घनश्याम कोइराला
पुस र माघ महिना नेपाली समाजमा सबैभन्दा लामो कथा सुन्ने–सुनाउने महिना हो । पुस शुक्ल पक्षको पूर्णिमा तिथिदेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लामो व्रत बस्ने र कथा सुन्ने प्रचलन छ । यसलाई स्वस्थानी व्रत कथा भन्ने गरिन्छ । हुन त अन्य धर्ममा पनि एक महिनासम्म दिउँसोमा पानी पनि नपिई व्रत बस्ने प्रचलन नभएको होइन, तर त्यसमा र यसमा ठूलो तात्विक भिन्नता छ । यसमा व्रत बस्ने र कथा सुन्ने गरिन्छ । कथाभित्र ज्ञान प्राप्त गर्नु, भक्तिभाव बढाउनु र योगबारे जान्नु र योगाभ्यास गर्ने विषय पर्दछ । यसलाई यही रूपमा सूत्रीकरण नगरिएको भए तापनि कथा श्रवणबाट प्राप्त हुने ज्ञान, भक्ति र योगबारे जानकारी नै हो ।

ज्ञान भनेको जीवन र जगत्का बारेमा प्राप्त गरेका जानकारीहरूलाई आत्मसात गर्नु हो । यसमा खाद्य–अखाद्यका बारेमा जान्नु हो । जीवनलाई सुखी, समृद्ध र सन्तुष्ट पार्ने विधि र विषयहरू थाहा पाउने हो । दुःख–कष्टबाट जोगिने युक्ति र सहन गर्न सक्ने धैर्य गर्ने सीप हासिल गर्ने हो । यी विषयहरू नै कथाका मूल विषयहरू हुन् । भक्ति भनेको निष्ठा र समर्पण हो । भक्ति भनेको उच्चतम विश्वास हो । यस भक्तिभित्र ईश्वर वा देवभक्ति, राष्ट्रभक्ति, समाजभक्ति, मातृभक्ति, पितृभक्ति, भातृभक्ति, मित्रभक्ति आदि हुनसक्दछ । योग भनेको जोड हो । मन वा विचारलाई कर्मसङ्ग जोड्नु हो ।
शब्दको हिसाबले ‘स्वस्थानी’को अर्थ यस प्रकार लाग्दछः ‘स्व’ भनेको आपूm वा आफ्नो भन्ने हुन्छ भने ‘स्थानी’ भनेको स्थानको भन्ने हुन्छ । तर स्वस्थानीको विस्तारलाई बुझ्न स्वस्थानी शब्दलाई पनि फरक ढंगले नै बुझ्नुपर्ने हुन्छ । यसरी हेर्दा ‘स्व’ शब्दले–आपूm, आफ्नो, आफन्त÷बान्धव, धन, चराचर (सृष्टिका सबै) लाई जनाउँछ । ‘स्थानी’ भनेको स्थान÷ठाउँ हो ।
नेपाली समाजमा स्वस्थानी एउटा पारम्परिक पर्व हो । पर्व भनेको संसारमा गरिने विशेष कार्य हो । ‘व्रत’ भनेको अठोट र सङ्कल्पसहित निष्ठापूर्वक गरिने कर्म हो । ‘कथा’ भनेको केही ऐतिहासिक विषय, पात्र र घटनालाई आधार बनाएर कल्पित वर्णन हो ।
कथाका केही मुख्य पात्रहरू र तिनीहरूबाट पाइने सन्देश महत्वपूर्ण छन् । दक्षप्रजापति सतीदेवीको बाबु हुन् । ‘दक्ष’ भनेको बाठो हो । ‘प्रजापति’ भनेको जनताको अगुवा वा नाइके हो । प्रकृतिको नियम विपरीत र आवश्यकताभन्दा बाठो हुँदा के हुन्छ भन्ने परिणाम दक्षलाई बाख्राटाउके देखाइउनुले स्पष्ट पारेको छ । सतीदेवीकी आमा दक्षप्रजापतिकी श्रीमती हुन् । उनको नाम विरणी । विरणी भनेको रण वा युद्ध, झगडा आदि गर्न नचाहने भनेको हो । कथामा उनी यस्तै थिइन् भनिएको छ । यिनको नामबाट लिइने सन्देश महत्वपूर्ण छ ।
सती भनेको निष्ठा हो । निष्ठाको जन्म शान्तिबाट हुन्छ । युद्ध, कलह, झगडाबाट निष्ठा जन्मदैन । निष्ठाको कोख शान्ति मात्र हुन्छ भन्ने दृष्टान्त हो ः विरणीबाट सतीको जन्म । कथाअनुसार दक्षताको घमण्डले निष्ठालाई बाधा पर्न गयो । दक्षताको घमण्डले निष्ठाको समाप्ति हुन्छ । निष्ठाको समाप्तिको परिणाम ध्वंशको वा अकल्याणको बाटो हो भन्ने विषय स्वस्थानीको कथाबाट बुझ्न सकिन्छ । ‘शिव’ भनेको कल्याण हो । कल्याण गर्ने ‘देव’ हुन् भने विपरीत कर्म गर्नेलाई ध्वंशको स्थितिमा पु¥याउन त्योभन्दा ठुलो शक्ति देवलाई पनि नटेर्ने ‘महादेव’ प्रकट हुन्छन् भन्ने राम्रो दृष्टान्त स्वस्थानीको कथामा रहेको छ ।
