संगम केसी
हिमाल, पहाड र तराईको विविधताले भरिएको नेपाल जैविक र औषधीय सम्भावनाको दृष्टिले प्रकृतिले धनी मुलुक हो । हिमालदेखि तराईसम्म फैलिएको वातावरणले हजारौँ औषधीय वनस्पति र जैविक स्रोतलाई जन्म दिएको छ । तर विडम्बना के छ भने यथोचित उपयोगको अभावका कारण नेपालले आफ्ना प्राकृतिक स्रोतबाट आफ्नै औषधि उत्पादन तथा विश्व प्रतिस्पर्धासम्मको मार्ग अझै तय गर्न सकेको छैन ।
नेपालमा चिकित्सा पद्धति कहिल्यै एकरूप रहेन । भिन्न–भिन्न समुदायले स्थानीय जलवायु, संस्कृति र उपलब्ध वनस्पतिको आधारमा उपचारका फरक–फरक पद्धति विकास गरे। ताप्लेजुङदेखिका उपचारका अभ्यास दार्चुला लगायत अन्य ठाउँका अभ्यासभन्दा फरक थिए, र काठमाडौ उपत्यकाका उपचार विधि पनि सानोतिनो भिन्नता बोकेका थिए। यस्ता विविधताले संकेत गर्छ कि नेपालमा चिकित्सा परम्परा धेरै पुरानो र स्थानीय ज्ञान–आधारित रहेको छ, मानव सभ्यताका प्रारम्भिक औषधि पद्धतिकै एक रूपका रूपमा ।
इतिहासमा चिकित्सा र स्वास्थ्य सेवाको विकास
नेपालमा संगठित स्वास्थ्य सेवा र औषधि पद्धतिको लिखित इतिहास लिच्छवि कालमा शुरू भएको संकेत पाइन्छ । खासगरी सम्राट् अंशुवर्मा (६०५–६२० ई.) को शासनकालमा अनेकौ परम्परागत उपचार पद्धतिहरू र स्थानीय बोटबिरुवामा आधारित औषधिको प्रयोग प्रचलनमा थियो । त्यसबेला धामी–झाँक्री, देवी–देउता तथा स्थानीय आयुर्वेद पद्धतिहरू एकीकृत रूपले रोग उपचारमा प्रयोगमा थिए।
हिमाली क्षेत्रमा तिब्बती र चिनियाँ चिकित्साका तत्वहरू ‘आम्ची’ पद्धतिमा विकसित भए भने, पहाड–तलका क्षेत्रमा वनारस मार्फत आयुर्वेदको प्रभाव बढ्यो । पछिल्लो कालमा आयुर्वेद सबैभन्दा व्यापक रूपमा प्रचलित परम्परागत चिकित्सा पद्धति बनेको देखिन्छ । राजा प्रताप मल्लले हनुमानढोकामा आयुर्वेदिक औषधि उत्पादनको थालनी गरे, र पछि यो सेवा सिंहदरबारमा स्थानान्तरण भयो । राणा राजाहरूले आयुर्वेदिक ज्ञानलाई व्यवस्थित रूप दिए र चन्द्र निघण्टु जस्ता ग्रन्थमार्फत यसको दस्तावेजीकरण गरे। राजा त्रिभुवनको शासनमा यी सेवा सर्वसाधारणसम्म पु¥याइयो र आज सिंहदरबार वैद्यखाना नामक संस्थाको रूपमा यसको परम्परा जारी छ ।
पक्षपातरहित र व्यवस्थित स्वास्थ्य सेवा प्रणाली भएको भए पनि, विशिष्ट औषधि उत्पादनमा नेपाल अझै सीमित छ । आफ्नै आवश्यक औषधिको अधिकांश भाग विदेशमा निर्भर हुनु यसकै प्रत्यक्ष प्रमाण हो ।
औषधि उद्योगको विस्तार र चुनौती
नेपालमा औषधि उद्योगको शुरुवात १९६९ मा केमिड्रग्स इन्डस्ट्री प्रा.लि. बाट भएको मानिन्छ। त्यसपछि १९८०–९० को दशकमा मनोज, एभरेस्ट, लोमस, एनपीएल जस्ता औषधि उद्योगहरू सुरू भए, तर दीर्घकालीन नीतिगत अभाव तथा व्यवस्थापन कमजोरीका कारण धेरै बन्द भए । हाल नेपालमा एलोपेथिक, आयुर्वेदिक र पशु औषधि निर्माता १७० भन्दा बढी औषधि उद्योग सञ्चालनमा छन् । यद्यपि औद्योगिक विस्तार देखिए पनि नेपाल आत्मनिर्भर औषधि देश बन्न असफल भएको छ । अत्यावश्यक औषधिको ठूलो हिस्सा विदेशैबाट आयात हुनु यसको मुख्य कारण हो ।
नेपालले कच्चा जडीबुटी निर्यात गर्दै आएको छ । तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ का पहिलो चार महिनामा मात्र नेपालगञ्जबाट लगभग २५ करोड रुपैयाँ बराबरको जडीबुटी निर्यात भएको छ । तर कच्चामै निर्यातले औषधि उत्पादनको वास्तविक मूल्य बिर्सिएको छ । जडीबुटीबाट निष्कर्षण, शुद्धीकरण, औषधि रूपान्तरण र पेटेन्टको मूल्य विदेशमै जोडिन्छ ।
