मेरो निद्रा: खुट्टाबाट सुरु भएको उपचार जब मस्तिष्कसम्म पुग्यो…

मेचीकाली संवाददाता

२२ पुष २०८२, मंगलवार
221 shares

डी.आर.घिमिरे

निद्रा र मेरो सम्बन्ध बडो रोचक छ । जसबारे केही दिन पहिला सामाजिक सञ्जालमा एउटा स्टाटस पनि राखेको थिएँ । एक दिन डा.दिलजन मन्सुरको निद्रासम्बन्धी भिडियो पाएपछि आफ्नो पिडालाई स्मरण गर्दै पूरै सुनें । उनले डा.म्याथ्यु वाकरको विश्वप्रसिद्ध पुस्तक Why We Sleep (हामी किन सुत्छौं) नामक पुस्तकलाई उद्दृत गर्दै निद्राका आयामवारे चर्चा गर्दै थिए । उनको प्रस्तुतिले फेरि मलाई यसवारे तुलनात्मक अध्ययन गर्न मन लाग्यो । किनकि यो समस्या आम व्यक्तिमा रहेकोले कतिपय अनुभवलाई प्रस्तुत गर्दा अरु धेरैका लागि लाभदायक हुन पनि सक्छ ।

निद्रा कस्तो हुनुपर्छ भन्यो भने प्रायःगहिरो भनेर भनिन्छ । निश्चयनै गहिरो निद्रा स्वास्थ्यका लागि अत्यावश्यक छ तर मेरो हकमा मलाई निद्रा त थियो तर गहिरो रहेनछ भन्ने कुरा थाहा पाउन मलाई तीन वर्षभन्दा बढी समय लाग्यो । अपवादमा त्यसबिचमा एकपटक १२ दिन मलाई निद्रा लागेको थिएन । जसका कारण मैले केही सास्ती बेहोर्नुप¥यो । अन्ततः एकजना आयुर्वेद चिकित्सक वीपी तिम्सिनाको सल्लाह नुसार राती सुत्नुअघि १५ मिनेट नुन पानीमा खुट्टा चोबेर तताउने र तत्पश्चात् मरिचको धुलो हाली एक गिलास दुध खाने गरेपछि मेरो निद्रा जाग्यो । स्मरणीय कुरा के हो भने पायल्स हुनेहरुको हकमा मरिच बर्जित मानिन्छ ।

यसैबिच करिब तीन वर्षपछि मेरो टाउको अकस्मात् दुख्न थाल्यो । नेपालदेखि भारतका वरिष्ठ फिजिसियनदेखि न्युरोलोजिष्टसम्म सम्पर्क गरेँ । नेपालमा त हैन भारतीय चिकित्सकले माइग्रेनको दवाई खान सिफारिस गरे । तर नेपाली चिकित्सकले माइग्रेन होइन भनेपछि सो दवाई मैले खान सकिनँ र फेरि आयुर्वेद चिकित्सक तिम्सिनाको सम्पर्कमा पुगेँ । उनले पित्त बढेर यो समस्या आयो भनी केही दबाई दिए । जसले मेरो टाउको निको भयो ।

तत्पश्चात् खुट्टाको कुर्कुच्चा दुख्न थाल्यो । आजभोलि यो समस्या धेरैमा देखिएको पाएको छु । यसबारेमा पनि नेपाल भारतका केही चिकित्सकहरुसँग सम्पर्क गरी दवाई पनि लिएँ तर यो दीगो समाधान हुँदैन भनेपछि जुताको तलुवा नरम बनाएर लगाउन थालेको छु । यही नै एक मात्र उपाय रहेछ कि जस्तो पनि लाग्न थालेको छ । यसले केही हदसम्म ठिक गरेको छ । यसबाहेक यसबारे मैले केही खोज र अनुभव गरिरहेको छु जसको परिणाम देखिएपछि मात्र सविस्तार उल्लेख गर्ने छु ।
यसबारे परम्परागत चिकित्सामा के उपाय हुन सक्छ भनी पञ्चगव्य विशेषज्ञ र मेरो तीन दशकदेखि नियिमित सम्पर्कमा रहनुभएका बाबा योगिराजजीलाई सोधेँ । उहाँले किटानसाथ त केही भन्नुभएन तर तातो पानीमा सेकेर नियमित तोरीको तेलले मालिस गर्ने नै उत्तम उपाय हो भन्नुभयो ।