सात वर्षकी गोमा र सत्तरी वर्षका शिवशर्मा बिचको अनमेल विवाहको विषय नेपाली समाजमा आलोच्य रहेको छ । हुन त कथामा यस्तो हुनुपर्छ भनिएको नभई यस्तो भएको मात्र देखाइएको छ । त्यतिबेलाको समाजमा पनि विवाहको उमेर यौवनावस्था नै हो भनिएका धेरै उदाहरण पाइन्छन् । विद्वान्हरूले सात वर्षकी गोमा र सत्तरी वर्षका शिवशर्मा बिचको अनमेल विवाहको विषयलाई दृष्टान्तका रूपमा लिनुपर्ने बताउँछन् तर पनि त्यसलाई आजको समाजले अघि सारेका वृद्ध विवाह, अनमेल विवाह, बाल विवाह रोक्ने सन्दर्भमा प्राप्त गरेका सफलताहरूको आधारको रूपमा लिन सक्न्छि ।
कथा र कथाका पात्रहरूको बाहिरी पक्ष मात्र हेर्दा यस कथामा गोमा नाम गरेकी सात वर्षकी कन्यासँग शिव शर्मा नाम गरेका ७० वर्षका वृद्धको विवाह भएको प्रसङ्गबाट बालविवाह र अनमेल विवाहको वर्णन पाइन्छ । तर, केही भिन्न परिस्थितिले उत्पन्न अपवादबाहेक स्वस्थानी र अन्य पौराणिक ग्रन्थहरूमा सात वर्षकै कन्याको विवाह सत्तरी वर्षका वयोवृद्धसँग गर्ने–आदेश निर्देश कतै छैन । कथालाई कथाकै रूपमा लिनुपर्दछ ।
हामीले सुन्ने कथाभित्रै देखिने अर्को पक्ष हो महिना दिन लामो व्रत महिलाहरूले मात्र लिइनु, तर १०८ गणनाको रोटीको प्रसाद भने सकेसम्म श्रीमान्लाई, श्रीमान् नभए छोरालाई, छोरा नभए मितका छोरालाई, मितका छोरा पनि नभए नदीमा बगाइदिने प्रावधानले समाजमा रहेको पुरुषप्रधानतालाई निकै महत्व दिएको पाइन्छ । समय बदलियो, कथाको माध्यमबाट विगत बुझ्ने र वर्तमान सुधार्ने गर्नु पर्दछ । व्यवहारमा पुरुष प्रधानता देखिए पनि व्रत र पूजा देवीको नै हुने गरेको विषय महत्वपूर्ण छ । स्वस्थानीको नाममा पूजा गरिने देवी नारी नै छन् । ‘स्वस्थानी’ देवीलाई अष्टदल कमलको पूmलको आकरमा बिचमा राखेर पूजा गरिन्छ भने उनका चारैतिर वैष्णवी, ब्राह्मी, महेश्वरी, कौमारी, वाराही, इन्द्राणी, चामुण्डा, महाकाली नाम गरेका आठवटी देवीहरूकै पूजा गरिन्छ । स्वस्थानीको मूलपक्षका रूपमा नारीशक्तिको पूजनीयतालाई स्वीकार गर्नु नै देखिन्छ ।
स्वस्थानी व्रतकथाले नेपाली भाषामा कथा भन्ने र सुन्ने प्रचलन कायम गरेको छ । जसले गर्दा धर्मका कथा संस्कृत भाषामा नै हुनुपर्छ र पण्डितले मात्र कथा भन्नुपर्छ भन्ने मान्यता तोडिएको छ । नेपाली भाषामा नै कथा लेखिएको हुनु, स्वस्थानीको व्रतकथाको परम्परा नेपालमा मात्र हुनु, नेपाली समाजमा मात्रै कथा सुन्ने सुनाउने आप्mनै मौलिक परम्पराले यो हाम्रो यसमा नेपालीपन देखिन्छ । कथामा नेपालको विभिन्न क्षेत्र, स्थान, तीर्थहरूको वर्णन पाइनु यसको अर्को महत्वपूर्ण पक्ष हो ।
व्रतमा अपनाइने ‘पवित्रता’ले स्वच्छ वातावरण र स्वस्थ शरीर राख्न मद्दत गर्छ । यसै कारण व्रतको समयावधि भरी सात्विक भोजन र संयमित जीवनचर्याले आरोग्य प्राप्त हुन्छ । सदाचारले सहज जीवन जीउने सकारात्मक उर्जा प्रदान गर्दछ ।
