अमृत गिरी
बुटवल । बुद्धको जन्मभूमि लुम्बिनीमा सम्पदा संरक्षण र विकासको बहस फेरि एकपटक अन्तर्राष्ट्रिय मञ्चमा पुगेको छ । बुद्धभूमिका क्षेत्रसमेत समेटेर ग्रेटर लुम्बिनी क्षेत्र विकासको नयाँ अवधारणासहित लुम्बिनीमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन जारी छ । नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युनेस्को र विश्व बैंकको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय सम्मेलनले लुम्बिनी, तिलौराकोट–कपिलवस्तु र रामग्रामको जोखिम नक्साङ्कन गर्ने छ र लुम्बिनी घोषणापत्र जारी गरिनेछ ।

प्राध्यापक रोबिन कनिङ्घमसहितको विज्ञहरुको टोलीले तीनै क्षेत्रको रिस्क म्याप प्रस्तुत गर्ने भएका छन् । यस्तै डा.काइ वाइजले लुम्बिनी तथा तिलौराकोट–कपिलवस्तु र रामग्रामको भौतिक योजनाबारे जानकारी गराएका छन् । यसले ग्रेटर लुम्बिनी क्षेत्र विकासमा सम्पदा, वातावरण, पूर्वाधार र जोखिमलाई एउटै योजनामा समेट्ने भएको लुम्बिनी विकास कोषको दाबी छ ।
‘सांस्कृतिक सम्पदा, तीर्थाटन र विकासः समावेशी वृद्धि तथा दिगो विकासको प्रवद्र्धन’ अर्थात् सम्पदा, तीर्थयात्रा र विकासमार्फत समावेशी लुम्बिनी, तिलौराकोट–कपिलवस्तु र रामग्रामलाई एउटै व्यापक सम्पदा क्षेत्रका रूपमा हेर्दै तीनै क्षेत्रको जोखिम, भौतिक योजना र भविष्यका प्राथमिकतामाथि छलफल भइरहेको छ ।

विश्व सम्पदा, बौद्ध तीर्थस्थल, स्थानीय समुदाय, वातावरणीय संवेदनशीलता र आधुनिक विकासबिच कसरी सन्तुलन कायम गर्ने भन्ने प्रश्नलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय बहस भइरहेको लुम्बिनी विकास कोषले जनाएको छ । ग्रेटर लुम्बिनीको अवधारणालाई एउटा निश्चित स्थलको विकासभन्दा फराकिलो भूगोल, सम्पदा र समुदायसँग जोडेर कार्यान्वयन गर्न लागिएको कोषको सदस्य सचिवको समेत भूमिकामा रहेका विज्ञ ज्ञानिन राइले बताए ।
ध्यानबाट सुरु भएको सम्मेलन
लुम्बिनी अन्तर्राष्ट्रिय विपश्यना ध्यान केन्द्रमा भिक्षु भद्दमानिकाको नेतृत्वमा ध्यानसंगै कार्यक्रम सुरु भएको थियो । औपचारिक उद्घाटनमा थेरवाद, महायान र बज्रयान परम्पराका प्रतिनिधिको मन्तव्य, लुम्बिनी सांस्कृतिक नगरपालिकाको धारणा, युनेस्को, विश्व बैंक र लुम्बिनी विकास कोषका प्रतिनिधिले विषयगत अवधारणा प्रस्तुत गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले कार्यक्रमको उद्घाटन गरेका थिए । सम्पदा, तीर्थयात्रा, स्थानीय समुदाय, प्राकृतिक वातावरण र दिगो विकासबीच सन्तुलन खोज्ने प्रक्रियाका बरेमा साझा धारणा तयार गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय सम्मेलन गरिएको मन्त्री पौडेलले बताए ।
विज्ञसहितका पाँच समूहमा छलफल
सम्मेलनका सहभागीलाई पाँचवटा समूहमा विभाजन गरेर नलेज सर्कल तयार पारिएको छ । लुम्बिनीको अवस्थाबारे सामूहिक अध्ययन, छलफल र सम्पदा स्थलको अध्ययन तथा अवलोकन भ्रमण गरेका छन् । पाँचवटै समूहका मेन्टरले आफ्ना निष्कर्ष प्रस्तुत गरेपछि सामूहिक छलफल गरि घोषणापत्रलाई अन्तिम रुप दिइने भएको छ । यो आज (आइतबार) अर्थात् तेस्रो दिन हुनेछ ।

