सुस्मिता मृत्यु प्रकरणः न्यायको आशमा पीडितपक्ष

मेचीकाली संवाददाता

७ कार्तिक २०७८, आईतवार
575 shares

सम्पूर्ण बुबाआमा, दाजुभाइ, दिदीबहीनी, विभिन्न संघसंस्थामा आबद्ध प्रतिनिधि, महिला अधिकारकर्मी, मानव अधिकारकर्मीलगायत देशबिदेशमा रहनुहुने मानव अधिकारको लागि लड्ने, आवाज उठाउने संघसंस्था सहयोगी दाजुभाइ, दिदीबहिनीहरुमा लामो समयपछि भएपनि सुस्मिताको बुवाआमा, ठुलोबुबा, ठुलीआमाको तर्फबाट समुन्द्रभन्दा गहिरो र लामो आशाको साथ कोटीकोटी नमन गर्न चाहान्छौं ।

हेमबहादुर खड्का, पीडितपक्षका अभिभावक

हाम्री छोरी सुस्मिता र रुपेन्द्र थापाको मिति २०७६ साल वैशाख १८ गते धार्मिक परम्पराअनुसार हेटौडा उपमहानगरपालिका वडा नं. ४ कर्रास्थित प्रकाश थापाको छोरा रुपेन्द्र थापासँग बिबाह भएको थियो । बिबाहको केही महिनापछि श्रीमान् रुपेन्द्र थापाको मोटरसाइकल दुर्घटनामा परि २०७६ असोज २३ गते ससुराल घर कपिलवस्तुबाट आफ्नो घर हेटौंडा फर्कने क्रममा नवलपरासीको दाउन्नेको एस मोडमा मृत्यु भएको थियो ।

स्वर्गीय थापा हेटौंडास्थित क्लोजर सिस्टम इन्टरनेश्नल कम्पनी प्रालिमा इन्जिनियर पदमा काम गर्दै आएका थिए । त्यसपछि आफ्नो घरपरिवार माइती, इष्टमित्रमा हुनुपर्ने कामकाज अगाडि बढीरहेको थियो । माइती घर आउने जाने क्रम कागजपत्र लिनेदिने र बुझाउने कार्य चलिरहेको थियो । सो समयभित्र छोराको छ महिनाको तिथि चलाउन छ भनी अध्ययनका लागि भारतमा गएकी छोरीलाई छोरीका घरपक्षका परिवारले तिमी जसरी भए पनि कार्यको लागि घरमा आउनुपर्छ भनेपछि २०७६ चैत्र २३ गतेको तिथिमा बुबाआमाले दिएको भन्दा बुहारीले दिएको तर्पण हाम्रो छोराले पाउँछ भन्ने जस्ता धार्मिक आस्था देखाएर घर परिवारका मूली ब्यक्ति सुस्मिताका ससुरा प्रकाश थापाले बोलाएका थिए ।

हामी, हाम्री छोरीको बिवाहको केही महिनाभित्रै एउटा छोरा, ज्वाइको मृत्युको शोकमा पनि थियौं । साथै हाम्रो सोंच पनि अकालमा मृत्यु भएको श्रीमान्को अन्तरआत्मालाई सम्मान गर्नुपर्छ भन्ने रहेकोले २०७६ चैत २१ गते कोभिड–१९ को महामारीमा पनि स्वास्थ्य सतर्कता अपनाउँदै हामी माइती पक्षले छोरीलाई कपिलवस्तुदेखि हेटांैडास्थित आफ्नो घरमा छोडेर आएका थियौं । त्यो दिन हाम्रो लागि छोरीसँगको लागि अन्तिम भेट नै थियो । त्यसपश्चात छोरीलाई बिभिन्न समयमा माइत पठाइदिने अनुरोध ग¥यौं तर सफल हुन सकेनौं ।

समय बित्दै गयो, कोरोना भाइरस संक्रमणको पनि उस्तै त्रास थियो अनुमतिबिना एक जिल्लादेखि अर्को जिल्लामा प्रबेश गर्न पनि पाइँदैनथ्यो । अन्ततः २०७७ साल असार १ गते राती करिब ९ः३० बजे अर्को बज्रपात भएको खबर असार २ गते बिहान ६ः३० बजेको समयमा हेटौंडाको बाहिरी स्रोतबाट एक्कासी तपाईकी छोरी सुस्मिताले आत्महत्या गरिन् भन्ने खबरले हाम्रो परिवारलाई स्तब्ध बनायो ।

