ओम बानियाँ
हरितालिका तीज केवल एउटा धार्मिक पर्व मात्र होइन, यो नेपाली महिलाको मनोसामाजिक, सांस्कृतिक र भावनात्मक जीवनसँग गहिरो रूपमा जोडिएको पर्व हो । विशेषगरी दर खाने दिनदेखि तीजको व्रतसम्म आइपुग्दा महिलाहरूको खानपान, स्वास्थ्य, पारिवारिक सम्बन्ध, सामाजिक अपेक्षा र मानसिक अवस्थाले विशेष अर्थ राख्छ । समयसँगै तीज मनाउने शैली परिवर्तन हुँदै गए पनि यसको धार्मिक तथा सांस्कृतिक प्रभाव अझै बलियो छ । तर तीजसँग जोडिएका केही अभ्यासले महिलाको स्वास्थ्य र मनोवैज्ञानिक अवस्थामाथि पार्ने प्रभावबारे पनि गम्भीर रूपमा सोच्न आवश्यक छ ।
तीजको अघिल्लो दिन अर्थात् आज महिलाहरूले दर खाने परम्परा छ । परम्परागत रूपमा लामो समयसम्म व्रत बस्नु पर्ने भएकाले दरमा पेटभरि र पोषिलो खाना खाने चलन विकास भएको मानिन्छ । परिवार तथा आफन्तसँग बसेर विभिन्न परिकार खाने, गीत गाउने र रमाइलो गर्ने भएकाले दर खाने दिन सामाजिक सम्बन्ध बलियो बनाउने अवसर पनि हो ।
स्वास्थ्यको दृष्टिले हेर्दा दरमा सन्तुलित पोषण हुनु महत्वपूर्ण छ । लामो समयसम्म खाना नखाने महिलाले अघिल्लो दिन अत्यधिक चिल्लो, गुलियो वा भारी खाना खानु स्वास्थ्यका लागि सधैँ लाभदायक हुँदैन । धेरै मात्रामा खाना खाँदा अपच, पेट फुल्ने, अम्लपित्त तथा निद्रामा समस्या हुन सक्छ । त्यसैले दरलाई केवल धेरै र पोषिलो खाने दिन भन्दा पनि शरीरलाई आवश्यक ऊर्जा, प्रोटिन, फाइबर, भिटामिन र खनिज उपलब्ध गराउने अवसरका रूपमा लिनुपर्छ ।
तर पछिल्लो समय दर खाने संस्कृतिमा पनि परिवर्तन आएको छ । घरमा मात्र सीमित नभई होटल, पार्टी प्यालेस तथा सामूहिक कार्यक्रमहरूमा दर खाने चलन बढेको छ । यसले महिलाहरूलाई सामाजिक रूपमा जोड्ने सकारात्मक भूमिका खेल्न सक्छ, तर खानाको गुणस्तर, मात्रा र खर्चका कारण नयाँ प्रकारको सामाजिक दबाब पनि सिर्जना हुन सक्छ ।
तीजमा महिलाहरूले पति वा परिवारको सुख, स्वास्थ्य तथा दीर्घायुको कामना गर्दै व्रत बस्ने धार्मिक परम्परा छ । कतिपय महिलाले पानीसमेत नखाई निराहार व्रत बस्ने गर्छन् । धार्मिक विश्वासका आधारमा यसलाई श्रद्धा र समर्पणको प्रतीक मानिए पनि स्वास्थ्यको दृष्टिले लामो समयसम्म पानी र खाना नखाँदा शरीरमा विभिन्न समस्या उत्पन्न हुन सक्छन् ।
हेल्थ फस्र्ट

