इशानको परिवारलाई न्याय देउ, विश्वास दिलाउ

मेचीकाली संवाददाता

१७ पुष २०८२, बिहीबार
18 shares

१७ वर्षे किशोर इशान शर्माको रहस्यमय मृत्यु केवल एक परिवारको व्यक्तिगत शोक मात्र होइन, यो राज्यको अनुसन्धान क्षमता, न्याय प्रणालीको विश्वसनीयता र समाजको सामूहिक संवेदनासँग प्रत्यक्ष जोडिएको गम्भीर विषय हो । पढाइ र खेलकुदमा अब्बल, परिवारका एक्ला छोरा इशानको असामयिक मृत्युले त्यहाँको सिंगो समाजलाई नै स्तब्ध बनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धानले घटनालाई सवारी दुर्घटना भनेको छ । सवारी साधन, चालक र सहयोगीहरू नियन्त्रणमा लिइएको छ, जुन अनुसन्धानको सकारात्मक पाटो हो । परिवारले प्रहरीको निष्कर्षलाई अस्वीकार गर्दै यसलाई योजनाबद्ध हत्या भएको दाबी गरिरहेको छ यसको आधार के हुनसक्छ ? खोजी होस् ।
घटनास्थलको अवस्था, प्रत्यक्षदर्शी नदेखिनु, रगत वा घसारिएको स्पष्ट चिन्ह नदेखिनु, साँझको व्यस्त समयमा पनि कसैले ठक्करको आवाज नसुन्नुजस्ता प्रश्नहरूले प्रहरीको प्रारम्भिक निष्कर्षमाथि गम्भीर आशंका जन्माउनु स्वभाविक हो । तर, यो घटनामा प्रहरीले कुनै दोषीलाई उम्काउन यो सब गरिरहेको हो जस्तो लाग्दैन । प्रहरीको अनुसन्धानलाई नै इन्कार गर्नुपर्ने अवस्था पनि देखिँदैन । भावनात्मक प्रतिक्रियामा बहकिनु पनि राम्रो हुँदैन । यसका साथै भ्रमको नियन्त्रण गर्दै विश्वास निर्माणको पनि उत्तिकै खाँचो छ ।

प्रहरीले सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमले भ्रम फैलाएको भन्दै जसरी ध्यानाकर्षण गराएको छ यो एकप्रकारले जिम्मेवार बनाउने उपाय पनि हो । हाम्रा कतिपय मिडिया र सामाजिक सञ्जालहरु अपुष्ट सूचना र सनसनीपूर्ण प्रस्तुति गर्दै समाजमा हानी पु¥याउन पनि उद्दत देखिन्छन् । यसलाई रोक्नुपर्छ । पीडित परिवारको असन्तुष्टिलाई मसला बनाएर कतिपय युटुबेहरुले टीआरपी बढाउने काम पनि गरिरहेको देखिन्छ । यसलाई रोक्नुपर्छ ।

स्वतन्त्र र उच्चस्तरीय अनुसन्धान आवश्यक परे सीसीटीभी विश्लेषण, फरेन्सिक रिपोर्ट, मोबाइल लोकेसन, डिजिटल ट्रेल सबै सार्वजनिक गर्नुपर्छ । साथै परिवारलाई अनुसन्धान प्रक्रियामा विश्वास दिलाउने पारदर्शिताको काम गर्नुपर्छ । तथ्य र प्रमाण देखाएर जवाफ दिने र दोषी जो कोही भए पनि संरक्षण नहुने स्पष्ट सन्देश दिन जरुरी छ । दुर्घटना हो भने पनि लापरवाही र प्रमाण लुकाउने अपराध गम्भीर हुन्छ, हत्या हो भने त झन् कठोर कारबाही अपरिहार्य छ । इशान अब फर्केर आउँदैन । तर, उसलाई न्याय मिल्यो कि मिलेन भन्ने प्रश्नले समाजलाई पछिसम्म पछ्याइरहनेछ । आज इशानको परिवार न्याय खोज्दैछ, भोलि त्यो अवस्था कसैको पनि हुनसक्छ । त्यसैले यो मुद्दा भावनाको होइन, न्याय, सत्य र राज्यको जवाफदेहिताको परीक्षा हो ।