बडादशैं, कोरोना र स्वास्थ्य

मेचीकाली संवाददाता

२१ आश्विन २०७८, बिहीबार
91 shares

ओम बानियाँ
आज घटस्थापना । आजदेखि हिन्दूरुको महान् चाड दशैँ सुरु हुँदै छ । आश्विन शुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म मनाइने दसैंलाई ठुलोदशैं, बडादशैँ तथा विजयादशमी आदिका नामले सम्बोधन गरिन्छ । वास्तवमा नेपाली समाजमा हिन्दूहरुको महान् चाड बडादशैंको आफ्नै समाजिक, सांस्कृतिक तथा मनोवैज्ञानिक महत्व छ । तर यसपालिको दशैँ भने कोरोनाका कारण खल्लो हुने छ । कोरोनाको संक्रमण झनै बढेको छ । त्यसैले भौतिक दूरी कायम गरी अन्य सावधानीहरु अपनाउन जरुरी छ । यसपालिको दशैँ धुमधामसँग मनाउने अवस्था नरहेको भएता पनि बडादशैंको सकारात्मक पक्ष र बडादसैंको नाममा बढ्दै गएको नकारात्मक पक्षका बारेमा यहाँ चर्चा गरिएको छ ।

बडादशैंको सकारात्मक पक्ष
‘बडादशैं’ विजय उत्सवको चाड हो । असुर शक्तिमाथि दैविक शक्तिको जीतको रुपमा मनाइने चाड हो । मीठो खाने, राम्रो लगाउने तथा ठुलाबडाबाट सुख र समृद्धिको आशीर्वाद लिने चाड हो । यो चाड परिवारिक पुनर्मिलन र एकताको चाड पनि हो । दशैंले देशविदेशमा बसोबास गर्ने लाखौं नेपालीहरुलाई नेपाल, आफ्नो परिवार र समाजलाई सम्झाउने गर्दछ । त्यसैले त दशैंमा देशविदेशमा रहेका नेपालीहरु घर फर्किएर धुमधामका साथ दशैँ मनाउने गर्छन् । तर अहिले कोरोनाको कहरका कारण देशविदेशबाट परिवारका सदस्य तथा आफन्तहरु नेपाल फर्केर दशैं मनाउने स्थिति छैन । नेपाल फर्किन नसक्ने अवस्थामा उतै दशैं मनाउने वातावरण पनि छैन ।

हिन्दूहरुले मात्र होइन, नेपालका गैरहिन्दूहरु, जसले दशैँंको पूजापाठ नगरे पनि तथा टीका नलगाए पनि दशैंमा रगिंएको देशसँग प्रत्यक्षपरोक्ष कुनै न कुनै रुपमा दशैं मनाउने गर्छन् । बडादशैं जस्तो चाड हुँदैन्थ्यो भने नेपाली समाज अलि खल्लो हुने थियो । यस उसले दशैं उदास, निराश र थकित जीवनमा रंग छर्ने उत्सव पनि हो ।

मानिसको जीवनमा रंंगको ठूलो महत्व छ । त्यो किनभने मानिसको जीवन नै रंगीन हुन्छ । बेरंग जीवन अर्थात् रंगबिनाको जीवन मानिसले सहजपूर्वक जीउन सक्दैन । जीवनमा रंग भएन भने मानिस उदास, निराश र बैचन हुन्छ । दिउँसै चारैतिर निस्पष्ट अँध्यारो देख्छ । उसको आशा मर्छ । विश्वास मर्छ । चाहना मर्छ । उसलाई कुनै कुराप्रति पनि रमाइलो लाग्दैन । मानिस जिउँदो लास जस्तो हुन्छ ।