त्यसपछि मेरो पूर्व अनुभवका आधारमा पनि यही उपाय अपनाएँ । सुत्नुअघि खुट्टा राम्ररी धोएर, तातो पानीमा केहीबेर डुबाउने अनि तोरीको तेल लगाउने । यो कुनै पनि महँगो र अफ्टेरो विधि थिएन, त्यसैले यसलाई अपनाउँदै गएँ । यसको प्रभाव गहिरो निद्रा त लाग्नेनै भयो जो मेरो अनुभवमा आधारित थियो । तर चकित पार्नेकुरा के भयो भने मेरो तौल २ किलो बढ्यो । अनुहारमा विशेषप्रकारको चमक आउन थाल्यो । टाउको पूरै दुख्न छाड्यो । दैनिक भेट हुने साथीहरुले के चमत्कार भयो भन्न थाले । जबकि भएको खासमा गहिरो निद्रा नै थियो । अरु केही थिएन ।
अन्ततः, मेरो टाउको दुख्ने समस्यार शरीरमा केही कमजोरी जस्तो देखिने कुरा टाउको भन्दा निद्राको गुणस्तरमा रहेछ भन्ने बुझाइ बिस्तारै विकास हुँदै गएको छ र मलाई महसुस भएको छ कि दैनिक कम्तीमा ६ घण्टा थाहा नपाउने गरी सुत्नै पर्ने रहेछ ।
करिब पाँच वर्ष अघि मैले उनै दिलजन मन्सुरको सल्लाहमा सुगरबाट मुक्त हुनका लागि किटो डाइट गरेको थिएँ । यसबाट कसैलाई बेफाइदा भएको पनि सुनेको छु तर मलाई पाँच वर्षदेखि सुगरको दवाई खानुपरेको छैन । तथापि हरेक महिना सुगर जाँच गर्छु र हरेक तीन महिनामा Hba1c पनि हेर्ने गर्छु ।

अब कुरा गरौं अलिकता वाकरको विश्वप्रसिद्ध पुस्तकका बारेमा । उक्त पुस्तकका कतिपय अंश सुन्दा र आफ्नो जीवनका अनुभवसँग तुलना गर्दा मैले एउटा सच्चाईलाई महसुस गरेको छु । त्यो भनेको निद्रा केवल दिमागको विषय होइन रहेछ, सम्पूर्ण शरीरको सामूहिक जैविक प्रक्रिया रहेछ ।र निद्राको चावी कहिलेकाहीँ खुट्टामा पनि लुकेको हुने रहेछ । हुन पनि यदि हामीलाई गहिरो निद्रा लाग्दैन र पेट पनि सफा हुँदैन भने यी दुवै कुरामा सुधार ल्याउन अति आवश्यक छ । मेरो विचारमा ६० प्रतिशत रोगको कारण यीनै दुईवटा विषयबाट निको गराउन सकिन्छ ।

डा. म्याथ्यु वाकरले Why We Sleep मा निद्रालाई ‘शरीरको मर्मत प्रणाली’ भनेर परिभाषित गरेका रहेछन् । उनका अनुसार निद्रामा मस्तिष्क मात्र आराम गर्दैन, सक्रिय रूपमा आफूलाई सफा, सन्तुलित र पुनर्निर्माण गर्छ । विशेषगरी गहिरो निद्राका बेला मस्तिष्कमा जम्मा भएका विषाक्त पदार्थ सफा हुन्छन् । जसका कारणले टाउको दुखाइ, मानसिक थकान र दीर्घकालीन रोग निम्त्याउन सक्थे ।
वैज्ञानिक तथ्यले भन्छ–निद्राका लागि शरीरको तापक्रम घट्नुपर्छ । डा.वाकर भन्छन्–जब शरीरको केन्द्रिय तापक्रम केही मात्रामा घट्छ, तब मस्तिष्कले ‘अब सुत्ने समय भयो’ भन्ने संकेत पाउँछ । यही कारणले सुत्नुअघि नुहाउने, खुट्टा तातो पानीमा डुबाउने जस्ता अभ्यासहरूले निद्रामा सहयोग पु¥याउँछन । तातो पानीबाट खुट्टा निकाल्दा शरीरले ताप बाहिर फाल्छ, जसले आन्तरिक तापक्रम घटाउन मद्दत गर्छ । शायद चिनियाँहरुले सुत्ने समयमा नुहाउनुको कारण यही होला ।

मेरो अनुभव ठिक यही सिद्धान्तसँग मेल खान्छ । खुट्टा तातो पानीमा डुबाउनु र तेल मालिस गर्नुले केवल आनन्द दिएन, यसले सम्पूर्ण स्नायु प्रणालीलाई शान्त ग¥यो । शरीरले विश्रामको संकेत पायो, र मस्तिष्कले निद्राको ढोका खोल्यो ।

