शान्तिदूत वृद्धाको भव्य विदाई

इन्द्रकुमारी वोस्तीको शालीनतायुक्त जीवन र उच्च शंखनादयुक्त महाप्रस्थान

मेचीकाली संवाददाता

९ आश्विन २०८३, शुक्रबार
1 shares

मुक्तिनाथ गैह्रे

हामी प्रायः स्थानीय, राष्ट्रिय वा अन्तर्राष्ट्रिय ख्याति आर्जन गरेको अद्वितीय लाग्ने मनुष्यको सफल यात्रालाई प्रेरणाका रूपमा बुझिरहेका हुन्छौं । तर, यो आलेखमा भने त्योभन्दा नितान्त अलग प्रकृतिकी पात्रको जीवनलाई प्रेरणा पात्रका रूपमा प्रस्तुत गर्दैछौं ।

एक निरक्षर वृद्धा, करिब एक शताब्दीअघि जन्मिएकी, बाल विवाह हुँदै किशोरअवस्थामा आमा बनेकी, नौ जना छोराछोरी–बुहारी, डेढ दर्जन नाति–नातिना र त्यो भन्दा बढी पनाति–पनातिना, कैयौं भतिजा–भतिजी, भाञ्जा–भाञ्जी तथा ज्वाइँचेला एवम् इष्टमित्रहरूको भव्य जमघटबिच अन्तिम विदाई गरिएकी ८७ वर्षीया एक वृद्धाको जीवनलाई प्रेरणाको रूपमा प्रस्तुत गरिएको हो ।

स्व.इन्द्रकुमारी वोस्ती

रूपन्देहीको बुटवल उपमहानगरपालिका–१९ रानीबारी निवासी इन्द्रकुमारी वोस्तीको गत असोज १ गते बिहीबार आफ्नै निवासमा आफन्तहरूकै माझ बिहान करिब ५ बजेतिर निधन भयो । जन्मपछि मृत्यु स्वभाविक छ, सत्य छ, हामी सबैले त्यो भोग्नु नै पर्छ । उहाँको पनि चौरासी पूजा गरेको ३ वर्षपश्चात् मृत्यु भयो । सबैको जीवनमा आउने मृत्यु, सबैले भोग्नुपर्ने अन्तिम यात्रा वा महायात्राभन्दा इन्द्रकुमारी वोस्तीको महाप्रस्थान विशेष र शोकपूर्ण घडीमा पनि ‘भव्य’ विदाइजस्तै देखियो, जो महत्वपूर्ण पक्ष हो । यसो हुनुका पछाडिका कारण हाम्रा लागि प्रेरणाका स्रोत हुन् भन्ने यो प्रस्तुतिको प्रथम पक्ष हो ।

उहाँको जीवन नै ‘शान्तिदूत’को जस्तो रहिरह्यो । विशेषतः सदैव सौम्यता, सरलता, धैर्यता, प्रतिक्रिया विहीनता र समभाव एवम् समव्यवहार उहाँका चिनारी बने । ती चिनारी किशोरावस्थादेखि वृद्धवस्थासम्म निरन्तर चिरस्थायी बनिरहे । देशमा २००७ सालमा क्रान्ति भयो, प्रजातन्त्र आयो, २०१५ सालमा पहिलो निर्वाचन भयो, २०१७ सालमा पञ्चायती प्रजातन्त्र आयो, २०२८ सालमा सशस्त्र विद्रोह भयो, २०३६ सालमा जनमत सङ्ग्रह भयो, २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनाको आन्दोलन सफल भयो, २०५२ देखि २०६२ सम्म सशस्त्र विद्रोह भयो, २०६१ देखि २०६३ सम्म सक्रिय शाही शासन चल्यो, २०८२ भदौमा जेन जेड विद्रोह भयो; उहाँको स्वभावमा परिवर्तन आएन । त्यस्तैः आफ्ना व्यक्तिगत पत्र पनि छिमेकका साक्षर व्यक्तिले पढिदिएर श्रीमान्–श्रीमतीका हालखबर बुझ्ने उहाँले भोगेको त्यो पुरानो समाज अनि रेडियो नेपाल र गोरखापत्र मात्र भएको त्यो समाज यसरी परिवर्तन भयो मानौं कायापलट नै भयो; उहाँको स्वभावमा परिवर्तन आएन । हातहातका स्मार्टफोनमा भिडियो कलमा हालचाल बुझ्ने क्रान्तिको साक्षी हुनुभयो र पनि उहाँको स्वभावमा कुनै परिवर्तन आएन । त्यही अपरिवर्तनीय ‘शालीन’ स्वभाव नै हुनुपर्छः इन्द्रकुमारीको अन्तिम यात्राको ‘भव्यता’ को कारण ।

