पूर्वाग्रही ब्रेन

के हाम्रो दिमागले सत्य होइन कि आफूले विश्वास गरेको कुरा खोज्छ ?

मेचीकाली संवाददाता

३१ भाद्र २०८३, बुधबार
1 shares

ओम बानियाँ

मानिसले आफूलाई तर्कसंगत प्राणी ठान्छ । हामीले कुनै पनि निर्णय गर्दा प्रमाण हेरेर, तथ्य जाँचेर र सही–गलत छुट्याएर निष्कर्ष निकाल्छौँ भन्ने विश्वास गर्छौ । तर मनोविज्ञानले एउटा रोचक सत्य देखाएको छ । धेरैजसो अवस्थामा हाम्रो दिमागले सत्य खोजिरहेको हुँदैन, बरु आफूले पहिलादेखि मानेको कुरालाई सही साबित गर्ने प्रमाण खोजिरहेको हुन्छ । यही मनोवैज्ञानिक प्रवृत्तिलाई कन्फर्मेसन बायस अर्थात् पूर्वविश्वास पुष्टि गर्ने पूर्वाग्रह भनिन्छ ।

कन्फर्मेसन बायस भनेको कुनै विषयमा पहिला नै बनेको विश्वास, धारणा वा निष्कर्षलाई समर्थन गर्ने जानकारी मात्र खोज्ने, सम्झने वा विश्वास गर्ने र त्यसको विपरीत प्रमाणलाई बेवास्ता गर्ने मानवीय प्रवृत्ति हो । यो प्रवृत्ति यति सामान्य छ कि संसारका लगभग सबै मानिस कुनै न कुनै समयमा यसको प्रभावमा पर्छन् । वैज्ञानिक, शिक्षक, चिकित्सक, पत्रकार, न्यायाधीश, व्यापारी, विद्यार्थी वा सामान्य नागरिक सबैमा यो देखिन सक्छ । फरक यति हो कि कसैले यसलाई चिन्न सिकेको हुन्छन् भने कसैले त्यसलाई आफ्नै सही सोच ठानेर जीवनभरि बोकिरहन्छ ।

कल्पना गर्नुहोस् एउटा गाउँमा दुई जना छिमेकी थिए । एक जनाको विश्वास थियो कि गाउँमा नयाँ खुलेको विद्यालय उत्कृष्ट छ । अर्कोको विश्वास थियो कि त्यो विद्यालय कमजोर छ । पहिलो व्यक्ति विद्यालयका सफल विद्यार्थी, राम्रो नतिजा र योग्य शिक्षकका उदाहरण मात्र खोज्थ्यो । यदि कुनै विद्यार्थीले राम्रो अंक ल्यायो भने ऊ भन्थ्यो, हेर्नुहोस् मैले भनेकै थिएँ, यो विद्यालय उत्कृष्ट छ । तर कुनै विद्यार्थी असफल भयो भने ऊ भन्थ्यो, विद्यार्थीले मेहनत गरेनन् । दोस्रो व्यक्तिले भने ठीक उल्टो गथ्र्यो । उसले असफल विद्यार्थीका उदाहरण मात्र देख्थ्यो । कुनै विद्यार्थी सफल भयो भने ऊ भन्थ्यो, यो त आफ्नै मेहनतले सफल भएको हो, विद्यालयको योगदान होइन । दुवैसँग आ–आफ्ना प्रमाण थिए, तर दुवैले वास्तविकता होइन, आफ्नै विश्वासलाई पुष्टि गर्ने प्रमाण मात्र सङ्कलन गरिरहेका थिए । यही कन्फर्मेसन बायसको एक सरल उदाहरण हो ।

