घनश्याम कोइराला
मानिसको जीवनमा अधिकार र कर्तव्य दुवैको समान महत्व हुन्छ । अधिकारसहितको कर्तव्य निर्धारित हुने या भएको राजनीतिक व्यवस्थालाई लोकतन्त्र भनिन्छ । हामी अहिले लोकतान्त्रिक व्यवस्था उपभोग गरिरहेका छौँ । के हामी नेपाली जनता लोकतन्त्रको उपभोक्ता मात्र हौँ त ? होइनौँ । हामी जनता लोकतन्त्र स्थापनाका सहभागी योद्धा हौँ । लोकतन्त्र जनताको बलिदानी संघर्षहरुबाट प्राप्त भएको राजनीतिक उपलब्धि हो । यसै पनि लोकतन्त्र भनेको जनताद्वारा, जनताका लागि, जनताको राज्यलाई लोकतन्त्र मानिन्छ । यसरी हेर्दा ‘लोक’ अर्थात् सबैको, सबै जनताको शासन हो भन्ने स्पष्ट हुन्छ । यो सैद्धान्तिक मान्यता हो । यो मान्यताको आधारमा यसलाई असल मानिएको हो । हामी सैद्धान्तिक वहस—विवाद बढी रुचाउँछौँ । त्यसैले, हामी व्यवहारिक हिसाबले कमजोर हुन्छौं । सिद्धान्तअनुसार व्यवहार भए, नभएकोमा हामी बेखर रहन्छौँ । सिद्धान्त ठिक छ भनेर स्वीकार गरेपछि सिद्धान्तअनुसारको व्यवहार छ कि छैन भनेर खोजी गर्ने हो, खबरदारी गर्ने हो । प्रायः हामी अर्कै सिद्धान्तमा रहेर अर्कै व्यवहार खोज्दछौँ र दुःख पाउँछौं र पाइरहेका छौँ ।
कुनै पनि व्यवस्था नामले राम्रो वा नराम्रो हुने होइन, उसका गुणले हो । सिद्धान्तमा प्राण भर्ने मानिसले हो । त्यसैले, लोकतन्त्र मानिसको व्यवहार र क्षमताले राम्रो वा नराम्रो बनाउँछ । यस्तै व्यवहार र क्षमता हेरेर जनताले आफ्ना शासक छान्दछन् । निर्वाचित भएका मानिस÷नेताहरू सत्ता उन्मादले जनउत्तरदायित्वबाट स्खलित हुन सक्ने सम्भावना रहन सक्ने हुनाले निर्वाचित नेताको कार्यकाल आवधिक हुन्छ । लोकतन्त्रमा दलीय पद्धति हुने भएकोले त्यस्ता नेतालाई दलहरूले जिम्मेवार र सक्षम बनाइरहन्छन् । यस्ता मान्यतालाई हामीले अपनाइरहेका छौँ ।
आगोको ध्यान गरेर, जाप गरेर तातो हुँदैन । गुलियो वस्तुको सम्झना गरेर गुलियो वा तीतो, पिरो, टर्रोको ध्यान गरेर, जाप गरेर ती स्वाद आउने होइन । काँडा सम्झनेबित्तिकै उसले घोच्दैन । पानी सम्झनेबित्तिकै तिर्खा मेटिँदैन । खाना सम्झेर पेट भरिन्न । गन्तव्य घोकेर त्यहाँ पुगिँदैन । लोकतन्त्र पनि भाषण गरेर, भाषण सुनेर र चुनावमा सहभागी भएर मात्र बलियो हुँदैन । व्यवस्थाको मर्म आत्मसात् गनुपर्ने हुन्छ ।
शब्दले होइन, व्यवहारले कुनै पनि वस्तु सही वा गलत हुन्छ । व्यवस्था र नेतृत्वमा पनि यही कुरा लागू हुन्छ । हाम्रो देशमा बहुदलीय व्यवस्था स्थापित हुनुअघि पञ्चायती व्यवस्था थियो । त्यसमा राजाले प्रत्यक्ष शासन गर्दथे । त्यस व्यवस्थाको विरुद्धमा राजनीतिक दलहरूको नेतृत्वमा जनताको सहभागितामा भएका क्रान्ति, आन्दोलनबाट राजाको शासन र पञ्चायती व्यवस्था हटेको हो ।
राजा र पञ्चायत हटेको राजा र पञ्चायत शब्द नराम्रा भएर होइन । रजाइँ गतिलो नभएर हो । राजा शब्द नै अगतिलो हुन्थ्यो भने अहिले पनि मानिसहरू ‘ज्वाइँ राजा, भाञ्जा राजा’ आदि किन भन्थे र ?