अहिले विभिन्न विश्वविद्यालयले ‘शान्ति स्थापना र दिगो विकाश’ मा उच्च शिक्षाका कार्यक्रम सञ्चालन गरिरहेका छन् । हाम्रै लुम्बिनी प्रदेशमा रहेको लुम्बिनी बौद्ध विश्विद्यालयदेखि युरोप तथा अमेरिकाका सर्वोत्कृष्ट विश्वविद्यालय सम्मले ‘शान्ति स्थापना’ सँग सम्बन्धित विषयहरूमा स्नातकोत्तर एवम् विद्यावारिधी गराइरहेछन्, विश्वमा शान्ति स्थापनाको लागि संयुक्त राष्ट्रसंघमार्फत अर्बौं डलर खर्च गरेर दौडधुप, गोष्ठी, अनुसन्धान, छलफल, अन्तक्र्रिया, वार्ता आदि व्यापक बनाइरहेका छन् । तर, विरलै मात्र जन्म लिने इन्द्रकुमारी जस्ता निरक्षर ‘शान्तिदूत’ तिनीहरूले चिन्न र चिनाउन सकिरहेका छैनन् । नेपाली समाजमै पनि कतिपयले यस्ता ‘शान्तिदूत’ लाई राम्ररी चिन्न नसक्दा उनीहरूका ‘गुण’ को अनुकरण हुन सक्दैन, फलस्वरूप परिवार र समाजमा विग्रह र कलहको जन्म हुन्छ । इन्द्रकुमारी जस्तै घर–समाजमा कहीँ कतै भेटिने ‘शान्तिदूत’ लाई चिन्न नसक्दा स्थानीय अनुसन्धान रोकिएको छ, मौलिकपन माथि कृति बन्न सकेको छैन, अनि शक्तिशालीले निर्धामाथि बम बर्साएपछिको मुर्दाशान्तिमा फेरि शान्ति स्थापनाको नाटक यो ‘शक्तिकेन्द्रित’ विश्वमा मञ्चन भैरहेको पाइन्छ ।

‘शान्तिदूत’ इन्द्रकुमारीको देहावसानमा जे देखियो, उहाँका सद्गुणहरू मृत्युपछि थप प्रमाणित भएको भेटियो । नातामा मेरी आमा चेतकुमारीकी आमा (हजुरआमा) हुनु र उहाँबाट हामीले केही सिक्ने त्यो पारिवारिक परिवेश भो । त्यो भन्दा माथि हजारौँ मानिसले चिनेकी इन्द्रकुमारी यो समग्र समाजका लागि सदैव सौम्यता, सरलता, धैर्यता, प्रतिक्रिया विहीनता र समभाव एवम् समव्यवहारका प्रतीक नै हुनुहुन्थ्यो भन्ने सयौं व्यक्ति सम्मिलित देवघाट तटको श्रद्धाञ्जली सभामा व्यक्त विचार अनि शोकपुस्तिकामा उल्लेखित विद्वत्वर्गका अनुभवले प्रमाणित गरेका छन् ।

