साइबर संसारः मिसाइलभन्दा घातक

मेचीकाली संवाददाता

३० चैत्र २०८२, सोमबार
9 shares

मिलन गाहा

आजको युगमा प्रविधि मानव जीवनको अभिन्न अंग बनेको छ । विशेषगरी सामाजिक सञ्जालले मानिसलाई विश्वसँग जोड्ने, सूचना आदान–प्रदान गर्ने र विचार अभिव्यक्त गर्ने सहज माध्यम दिएको छ । तर यही सञ्जाल, जसलाई ‘सामाजिक’ भनिन्छ, विडम्बना यो छ कि यसले मानिस–मानिसबीचको वास्तविक सम्बन्धमा दूरी बढाउँदै लगेको छ । आज घरभित्रै आमा एकातिर, बाबा अर्कोतिर, छोराछोरी आफ्नै मोबाइलमा व्यस्त हुने दृश्य सामान्य बनिसकेको छ ।

सामाजिक सञ्जालको अत्यधिक प्रयोगले पारिवारिक सम्बन्धमा गहिरो असर पारेको छ । बिहान–साँझ सँगै बसेर सुख–दुःख साटासाट गर्ने परम्परा हराउँदै गएको छ । किताब अध्ययन गर्ने, ज्ञानगुनका कुरा गर्ने बानी घट्दै गएको छ । यसको सट्टा मानिसहरू फेसबुक, टिकटक, इन्स्टाग्राम, युट्युबजस्ता प्लेटफर्ममा आउने सामग्रीमा डुबिरहेका छन् । ती सामग्रीहरू सधैं विश्वसनीय नहुन सक्छन्, बरु धेरैजसो अवस्थामा गलत सूचना, भ्रामक सन्देश र सतही मनोरञ्जनले मानिसको सोच र व्यवहारलाई प्रभावित गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय अध्ययनहरूका अनुसार, विश्वभर दैनिक करोडौं मानिस गलत सूचनाको प्रभावमा पर्ने गरेका छन् । केही अध्ययनले करिब ८ करोड मानिस दैनिक रूपमा भ्रामक सूचनाबाट प्रभावित हुने देखाएका छन् । यस्तो अवस्थाले समाजमा भ्रम, अन्योल र अविश्वास बढाउने खतरा झन् गहिरो बनाएको छ ।
पहिले मानिसहरू प्रत्यक्ष भेटघाट गर्थे, मेला–महोत्सवमा रमाउँथे, भलाकुसारी गर्थे र सम्बन्धलाई जीवन्त राख्थे तर अहिले ती गतिविधिहरू सीमित बन्दै गएका छन् । साथीभाइ भेट्दा पनि ‘चियागफ’ भन्दा मोबाइलमै व्यस्त हुने प्रवृत्ति बढेको छ । यसले आत्मीयता घटाउँदै लगेको छ र सम्बन्धहरू सतही बन्दै गएका छन् ।

सामाजिक सञ्जालमा बन्ने सम्बन्धहरू प्रायः गहिरा हुँदैनन् । अनलाइनमा हजारौं ‘फ्रेन्ड’ भए पनि वास्तविक जीवनमा साथ दिने मान्छे कम हुन सक्छन् । न त ती सम्बन्धमा भावनात्मक गहिराइ हुन्छ, न त सुख–दुःखमा साथ दिने प्रतिबद्धता । यसले मानिसमा एक्लोपन र मानसिक दूरी बढाउँछ ।
अर्कोतर्फ, सामाजिक सञ्जालले तुलना गर्ने प्रवृत्ति बढाएको छ । अरूको घुमघाम, सफलता वा विलासी जीवनका तस्वीर र भिडियो देख्दा मानिसले आफूलाई कमजोर वा असफल ठान्न सक्छ । यसले आत्मविश्वास घटाउँछ, चिन्ता र डिप्रेसन निम्त्याउँछ । मानसिक स्वास्थ्य विशेषज्ञहरूका अनुसार, अत्यधिक सामाजिक सञ्जाल प्रयोगले ‘डिजिटल लत’, निद्रा समस्या, तनाव र अवसाद जस्ता समस्या बढाइरहेको छ ।

