तुलसीराम पौडेल –
सियारी, असार ६
रुपन्देहीको सियारी गाउँपालिकाका महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाका लागि गाउँपालिकाले पेन्सन योजनाको शुरूवात गरेको छ।महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदानको उच्च मुल्यांकन गर्दै नागरिक लगानी कोषसग सहकार्य गरि पेन्सनको योजना लागु गरिएको छ। शुक्रबार सियारी गाउँपालिकामा सम्पन्न कार्यक्रममा सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरे र नागरिक लगानी कोष काठमाडौका निर्देशक छविरमण अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरि पेन्सन योजना शुरूवात गरिएको हो । महिला सामुदायिक स्वास्थ्य स्वयंसेबिकालाई पेन्सन व्यवस्था गर्ने सियारी गाउँ पालिका नेपालकै दोस्रो गाउँपालिका भएको गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेले बताउनु भयो ।पेन्सन योजना अन्तर्गत आर्थिक वर्ष २०८३/०८४ को श्रावण महिना देखि प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकाको लागि गाउँपालिकाले एक हजार रुपैयाँ पेन्सन विमामा जम्मा गर्नेछ ।
महिला स्वास्थ्य स्वयंसेविकाको लागि गाउँपालिकाले स्वास्थ्य विमाको लागि प्रतिवर्ष एक हजार सात सय पचास रुपैया दिने गरेको छ। स्वास्थ्य क्षेत्रमा सियारी गाउँपालिकाले नेपालकै नमुनाको रूपमा फड्को मारेको छ।सियारीका लक्षित वर्ग जेष्ठ नागरिक ,अपाङ्ग अशक्तका लागि तीन बर्षदेखि फिजियो थेरोपी सेवा गाउँपालिकाले उपलब्ध गराइरहेको छ।
त्यतिमात्र होइन गाउँपालिकाले ७० बर्ष माथिका जेष्ठ नागरिक , , अशक्त, अपांग बालबालिका स्वास्थ्य सेवाको लागि घर दैलो स्वास्थ्य उपचार कार्यक्रम लगातार गरिरहेको छ।यसरी घरदैलो स्वास्थ्य सेवा दिनेमा सियारी नेपालकै नमूना गाउँपालिका हो ।।त्यसै गरि सियारी गाउँपालिकाले सियारीका नागरिकका लागि नेपालकै नमुनाको रूपमा निशुल्क आँखा उपचार तथा मोतियाविन्दुको अपरेसन र आवश्यक भएमा निशुल्क रगत संचारको पनि व्यवस्था गरेको छ।