राजा शब्दको व्युत्पत्ति गर्दा रञ्जयतीति राजा अर्थात् जसले खुसी दिन्छ, त्यो राजा हो भनिएको छ । त्यस्तै, राजते प्रकाशते सुशोभित÷शोभायमान हुन्छ त्यो राजा भनिएको छ । जब राजाबाट खुसी र शोभा दिन नसक्ने, मानिसका मनमा दुःख र समाजमा कुरुपता दिने ठह¥याइयो, राजा गए । उनले नेतृत्व गरेको पञ्चायत व्यवस्था पनि सँगै गयो ।
शाब्दिक हिसाबले पञ्चायत भनेको पनि नराम्रो होइन । पञ्च भनेको पाँच अर्थात् पाँचै प्रकारका पेसाजीवीहरू (योजनाकार विद्वानहरू, पराक्रमी योद्धाहरू, उत्पादन र वितरण कार्य गर्नेहरू, शिल्पी–कलाकारहरू, सेवा व्यवसायीहरू) सम्म सबैलाई समेटिएको आयत भनेको फैलिएको भनिएको हो, समाजका सबै प्रकारका मानिसहरूलाई समेटिएको व्यवस्था नै पञ्चायत व्यवस्था हो । सिद्धान्त र मान्यता त असल नै देखियो तर के राजा र पञ्चायतीहरू त्यस्तै सद्गुणी र सैद्धान्तिक रहे ? रहेनन् । अनि, उनीहरू पनि रहेनन् । सैद्धान्तिक मान्यताबाट स्खलित भएपछि नेतृत्वकर्ता शक्ति (पार्टी) सँगै नेतृत्वकारी सिद्धान्त पनि बाँकी रहँदैन ।
शास्त्रीय मान्यताअनुसार राजालाई विष्णुका अवतार मानिन्छ । श्रीमद्भगवद्गीतामा कृष्णले स्वयं भनेका छन् ‘नराणां च नराधीपः’ अर्थात् मानिसहरूमा म राजा हुँ । तर, मानिसहरूले नरुचाएपछि कुनै शासन टिक्दैन । यो पञ्चायत र राजामा मात्र लागू हुने विषय होइन ।
राजाको पञ्चायत व्यवस्था उन्मुलन भएपछि दलको सिद्धान्तका आधारमा निर्वाचित नेताको नेतृत्वमा चल्ने व्यवस्था छ । नेता शब्दको व्युत्पत्ति हुन्छ–नयतीति लैजान्छ, लिएर जान्छ, लिएर हिँड्छ जो वा जसले उही नेता हो । शास्त्रकै कुरा गर्ने हो भने नेता पनि विष्णुकै रूप मानिएका छन् । विष्णुसहस्रनामा विष्णुको नामको रूपमा नेता शब्द आएको छ । न्यायो नेता समीरण…..!
लोकतन्त्रमा दलको सिद्धान्त र नेताको चरित्र साह्रै महत्वपूर्ण हुन्छ । लोकतन्त्रमा राज्यले जनतालाई सबै कुरा दिने होइन, जनतालाई सशक्त र सक्षम बनाउने हो । जनता सशक्त हुँदा जनताले लोकतन्त्र महसुस गर्दछन् । जनताले महसुस गर्न सक्दा मात्र लोकतन्त्र बलियो भएको हुन्छ ।
बेला भइनसकेर होला, लोकतन्त्र परिपक्व नभएर होला अहिले लोकतन्त्र संविधानमा सीमित छ । गाउँ, समाजका मानिसहरूमा लोकतन्त्र राजनीतिक रूपमा मात्र आएको देखिन्छ । चुनावमा बेस्सरी लोकतन्त्र आएको देखिन्छ । लोकतन्त्रको सर्वोपरि व्याख्या नै त्यसरी भएको छ । ‘चुनाव नै लोकतन्त्र हो, लोकतन्त्र भनेकै चुनाव हो !’ पार्टीहरूको समर्थन र विरोध लोकतन्त्रको खास परिभाषामा समेटिएको देखिन्छ त्यतिबेला ।