ब्रेन बाइट्स

नेपालको पहाडी जिल्लामा एउटा सानो गाउँ थियो । गाउँको नाम थियो, शान्तिटार । गाउँ सानो भए पनि त्यहाँका मानिसहरू आ–आफ्नो विचारमा निकै दृढ थिए । त्यही गाउँमा बाल्यकालदेखि सँगै हुर्किएका दुई साथी थिए– राम र श्याम । उनीहरू एउटै विद्यालयमा पढेका, एउटै खोलामा पौडी खेलेका र एउटै मैदानमा भलिवल खेलेका थिए । तर उमेर बढ्दै जाँदा एउटा कुरा परिवर्तन भयो । उनीहरूको सोच फरक हुँदै गयो । एक दिन गाउँमा एउटा नयाँ चिकित्सक आए । गाउँभरि चर्चा चल्यो– नयाँ डाक्टर धेरै अनुभवी छन् । कसैले भन्यो, उनले धेरै बिरामी निको पारेका छन् । कसैले भने, यस्ता नयाँ डाक्टरहरूलाई विश्वास गर्न सकिँदैन । रामले पहिलो दिनदेखि नै डाक्टरलाई राम्रो माने । उनले सोचे, यति धेरै मानिसले प्रशंसा गरेका छन् भने अवश्य राम्रो हुनुहुन्छ । श्यामले भने उल्टो सोच्यो । मानिसहरू सजिलै प्रभावित हुन्छन् । म विश्वास गर्दिनँ । केही दिनपछि गाउँकी एक वृद्धा बिरामी परिन् । डाक्टरले उपचार गरेपछि उनी निको भइन् । राम निकै खुसी भयो । मैले भनेकै थिएँ, डाक्टर साँच्चै उत्कृष्ट रहेछन् । श्याम मुस्कुरायो, ति डाक्टरको औषधिले होइन, समयले निको बनाएको हो । दुई सातापछि अकोृ बिरामीको अवस्था सुधारिएन । यसपालि श्याम उत्साहित भयो, मैले भनेकै थिएँ नि डाक्टर ठिक छैनन् भनेर । रामले जवाफ दियो, त्यो बिरामी धेरै ढिलो अस्पताल पुगेको थियो । त्यसैले ठिक नभएको हो । रोचक कुरा के थियो भने दुवैसँग आफ्ना आफ्ना प्रमाण थिए । तर उनीहरूले एउटै घटना फरक तरिकाले हेरे । रामले सफलताको उदाहरण सम्झियो, असफलतालाई बेवास्ता गर्यो । श्यामले असफलतालाई सम्झियो, सफलतालाई सामान्य ठान्यो । सत्य दुवैको आँखाअगाडि थियो, तर उनीहरूको दिमागले आफ्नै विश्वासलाई पुष्टि गर्ने प्रमाण मात्र छानेर देखाइरहेको थियो । यही हो कन्फर्मेसन बायस ।

सामाजिक सञ्जालले यस मानसिक पूर्वाग्रहलाई झन् बलियो बनाएको छ । कुनै व्यक्तिले एउटा राजनीतिक दललाई समर्थन गर्छ भने उसको ध्यान त्यस दलको प्रशंसा गर्ने भिडियो, समाचार र टिप्पणीमा बढी जान्छ । सामाजिक सञ्जालका प्रणालीहरूले पनि उसले मन पराएको सामग्री बारम्बार देखाइदिन्छन् । केही समयपछि उसलाई संसारका सबै मानिस आफ्नै विचारसँग सहमत छन् जस्तो लाग्न थाल्छ । वास्तवमा ऊ एउटै विचारको घेराभित्र सीमित भएको हुन्छ । फरक मत भएका मानिसका तर्कहरू उसलाई गलत, मूर्ख वा पूर्वाग्रही लाग्न सक्छन्, जबकि उस्तै पूर्वाग्रह उसमा पनि सक्रिय हुन्छ ।
परिवारभित्र पनि यो धेरै देखिन्छ । कुनै आमाबुबाले आफ्ना छोराछोरी मध्य एक जनालाई यो धेरै जिम्मेवार छ भन्ने धारणा बनाइसकेपछि उसले गरेका राम्रा कामहरू सजिलै देख्छन् । यदि उसले गल्ती गर्याे भने आज मात्र यस्तो भयो भनेर बेवास्ता गर्छन् । अर्कोतर्फ, जसलाई यो अलि लापरवाह छ भन्ने छाप लागेको छ, उसले राम्रो काम गर्दा पनि खासै ध्यान दिइँदैन, तर सानो गल्तीले पनि उसको पुरानो छवि बलियो बनाइदिन्छ । यसरी मानिसको वास्तविक व्यवहार भन्दा हाम्रो धारणा बलियो बन्न पुग्छ ।

