुनाले पनि राजनीति बढी चर्चामा रहने गरेको हो । विरोधी हुन् वा समर्थक प्रायः सबै मानिसहरू राजनीतिक दल र नेताहरूबारे चर्चामा भुलिरहेको अवस्था रहेको छ । यस्तो अवस्थामा राजनीतिक दलहरू, दलका नेता–कार्यकर्ताहरूले शक्तिको दम्भ नगरी, साना र नयाँले हीनताबोध नगरी, एकले अर्काको तेजोवध नगरी जनताका बिचमा जान आवश्यक छ । दलका नेता कार्यकर्ताहरूले आफ्नै सङ्गठनका आन्तरिक काममा मात्र नअल्झिई समाज र समुदायको आवश्यकताको सम्बोधन हुने गरी राजनीतिक अभियान अगाडि बढाउन आवश्यक छ । राजनीतिजस्तो अनिवार्य, निर्विकल्प र पवित्र क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूले यसको निहितार्थ खोज्नुपर्छ र आफूलाई सोहीअनुरूप उभ्याउनुपर्छ ।
राजनीतिक व्यवस्था र अवस्था परिपक्व नहुँदासम्म दलहरूले नै सामाजिक अभियानहरूको अगुवाइ गर्नुपर्ने देखिन्छ । आआफ्ना निर्धारित विधिमा रहेर अधिकारहरूको प्रयोग गर्दा गुणहरूको विकास गर्न सकिन्छ र त्यसविपरित गर्दा दोष बढ्दछ । गुण बढाउने काम सबैले गरौँ ।