स्वस्थानीमा परिवारकै सदस्यले व्रत लिने, कथा भन्ने र सुन्ने गरिन्छ । यस परम्पराले पारिवारिक जमघट, एकता र मेलमिलाप बढाउन विशेष भूमिका निर्वाह गरेको छ । यो कथा सुन्नका लागि निमन्त्रणा आवश्यक हुँदैन । जुनसुकै जात–वर्गले सुन्न, सुनाउन र प्रसाद ग्रहण गर्न हुन्छ । समाजका जुनसुकै वर्ण र वर्गका मानिसहरू भेला हुने अवसर भएकोले स्वस्थानीले सामाजिक एकताको विकास गर्नमा योगदान गरेको छ । यस कथालाई माध्यम बनाएर महिलाहरू समेत जुट्दछन्, एकै ठाउँमा बसेर कथा भन्ने र सुन्ने गर्दछन् । यस्तो परम्पराले महिलाहरूलाई समेत एकताबद्ध हुन, सुन्न, सुनाउन, पढ्न, पढाउन र अन्य सामाजिक पक्षकोे विकासमा मद्दत पु¥याएको छ । आपूm शिक्षित नभएका अविभावकहरूले पनि आप्mना बालबालिकालाई कथा पढ्न वा भन्न लगाई सुन्ने गर्दछन् । यसले बालबालिकाहरूमा नैतिक चेतना र आध्यात्मिक भावनाका बढ्नुको साथै शुद्धसँग पढ्ने र वाचन गर्ने कलाको विकास गर्न समेत मद्दत पु¥याएको हुन्छ ।
स्वस्थानी होस् वा अन्य कथाका रूपमा पढ्ने सुन्ने गरे पनि गूढार्थको खोजी र विश्लेषण गर्ने काम भने भइरहेको देखिँदैन । गूढार्थको खोजी र विश्लेषण गर्ने हो भने स्वस्थानीव्रत कथाबाट धेरै शिक्षा लिन नसकिने होइन तर मान्ने र नमान्ने अति र अन्धविश्वासले गर्दा यसलाई हेर्ने गतिशील दृष्टिकोण बन्न सकिरहेको छैन । कुनै पनि वस्तु, स्थान र घटनामा रहेका असल पक्षलाई नकार्नु र बुझ्ने प्रयास नै नगरी मान्नु दुवै अन्धविश्वास हुन् । समाजको विकासमा मानवीय क्रियाकलापको भूमिका नै सर्वोपरि हुन्छ । मानिसका कृयाकलापद्वारा नै समाज विकसित हुन्छ । समाजका आवश्यकता अनुसार नै संस्कृतिको पनि विकास भएको हुन्छ । समाजमा भएका विभिन्न किसिमका क्रियाकलाप र संस्कृतिहरूले समाजलाई एकताको सूत्रमा बाँध्न सक्दछ । समाजमा परम्परादेखि आएर रहेका विभिन्न संस्कृतिभित्र रहेका वैज्ञानिक र व्यवहारिक पक्षहरूको संरक्षण गर्नु आजको अपरिहार्य आवश्यकता हो ।
स्वस्थानीको सारभूत शिक्षा भनेको सनातनलाई स्वीकार गर्नु, कपट नगर्नु, आपसमा मिलेर बस्नु, मिलेर काम गर्नु, मिलेर आर्जन गर्नु, समाजमा र आपसमा केही अनमेल भए आपसमा मिलाउनु, निष्ठाको रक्षा गर्नु, युद्धमुखी नहुनु, कल्याणकारी बाटोमा लाग्नु, प्रकृतिको रक्षा गर्नु आदि हो । यस्ता विषयका लागि कम्तीमा वर्षमा एक पटक लामै समय (एक महिना) ज्ञान प्राप्त गर्न, भक्ति विस्तार र सुदृढ गर्न तथा तत्परता विकास गर्ने अभ्यास गर्न चलाइएको परम्परा हो । जस्तोसुकै दुःख सहन सक्ने, हरेक दुःखमा विकल्प खोज्नसक्ने विषयहरू यस कथाभित्र छन् । सहभागितामुखी संस्कृतिको विकासमा स्वस्थानी व्रतकथाको महत्वपूर्ण भूमिका हुन सक्दछ ।
समय फेरिएको छ तर मानिसका दुःख सकिएका छैनन् । विज्ञानले निकै ठूलो प्रगति गरेको छ तर सबैका पहुँचमा छैन । सबै भएर पनि उपयुक्त पहल, सुविचारित कर्म, समयानुसारको व्यवहार आदि हुन सकेन भने उपलब्धिको भाग हाप्mनो पक्षमा पर्दैन भन्ने कुरा बुभ्mन आवश्यक छ । कथा सुन्दा दोह¥याउने हो, तर जीवनलाई प्राचीन कथामा ढाल्ने होइन । विगतका सोचाइ, बुझाइ, भोगाइ, गराइ बुझ्न स्वस्थानी व्रत र यसको कथाले सहयोग पु¥याउन सक्दछ । जीवन र समाज त पछाडि फर्कँदैन, अगाडि नै लम्कन्छ ।
