विस्तार हुँदै छ सामाजिक सुरक्षा कोष, रोजगारदाता र योगदानकर्ता थपिँदै

मेचीकाली संवाददाता

१७ कार्तिक २०७८, बुधबार
860 shares

अमृत गिरी
बुटवल । सरकारले २०७५ मंसिर ११ गते नयाँ योजनासहित सामाजिक सुरक्षा कोषको प्रारम्भ गरेको थियो । यसअवधिमा कोषले सूचीकरकण गर्ने, कोषका उद्देश्य, सेवा प्रवाह र दायराका बारेमा अनुशिक्षणलगायतका कार्यक्रम गर्दै आएपनि आबद्ध हुनेको संख्या भने अहिले बल्ल बढिरहेको छ ।

लक्षित वर्गलाई विश्वस्त बनाउने कार्यक्रमले रोजगारदाता र योगदानकर्ता थपिँदै गएका छन् । गत माघमा कोषको कार्यविधि संशोधन गर्दै कार्यान्वयनका लागि कार्यक्रमका ढाँचा समेत पुनरावलोकन भएपछि अहिले कोषमा आकर्षण बढ्दै गएको छ । कोषमा योगदान कर्ता र रोजगार दाता थपिने क्रम दिनदिनै बढिरहेको कोषको तथ्यांक छ ।

कोभिड महामारीका कारणले पनि कोषका कार्यक्रम प्रभावित भएको र कोषमा दर्ता भएका कतिपय रोजगारदाता र योगदानकर्ता बेरोजगार भएको अवस्थामा समेत आकर्षण बढ्नुलाई सकारात्मक रहेको कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले बताए ।

लगानीका क्षेत्र तथा प्रतिफलको यथार्थ आँकलन गरेर नयाँ कार्यक्रमसमेत बनाइरहेको बताउँदै उनले यसले कार्यान्वयनका चरण प्रभावकारी बनाउने दाबी गरे । सामाजिक सुरक्षामा आबद्ध नभएका तथा साना र ज्यालादारी गर्ने श्रमिकहरू अथाव निश्चित रकम भन्दा कम तलब बुझ्ने वर्गहरूसमेतलाई लक्षित गरेर कोषमा समेट्ने तयारी छ ।

कोषमा आबद्ध रोजगारदाताको संख्या हाल १५ हजार ६ सय ६९ पुगेको छ । यो थपिनेक्रम जारी रहेको कोषको भनाइ छ । यस्तै कोषमा हालसम्म योगदानकर्ताको संख्या करिब तीन लाख पुगिसकेको छ । यो कोषका लागि सकारात्मक सन्देश हो । कात्तिक १६ गतेसम्म कोषमा २ लाख ९२ हजार ६ सय ९० भन्दा बढी आबद्ध भइसकेको कोषका प्रवक्त विवेक पन्थीले बताए ।

झण्डै ११ हजार लाभग्राही, ४४ करोड भुक्तानी
स्वास्थ्य उपचार तथा मातृत्व योजनाअन्तर्गत चार हजार चार सय १४ जनाले सुविधा पाएका छन् । यस्तै दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत एक सय ४२ जना, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत एक सय १२ जना योगदानकर्ताका आश्रित परिवारले आश्रित पेन्सन मासिक रुपमा प्राप्त गरिरहेको कोषको तथ्यांकमा छ ।

यस्तै वृद्ध अवस्था सुरक्षा योजनामा पाँच हजार चार सय १२ लाभग्राहीले लाभ लिइरहेका छन् । यी सबैखाले सेवा लिने सेवाग्राहीले हालसम्म ४४ करोड रकम भुक्तानी पाएको कोषले जनाएको छ । सामाजिक सुरक्षा कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, दुर्घटना र असक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा गरि चार वटा योजना बनाएको थियो । सुरुमा खासै आकर्षण नभएका यी कार्यक्रममा पछिल्ला केही समय यता भने विस्तारै आकर्षण बढेको पाइएको छ ।

कोषमा तीन शीर्षकमा करिब ४० अर्ब जम्मा
कोषमा कल्याणकारी कोष, सामाजिक सुरक्षा करको रकम र योगदानमा आधारित सामजिक सुरक्षा कोषको रकम गरी तीन किसिमको रकम जम्मा हुँदै आएको छ । यी तीनै शीर्षकमा गरेर कोषमा हाल करिब ४० अर्ब रकम जम्मा भएको छ । अहिले तीमध्ये कल्याणकारी कोषको रकम मात्रै २८ अर्ब, सामाजिक सुरक्षा करको रकम एक अर्ब तीन करोड जम्मा भइसकेको छ । यो केही समय अलमलमा परेर रोकिएको थियो । यस्तै योगदानमा आधारित सामाजिक सुरक्षाको रकम हालसम्म ९ अर्ब ८३ करोड ९४ लाखभन्दा बढी जम्मा भएको कोषका प्रवक्ता पन्थीले जानकारी दिए ।

