आफ्नै आँखाले देखेको अस्ट्रेलिया

प्राकृतिक सौन्दर्य, विविधता र विकासको देश

मेचीकाली संवाददाता

१० आश्विन २०८३, शनिबार
1 shares

मिलन गाहा

बुटवल । संसारका अनौठा, आकर्षक र विविधताले भरिएका देशमध्ये अस्ट्रेलिया पनि एक हो । क्षेत्रफलका हिसाबले विश्वको छैटौँ ठूलो देश अस्ट्रेलिया आफैंमा एउटा महादेश पनि हो । दक्षिणी गोलार्धमा अवस्थित यो देश प्राकृतिक सौन्दर्य, आधुनिक जीवनशैली, बहुसांस्कृतिक समाज, उच्चस्तरीय शिक्षा, आर्थिक समृद्धि र व्यवस्थित जीवनपद्धतिका कारण विश्वभर परिचित छ ।

राजधानी क्यानबेरा भए पनि सिड्नी, मेलबर्न, ब्रिस्बेन, पर्थ र एडिलेडजस्ता सहर अस्ट्रेलियाको आर्थिक, सांस्कृतिक र सामाजिक जीवनका महत्वपूर्ण केन्द्र हुन् । गत भदौ १५ गतेदेखि करिब २० दिन अस्ट्रेलियामा बिताउने अवसर पाएँ । यो यात्रा मेरा लागि केवल एउटा देश घुम्ने अवसर मात्र थिएन, जीवनमा लामो समयदेखि बोकेको विश्व भ्रमणको चाहनामा अर्को खुड्किलो पनि थियो । त्यहाँ पुगेर मैले पुस्तक, समाचार र तस्बिरमा पढेको–देखेको अस्ट्रेलियालाई आफ्नै आँखाले नियाल्ने अवसर पाएँ ।

अस्ट्रेलिया बेलायतको उपनिवेशबाट विकसित हुँदै आज विश्वका विकसित मुलुकमध्ये एक बनेको इतिहास बोकेको देश हो । यहाँ विकाससँगै कानुनको शासन, मानव अधिकार, श्रमको सम्मान, सामाजिक सुरक्षा र नागरिक स्वतन्त्रतालाई पनि महत्व दिइएको देखिन्छ। विशाल भूगोल भए पनि अधिकांश जनसंख्या समुद्री किनार आसपासका क्षेत्रमा केन्द्रित छ । लामो समुद्री तट, सुन्दर समुद्रकिनार र विविध प्राकृतिक सम्पदाले अस्ट्रेलियालाई पर्यटकीय दृष्टिले पनि आकर्षक बनाएको छ ।

पत्रकारितासँग जोडिएको अस्ट्रेलिया यात्रा
यसपटकको मेरो अस्ट्रेलिया यात्रा अर्को कारणले पनि विशेष रह्यो । ग्लोबल मिडिया फोरममा सहभागी हुने अवसर मिल्यो । विश्वका करिब ४० देशका पत्रकार तथा सञ्चार संस्थाका प्रतिनिधिहरू सहभागी भएको उक्त कार्यक्रममा नेपालबाट सार्वजनिक सेवा प्रसारण संस्थाका दुई जना र सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)को प्रतिनिधिका रूपमा म सहभागी थिएँ ।

कार्यक्रमका बेला नेपालमा भर्खरै आएको भोटेकोसी र त्रिशूली नदीको बाढीको विषय पनि प्रमुखताका साथ उठ्यो । बाढीका कारण भएको मानवीय क्षतिप्रति सहभागीहरूले नेपालप्रति सहानुभूति र सहयोगको भावना व्यक्त गरे । उक्त विपत्तिमा केही अस्ट्रेलियाली नागरिकसमेत प्रभावित तथा ज्यान गुमाउने अवस्थामा पुगेको विषयले पनि कार्यक्रममा चासो पाएको थियो ।

एबीसीसहित अस्ट्रेलियाका सञ्चार संस्थाहरूको सहकार्यमा आयोजित कार्यक्रमले बदलिँदो सञ्चार वातावरणमा पत्रकारिताले खेल्नुपर्ने भूमिकामाथि गम्भीर बहस ग¥यो ।