जेठाजु–जेठानी र देवर–देवरानीका सन्ततिलाई आफ्नै सन्ततितुल्य मातृवात्सल्यमा सम्मोहित गर्नसक्ने, ५ जना अमाजु–नन्दतर्फका सबै भान्जा–भान्जी, ज्वाइँचेला र इष्टमित्रमा मधुरतायुक्त मिठो एकपटकको वचनले स्वागत गरी खुशी पार्नसक्ने एक मातृशक्ति, ‘विना विश्वविद्यालयकी विदुषी’ इन्द्रकुमारी यो समाजमा अझ धेरै अन्यत्र पनि हुन सक्नुहुन्छ । वोस्ती परिवारले जसरी इन्द्रकुमारीका ईश्वरीय पक्षको कदर गर्न सक्यो, विना कमजोरी सम्पूर्ण सम्मानसहित उहाँको उत्तरार्धको उल्लेख्य ध्यान दियो अनि उहाँका सद्गुण आगामी सन्ततिका लागि सञ्चित गर्नसक्यो; त्यो पक्ष पनि उत्तिकै अनुरकणीय छ । किनकि यो सबै इन्द्रकुमारी र उहाँका दिवङ्गत पति पण्डित लिलामणि वोस्तीको संस्कारले दिएको सभ्यता थियो ।

विगत तीन वर्षयता उहाँसँग दोहोरो संवाद गर्न कठिन हुँदै गएपनि उहाँका नयन–चक्षुले भने भावनात्मक संवाद कहिल्यै रोकेनन् । आँखाको हेराइमै माया थियो, आत्मीयता थियो, चिनारी थियो र आशीर्वाद थियो । त्यसैले उहाँ वरिपरि रहनुहुने प्रत्येक व्यक्तिले उहाँसँग शब्दबिनाको संवाद अनुभव गरिरहन्थे, शालीनता, प्रेमिल, वात्सल्य, धैर्यताको ध्यान सञ्चितिको ताजापन सहित काममा फर्किन्थे ।

समुद्रजस्तै शान्त स्वभाव, प्रायः कसैप्रति प्रतिक्रिया व्यक्त नगर्नु, कसैलाई क्षुद्र वा नराम्रो वचन नलगाउनु, घरमा आउने–जाने प्रत्येक व्यक्तिलाई आत्मीयतापूर्वक खान–पानको व्यवहार दिनु, उपस्थितिलाई थप आत्मीय बनाइदिने जीवनशैली विश्वविद्यालयमा सिक्न–सिकाउन कति सम्भव होला ? हाम्रा पूर्वीय संस्कारका यी सर्वोत्तम गुणहरू घर–परिवार, समाज, स्थानीय सञ्चार माध्यम र आदान–प्रदानबाट मात्र जोगाउन सम्भव छ । कुनै विश्वविद्यालयमा यो समर्पणसहित संस्कार र गुण विकाश गर्ने पाठ्यक्रम भैदिएको भए यो संसार यत्ति बढी आक्रान्त पक्कै हुने थिएन ।

जरारूपी संस्कारको महत्त्वः
‘विक्रम संवत् १९९६ सालमा स्याङ्जा, वालिङ नगरपालिकाअन्तर्गत भरूवामा पिता गङ्गाराम भण्डारी र माता गौरी भण्डारीका तीन सुपुत्र र तीन सुपुत्रीमध्ये माहिली सुपुत्रीका रूपमा जन्मिनुभएकी इन्द्रकुमारीमा पण्डित् कुलका माइतीका विद्वत्गुण र घरमै पनि त्यस्तै गुणयुक्त ससुरा गोपीकृष्ण, सासु जसुधाको सांस्कारिक व्यवहारको प्रतिफल हो’ भन्नुहुन्छ उहाँका ८५ वर्षीय देवर कुष्णलाल वोस्ती । कसैसँग विरोध नगरी, कसैलाई चोट नपु¥याई, आफ्ना कर्तव्य र पारिवारिक जिम्मेवारीलाई मौन रूपमा निर्वाह गर्दै उहाँको जस्तै आचरण आजका विश्वविद्यालयमा सिकाउन सकिएमा शान्ति स्थापनाका सद्भावना दूत अन्यत्र कतै खोज्नुपर्ला र ?