बिवाह भएको बाह्र, पन्ध्र महिनाभित्रमा ज्वाइ र छोरी दुबैलाई गुमाउनु त्यसमा पनि ठुलो षड्यन्त्रको रुपमा क्रुर यातनासहितको हत्याबाट एउटा छोरी हाम्रो मुटुको टुक्रा गुमाउन बाध्य भएका छौं । यस्तै छोरी सुस्मिताको हत्यापश्चात ०७७ असार २ गतेदेखि हालसम्म हामी छोरी सुस्मिताको न्यायको लागि लडाइँमा छौं । हाम्रो एक मात्र मुटुको टुक्रा छोरीलाई बिभिन्न बहानामा झुक्काएर क्रुर हत्या गरी आफैँ आत्महत्या गरेकी हो भनेर जोगिन खोज्ने ती प्रकाश, तुल्सा, सिता र दुर्गा थापालाई २०७७ असार ३१ गते हेटौंडा जिल्ला अदालतको थुनछेकको आदेशले हाल पुर्पक्षका लागि थुनामा छन् भने उक्त घटनाका योजनाकार अरुण कार्की फरार थिए भने उनी आफँै २०७८ साल भदौ २८ गते जिल्ला अदालत हेटौंडामा आत्मसमपर्ण गरेका थिए । आश्चर्य लाग्छ पीडकका आफन्तहरुले त सार्वजनिक रुपमा भनिसकेका छन्, सम्बन्धित सरोकारवालाहरुको सल्लाहले नै बाहिर राखेका थियौं भन्दै सकिन्छ भने अरुण बचाउ भन्ने अभियानमा समेत लागेका छन् ।

अब हामी जनता विभिन्न संघसंस्थाहरु, मानव अधिकारकर्मीहरु, महिला अधिकारकर्मीहरुले फेरि एकपटक सोंच्न पर्ने बेला आएको छ । किनभने अपराध पनि सल्लाह सुझावबाट गरिनु र सल्लाह सुझावबाट नै आरोपीतलाई छिपाएर लुकाएर राखिनु न्यायालयमाथि अमानवीय व्यवहार गरिनु कत्तिको उचित होला त ? हामी न्यायालयको गरिमालाई कुनै पनि शब्दबाट अपमानित गर्न चाहन्नौं, हाम्रो मुद्दा डेढ बर्षदेखि सम्मानित न्यायालयमा बिचाराधिन छ ।

जिम्मेवार निकायको सल्लाहबाट नै पीडकलाई संरक्षण गरेको भन्ने पीडकको आफन्तहरुबाट नै सार्वजनिक भैसकेको हुँदा पीडित पक्षको मनमा कस्तो पीडा भए होला ? पीडित परिवारले अदालतको बिचराधिन मुद्दा प्रक्रियाबाट बाहिर रहेर नितान्त जनताले सोध्न र भन्न पाउने मौलिक हकको प्रयोग गर्दै सम्पत्तीको प्रलोभनमा थिच्चिएका, मारिएका छोरी चेलीका परिवारले सोंच्न बाध्य हुने दिन आएकै हो त ?

थिच्ने, किच्ने र हत्या गर्ने अभियुक्तहरुले अभियुक्तका आफन्त सहयोगीहरुले जिम्मेवार निकायले हत्या अभियोगमाथि गर्ने व्यवहार यही हो त ? के पीडकका सहयोगी आफन्तहरुले पीडित परिवारको चरित्र हत्या हुनेगरी कुनै कमेन्ट बिज्ञप्ती सार्वजनिक गर्न मिल्ला र ? छोरीको क्रुर हत्या त्यसपछि बुवाआमा, ठुलोबुवा, ठुलीआमाहरुको विभिन्न सामाजिक सञ्जालहरुमा चरित्र हत्या हुँदै आइरहेको हुँदा यस बिषयमा कस्तो कारबाही हुन्छ होला भन्दै देशविदेशमा रहनुहुने बुवाआमा, दाजुभाइ, दिदीबहीनी, विभिन्न संघसंस्थामा आबद्ध प्रतिनिधिहरु, मानव अधिकारकर्मीहरु, महिला अधिकारकर्मीहरु पीडित पक्षको साथमा हुनुहुने छ भन्ने हामी पीडित परिवार हार्दिक नमन गर्दछौं ।
हेमबहादुर खड्का
पीडितपक्षका अभिभावक
बाणगंगा–८, कपिलवस्तु