सञ्चारमा विविधता र बहुसांस्कृतिक समाजको प्रतिनिधित्व कसरी गर्ने ? आदिवासी समुदायका आवाजलाई सञ्चारमाध्यममा कसरी समेट्ने? पत्रकारिता प्रश्न उठाउने माध्यम मात्र बन्ने कि समाधान खोज्ने प्रक्रियाको साझेदार पनि बन्ने? नयाँ मिडियाको विस्तारसँगै मूलधारका सञ्चारमाध्यमले आफ्नो विश्वसनीयता कसरी कायम राख्ने ? सामाजिक सञ्जालको बढ्दो प्रभाव र त्यसबाट सिर्जित चुनौतीलाई कसरी सम्बोधन गर्ने ? यिनै विषयमा केन्द्रित भएर छलफल भयो ।
आज सामाजिक सञ्जालको व्यापक विस्तारसँगै गलत सूचना, भ्रामक सामग्री र तथ्यहीन समाचार विश्व समुदायका लागि नै चुनौती बनेका छन् । यस्तो अवस्थामा पत्रकारिताको सबैभन्दा ठूलो शक्ति नै तथ्य, विश्वसनीयता र जनउत्तरदायित्व हो भन्ने अनुभूति उक्त कार्यक्रममा अझ बलियो भयो ।

आदिवासी संस्कृतिप्रति सम्मान
अस्ट्रेलियाको इतिहास हजारौँ वर्ष पुरानो छ । यहाँका आदिवासी समुदायले हजारौँ वर्षदेखि यस भूमिमा आफ्नो संस्कृति, भाषा, कला, परम्परा र प्रकृतिसँग गहिरो सम्बन्ध कायम गर्दै आएका छन् । उनीहरूको जीवनपद्धति र संस्कृति अस्ट्रेलियाको इतिहासको महत्वपूर्ण हिस्सा हो ।

अस्ट्रेलियामा आदिवासी समुदायप्रति राज्यको सम्मान व्यवहारमा पनि देखिन्छ । संसद्, सरकारी कार्यालय र विभिन्न औपचारिक कार्यक्रममा आदिवासी झण्डालाई स्थान दिइएको छ । आदिवासी समुदायको इतिहास र पहिचानलाई सार्वजनिक जीवनमा सम्मानका साथ प्रस्तुत गर्ने अभ्यासले मलाई विशेष प्रभावित ग¥यो ।

सन् १९०१ मा विभिन्न ब्रिटिस उपनिवेशहरू एकीकृत भएर अस्ट्रेलियाको संघीय संरचना बनेपछि आधुनिक अस्ट्रेलियाको विकासले नयाँ गति लियो । आजको अस्ट्रेलियामा आदिवासी संस्कृति, युरोपेली इतिहास र विश्वका विभिन्न मुलुकबाट आएका आप्रवासी समुदायको साझा उपस्थिति देखिन्छ ।

मरुभूमिदेखि समुद्रसम्मको विविधता
भौगोलिक दृष्टिले अस्ट्रेलिया आफैंमा एउटा विशाल संसारजस्तो लाग्छ । समुद्री तटदेखि विशाल मरुभूमिसम्म, उष्ण क्षेत्रदेखि चिसो पहाडी भूभागसम्म यहाँको भौगोलिक विविधता फैलिएको छ ।

विशाल भूभाग भए पनि जनसंख्या तुलनात्मक रूपमा कम छ । समुद्री किनार आसपासका क्षेत्रमा भने बाक्लो बस्ती छ । एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्दा प्राकृतिक दृश्य, मौसम र वातावरणमा आउने परिवर्तन निकै रोचक लाग्छ ।
अस्ट्रेलियाको जैविक विविधता पनि उत्तिकै आकर्षक छ। कंगारु, कोआला, वोम्ब्याट, प्लाटिपस तथा विभिन्न प्रजातिका रंगीन चराहरू यहाँका विशिष्ट वन्यजन्तु हुन् । यीमध्ये धेरै प्रजाति अस्ट्रेलियामै प्राकृतिक रूपमा पाइन्छन् ।

ग्रेट ब्यारियर रिफ विश्वकै प्रसिद्ध समुद्री पारिस्थितिक प्रणालीमध्ये एक हो । कोरल, समुद्री जीव र विभिन्न प्रजातिका माछाका कारण यो क्षेत्र पर्यटनसँगै वैज्ञानिक अध्ययनका लागि पनि महत्वपूर्ण छ । तर जलवायु परिवर्तन, समुद्री तापक्रम वृद्धि र वातावरणीय प्रदूषणले यस्ता प्राकृतिक सम्पदाको संरक्षणमा चुनौती थपिरहेको छ ।

विकासको आधारः विविध अर्थतन्त्र
अस्ट्रेलियाको अर्थतन्त्र विकसित र विविध छ। खनिज, कृषि, सेवा, शिक्षा, पर्यटन र प्रविधि यसका महत्वपूर्ण आर्थिक क्षेत्र हुन्। फलाम, कोइला, प्राकृतिक ग्यासलगायत खनिज पदार्थको उत्पादन र निर्यातले अर्थतन्त्रमा ठूलो योगदान पु¥याएको छ ।