लुम्बिनीमा जारी बृहत् लुम्बिनी क्षेत्र विकास परियोजनासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा पवित्र भू–दृश्य, पर्यटन, धर्म, सम्पदा, संरक्षण र सामुदायिक विकासका विभिन्न पक्षमा छलफल गर्न पाँचवटा ‘ज्ञान वृत्त’ गठन गरिएको छ । ‘पवित्र भू–दृश्य वरपरका आगन्तुक, जीविकोपार्जन तथा समुदाय’ विषयक ज्ञान वृत्तको मार्गदर्शन डा. कुलप्रसाद खनाल र डा. सन्ध्या खनाल पराजुली, समन्वय चन्द्र पाठक र प्रतिवेदन निमा साङ्गेले गरेका छन् ।
‘प्राकृतिक पवित्र भू–दृश्यका जोखिम तथा उत्थानशीलता’ ज्ञान वृत्तमा राजेन्द्र सुवाल र डा.इनु प्रधान सालिका मार्गदर्शक, राजेश परियार समन्वयकर्ता तथा तकबहादुर सुनार प्रतिवेदक छन् । ‘बौद्ध धर्म, तीर्थयात्रा तथा जीवित परम्परा’ ज्ञान वृत्तमा भेन. विवेकानन्द र भेन.भद्दमानिका मार्गदर्शक, राजन बस्नेत समन्वयकर्ता तथा सञ्जु भण्डारी प्रतिवेदक रहेका छन् ।
त्यसैगरी ‘स्थानीय विकास, सम्पदा तथा सामुदायिक भविष्य’ ज्ञान वृत्तको मार्गदर्शन डा.काई वाइज, समन्वय शिवराज सापकोटा र प्रतिवेदन योदिन तामाङ लामाले गर्नेछन् । यस्तै ‘पुरातत्व, संरक्षण तथा पवित्र मूल क्षेत्र’ ज्ञान वृत्तमा प्राध्यापक रोबिन कनिङ्घम र कोशप्रसाद आचार्य मार्गदर्शक, देवेन्द्र भट्टराई र अमृता महर्जन समन्वयकर्ता तथा कमला पुन प्रतिवेदक छन् । प्रत्येक ज्ञान वृत्तमा सम्बन्धित क्षेत्रका बहुसंख्यक प्रतिनिधिसहित विभिन्न क्षेत्रका सदस्यहरूको सहभागिता रहने र उनीहरूले अन्तरक्षेत्रीय छलफलमार्फत लुम्बिनी क्षेत्रको समग्र विकास, संरक्षण तथा भविष्यका सम्भावनाबारे सुझाव सिफारिस गर्नेछन् ।
सम्पदा स्थलमै पुगेर जोखिमका क्षेत्रको नक्साङ्कन
सम्मेलनको दोस्रो दिन बहस सभाकक्षबाट बाहिर निस्केर सम्पदा स्थलमा पुगेको थियो । सहभागी पाँच समूहमा विभाजित भएर लुम्बिनी वा तिलौराकोट–कपिलवस्तुका तोकिएको क्षेत्रमा प्रत्यक्ष स्थलगत अवलोकन गरिएको आयोजकले जनाएका छन् । सम्पदा स्थलको अवस्था, जोखिम, चुनौति, सम्भावनाका सबै आयामलाई केलाएर बहस भएको कोषले जनाएको छ । प्राध्यापक रोबिन कनिङ्घमले लुम्बिनी, तिलौराकोट–कपिलवस्तु र रामग्रामको जोखिम नक्सा प्रस्तुत गरेका थिए । डा.काइ वाइजले तीनै क्षेत्रसँग सम्बन्धित भौतिक योजनामाथि प्रस्तुति दिएका थिए ।
समुदायको अपनत्वसहितको लुम्बिनी
लुम्बिनीको विकासका लागि यहाँका समुदायले अपनत्व लिन जरुरी छ । यहाँ आउने तीर्थयात्री र पर्यटकको संख्या, ठुला होटल, सडक, यातायात र अन्य पूर्वाधार विकासको चर्चा भइरहन्छ तर लुम्बिनी वरिपरि बस्ने स्थानीय समुदायको अपनत्वका बारेमा यदाकदा चर्चा भएपनि मिहिन छलफल भएको पाइँदैन । जारी अन्तर्राष्ट्रिय सम्मेलनले यस पक्षलाई पनि कार्यक्रमभित्र समेटेको छ । दोस्रो दिन साँझ सहभागीलाई लुम्बिनीको पवित्र क्षेत्रसँग जोडिएको महिलवार गाउँमा निर्देशित भ्रमण गराउँदै छलफल गरेको छ । लुम्बिनीको विकासको लाभ र प्रभाव स्थानीय तहसम्म पु¥याउनुपर्ने आवाज उठिरहेको बेला सोही विषयलाई सम्बोधन हुनेगरी कार्यक्रमको ढाँचा तयार भएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका काबा प्रमुख कल्पना हरिजनको भनाइ छ ।
सम्पदा मात्र होइन, प्रकृति पनि
तेस्रो दिन बिहान लुम्बिनी क्रेन अभयारण्यको भ्रमण राखिएको छ । सम्मेलन दस्तावेजमा यसलाई अन्तर्राष्ट्रिय पक्षी क्षेत्रका रूपमा उल्लेख गर्दै सारससहित २५० भन्दा बढी प्रजातिका पक्षी रहेको जनाइएको छ । यसबाट ग्रेटर लुम्बिनीको अवधारणा पुरातात्विक र धार्मिक सम्पदामा मात्र सीमित नभई प्राकृतिक सम्पदा र जैविक विविधतासँग पनि जोडिनुपर्ने सन्देश दिन खोजिएको देखिन्छ ।
आज लुम्बिनी घोषणापत्र जारी गरिने
लुम्बिनीमा जारी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन आज लुम्बिनी घोषणापत्र जारी गर्दै समापन हुनेछ । लुम्बिनीमा अब के गर्ने, के नगर्ने भन्ने सिफारिस समेटिएको अवधारणा पत्रको मस्यौदालाई लुम्बिनी घोषणापत्रका रुपमा सार्वजनिक गरिने भएको छ । सफारिससँगै समयसीमा र जिम्मेवार निकाय उल्लेख गरी बोर्डमा राखिने भएको छ । सहभागीले त्यसमा स्वेच्छिक रूपमा हस्ताक्षर गर्दै साझा प्रतिबद्धता जनाउने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।