बडादशैंमा आफूभन्दा ठूला मान्यजन र आफन्तबाट आशीर्वाद लिन निधारमा टीका थापिन्छ । यसरी मान्यजनले आशीष दिँदै लगाइदिने टीकाको पनि निकै अर्थपूर्ण महत्व छ । मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाउने गरिन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने पनि संकेत गर्छ । टीका जसलाई अक्षता पनि भनिन्छ । गाईको दुधको दही, चिनी, जिठोको रातो रंगमा मिश्रण गरिएको चामलको टीका निधारको मध्यभाग आज्ञा चक्रमा लगाइन्छ । यो दुवै आँखीभौंको माझमा हुन्छ । यसलाई तेस्रो नेत्र अर्थात् तेस्रो आँखा भनिन्छ । आज्ञा चक्र स्पष्टता र बुद्धिको केन्द्र हो । यसले मानव र दैवी चेतनाको मध्य सीमा निर्धारण गर्छ । यसको अर्थ ठूलाबडा, मान्यजनले हामीलाई धन, बुद्धि, स्वास्थ्य सबैकुराले सर्वसम्पन्न बन्न प्रेरित गर्दै त्यसका निम्ति तेस्रो आँखा खुला राख भनेको हो । टीकालाई चेतनासँग जोडेर पनि हेर्ने गरिन्छ । साथै, रातो र सेतो टिका शान्ति एवं समृद्धिका प्रतीक हुन भनिन्छ । यसले मस्तिष्क, मन र विचारलाई शुद्ध चेतनायुक्त तुल्याउँछ भन्ने विश्वास गरिन्छ । आफ्नो घरमा टीका लगाएर आफन्तजनहरुकोमा पनि टीका ग्रहण गर्ने चलन छ । टीका लगाउने काम पूर्णिमासम्म जारी रहन्छ ।

तर जीवनमा रंग भयो भने मानिस खुसी हुन्छ । प्रसन्न हुन्छ । दुःखमा पनि सुखको आशा गर्छ । अँध्यारो पछिको उज्यालोको पर्खाइमा हुन्छ । कालो बादलमा पनि चाँदीको घेरा देख्छ । त्यसैले मनोवैज्ञानिक रुपमा पनि मानिसको जीवनमा रंगको ठूलो महत्व छ । जीवनमा रंगको यही महत्वलाई हृदयांम गरेर नै हाम्रा पूर्वजहरुले तीज, दशैं जस्ता चाडपर्व, जात्रा तथा उत्सवहरुको आबिस्कार गरेका हुन् ।

हुन पनि हो, बडादशैंको औसरमा गरिने हरेक कार्यक्रमहरु जस्तैः जमरा राख्नु, दुर्गा पूजा गर्नु, बलि दिनु, टीका तथा आशीर्वाद लिनुको ठुलो वैज्ञानिक तथा मनोवैज्ञानिक महत्व छ । जमरा औषधी पनि हो । जमराको रसलाई त प्राकृतिक चिकित्सामा ग्रीन ब्लड (हरियो रगत) भनिन्छ । मनोवैज्ञानिकरुपमा पूजाप्रार्थनाको उद्देश्य आफूले आफैंलाई सम्मोहित गरी निराशमय मनमा आशा छर्नु हो, अँध्यारोबाट उज्यालोबाटोतिर अगाडि बढ्नु हो । क्रोधकी प्रतिक कालीलाई बलि दिनुको अर्थ आफूभित्र भएको क्रोधरुपि राक्षसलाई हटाउनु हो ।

ठुलाबडा तथा मान्यजनबाट निधारमा टीका लगाउनु तथा आशीर्वाद दिनुको मनोवैज्ञानिक अर्थ भनेको मानसिक शक्ति तथा आत्मविश्वास बढाउनु हो । श्रद्धापूर्वक मान्यजनका अगाडि निधार थापेर बसेको व्यक्तिलाई मान्यजनले निधारमा टीका लगाएर आशीर्वाद दिँदा उसको मस्तिष्क रसायनमा सकारात्मक परिर्वतन देखा पर्छ । यो वैज्ञानिक तथ्य हो ।

बडादशैंको नकारात्मक पक्षः
हरेक कुराहरुको जस्तै दशैंका पनि नकारात्मक पक्षहरु छन् । हिजोआज दशैंका नकारात्मक पक्षहरु बढ्दै गएका छन् । दशैंमा व्यापारीकरण भएका कारण हुने खाने, केटाकेटी तथा युवायुवतीहरुका लागि दशैंले जति रमाइलो लिएर आएको हुन्छ, निम्न तथा निम्नमध्यम परिवारका घरमुलीका लागि दशैंले दाम (पैसा) जोगाडको पिरोलो पनि लिएर आएको हुन्छ ।