कृषितर्फ गहुँ, जौ, ऊखु, फलफूल तथा पशुपालन महत्वपूर्ण छन् । आफ्ना उत्पादन विश्वका विभिन्न मुलुकमा निर्यात गर्ने अस्ट्रेलियाले प्राकृतिक स्रोत र आधुनिक प्रविधिको संयोजनबाट आर्थिक विकासलाई अघि बढाएको देखिन्छ ।

शिक्षाको गन्तव्य अस्ट्रेलिया
शिक्षाका क्षेत्रमा अस्ट्रेलियाको अन्तर्राष्ट्रिय पहिचान निकै बलियो छ । विश्वका विभिन्न मुलुकबाट विद्यार्थी यहाँ उच्च शिक्षा हासिल गर्न आउँछन् । अनुसन्धान, विज्ञान, प्रविधि र व्यावसायिक शिक्षाका विभिन्न अवसरले अस्ट्रेलियालाई अन्तर्राष्ट्रिय विद्यार्थीको आकर्षणको केन्द्र बनाएको छ ।

नेपाली विद्यार्थीका लागि पनि अस्ट्रेलिया लामो समयदेखि प्रमुख शैक्षिक गन्तव्य रहँदै आएको छ। अंग्रेजी भाषाको वातावरण, बहुसांस्कृतिक समाज र अध्ययनका विविध विकल्प नेपाली विद्यार्थीका आकर्षण हुन् ।

तर पछिल्लो समय आप्रवासन र विद्यार्थी भिसासम्बन्धी नीतिमा भइरहेका परिवर्तनले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि नयाँ चुनौती थपेको देखिन्छ। विशेषगरी आप्रवासनसम्बन्धी राजनीतिक बहस र कडाइका कारण आगामी दिनमा विद्यार्थी तथा आप्रवासीसम्बन्धी नीति कस्तो बन्छ भन्ने विषय चासोको विषय बनेको छ।

बहुसांस्कृतिक समाज
अस्ट्रेलिया बहुसांस्कृतिक समाजको राम्रो उदाहरण हो। विभिन्न देश, भाषा, धर्म र संस्कृतिका मानिस यहाँ सँगै बसोबास गर्छन्। आप्रवासनले अस्ट्रेलियाको जनसंख्या, श्रम बजार र सांस्कृतिक जीवनलाई विविध बनाएको छ ।

सिड्नी र मेलबर्नजस्ता सहरमा विश्वका विभिन्न मुलुकका मानिस भेटिन्छन् । विभिन्न संस्कृति, खाना, कला, भाषा र चाडपर्वले यहाँको सामाजिक जीवनलाई अझ रंगीन बनाएको छ । यात्राका क्रममा मैले पनि विभिन्न देशका मानिससँग भेटघाट र संवाद गर्ने अवसर पाएँ। त्यसबाट अस्ट्रेलिया केवल भूगोलले विशाल देश होइन, मानिस र संस्कृतिको विविधताले पनि विशाल रहेछ भन्ने अनुभूति भयो ।

पर्यटनको अथाह सम्भावना
पर्यटन अस्ट्रेलियाको अर्को महत्वपूर्ण क्षेत्र हो। सिड्नी ओपेरा हाउस, सिड्नी हार्बर ब्रिज, ग्रेट ब्यारियर रिफ, उलुरु, ग्रेट ओसन रोड, विभिन्न चिडियाखाना, एएनज्याक ब्रिज, राष्ट्रिय निकुञ्ज तथा समुद्री क्षेत्र पर्यटकका प्रमुख आकर्षण हुन् ।
अध्ययनका लागि विशाल पुस्तकालय, ओलम्पिक पार्क, युद्ध संग्रहालय, कला केन्द्र, आधुनिक सहर, समुद्री गतिविधि र वन्यजन्तु अवलोकनजस्ता अवसरले अस्ट्रेलियाको यात्रालाई अझ समृद्ध बनाउँछन् ।
आधुनिक संरचना र प्राकृतिक सौन्दर्यको संयोजन अस्ट्रेलियाको विशेषता हो। एउटै यात्रामा समुद्र, जंगल, पहाड, मरुभूमि र अत्याधुनिक सहरको अनुभव लिन सकिनु आफैंमा रोचक पक्ष हो ।

खेलकुदमा पनि अब्बल
अस्ट्रेलियाली समाजमा खेलकुदको विशेष महत्व छ । क्रिकेट, अस्ट्रेलियन रुल्स फुटबल, रग्बी, टेनिस र फुटबल यहाँ लोकप्रिय छन् । मेलबर्न क्रिकेट ग्राउन्डजस्ता खेल मैदान अन्तर्राष्ट्रिय खेलकुदका महत्वपूर्ण केन्द्र हुन् । अस्ट्रेलियन ओपनजस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिताले पनि अस्ट्रेलियालाई विश्व खेलकुदको नक्सामा विशेष स्थान दिएको छ ।