वनस्पतिबाट आधुनिक औषधि निर्माणसम्मको बाटो
आधुनिक औषधिहरू र परम्परागत जडीबुटीबीच तात्त्विक भिन्नता हुँदैनन् । धेरै आधुनिक औषधि वनस्पति स्रोतबाटै विकसित भएका छन् । जस्तै कि क्यान्सर उपचारमा प्रयोग हुने भिन्क्रिस्टिन सदाबहारबाटै प्राप्त भएको हो भने, विलोको (बैस) बोक्राबाट एस्पिरिन जस्ता औषधि बनेका छन् ।
यस्तै, नेपालका जैविक स्रोतबाट फाइटोकेमिकल (सक्रिय रासायनिक तत्व) निकाल्ने, शुद्धीकरण गरी औषधि निर्माण गर्ने सम्भावना ठूलो छ । यसका लागि स्थानीय स्तरमा अनुसन्धान–आधारित निष्कर्षण (extraction) तथा विश्लेषण प्रयोगशालाको स्थापना अनिवार्य देखिन्छ र यसले रोजगारी सृजना गर्दै देशलाई वैज्ञानिक आत्मनिर्भरता प्रदान गर्न सक्छ ।
विश्वविद्यालय, अनुसन्धान र आम्दानीको सम्भावना
नेपालका विश्वविद्यालयहरू चिकित्सा, फार्मेसी, बायोटेक्नोलोजी र बायोइन्फर्मेटिक्स जस्ता क्षेत्रमा अध्ययन गराउने हुँदा यी शैक्षिक संस्था देशका स्वास्थ्य उद्योग बिन्दु बन्न सक्छन् । वर्तमानमा विश्वविद्यालयमा हुने अनुसन्धान धेरैजसो थेसिस/जर्नल–केन्द्रित रहन्छ । तर यदि औषधि विकास, परीक्षण, उत्पादन र पेटेन्टसम्मको प्रक्रिया विश्वविद्यालयले उद्योगसँग साझेदारीमा अघि बढायो भने अनुसन्धानलाई उत्पादन र आर्थिक आम्दानी मार्गमा परिणत गर्न सकिन्छ ।
विश्वविद्यालयले परम्परागत उपचारकसँग सहकार्य गरेर स्थानीय उपचार,ज्ञानको वैज्ञानिक दस्तावेजीकरण, गुणस्तर सुनिश्चित, डाटाबेस निर्माण र पाइलट–प्रोजेक्टहरुमा लगानी गर्न सक्छ । यसले नेपाललाई अनुसन्धानबाट आम्दानी गर्ने देशको रूपमा स्थापित गर्न मद्दत पुग्छ ।
बायोइन्फर्मेटिक्स र ज्ञानको मूल्य
नेपाल जैविक रूपमा धनी मुलुक हो । दुर्लभ जीवजन्तु र वनस्पति यहीं पाइन्छन्। संरक्षणसँगै तिनीहरूको जैविक सूचना (DNA/RNA सम्बन्धी डाटा) सङ्कलन र व्यवस्थापनले औषधि अनुसन्धानमा ठूलो भूमिका खेल्न सक्छ ।
बायोइन्फर्मेटिक्सको माध्यमबाट यस्तो डाटालाई मोडेलिङ, लक्ष्य–पहिचान र औषधि विकासको लागि प्रयोग गर्न सकिन्छ । यस्तो डाटाको स्वामित्व राख्ने देशले वैज्ञानिक र आर्थिक दुवै क्षेत्रमा अग्रता लिन सक्छ ।
आत्मनिर्भरता र विश्व औषधि केन्द्रको दृष्टि
आत्मनिर्भरता भनेको देशभित्र सम्पूर्ण प्रक्रिया सम्पन्न गर्नु हो । आयात घटाउनु मात्र होइन । सरकारले अत्यावश्यक औषधिको स्वदेशी उत्पादन, अनुसन्धान उद्योग साझेदारी, पेटेन्ट नीतिहरू र गुणस्तर नियमन प्रणालीलाई प्राथमिकता दिनुपर्छ ।
यदि नेपालले परम्परा र विज्ञानलाई मिलाएर एकीकृत चिकित्सा मोडेल बनायो भने यहाँको औषधि केवल घरेलु उपयोगको लागि मात्र होइन, विश्व बजारमा प्रतिस्पर्धी उत्पादनको रूपमा स्थापित हुन सक्छ ।
नेपाललाई विश्वका लागि जैविक औषधि स्रोत देश मात्र होइन, औषधि अनुसन्धान र उत्पादनको केन्द्र बनाउन सकिन्छ । जहाँ हिमाली वनस्पतिका सक्रिय तत्वहरूले वैज्ञानिक परीक्षण, औषधि विकास र विश्वव्यापी वितरण सम्मको मार्ग पत्ता लगाउनेछन् । हिमालले युगौँदेखि प्रकृतिमा उपचार क्षमता भण्डार गरेको छ । अब प्रश्न मात्र यसलाई वैज्ञानिक, औद्योगिक र आर्थिक दृष्टिले उपयोग गरेर विश्वसामु पु¥याउने छ ।