साइबर बुलिङ पनि ठुलो चुनौती बनेको छ । नक्कली (फेक) आइडी प्रयोग गरेर गाली–गलौज गर्ने, गलत आरोप लगाउने, अपमानजनक टिप्पणी गर्ने प्रवृत्ति बढ्दो छ । टेक्स्ट वा पोस्टमार्फत भावनाहरू स्पष्ट नहुने भएकाले सानो कुराले पनि झगडा र द्वन्द्व निम्त्याउन सक्छ । साथीभाइबिच नै विवाद बढ्ने, सम्बन्ध बिग्रने अवस्था देखिएको छ ।
सामाजिक सञ्जालको दुरुपयोगले गम्भीर सामाजिक समस्या पनि निम्त्याएको छ । गलत सूचना र अफवाहका कारण समाजमा डर, हिंसा र विभाजन बढ्न सक्छ । जात, धर्म, राजनीति जस्ता संवेदनशील विषयमा भ्रामक सन्देश फैलिँदा समुदायबिच दूरी बढ्ने र घृणा फैलिने खतरा हुन्छ । कतिपय अवस्थामा अफवाहकै कारण भीडले हिंसात्मक कदमसमेत चाल्ने गरेको उदाहरणहरू विश्वभर देखिएका छन् ।

आजको समयमा ‘साइबर वार’ लाई पारम्परिक युद्धभन्दा पनि खतरनाक मान्न थालिएको छ । हतियार, बम वा मिसाइलभन्दा सूचना युद्धले समाजलाई भित्रैदेखि कमजोर बनाउने क्षमता राख्छ । गलत सूचना, एल्गोरिदमको दुरुपयोग र डिजिटल प्रचार–प्रसारले जनमतलाई प्रभावित गर्न सक्छ, जसले लोकतन्त्र र सामाजिक स्थायित्वमा चुनौती सिर्जना गर्छ ।
यस सन्दर्भमा नेपालमा पनि सामाजिक सञ्जाल नियमनबारे बहस भइरहेको छ । सरकारहरूले समय–समयमा सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने प्रयास गरेका छन् तर यस विषयमा सन्तुलित दृष्टिकोण आवश्यक छ–अभिव्यक्ति स्वतन्त्रता कायम राख्दै दुरुपयोग नियन्त्रण गर्ने ।

तर समाधान केवल सरकारसँग मात्र छैन; जिम्मेवारी प्रत्येक प्रयोगकर्ताको पनि हो । सामाजिक सञ्जालको सही प्रयोगका लागि केही उपायहरू अपनाउन सकिन्छ–दैनिक प्रयोगको समय सीमा निर्धारण गर्ने, सकारात्मक र विश्वसनीय सामग्री मात्र हेर्ने, सुत्नुअघि मोबाइल प्रयोग नगर्ने, परिवार र साथीभाइसँग प्रत्यक्ष समय बिताउने, तथा आवश्यक परे मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श गर्ने ।
अफलाइन गतिविधिहरू–जस्तै व्यायाम, पुस्तक अध्ययन, सामाजिक सहभागितालाई प्राथमिकता दिनु पनि उत्तिकै आवश्यक छ । यसले मानसिक सन्तुलन कायम राख्न मद्दत गर्छ र वास्तविक सम्बन्धलाई बलियो बनाउँछ । सकारात्मक बन्न सिकाउँछ ।
अन्ततः, सामाजिक सञ्जाल आफैंमा न राम्रो हो न नराम्रो । यसको प्रभाव हाम्रो प्रयोगमा निर्भर हुन्छ । सही रूपमा प्रयोग गरियो भने यो ज्ञान, सूचना र सम्बन्ध विस्तार गर्ने शक्तिशाली माध्यम हो तर दुरुपयोग गरियो भने यही सञ्जाल ‘सामाजिक’ होइन, ‘जञ्जाल’ बन्न सक्छ । यसमा हेक्का राख्न जरुरी छ ।

त्यसैले आजको आवश्यकता भनेको प्रविधिलाई नियन्त्रणमा राख्ने हो, प्रविधिले हामीलाई नियन्त्रण गर्ने होइन । सचेत प्रयोग, जिम्मेवार व्यवहार र समयमै उचित नियमनले मात्र सामाजिक सञ्जाललाई वास्तवमै ‘बरदान’ बनाउन सक्छ, नत्र यो अभिशाप सावित हुन धेरै समय लाग्दैन । सामाजिक सञ्जालको दुरुपयोग नगरौं, बरु सदुपयोग मार्फत समाज सुधारका लागि योगदान गरौं ।