चुनौतीविहीन छैन अस्ट्रेलिया
विकसित मुलुक भए पनि अस्ट्रेलिया चुनौतीविहीन भने छैन । जलवायु परिवर्तन, जंगलमा लाग्ने डढेलो, खडेरी, बाढी, जैविक विविधताको संरक्षण तथा केही क्षेत्रमा बढ्दो आवास लागतजस्ता विषय यहाँका महत्वपूर्ण चुनौती हुन् ।
विशाल भूभाग र फरक–फरक जलवायुका कारण प्राकृतिक विपत्तिको प्रभाव पनि क्षेत्रअनुसार फरक देखिन्छ। त्यसैले वातावरण संरक्षण, जलवायु अनुकूलन र दिगो विकास अस्ट्रेलियाको भविष्यका महत्वपूर्ण सवाल हुन् ।

यात्रामा भेटिएका आत्मीय सम्बन्ध
करिब २० दिनको यो यात्रा मेरा लागि ठाउँ हेर्ने र नयाँ कुरा बुझ्ने अवसर मात्र रहेन। पुराना मित्र तथा आफन्तसँग भेटघाट गर्ने अवसरले यात्रालाई अझ आत्मीय बनायो । टेकन थापा, बहिनी सुसन, सुनीता, नल, बासुदेव मरहठ्ठा तथा उहाँहरूको परिवार, भान्जा देवेन्द्र राना तथा परिवार, मित्र रवि नेपाल तथा परिवार, मित्र जीवन पौडेल तथा परिवारसँगको भेटले यात्रामा आत्मीयता थप्यो। विशेषगरी भाइ प्रकाश फालले दिएको साथ र सहयोग सम्झनलायक रह्यो ।

क्यानबेरामा पत्रकार प्रदीप तिमल्सिना तथा परिवारसँगको भेट पनि विशेष रह्यो। लामो समयपछि मित्र सुवास र बहिनी श्रद्धासँग भेट भयो । पत्रकार चिरञ्जीवी देवकोटासँग पनि भेटेर केही समय देश, पत्रकारिता र सञ्चारका विषयमा कुराकानी गर्ने अवसर मिल्यो । रमेश पाण्डे र सम्झना शर्मासँग भने संवाद भए पनि प्रत्यक्ष भेट हुन सकेन । समय र परिस्थितिले सबैसँग भेट सम्भव नभए पनि सम्बन्ध र आत्मीयताको अनुभूति भने यात्राभरि रहिरह्यो ।

यात्राले दिएको सिकाइ
समग्रमा, अस्ट्रेलियाको यो यात्रा मेरा लागि अविस्मरणीय रह्यो । प्राकृतिक सौन्दर्य, आधुनिक विकास, बहुसांस्कृतिक समाज, शिक्षा, प्रविधि, पर्यटन र व्यवस्थित जीवनपद्धतिलाई नजिकबाट बुझ्ने अवसर पाएँ । त्यसभन्दा महत्वपूर्ण कुरा, पत्रकारिताको विकास, सञ्चारमाध्यमको बदलिँदो स्वरूप, विभिन्न देशका सञ्चारकर्मीका अनुभव र नेपालको पत्रकारितासँग तुलना गर्ने अवसर पनि प्राप्त भयो।

अस्ट्रेलियाले विकाससँगै विविधता, मानव अधिकार, श्रमको सम्मान र प्रकृति संरक्षणलाई कसरी जोड्न खोजेको छ भन्ने कुरा नजिकबाट बुझ्न पाएँ । त्यहाँको अनुभवलाई नेपालको सन्दर्भमा सोच्दा धेरै प्रश्न, सम्भावना र सिकाइहरू मनमा आए । विश्वका विभिन्न देश घुम्ने मेरो चाहनामा अस्ट्रेलिया यात्राले अर्को महत्वपूर्ण अध्याय थपेको छ । यो यात्रा केवल गन्तव्य परिवर्तन थिएन, दृष्टिकोण फराकिलो बनाउने अवसर पनि थियो ।

आफ्नै आँखाले देखेको अस्ट्रेलिया मेरो स्मृतिमा केवल सुन्दर देशका रूपमा होइन, विकास, विविधता, पत्रकारिता र मानवीय सम्बन्धबाट धेरै कुरा सिकाएको एउटा अविस्मरणीय यात्राका रूपमा रहनेछ ।