श्रमिक र रोजगारदातामैत्री कार्यक्रम
वास्तवमा निजी क्षेत्रको पेन्सन तथा बीमा जस्ता विषय जुन थिएन त्यसलाई व्यवस्थापन गर्नको लागि र श्रम ऐनले श्रमिकका लागि तोकेका सुविधा व्यवस्थापन गर्न सामाजिक सुरक्षा कोष स्थापना भएको हो । रोजगारदाताहरूले छुट्टाछुट्टै आफ्ना कर्मचारीको सामाजिक सुरक्षाबारे व्यवस्था गरिरहेका छन् तिनको त्यो दायित्वलाई केपी ओली नेतृत्वको अघिल्लो सरकारले सामाजिक सुरक्षा कोषमार्फत सञ्चालन गर्न सुरु गरेको हो ।

कोषले मानविय जीवन चक्रमा आई पर्ने जोखिमको न्यूनीकरण गर्दै मानविय आधारभूत आवश्यकताको परिपूर्तिको सुनिश्चित गर्नेगरी राज्यले दायित्व वहन गनुपर्ने नै कोषको उद्देश्य हो । कोषले कुनैपनि श्रमिक बिरामी र दुर्घटनामा पर्दा, कुनै पनि नारीले सुरक्षित मातृत्व सुविधाको उपभोग गर्न नपाउँदा, शिशुले आमाको न्यानो माया र पर्याप्त भोजन नपाउँदा तथा कुनैपनि नागरिक काम गर्न नसक्ने भएमा र उसको मृत्यु भएमा आश्रित परिवारलाई आवश्यक सहयोग गर्नेगरी कोषको अवधारणा बनेको छ ।

यस्तो छ कोषमा रहेको प्रावधान
आधार (बेसिक) तलबको ३१ प्रतिशत रकम–जसमा श्रमिकहरूले आफ्नोतर्फबाट सञ्चय कोषमा जम्मा गर्ने १० प्रतिशत रकम, रोजगारदाताले राखिदिने १० प्रतिशत अनि श्रम ऐनअनुसारको काम सुरु गरेदेखिकै उपदानका लागि कटाइने ८.३३ प्रतिशत गरेर २८.३३ प्रतिशत रकम, अहिलेसम्म सामाजिक सुरक्षाको लागि तिरेको १ प्रतिशत गरी हुन आउने २९.३३ प्रतिशतको साथमा रोजगारदाताकै १.६७ (श्रम ऐनअनुसार औषधि उपचार, दुर्घटनाबापतको प्रिमियको रकमको अनुमानित प्रतिशत) गरी पुग्ने ३१ प्रतिशत रकम यो कोषमा आउँछ । यो कुलमध्ये २८.३३ प्रतिशत रकम चाहिँ पेन्सन योजनाअन्तर्गत प्रयोग हुन्छ भने बाँकी २.६७ प्रतिशत रकम चाहिँ सामाजिक बीमाका लागि प्रयोग हुन्छ । यो बीमा सुविधाअन्तर्गत श्रमिकले मातृत्व सुरक्षा, बिरामी हुँदाका सुविधा, उपचार खर्च, तथा व्यवसायजन्य रोग लागेमा खर्च गर्ने गरी तय गरिएको कोषको प्रावधानमा छ ।

बुटवलमा अनुशिक्षण कार्यक्रम
सामाजिक सुरक्षा कोषद्वारा बुटवलमा सामाजिक सुरक्षा योजनाहरु कार्यान्वयनको सन्दर्भमा हालै अनुशिक्षण कार्यक्रम भएको छ ।

सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाहरुको कार्यान्वयनको लागि स्वास्थ्य संस्था दाबी भुक्तानीको लागि सम्झौता भएको संस्थाहरुमा स्वचालित प्रणाली जडान गरी सामाजिक सुरक्षा कोषले प्रदान गर्ने कार्डका आधारमा औषधी उपचार सुविधा उपलब्ध गराउने गरी स्वास्थ्य संस्थाहरुसंग प्राविधिक अनुशिक्षण गरिएको कोषका वरिष्ठ सहायक निर्देशक केदारनाथ ज्ञवालीले जानकारी दिए ।

अनुशिक्षणमा कोषका निर्देशक कृष्ण अधिकारीले कोषले सञ्चालनमा ल्याएका योजनालगायतका विस्तृत विषयमा जानकारी गराएका थिए । कोषका अधिकृतहरु राजेश चापागार्इं, ऋषिराम पाण्डे र सविन श्रेष्ठले दाबी भुक्तानीको लागि अनलाइन प्रणालीको प्रयोगको बारेमा सहजीकरण गरेका थिए । पहिलो चरणमा रुपन्देही र पाल्पाका विभिन्न ७ वटा स्वास्थ्य संस्थाहरुका २५ भन्दा कर्मचारीहरु कार्यक्रममा सहभागी थिए ।