हरेक वर्ष दशैंको मुखमा बाढीपहिरोका कारण घरवारविहीन भएका हजारौं मानिसहरुका लागि त दशैं दशा जस्तै हुन्छ । कसैले केही सहयोग गर्छ कि भन्ने आशामा नै उनीहरुको दशैं बित्छ । दशैंमा देशविदेशमा रहेका नेपालीहरुलाई आफ्नो घर फर्किने निकै धपडी हुन्छ । त्यसैले समयमा घर पुग्न मानिसहरुले निकै जोखिमपूर्ण यात्रा गरेको देखिन्छ । यस्ता जोखिमपूर्ण यात्राले गर्दा नै दशैंका मुखमा थुप्रै सवारी दुर्घटनाहरु घट्दै आएका छन् । यसकासाथै यस्ता चाडपर्वहरुमा मादकपदार्थहरुको सेवन गरेर सवारी चलाउँदा पनि निकै दुर्घटनाहरु हुने गर्छन् । खास गरी मोटरसाइकल दुर्घटनाहरु निकै हुने गर्छन् ।

दशैंमा मानिसहरुले पोलेको, भुटेको, तारेको मासुलगायतका थरिथरिका परिकारहरु प्रशस्त खाने गर्छन् । मासुलगायतका यस्ता परिकारहरु प्रायः बासी हुन्छन् । टीकाको दिनमा त मानिसहरु टिका थाप्दै बीसौं ठाउँमा खादै हिँड्ने गर्छन् । यसरी जताभावी कोचीकोची खाँदा अपच भई बिरामी पर्ने सम्भावना हुन्छ । दशैंमा झाडापखला लागेर, पेट दुःखेर तथा घाँटीमा हड्डी अट्किएर अस्पताल आउने विरामीको संख्या निकै धेरै हुन्छ ।

दशैंमा अध्याधिक रुपमा जाँडरक्सी सेवन गर्ने, जुवातास खेल्ने तथा अर्काको देखासिकीमा ऋण काढरे अनाश्यक खर्च गर्ने प्रवृत्ति ठीक होइन । यस्तो नकारात्मक प्रवृत्तिले परिवारलाई नै उठीवास बनाउँछ । दशैंमा दुर्गा मन्दिरहरुमा वलीका नाउँमा बीसौं हजार जनावरहरु काटेर कालीलाई चढाउने गरिन्छ । यो पनि दशैंको नकारात्मक पक्ष हो । बलि दिनुको वास्तविक अर्थ निर्दोष जनावरलाई काट्नु होइन, आफूभित्रको खराव प्रवृति जस्तैः क्रोधको त्याग गर्नु हो । मन्दिरमा वा घरमा मासुको लागि जनावरहरु वध गर्नुभन्दा वधशालामा नै जनावरहरु काट्नु ठीक हुन्छ ।

अतः बडादशैं मनाउँदै गर्दा हामीहरु यसका सकारात्मक पक्षहरुलाई अंगाल्ने तथा नकारात्मक पक्षहरुलाई हटाउने वा कम गर्ने दिशामा अग्रसर हुनुपर्छ । दशैंतिहार होस् वा कुनै पनि बेला ट्राफिक प्रहरीको आँखा छलेर बिना हेल्मेट मोटरसाइकल हाँक्ने, मोटरसाइकलमा दुईभन्दा बढी मानिसहरु हालेर हिँड्ने, बसको छतमा बसेर वा बसको ढोकामा तथा बसकोपछि झुण्डिएर यात्रा गर्ने तथा मादकपदार्थ सेवन गरेर सवारी चलाउने जस्ता जोखिमपूर्ण क्रियाकलापहरु गर्नु हुँदैन ।

दशैंमा आफ्नो पाचनशक्तिअनुरुप खानपिन गर्नुपर्छ । मासु खाँदा हड्डीको ख्याल गरेर राम्रोसँग चबाएर निल्नुपर्छ । नत्र, हड्डी घाँटीमा अटकिन सक्दछ । मुलो कुरो अर्काको देखासिकीमा होइन कि आफ्नो आर्थिक हैसियत अनुरुप खर्च गरेर ‘दशैँ’ मनाउनु पर्छ । ऋणमाथि ऋणको भारी बोकेर दसैंलाई दशा बनाउनु कदापि ठीक होइन । तर यसपालि त कोरानाको महामारीले गर्दा दशैं मनाउँदा थप सावधानी अपनाउन जरुरी छ । त्यसैले यस पालीको दशैँ आ–आफ्नो घरभित्रै सीमित राखौं । अर्को साल धुमधामसँग मनौलाँ नि । (लेखक साइकोथेरापिष्ट तथा पोषणविद् हुन् ।) (मेचीकाली अर्काइभबाट)