तीजको दिन बिहानैदेखि माया रातो सारीमा सजिएकी थिइन् । घरमा सबैजना पूजा र व्रतको तयारीमा थिए । उनले पनि पतिको दीर्घायुका लागि भन्दै पानी समेत नखाने व्रत बसिन् । दिउँसो नाचगान चलिरहँदा अचानक उनलाई चक्कर आयो । शरीर कमजोर भयो र उनी भुइँमा ढलिन् । परिवारले पानी र केही खानेकुरा दिएपछि उनको अवस्था सामान्य भयो । त्यस साँझ मायाले आमासँग भनिन्, आमा, आस्था त मेरो मनमा छ, तर शरीरलाई पीडा व्रत बस्नु नै प्रेमको प्रमाण हो र ? आमाले मुस्कुराउँदै भनिन्, छोरी, परम्परा जोगाउनु राम्रो हो, तर आफ्नो स्वास्थ्य जोगाउनु त्यस भन्दा ठूलो कुरा हो । स्वास्थ्य छैन त जीवनमा केही पनि छैन । त्यसपछि मायाले तीजलाई नयाँ तरिकाले बुझिन् । व्रत उनको व्यक्तिगत आस्था भयो, बाध्यता होइन । उनले साथीहरूलाई पनि भनिन्, तीजमा प्रेम र आस्था मनाऔँ, तर स्वास्थ्यलाई जोखिममा नराखौँ । किनकि स्वस्थ शरीर र शान्त मनमै तीजको वास्तविक खुसी लुकेको हुन्छ । जे कुरा गर्दा पनि हेल्थ चाहीँ फस्र्ट ।
निराहार व्रतका कारण शरीरमा पानीको कमी, कमजोरी, चक्कर लाग्ने, टाउको दुख्ने, रक्तचाप घट्ने, रक्तचिनी कम हुने तथा थकान जस्ता समस्याहरु देखिन सक्छन् । विशेषगरी गर्भवती महिला, स्तनपान गराइरहेका महिला, मधुमेह वा अन्य दीर्घकालीन रोग भएका व्यक्ति तथा नियमित औषधि सेवन गर्ने महिलाका लागि लामो निराहार व्रत जोखिमपूर्ण हुन सक्छ । यसकारण धार्मिक आस्थालाई सम्मान गर्दै स्वास्थ्यलाई पनि प्राथमिकता दिन आवश्यक छ । व्रत बस्ने व्यक्तिले आफ्नो स्वास्थ्य अवस्था बुझेर निर्णय गर्नुपर्छ । पानी पिउने, फलफूल वा हल्का पौष्टिक भोजन लिने जस्ता सुरक्षित विकल्पलाई पनि धार्मिक अभ्याससँग समायोजन गर्न सकिन्छ ।
तीजको व्रतलाई केवल शारीरिक कठिनाइका रूपमा बुझ्नु पर्याप्त हुँदैन । यसमा सामाजिक मनोविज्ञानको महत्वपूर्ण भूमिका हुन्छ । समाजले महिलालाई असल पत्नी, समर्पित महिला वा असल बुहारीको रूपमा परिभाषित गर्ने क्रममा व्रतलाई प्रेम, कर्तव्य र निष्ठासँग जोडिदिएको छ । फलस्वरूप कतिपय महिलाले स्वास्थ्यमा समस्या भए पनि सामाजिक अपेक्षाका कारण व्रत तोड्न कठिन महसुस गर्न सक्छन् । यसलाई सामाजिक अनुरूपताको उदाहरणका रूपमा बुझ्न सकिन्छ ।
वरपरका सबै महिला निराहार व्रत बसेको अवस्थामा आफूले मात्र व्रत नबस्दा सामाजिक आलोचना हुने डर पैदा हुन सक्छ । अरूले के भन्लान् ? भन्ने सोचले व्यक्तिगत स्वास्थ्य निर्णयलाई समेत प्रभावित गर्न सक्छ । त्यस्तै, सामाजिक स्वीकृतिको चाहनाले महिलामाथि अदृश्य दबाब सिर्जना गर्न सक्छ । व्रतलाई महिलाको प्रेम र वैवाहिक निष्ठाको प्रमाण मान्ने मानसिकताले व्रत नबस्ने महिलालाई कम धार्मिक वा कम समर्पित ठान्ने अवस्था सिर्जना भएमा त्यो सामाजिक रूपमा विभेदकारी बन्न सक्छ ।
तीजको अर्को महत्वपूर्ण पक्ष महिलाको मानसिक स्वास्थ्य हो । सकारात्मक रूपमा हेर्दा तीज महिलाहरूलाई आफ्ना साथी, दिदीबहिनी तथा माइतीसँग भेट्ने, अनुभव साट्ने, गीत गाउने र सामाजिक समर्थन प्राप्त गर्ने अवसर हो । सामाजिक समर्थनले तनाव कम गर्न र भावनात्मक स्वास्थ्य सुधार गर्न सहयोग गर्न सक्छ ।