विक्रम् संवत् २०४० सालको दशकमा स्याङ्जाको रोग्दीखोलाबाट रूपन्देहीको तत्कालीन मोतीपुर गाविसअन्तर्गत रानीबारीमा बसाइँ सर्नुभएकी इन्द्रकुमारीले जीवनको उत्तरार्ध बुटवल–१९ मै आफन्तको फराकिलो आँगन र सद्भावबिच व्यतीत गर्नुभयो ।

पुस्तौँसम्म फैलिएको मातृत्व
दिवङ्गत इन्द्रकुमारी र पण्डित लीलामणि वोस्तीका प्रत्यक्ष सन्ततिहरूः जेठा सुपुत्र पण्डित नारायण तथा बुहारी पम्फा, माहिला सुपुत्र खगेन्द्र तथा बुहारी खिमा, साहिँला सुपुत्र मित्रलाल तथा बुहारी कल्पना, कान्छा सुपुत्र रामचन्द्र तथा बुहारी निमा र छोरी चेतकुमारी (कान्ति) तथा दिवङ्गत ज्वाईं पण्डित वेद विश्वनाथ गैह्रेतर्फका सन्ततिलाई जत्तिकै सबै आफन्तमा ‘वात्सल्ययुक्त, शान्तिपूर्ण, सम–व्यवहार’ पु¥याउन सक्ने गुण सबैमा कहाँ ?

त्यसैले उहाँको निधनले एउटा व्यक्तिको मात्र होइन, एउटा विशाल पारिवारिक छायाँको अन्त्य भएको अनुभूति गराएको छ, जुन पश्चिमी हावाले दुषित हुँदै गएको वर्तमान नेपाली समाजका लागि एक ‘पाठ्क्रम’को अंशजस्तै मान्न सकिन्छ ।

भव्य विदाइको अर्थ
मानिसको जीवनको मूल्य उसको मृत्युको दिन जम्मा हुने भीडले मात्र निर्धारण गर्दैन । तर कहिलेकाहीँ अन्तिम विदाइमा उपस्थित हुने संख्यात्मक सँगै ‘गुणवान्’ मानिसहरूको विशाल घेराले दिवङ्गत व्यक्तिले जीवनभर कति योगदान पु¥याउनुभयो र हृदयमा स्थान बनाउनुभयो भन्ने कुरा पनि अभिव्यक्त गर्छ ।

इन्द्रकुमारी वोस्तीको अन्तिम यात्रा त्यस्तै एउटा मौन सन्देश थियो, जुन ‘चेञ्ज बिगिन्स विद मी’ अर्थात् परिवर्तन आफँैबाट सुरू गर्नुपर्छ भन्ने दर्शनीय शिक्षाको मूल अंश हो । शरीर विलीन भयो तर उहाँले छाडेर जानुभएको माया, संस्कार, शालीनता, मातृवात्सल्य र पारिवारिक एकताको स्मृति वर्तमान समाजमा फैलाउनु हामी सबैको दायित्व हो । समुद्रजस्तै शान्त, पृथ्वीजस्तै धैर्यवान्, ममतामयी र शालीन इन्द्रकुमारी वोस्तीको पवित्र आत्माले देवलोक अर्थात् बैकुण्ठलोकमा चिरशान्ति र चिरस्थान प्राप्त गरोस् । उहाँको पुण्यात्माप्रति भावपूर्ण श्रद्धाञ्जली । ॐ शान्तिः। शान्तिः। शान्तिः।