स्वास्थ्य सम्बन्धी विषयमा पनि कन्फर्मेसन बायसले ठूलो असर पार्छ । कसैले कुनै घरेलु उपचारले सबै रोग निको हुन्छ भन्ने विश्वास गर्यो भने उसले निको भएका केही मानिसका अनुभव मात्र सम्झन्छ । जसलाई कुनै फाइदा भएन, तिनीहरूको अनुभव उसले बेवास्ता गर्छ । यसरी केही सफल उदाहरणलाई मात्र आधार बनाएर सबैका लागि एउटै निष्कर्ष निकालिन्छ । यही कारणले वैज्ञानिक अनुसन्धानमा व्यक्तिगत अनुभव भन्दा व्यवस्थित प्रमाणलाई बढी महत्व दिइन्छ ।

एकजना व्यापारीको कथा हेरौँ । उनले एउटा उत्पादन बजारमा ल्याए । सुरुका केही ग्राहकले प्रशंसा गरे । उनले त्यो उत्पादन अत्यन्त सफल हुनेछ भन्ने विश्वास बनाए । त्यसपछि उनले सकारात्मक प्रतिक्रिया मात्र सुनिरहे । नकारात्मक प्रतिक्रिया दिने ग्राहकलाई उनले यी त बुझ्दैनन् भनेर पन्छाइदिए । केही महिनापछि बिक्री घट्न थाल्यो । बल्ल उनले महसुस गरे कि ग्राहकले सुरुदेखि नै गुणस्तर सुधार गर्न सुझाव दिइरहेका थिए । यदि उनले आफ्नो विश्वासलाई मात्र होइन, आलोचनालाई पनि ध्यान दिएका भए व्यवसाय अझ सफल हुन सक्थ्यो ।

कन्फर्मेसन बायस प्रेम सम्बन्धमा पनि देखिन्छ । कसैले पहिलो भेटमै यो व्यक्ति धेरै राम्रो छ भन्ने धारणा बनायो भने उसका कमजोरीहरू देखिँदैनन् । सबै व्यवहार राम्रो नै लाग्छ । तर सम्बन्ध बिग्रिए पछि उही व्यक्तिको हरेक काम नराम्रो देखिन थाल्छ । वास्तवमा व्यक्ति त्यति धेरै परिवर्तन भएको हुँदैन, परिवर्तन हाम्रो दृष्टिकोणमा आएको हुन्छ ।

केही समय अघि मनोवैज्ञानिकहरूले एउटा रोचक प्रयोग गरेका थिए । एउटै विषयमा फरक विचार राख्ने मानिसहरूलाई समान तथ्यहरू पढ्न दिइयो । परिणाम आश्चर्यजनक थियो । दुवै समूहले आफूलाई समर्थन गर्ने प्रमाणलाई बलियो माने, तर विपरीत प्रमाणलाई कमजोर भनेर अस्वीकार गरे । एउटै तथ्य पढ्दा पनि मानिसहरूले फरक निष्कर्ष निकाले । यसले देखायो कि समस्या तथ्यको अभाव होइन, तथ्यलाई हेर्ने हाम्रो तरिका हो ।

कन्फर्मेसन बायसको जरो हाम्रो मस्तिष्कको ऊर्जा बचाउने प्रवृत्तिसँग पनि जोडिएको छ । नयाँ विचार स्वीकार गर्न, आफ्ना विश्वासमाथि प्रश्न उठाउन र पुरानो सोच परिवर्तन गर्न मानसिक प्रयास चाहिन्छ । तर दिमागले सजिलो बाटो रोज्छ । उसले मैले पहिला जे मानेको थिएँ, त्यही सही हो भन्ने निष्कर्षलाई निरन्तर बलियो बनाइरहन्छ । यसले मानसिक आराम दिन्छ, तर सत्यबाट टाढा पनि लैजान सक्छ ।