तर तीज सबै महिलाका लागि समान रूपमा खुसीको पर्व नहुन सक्छ । वैवाहिक समस्या, घरेलु हिंसा, एक्लोपन, आर्थिक कठिनाइ, सन्तान सम्बन्धी दबाब वा पारिवारिक तनाव भएका महिलाका लागि तीजका अवसरहरू भावनात्मक रूपमा कठिन हुन सक्छन् । अरू महिलाले सामाजिक सञ्जालमा देखाउने खुसी, महँगा गहना, कपडा र भोजसँग आफ्नो जीवन तुलना गर्दा हीनभावना वा तनाव पनि बढ्न सक्छ ।
यसलाई सामाजिक मनोविज्ञानमा सामाजिक तुलना भनिन्छ । विशेषगरी सामाजिक सञ्जालको विस्तारसँगै तीज आस्था र भेटघाटबाट प्रदर्शन र प्रतिस्पर्धातर्फ जाने जोखिम बढेको छ । यसले आर्थिक तथा मानसिक दबाब थप्न सक्छ । परम्पराको संरक्षण आवश्यक छ, तर परम्परा मानिसको स्वास्थ्यभन्दा माथि हुन सक्दैन । तीजको मूल उद्देश्य महिलाहरू बीचको आत्मीयता, धार्मिक आस्था, पारिवारिक सम्बन्ध र सांस्कृतिक पहिचानलाई बलियो बनाउनु हो भने त्यसलाई आधुनिक स्वास्थ्य चेतनासँग जोड्न सकिन्छ ।
निराहार बसेर मात्र राम्रो तीज हुन्छ भन्ने धारणा परिवर्तन गर्न आवश्यक छ । त्यसैगरी, महिलाको प्रेम र वैवाहिक निष्ठालाई व्रतको कठोरतासँग मापन गर्नु उचित हुँदैन । पुरुष तथा महिला बीच समान स्वास्थ्य जिम्मेवारी र पारस्परिक सम्मानको संस्कार विकास गर्नुपर्छ ।
नेपालमा तीजको दर खाने दिन र व्रतको परम्परा हाम्रो सांस्कृतिक पहिचानको महत्वपूर्ण हिस्सा हो । यसमा धार्मिक विश्वास, सामाजिक सम्बन्ध, महिला एकता र भावनात्मक अभिव्यक्तिका धेरै सकारात्मक पक्ष छन् । तर यससँग जोडिएको अत्यधिक खानपान, लामो निराहार व्रत, सामाजिक दबाब, आर्थिक प्रतिस्पर्धा र वैवाहिक भूमिका सम्बन्धी अपेक्षाले महिलाको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ ।
त्यसैले आधुनिक नेपालमा तीजलाई स्वास्थ्य सचेत, लैङ्गिक रूपमा समान र मानसिक रूपमा सुरक्षित पर्वका रूपमा विकास गर्न आवश्यक छ । व्रत व्यक्तिगत आस्था हुनुपर्छ, सामाजिक बाध्यता होइन । दर पोषणको अवसर हुनुपर्छ, खानाको प्रतिस्पर्धा होइन । तीज महिलाको पीडा सहने पर्व होइन, उनीहरूको आवाज, सम्बन्ध, आत्मसम्मान र खुसीलाई सम्मान गर्ने पर्व बन्नुपर्छ ।
अतः संस्कृतिको संरक्षण भनेको पुराना अभ्यासलाई जस्ताको तस्तै दोर्होयाउनु मात्र होइन, समय अनुसार त्यसलाई मानवीय, स्वस्थ र समावेशी बनाउँदै अगाडि बढाउनु पनि हो । तीजको वास्तविक सौन्दर्य त्यतिबेला अझ अर्थपूर्ण हुन्छ, जब महिलाले आफ्नो आस्था कायम राख्दै आफ्नो स्वास्थ्य, स्वतन्त्रता र मानसिक शान्तिलाई पनि समान रूपमा महत्व दिन सक्छिन् ।