खुट्टा र मस्तिष्कको सम्बन्ध
पूर्वीय परम्परागत ज्ञान (आयुर्वेद र चिनियाँ चिकित्सा) ले खुट्टालाई ‘स्नायुहरूको नक्सा’ मानेको छ । आधुनिक न्यूरोसाइन्सले पनि यो सम्बन्धलाई आंशिक रूपमा स्वीकार गर्न थालेको छ । खुट्टामा रहेका स्नायुहरू मेरुदण्ड हुँदै मस्तिष्कसँग जोडिएका हुन्छन । जब खुट्टा शान्त हुन्छ, तिनबाट जाने संकेत पनि शान्त हुन्छन । यही कारणले खुट्टाको पीडा, चिसोपन वा असहजताले निद्रा भंग गर्न सक्छ ।
वाकरको पुस्तकमा उल्लेख भएझैँ, निद्रा कुनै ‘स्विच’ अन र अफ गर्ने विषय होइन । बरु सिग्नलहरूको समन्वय हो । प्रकाश, तापक्रम, शारीरिक आराम, भावनात्मक अवस्था आदि सबै मिलेर मात्र गहिरो निद्रा सम्भव हुन्छ । मेरो अनुभवले पनि यहीसत्यलाई महसुस गराएको छ ।

टाउको दुखाइः कारणभन्दा लक्षण
हामी प्रायः टाउको दुखाइलाई समस्या ठान्छौँ तर वास्तवमा यो धेरैजसो लक्षण मात्र हुन्छ । कम निद्रा, अव्यवस्थित निद्रा, वा गुणस्तरहीन निद्राले मस्तिष्कमा सूजन, रसायनिक असन्तुलन र स्नायु थकान निम्त्याउँछ । यसको परिणाम टाउको दुख्छ । जब निद्रा सुधारियो, टाउको दुखाइ आफैँ हरायो । यसले एउटा पाठ सिकायो–समस्या जहाँ देखिन्छ, समाधान त्यहीँ नहुन सक्छ । अर्को कुरा निद्रा औषधीबाट होइन, सन्तुलनबाट आउने रहेछ ।

एउटा रोचक सन्दर्भ
हामीले कतिपयलाई रातभर नसुतेर काम गर्ने नेतालाई ठुलो मान्छे भन्ने गर्छौं । तर डा.म्याथ्यु वाकरको उक्त चर्चित कृतिको निष्कर्ष छ–निद्रा नपुगेको नेतृत्व बहादुर होइन, खतरनाक हुन्छ । निद्राको अभाव केवल व्यक्तिगत स्वास्थ्य समस्या होइन; यो सामूहिक शासनको संकट हो । जब निर्णय गर्ने मस्तिष्क थाकेको हुन्छ, तब नीति विवेकबाट होइन, आवेगबाट जन्मिन्छ । वाकरले भनेका छन्–निद्रा नपुग्दा तर्क, संयम र दीर्घकालीन सोचको केन्द्रकमजोर हुन्छ, र डर, क्रोध र आवेग हावी हुन्छ ।
जैविक थकानले मानिसलाई अविवेकी बनाउँदो रहेछ । जोखिमलाई कम आँक्ने रहेछ । नैतिक सीमालाई सजिलै उल्लंघन गर्ने रहेछ । झुट बोल्ने सम्भावना बढ्ने, सहानुभूति घट्ने र अरूको पीडा बुझ्ने क्षमता पनि कमजोर हुने रहेछ । भनिने के रहेछ भने थकित मस्तिष्कले संविधान लेख्न सक्छ, तर दूरदृष्टि लेख्न सक्दैन । वाकरले विश्व इतिहासका ठूला दुर्घटनाहरू चेर्नोबिल परमाणु दुर्घटनालगायत अन्य कैयौं दुर्घटनाहरु निर्णयकर्ताहरू निद्राविहीन भएका कारणले भएका थिए भनेर भन्दा रहेछन् ।

अन्त्यमाः रोग पत्ता लगाउने कुरा चिकित्सक भन्दा बिरामीको महसुसमा ज्यादा भर पर्दो रहेछ । यदि बिरामीले समस्यालाई बताउन सकेन भने जस्तोसुकै विशेषज्ञ चिकित्सकले पनि समस्या पत्ता लगाउन सक्दैनन् । आफूलाई भित्रबाट महसूस हुने कुरा के हो भनेर गौरपूर्वक विचार गर्ने र खास समस्या पत्ता लगाउने कोसिस नगर्ने हो भने जति ठुला अस्पताल गएर पनि उपचार हुन सक्दैन । स्वास्थ्य परीक्षण गर्दा शरीरमा रोग केही देखिँदैन । खाना मिठो हुन्छ । शरीर ख्याक्¥याक्क पर्दै गएको देखिन्छ भने आफैँ शरीरको समस्या पत्ता लगाउनुपर्ने रहेछ । यो मेरो बुझाइ र सिकाइ हो । हेक्का राखौं निद्रा कम हुनु बुढौलीको कारण मात्र नहुन सक्छ । साथै अनावश्यक मोवाइलको स्क्रिनमा भुल्ने र झुल्ने काम पनि नगरौं ।