इतिहासमा धेरै गल्तीहरू यही कारणले भएका छन् । केही वैज्ञानिकहरूले आफ्ना प्रारम्भिक सिद्धान्तलाई यति धेरै विश्वास गरे कि त्यसको विपरीत प्रमाण वर्षौैंसम्म स्वीकार गरेनन् । केही नेताहरूले आफ्ना समर्थकहरूको प्रशंसा मात्र सुने र जनताको असन्तुष्टि बुझ्न सकेनन् । केही कम्पनीहरूले ग्राहकको आलोचना बेवास्ता गर्दा बजारबाटै हराउनुपरेको छ । यी सबै घटनाको पछाडि कुनै न कुनै रूपमा कन्फर्मेसन बायस काम गरिरहेको थियो ।

यसबाट बच्ने उपाय भनेको आफ्नै विश्वासलाई चुनौती दिन सिक्नु हो । आफूले मानेको कुराको समर्थन गर्ने प्रमाण मात्र होइन, त्यसको विरोध गर्ने प्रमाण पनि खोज्ने बानी बसाल्नुपर्छ । फरक विचार भएका मानिसको कुरा धैर्यपूर्वक सुन्नुपर्छ । कुनै निष्कर्षमा पुग्नु अघि यदि म गलत भएँ भने ? भन्ने प्रश्न आफैँलाई सोध्नुपर्छ । यो प्रश्नले हाम्रो सोचलाई धेरै सन्तुलित बनाउन सक्छ ।

साँचो बुद्धिमत्ता भनेको आफू सधैँ सही छु भन्ने विश्वास होइन । आवश्यक पर्दा आफ्नो विचार परिवर्तन गर्न सक्ने क्षमता नै वास्तविक बौद्धिक परिपक्वता हो । विज्ञान पनि यही कारणले अगाडि बढेको हो । नयाँ प्रमाण आएपछि पुराना मान्यता परिवर्तन गरिन्छ । यदि वैज्ञानिकहरू पनि आफ्नै विश्वासमा अडिग बसेका भए आजका धेरै आविष्कार सम्भव हुने थिएनन् । हामी सबै कुनै न कुनै विषयमा कन्फर्मेसन बायसको प्रभावमा हुन्छौँ । यसलाई स्वीकार गर्नु कमजोरी होइन, बरु आत्मचेतनाको संकेत हो । जब हामी आफ्ना विश्वासलाई प्रश्न गर्न सिक्छौँ, तब मात्र हामी सत्यको नजिक पुग्न सक्छौँ । किनभने सत्यले हाम्रो विश्वाससँग मिल्नै पर्छ भन्ने छैन । कहिलेकाहीँ सत्यले हाम्रो पुरानो विश्वास परिवर्तन गर्न पनि बाध्य बनाउँछ ।

अतः कन्फर्मेसन बायसले हामीलाई एउटा महत्वपूर्ण शिक्षा दिन्छ । मानिसको सबैभन्दा ठूलो शत्रु गलत जानकारी मात्र होइन, आफूले पहिलेदेखि मानेको कुरा नै अन्तिम सत्य हो भन्ने अडान पनि हो । खुला मन, प्रमाणप्रतिको सम्मान र आफ्नै सोचमाथि प्रश्न उठाउने साहसले मात्र हामीलाई अझ विवेकशील, निष्पक्ष र परिपक्व निर्णयकर्ता बनाउन सक्छ । सत्य खोज्ने मानिस प्रमाणको पछि लाग्छ, तर आफ्नो विश्वास मात्र पुष्टि गर्न खोज्ने मानिस प्रमाणलाई आफ्नै विचार अनुसार मोड्न खोज्छ । यही दुई सोच बीचको अन्तरले ज्ञान र भ्रम, विवेक र पूर्वाग्रह तथा प्रगति र यथास्थिति बीचको दूरी निर्धारण गर्छ ।