बहुदलीय व्यवस्था भएको लोकतन्त्रमा लोकतन्त्रका बाहक राजनीतिक दलहरू हुन् । राजनीतिक नेता हुन् । अझ नेतृत्वबाट लोकतन्त्रको आस बढी गरिन्छ । परम्परागत नेतृत्व क्षमतामा प्रभावको विषय बढी हुन्छ भने आधुनिक लोकतान्त्रिक नेतृत्व क्षमतामा कर्म, कला र भावनाको बढ्ता महत्व हुन्छ ।
नेताहरू हरेक चित्त नबुझेका विषयको बिस्कुन सुकाउँछन् । नेता भनेका त समन्वय गर्न, व्यवस्थापन गर्न सिपालु हुनुपर्ने होइन र ? नेताले शासन गर्ने, माग गर्ने, आलोचना गर्ने, विरोध गर्ने, गुनासो गर्ने, निन्दा गर्ने मात्र हो र ? जनताका कुरा कन ठूला नेताले उठाएका छन् र ? नेताका भेलाभजनमा जनता र राष्ट्रमाथि आइपरेका कुन समस्याको उठान भएको छ र ? नेताका आफ्नै समस्या समाधानका विषयमा सारा जनमत एकोहोरिन पर्ने के नै छ र ? चाहिँदा–नचाहिँदा खुराफातका लागि नाम चलेका पत्रिका टुप्पिदेखिको बल लगाएर लागिपरेकै छन् ।
लोकतन्त्रको दुर्दशा हेर्न टाढा जान या ठुलो अनुसन्धान गर्न पर्दैन । ट्याक्सी चढ्नुस्, ऊ मिटर गुड्न मान्दैन । ऊ तपाइँले भनेको गन्तव्यमा जान मान्दैन । तर, चालकका हिसाबले होस् वा व्यवसायीका हिसाबले, ऊ हाम्रै कुनै न कुनै पार्टीको सङ्गठनमा सङ्गठित छ । कृत्रिम बजारमा अभाव हुन्छ, त्यसो गर्ने व्यापारी कुने न कुनै पार्टी या नेताको निकट रहेको हुन्छ । सडकमा मानिस जताततै फोहोर गर्दै हिँड्छन्, धुम्रपान गर्दै या थुक्दै हिँड्छन्, अर्को कुनै सचेत र सज्जन मानिसले त्यो रोक्न सक्दैनन् । महिला हिंसा वा अन्य कुनै कसैको, बदमासीका विषयमा आममानिस बोल्न सक्ने अवस्था बनिसकेको छैन । कसैले कसैमाथि अन्याय गरिरहेको देख्दा पनि बोल्न र प्रतिवाद गर्न सकिने गरी लोकतन्त्र विकसित भइसकेको छैन । मानिसहरू अहिले फेसबुकमा लेख्न सक्ने भएका छन् तर गलतको प्रतिवाद गर्ने गरी लोकतन्त्र ल्याउन पहल नै भएको छैन, वहस नै भएको छैन ।
अहिले नेताहरूका विषयमा हुने गरेका क्रियाप्रतिक्रिया कस्ता छन् ? भ्रष्ट, कमाउनिष्ट, गुटबाज आदि । यस्तै विषयमा आक्रमण र बचाउका जेहाद छन् । नेताले आफ्ना ठाउँमा आफ्ना लागि लोकतन्त्र खोज्ने र त्यसका लागि हदैसम्मको रस्साकस्सी गरेका छन् । यी रस्साकस्सीका मुद्दामा जनता, कार्यकर्ता, सामाजिक न्याय, लोकतन्त्र विस्तार जस्ता विषय कतै देखिन्छ ?
पार्टीको स्थापना दिवस, नेताका जन्म दिन, स्मृति दिवसमा शुभकामनाका रङ्गीबिरङ्गी झण्डा, फोटो र शब्दगुच्छामा लोकतन्त्र देखिन्छ तर सितिमिति व्यवहारमा नभेटिएको लोकतन्त्र पार्टीमा, समाजमा, सिङ्गो राष्ट्रमा आवश्यक छ ! व्यवस्थाको नाम र पार्टीको नामको सुन्दरताले मात्र लोकतन्त्र बलियो र सुन्दर हुँदैन । लोकतन्त्राई बलियो बनाउन राजनीतिक व्यवस्थामा मात्र होइन, जनताको वास्तविक जीवनमा लोकतन्त्र अनिवार्य छ । लोकतन्त्र सबैको हित हुने व्यवस्था हो, यसलाई सोही रूपमा विकास गरौँ ।
